Live Streaming

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा साइकल र्याली सम्पन्न

काठमाडौँ । विश्व क्यान्सरको दिवसको अवसरमा साइकल र्याली सम्पन्न भएको छ । क्यान्सरविरुद्ध सचेतना फैलाउने अभिप्रायले अन्नपूर्ण मिडिया नेटवर्कले ’अन्नपूर्ण पोस्ट राइड फर लाइफ–२०२३’ आयोजना गरेको हो । 

र्यालीको शुभारम्भ प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, समाजसेवी अनुराधा कोइराला लगायतले रिवन काटेर शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले आफूयसअघि पनि यो र्यालीमा सहभागि भएको बताउदै अहिले उप–सभामुखका हैसियतले उपस्थित हुन पाउदा खुशी लागेको बताउनुभयो । क्यान्सर विरूद्ध जनचेतना फैलाउन साइकल ¥यालीको आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, क्यान्सररोग विशेषज्ञ डा. जगदीश अग्रवालले साइकल र्यालीले क्यान्सर विरूद्ध जनचेतना फैलाउन बहुआयामिक तरिकाले सहयोग पुर्याउने बताउनुभयो । उहाँले क्यान्सर भएको बारेमा प्रारम्भिक चरणमै थाहा पाउन सके यसलाई निको पार्न सकिने बताउनुभयो ।

त्यस्तै, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष क्यान्सर विरूद्धको जनचेतना र्याली आयोजना गर्दै आइरहेको बताउदै विश्वमा नै क्यानसर एक भयानक रोगको रूपमा फैलिएको र यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो  । 

अन्नपूर्ण पोस्टको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएको ¥याली गौशाला, चावहिल, नारायणगोपाल चोक, बसुन्धारा, गोंगबु, बालाजु चोक, सोह्रखुट्टे, अमृत साइन्स कलेज, थमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली,  सुन्धारा,  त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएन पार्क,  महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै अन्नपूर्ण पोस्टको कर्पोरेट टावरमा आएर समापन भएको थियो । 

र्यालीमा विभिन्न क्षेत्रका करिब १ हजार ६ सय सहभागी भएका थिए । गोलाप्रथा मार्फत विभिन्न सहभागीहरूलाई उपाहार तथा  गिफ्ट समेत प्रदान गरिएको छ ।