Live Streaming

अन्नपूर्ण दिनभर : राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने आशंका, सन्दीप विरुद्ध आन्दोलन



माओवादीको निर्णय 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने भएको छ । आज सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा  सकेसम्म सहमतिको पक्षमा उभिने बताउनुभएको हो ।

त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको उहाँले बताउनुभयो । कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले जानकारी दिनुभयो । 

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताउनुभएको छ । स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले गृहमन्त्रालयबारेको विवाद समाधान हुने बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गर्नुभएको छ । तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिने संकेत गर्नुभएको छैन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने  चेतावनी दिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज विहान छलफल भएको थियो । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद भइरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

उपलब्धी जोगाउन राष्ट्रिय सहमति र एकता  : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेको स्मरण गर्नुभयो ।

गम्भीर छलफलपछि आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनाउने निष्कर्षमा पुगेको उहाँको भनाइ छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक भएकाले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताउनुभयो । उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी भएकोमा उहाँले जोड दिनुभयो  । 

माधव नेपालको दाबी 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपत्र सुरु भएको दाबी गर्नुभएको छ । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा आजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै उहाँले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभएको हो । 

संसद्को रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क समेत गर्नुभयो । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलङ्घन गर्ने मान्छेहरू सरकारको जिम्मेवारीमा बसिरहेकोले त्यसले संकट निम्त्याउन सक्ने उहाँको भनाइ छ । 

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत सचेत गराउनुभएको छ । 
यसैबीच,अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहो¥याउने वा नडोहो¥याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गर्नुभएको हो । प्रतिवेदनमा एकीकृत समाजवादीले दाहाललाई शंकाको सुविधा दिएको बताइएको छ ।

प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको जनाएको छ । अध्यक्ष नेपालले आजबाट सुरु भएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि घमण्ड बढेको र सत्ता भएपनि सत्ता केन्द्रित सोच र फाइदा हुने भएपछि विचार, सिद्धान्त र नीति त्याग्ने हिड्ने प्रवृत्ति प्रमुख भएको उल्लेख छ । 

विपक्षी गठबन्धन

काठमाडौँ । नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले सत्तारूढ दलभित्रको विवादलाई सूक्ष्म रूपमा नियालिरहेको टिप्पणी गरेको छ। आज बिहान सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले गठबन्धनभित्र गृह मन्त्रालयका विषयमा भएको विवादलाई आफूहरूले सूक्ष्म रूपमा हेरिरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यसैबीच विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

संसदमा रहेका विपक्षी दलहरुको तर्फबाट साझा उम्मेदवारको टुंगो भोलि लाग्ने प्रमुख सचेतक लेखकले बताउनु भयो । बैठकमा नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। ५८ सदस्य रहेको राष्ट्रियसभामा एमाले १५, माओवादी केन्द्रको १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १ र स्वतन्त्र एकबाट एकजना सांसद रहेका छन्।  त्यस्तै, राष्ट्रपतिबाट मनोनीत ३ सिट छन् । 

राष्ट्रपतिमा डाक्टर भट्टराईको तर्क

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीको अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि आफूले रोइकराई नगर्ने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश समितिले आज  पोखरामा आयोजना गरेको जन वर्गीय सङ्गठनहरूको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टराईले राष्ट्रपतिमा आफ्नो नाम जोडिए पनि त्यसका लागि रोई कराइ नगर्ने स्पष्ट पार्नुभएको हो । हालसम्म भएका राष्ट्रपति राष्ट्रको छवि बढाउने भन्दा नेताको हतियार भएको डा. भट्टराईले आरोप लगाउनुभयो । 

प्रेस स्वतन्त्रता नभए लोकतन्त्र संस्थागत हुन सक्दैन : गगन थापा 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताउनुभएको छ । बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताउनुभएको हो ।

संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उहाँले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डो¥याउनका लागि पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाले बताउनुभयो । 

स्वास्थ्य मन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारण सभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

नेपालको स्वास्थ्य क्षेत्र विकराल रहेको र जनताले गुणस्तरीय सेवा पाउन कठिन भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम लगाउन उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।  स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले स्पष्ट पार्नुभयो ।

सडकमै छरपस्ट तरकारी

काठमाडौँ । हिजो चितवनका किसानले नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा तरकारी छरेर गरेको विरोधले देशकै कृषि क्षेत्रको बिम्ब चित्रित गरेको छ । नेपाली उपभोक्ता भारतबाट आयातित तरकारी महंगो मूल्यमा किनेर खान बाध्य भईरहेको अवस्थामा स्वदेशी तरकारी भने सडकमा फाल्नूपर्ने अवस्था आएको छ ।

