दुई महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ : राधाकृष्ण मैनाली (भिडियोसहित)
काठमाडौं । सत्तारूढ गठबन्धनमा 'दरार' पैदा भइरहेका बेला बामपन्थी विश्लेषक राधाकृष्ण मैनालीले अबको दुई महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् ।
अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै मैनालीले अब आउने राष्ट्रपतिका कारण प्रचण्ड सरकार लामो समय नरहने जिकिर गरेका हुन् ।
'राष्ट्रपति देउवा निकट वा ओली निकट जो सुकै आएपनि प्रचण्ड नेतृत्वको सरकारको आयु अबको दुई महिना मात्रै हो। त्यसपछि २/४ महिनामा सरकार फेरेर अस्थिरता निम्त्याउन विदेशीहरू चाहान्छन्', मैनालीले भने ।
अमेरिकी पोल्टाबाट बाहिर निस्कन नचाहेपछि भारतले ओली नेतृत्वको गठबन्धन खडा गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि भारत नै अब ओलीलाई बलियो बनाउन पक्षमा नरहेको पनि उनले दाबी गरे ।
'आफ्ना योजना पूरा गर्न कठिन हुने भएपछि भारतले ओलीलाई बाइपास गर्दै प्रचण्डलाई नै अघि सारेको हो । ओलीलाई नचिढ्याउने पनि शसक्त हुन पनि नदिने भारतको रणनीति छ । अमेरिका पनि ओलीलाई बलियो भएको हेर्न चाहदैन', उनले भने ।
मुलुक अब अस्थिरताबाट जकडिएर 'अर्ली इलेक्सन'को चरणमा पुग्ने उनको बुझाइ छ। उक्त चुनावपछि आउने संसद पनि अझ गञ्जागोलको भएर मुलुक संकटमा फस्ने मैनाली बताउँछन् ।
तथापि दलहरू चीन-भारतकोसमेत चाहानाबमोजिम संघीयता र धर्मनिरपेक्षता फ्यालेर गणतन्त्र जोगाउन सहमत भए एकहदको संकट टर्ने उनले बताए ।