राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले नै बेहोर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराउनुभएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराउनुभएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र सोहीअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उहाँको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । तर, अहिले भने सरकारले नै सो रकम तिर्ने निर्णय भएको छ । राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत जानुभएको थियो ।
उहाँ त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनुभएको थियो ।