भदौमा २५ किलो टमाटर दुई हजारसम्ममा बेचेका किसानहरुले दुई साता अघिसम्म ८ सय रुपैयाँमा बेचिरहेका थिए । तर, पछिल्ललो समय मूल्य घटेर दुई सय रुपैयाँमा झरेपछि उनीहरु आन्दोलित बनेका हुन् । पश्चिम चितवन क्षेत्रमा दुईदेखि २० बिघासम्ममा व्यवसायीक तरकारी खेती गर्ने किसान १३० हाराहारीमा छन् ।

तर खर्च नै नउठ्ने गरेर मूल्य घटेपछि बेच्नभन्दा फाल्न बाध्य भएको किसान लेखनाथ भुसालले बताउनुभयो । बजारमा यतिबेला भारतीय तरकारी छ्याप्छ्याप्ती भएका कारण मूल्य नपाएको किसानहरु बताउछन् । 

विदेशी तरकारीको बजार नेपालमा हावी भईरहदा नेपाली किसानहरु मारमा परेको घटनाको प्रतिबिम्ब चितवनले गरेको छ । देशभरी नै कैयौं किसान तरकारीको उचित मूल्य नपाएर मारमा पर्नुपरेको समस्या नौलो भने होईन । 

यता सरकार भने किसानका समस्या समाधान गर्ने आश्वासन दिनमै ठिक्क छ । कृषि तथा पशुपंक्षीमन्त्री ज्वालकुमारी साहले समस्याको खोजी गरिरहेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको इृन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै मन्त्री साहले किसानहरुले उचित मूल्य नपाउनुमा विचौलीयाहरु मुख्य कारक रहेको बताउनुभएको छ ।

भारत सहित अन्य देशहरुबाट भईरहेको तरकारी आयात रोक्नुपर्ने आश्यकता औँल्याउदै उहाँले आफू त्यसका लागि एक्सनमा जाने समेत बताउनुभयो । 

आइएफआरसीका महासचिव चापागाँई नेपालमा

काठमाडौँ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गर्नुभएको हो । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो ।

सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले यसअघि सन् २०२२ फेब्रुअरी १ मा  नेपालको भ्रमण गर्नुभएको थियो । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली समेत हुनुहुन्छ । महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग  निरन्तर जारी रहेको बताउनुभयो ।

भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिनुहुने यहाँस्थित आइएफआरसीले जनाएको छ ।

उहाँ आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुने छ । भ्रमणका क्रममा चापागाईँले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् ।

प्रदेश स्थापना दिवस 

काठमाडौँ । कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीका वडा बनाउने मानसिकताबाट माथि उठेर कर्णालीको समृद्धि बनाउन तिर लाग्न आग्रह गर्नुभएको छ । आज कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले दलीय व्यवस्थामा राजनीति दल जति जनमैत्री बन्न सक्छ, त्यति नै जनताको आकर्षक बढ्ने बताउनुभयो । उहाँले कर्णाली बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभयो । 

उता, लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस पनि आज मनाइएको छ । राप्ती उपत्यका देउखुरी प्रदेशसभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाइएको हो । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ । 

यस्तै, मधेश प्रदेशसभाले पनि आज आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आज प्रदेशसभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा साइकल र्याली सम्पन्न

काठमाडौँ । विश्व क्यान्सरको दिवसको अवसरमा साइकल र्याली सम्पन्न भएको छ । क्यान्सरविरुद्ध सचेतना फैलाउने अभिप्रायले अन्नपूर्ण मिडिया नेटवर्कले ’अन्नपूर्ण पोस्ट राइड फर लाइफ–२०२३’ आयोजना गरेको हो । 

र्यालीको शुभारम्भ प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, समाजसेवी अनुराधा कोइराला लगायतले रिवन काटेर शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले आफूयसअघि पनि यो र्यालीमा सहभागि भएको बताउदै अहिले उप–सभामुखका हैसियतले उपस्थित हुन पाउदा खुशी लागेको बताउनुभयो । क्यान्सर विरूद्ध जनचेतना फैलाउन साइकल ¥यालीको आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, क्यान्सररोग विशेषज्ञ डा. जगदीश अग्रवालले साइकल र्यालीले क्यान्सर विरूद्ध जनचेतना फैलाउन बहुआयामिक तरिकाले सहयोग पुर्याउने बताउनुभयो । उहाँले क्यान्सर भएको बारेमा प्रारम्भिक चरणमै थाहा पाउन सके यसलाई निको पार्न सकिने बताउनुभयो ।

