प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्छ : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो ।
उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोयाउनु भयो । जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ? ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ? ’
ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।