मुन्द्रे गाईजात्रा २०८० विषेश कार्यक्रमको अन्तिम तयारीमा
काठमाडौँ । हाँस्य कलाकार जितु नेपालले आफ्नो युट्युब च्यानल मार्फत गाईजात्रा २०८० का अवसरमा समसामयिक हाँस्य ब्यङ्ग खुराक ल्याउने भएका छन् ।
पछिल्लो समय मन्चमा हुने गाईजात्रा प्रति दर्शकको आकर्षक घट्दै गएर अनलाइन माद्यममै रुचि बढेको देखेर सबैको पहुँचमा गाईजात्रे खुराक पस्किने उद्देश्यले कार्यक्रम तयार पार्न लागिएको हो ।
राजनीतिक बेथिती र अहिलेका सामाजिक बिषयमाथि प्रहसन सहित हाँस्यब्यङ्ग कवि सम्मेलन -२०८० शीर्षकमा कविहरूको चोटिलो प्रस्तुति ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिए ।
आफ्नै संयोजन तथा निर्देशनमा तयारी गरिने कार्यक्रम उत्पादन गर्न उनलाई निर्देशक तथा कलाकार निरज नेपालले सघाएका छन् ।
राधिका कँडेल कार्यक्रम उद्घोषकको भूमिकामा छिन् भने विशेष प्रस्तुतिका रुपमा रहेको हाँस्य ब्यङ्ग कवि सम्मेलनमा कविहरू डा. बम बहादुर थापा जिताली, डिल्ली प्रसाद मुल्तिउन, शिरोमणि दवाडी, टेक बहादुर कोइराला, सारांश थपलिया र रविन्द्र नेपालको चोटिलो हाँस्यब्यङ्ग प्रस्तुतिहरू रहनेछन् ।
जिरे खुर्सानीमा लामो समय अभिनय तथा निर्देशन गरेर टिभी सिरियल तथा नेपाली चलचित्रमा लोकप्रियता कमाएका नेपालले पछिल्लो समय मुन्द्रेको कमेडी क्लब मार्फत दर्शकको मन जितिरहेका छन् । यस वर्षको गाईजात्रा भाद्र १४ गतेकै सेरोफेरोमा उनले आफ्नै युट्युब च्यानल मार्फत यी सबै प्रस्तुतिहरू सार्वजनिक गरिने जितुले जानकारी दिएका छन् ।