तिलगंगा आँखा प्रतिष्ठानद्वारा विश्व दृष्टि दिवसमा साता व्यापी कार्यक्रम आयोजना
काठमाडौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अक्टोबर महिनाको दोश्रो विहिबारका दिनलाई लक्ष्यित गरेर आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ ।
यस वर्षको विश्व दृष्टि दिवसको “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको हो ।
मंगलबार आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अस्पताल सेवाकी प्रमुख डा. सिर्जना अधिकारीले विश्व स्वास्थ्य संगठन, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेको जानकारी गराउनुभयो। वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दूर्घटनाबाट हुने आँखा सम्बन्धि चोट लाग्ने गरेको उहाँले बताउनुभयो । समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम रहेकोे अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा संचारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी डा।रिता गुरुङ्ले जगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न,उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर रहेकोे पनि जानकारी गराउनुभयो। उँहाका अनुसार दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु ९६५ प्रतिशत० नै पहिलो कारण रहेको छ भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ ।
चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढि रहेका छन् । नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ । दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएका बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ ।
यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइदैन ।
संचारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै चिकित्सकहरूले बताए अनुसार नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय-समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्फ उन्मुख गराउन सकिन्छ ।
नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका रहिआएको र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भए पनि जनचेतनामूलक अभियानमा भने थप कृयाशीलता बढाउन संचारकर्मीहरूले सुझाब समेत दिएका थिए। अन्तरक्रिया पश्चात् संचारकर्मीहरूको निस्शुल्क आँखा परिक्षण समेत गरिएको थियो।