राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति रवि लामिछाने
![](https://annapurnaradio.prixacdn.net/media/albums/tzphmdglhjiziuaz29x9ao8zuqveaseum0om3whc3w9vl8qoe4kittoewzx5.jpg)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उहाँको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन ।”
बजेट संसद्बाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उहाँले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताउनुभयो । उहाँले थप्नुभयो, “अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन् ।”
इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उहाँले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताउनुभयो ।