Live Streaming

अन्नपूर्ण दिनभर : रास्वपाका तीनजना मन्त्रीले दिए राजीनामा, राष्ट्रपतिले सदनलाई सम्बोधन गर्ने

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२ दिनपछि बाहिएको छ । मंसिर ४ गतेको निर्वाचनबाट रास्वपा संसद प्रवेश गरेको थियो । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने तर, तत्काल सर्मथन भने फिर्ता नलिने निर्णय गरेको हो ।

पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । योसंगै  अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताउनुभएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले आगामी चुनावमा उपप्रधान र गृह मात्र नभई प्रधानमन्त्री बन्ने गरी पार्टी अघि बढाउने बताउनुभएको हो ।

सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । प्रचण्डले केही गर्ने अठोट राखेकाले आफूले साथ दिएको उहाँको भनाई छ । त्यसक्रममा लामिछानेले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । करिव १ घण्टा बोल्नुभएका लामिछानेले अधिकांस समय मिडियाको आक्रोशमै बितेको थियो । 

लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोख्नुभएको हो । कतिपय मिडिया र तीनका सञ्चालकको नाम नै किटान गरेर उहाँले आफूविरुद्ध खेदो खनेको आरोप लगाउनुभएको हो । यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै महासंघका महासचिव रोशन पुरीले लामिछानेको अभिव्याक्ति नेपाली सञ्चार क्षेत्रप्रतिको आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्कीपूर्ण अधिव्इाक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाउनुभएको हो । संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्री समेत रहिसकेको व्याक्तिले संयमता गुमाएर अभिव्याक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लामिछानेको अभिव्याक्तिले कुनै अप्रीय घटना भएमा लामिछाने र स्वयं गनको पार्टीले जिम्मेवारी लिनुपर्ने पनि महासंघले स्पष्ट पारेको छ। राजनीतिक विश्लेषक गोपीलाल न्यौपानेले रवि लामिछानेको मिडिया प्रतिको रोस स्वभाविक भएको बताउनुभएको छ । मिडिया पार्टीगत प्रभावमा परेको विषय जगजाहेर रहेको भन्दै उहाँले रास्वपाले सरकारमा रहँदा कुनै ठोस कार्य भने गरेर देखाउन नसकेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालसँग कुरा गर्दै न्यौपानेले रास्वपा र लामिछानेको भविष्य अब संसदमा उसको उपस्थिती र भूमिकाले निर्धारण गर्ने बताउनुभयो । 

सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएउनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । आज संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताउनुभयो । 

००७ सालपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न पाएन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभएको हो ।

२००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको प्रसंग सुनाउदै उहाँले नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउनुभयो । ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको र अनुचित सटगाठले समस्या भईरहेको बताउनुभयो ।

ओलीले ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गर्नुभयो । कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गर्दै ओलीले सरकारलाई सर्मथन दिएर प्रतिपक्षका नाममा संविधान र लोकतन्त्रका लागि बुझिनसक्नु व्यवहार देखाएको बताउनुभएको हो ।

यस्तै ओलीले पुष १० गतेसम्मको निषेधको राजनीति गर्ने नेपाली कांग्रेसले अहिले पदका लागि मात्रै सहमति खोजिरहेको बताउदै उहाँले बिग्रिदो अर्थतन्त्र, भ्रष्टाचार नियन्त्रण तथा कानून निर्माणका लागि राष्ट्रिय सहमतिको आह्वान गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा विश्वासको मत दिँदा आफूहरुले हार्दिकता देखाएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै गुरुङले देशमा चरम आर्थिक संकट रहेकोले त्यसलाई उकास्न प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको हो । उहाँ आफूहरुले कुनै पदमा आशक्ति नदेखाएको जिकिर पनि गर्नुभयो । 

राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने तय

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लाग्नुभएको हो । 

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएकाहरू पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ । 

यस मुद्दाको सुनुवाइका लागि पर्खिरहेका रेशम चौधरी लगायतका कैदीबन्दीका पक्षमा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययन सँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ ।

हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । 
एक साताअघि पेसीमा चढे पनि त्यतिबेला अदालतबाटै स्थगित गरिएको थियो । आज पेसी सूचीमा चढेर १० औँ नम्बरमा रहेको मुद्दामा प्रारम्भिक सुनुवाइ भई प्रत्यर्थी झिकाउने आदेश भएको हो । रेशमलाल चौधरी बाहेक अन्य ९ थान मुद्दा पनि लगाउमा राखी सुनुवाइ गरिएको थियो ।

२०७७ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो । उक्त नरसंहारमा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले गराइन् उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराउनुभएको छ । आज बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पार्टीको संसदीय समितिको बैठकले उपाध्यक्ष पदमा उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

विपक्षी कांग्रेसले उम्मेदवारी नदिने भएपछि अर्याल निर्विरोध हुने सम्भावना प्रबल देखिएको छ । उपाध्यक्षका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना हुनुहुन्छ । राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ।

आयोगमा श्रेष्ठले दिए निवेदन

काठमाडौँ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित हुनुभएका श्रेष्ठले आज आयोग पुगेर निवेदन दिनुभएको हो  ।  

सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुग्नुभएको हो । नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनुभयो ।

उहाँ उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको समेत स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताउनुभयो । 

साढे ७८ लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौँ । साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलाली धनगढी उपमहानगरपालिका–९ घरभई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाको न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश÷निर्देशनविपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

आर्थिक खबर
इन्धनको आयात घट्यो

काठमाडौँ । नेपालमा इन्धनकोप्रयोग कम हुदाँ आयात घटको छ ।गत वर्षको तुलनामा यो वर्ष डिजेलको खपत१३ प्रतिशतर पेट्रोलको खपत५ प्रतिशतले घटेको नेपाल आयल निगमको तथ्यांक छ । विद्युतिय उर्जाको प्रयोग, इन्धनको मुल्यमा भएको वृद्धि, घट्दै गएको विकास निर्माणका काम लगायतका कारण इन्धनको आयात घटेको हो । 

सेयर बजार सामान्य अंकको वृद्धि, १ अर्ब ९३ करोडको कारोबार

काठमाडौँ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.८९ अंकले बढेको छ । आज २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रूपैयाँमा खरिदबिक्री भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमात्रै १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा ६ करोड ४४ लाख रूपैयाँको कारोवारसहित  नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घटेको छ । 

विदेशका खबर
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

काठमाडौँ । राजद्रोहको मुद्दामा मृत्यु दण्डको सजाय सुनाइएका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको एमिलोइडोसिस रोगका कारण निधन भएको छ । 

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको आज ७९ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको हो । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत रहेका थिए । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए ।सन् १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुई वटा हत्याको अभियोग समेत लागेको थियो ।

सन् २००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बनेका थिए । सन् २००७ को अक्टोबर–नोभेम्वरमा मुसर्रफले पुनः राष्ट्रपतिको चुनाव जितेका थिए ।

तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौती दिएपछि उनले देशमा संकटकाल लागू गरेका थिए । उनले मुख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरेका थिए । जसले उनको चुनावलाई वैधानिकता दिएको थियो । सन् २००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ ।राजद्रोहको मुद्दामा मृत्यु दण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

केन्यामा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौँ । उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ । तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् । लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटना बढेको बताएका छन् ।

खेल खबर
अमिषाको ह्याट्रिकमा नेपालको सहज जित

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् ।

कप्तान प्रिती राईको नाममा एक गोल रह्यो । खेलको १९औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो ।

यसपछि खेलको ६२ औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।