त्यस्तै, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष क्यान्सर विरूद्धको जनचेतना र्याली आयोजना गर्दै आइरहेको बताउदै विश्वमा नै क्यानसर एक भयानक रोगको रूपमा फैलिएको र यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो  । 

अन्नपूर्ण पोस्टको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएको ¥याली गौशाला, चावहिल, नारायणगोपाल चोक, बसुन्धारा, गोंगबु, बालाजु चोक, सोह्रखुट्टे, अमृत साइन्स कलेज, थमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली,  सुन्धारा,  त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएन पार्क,  महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै अन्नपूर्ण पोस्टको कर्पोरेट टावरमा आएर समापन भएको थियो । 

र्यालीमा विभिन्न क्षेत्रका करिब १ हजार ६ सय सहभागी भएका थिए । गोलाप्रथा मार्फत विभिन्न सहभागीहरूलाई उपाहार तथा  गिफ्ट समेत प्रदान गरिएको छ । 

नक्कली आधार कार्ड देखाएर नेपाल प्रवेश गर्न खोज्ने पक्राउ 

काठमाडौँ । भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी) को ४१ औं बटालीयनको टोलीले पानीट्यांकी नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन र सोफी उल आलम छन् । एसएसबीले बंगलादेशीलाई अवैध रुपमा नेपाल प्रवेश गराउन सहयोग गर्ने भारतको जलपाइगुडीका मोहम्मद हुसेन र कोच बिहारका मोहम्मद सिपानलाई समेत पक्राउ गरिएको बताइएको छ । अभियुक्तहरुलाई खोरीबारी प्रहरीले सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

आर्थिक खबर

वीरगञ्ज नाकाबाट एक बर्षमा ६५९ विदेशी पर्यटक भित्रिए

काठमाडौँ । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरिने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् । हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एकसय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने उहाँको भनाइ छ । भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटनलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ । 

विदेशका खबर
चिलीमा आगलागी–मृत्यु 

काठमाडौँ । दक्षिण अमेरिकी देश चिलीमा अत्याधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । त्यहाका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले बताएअनुसार आगलागीका कारण देशमा तातो लहरका कारण १४ हजार हेक्टर जमिनमा पनि क्षति पुगेको छ ।

राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा पर्ने बायोबियोको सान्ता जुआना सहरमा आगलागी हुँदा एक अग्नि नियन्त्रक सहित ११ जनाको मृत्यु भएको छ । बायोबियोको खेती र वन क्षेत्र र न्यूबलको छिमेकी क्षेत्रहरूमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।आन्तरिक मन्त्री क्यारोलिना तोहाले जङ्गलमा लागेको आगोबाट सयौं घरमा क्षति पुगेको र देशभर ३९ वटा आगलागी भएको बताउनुभयो ।

आगामी दिनमा त्यहाँको अवस्था झनै जोखिमपूर्ण बन्दै गएको पनि तोहाले बताउनुभयो । ब्राजिल र अर्जेन्टिनाको सहयोगमा ६३ विमानहरुले आगो निभाउने प्रयास गरेपनि नियन्त्रणमा भने आउन सकेको छैन । 

बढ्दो तापक्रम र खडेरीले विश्वभर आगलागीको समस्या बढाएकाले यसलाई जलवायु परिवर्तनले आफ्नो दायरा र तीव्रता बढाएको बुझ्न सकिन्छ । यसको प्रभाव चिली, अल्जेरिया, फ्रान्स, स्पेन र पश्चिमी संयुक्त राज्य अमेरिका जस्ता ठाउँहरूमा पनि देखिएको छ ।

गत डिसेम्बरको अन्त्यमा चिलीको तटीय रिसोर्ट सहर भिनास डेल मार नजिकैको जंगलमा लागेको आगलागीमा एक जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घरहरू ध्वस्त भएका थिए । 

खेल खबर
सन्दीप विरुद्ध आन्दोलन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गराएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिकेट समर्थकहरुले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध प्रदर्शन गरेका हुन् ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै क्रिकेट समर्थकहरुले क्यानविरुद्ध प्रदर्शन गरेको हो । सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गरेको हो । सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भईसकेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अनुमति दिएपछि सन्दीपलाई टिममा सामेल गरिएको क्यानले भनाई छ । क्यानको निर्णयविरुद्ध समर्थकले सामाजिक सञ्जालमा ’बाइकट क्यान’ अभियान समेत चलाएको छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।