Live Streaming

अन्नपूर्ण दिनभर : सन्दीपमाथि सर्वोच्चमा परेको निवेदनको सुनुवाई भोलि,दुई पांग्रेमा पछाडि बस्नेलाई पनि हेल्मेट

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौँ । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।

नेपाली कांग्रेस : राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेद्वारी

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने  प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

यस्तै बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेको छ। राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो।

यस्तै कांग्रेसले राष्ट्रपतिको साझा उम्मेदवारको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव कुरिरहको बताएको छ। बैठकपछि सचेतक लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताउनुभयो । 

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो । कैलाली जिल्ला अदालतले १० वर्षअघि ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

उक्त फैसला कार्यान्वयन भएको थिएन । त्यो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको डीआईजी पोखरेलले बताउनुभयो । चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गर्नुभएको छ । थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।

सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको छ । विज्ञप्तीमा रिहाई नगरिए त्यसपछिका घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी समेत दिईएको छ । राज्यले जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास नगरोस् भन्दै नागरिक उन्मुक्ति पार्टीलाई आन्दोलनका निम्ति तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।  

आज माघ १९ 

काठमाडौँ । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएर मुलुकमा कु गरेको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्नुभएको थियो ।

आफैँले नियुक्त गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको गर्नुभएको थियो । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराउनु भएको थियो भने रेडियोमा समाचार प्रशारण गर्न रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो ।

राजाको उक्त कदम धेरै दिन टिक्न सकेन। ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । २०६२ मंसिरमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । त्यसपछि  माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए ।

त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएर मुलुकमा गणतन्त्रको स्थापना भएको थियो । तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन। जन अपेक्षा अनुसार विकास निर्माण कार्यले गति लिन नसक्दा यो शासन व्यवस्थाप्रति पनि जनतामा निराशा छाएको छ ।  

एकीकृत समाजवादीको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदाबारे छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदाबारे छलफल भएको छ ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले प्रतिवेदनको मस्यौदा परिमार्जन गरी केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठक यही माघ २१ र २२ गते बस्दै छ ।राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्को विषय उल्लेख भएको उहाँको भनाइ छ ।  बैठकमा पार्टीका कमिटीहरू पुनर्गठन गर्नेबारे पनि छलफल भएको बताउनुभयो । 

गण्डकी प्रदेश सभाबाट दुई अध्यादेश स्वीकृत

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएको छ ।गण्डकी प्रदेश सभाको आज बसेको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।

यसअघि गत पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानूनमन्त्री विन्दुकुमार थापाले उक्त अध्यादेश टेबल प्रदेश सभामा पेस गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।स्वीकृत भएसँगै उक्त अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन्छ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

परराष्ट्रमन्त्री डा. पौड्याल श्रीलङ्का प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । उहाँलाईश्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुने कार्यक्रम तय भएको छ सो अवसरमा उहाँले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।  

भोलि श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ।परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अर्थ मन्त्रालयका ६ सहित २६ सहसचिवको सरुवा 

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।यीमध्ये चार सहसचिव अर्थ मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । सुवेदी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए भने शर्मा प्रशासन महाशाखा प्रमुख थिए । त्यस्तै, बराल राजस्व महाशाखा प्रमुख थिए । केसी भने वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । 

सरकारले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सुवेदीलाई राष्ट्रिय योजना आयोजको सचिवालयमा सरुवा गरेको छ । त्यसैगरी प्रशासन महाशाखा प्रमुख शर्मालाई गृह, राजस्व महाशाखा प्रमुख बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई स्वास्थ्य, जितेन्द्र बस्नेतलाई गृह र यज्ञराज कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीले बताउनुभयो ।

आज काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उहाँले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्याममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइए सैह्य नहुने चेतावनी समेत दिए ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनुभयो । उहाँले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो । 

पूर्वाधार क्षेत्रमा भ्रष्टाचार निरुपण गर्ने उपाय खोज्न कार्यदल

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ । उपप्राधानमन्त्री श्रेष्ठले प्राडा राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो । कार्यदलले पूर्वाधार तथा यातायत क्षेत्रमा भ्रष्टाचार जन्य काम निरुपण गर्ने उपाय खोजेर ३० दिनभित्र मन्त्रीसमक्ष प्रतिवेदन पेश गर्ने छ।

कार्यदलमा पूर्वसचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा र हरि वस्याल, डा. लिना गुरुङ तथा सदस्य सचिवका रुपमा अर्जुन प्रसाद अर्याल हुनुहुन्छ । कार्यदलको प्रतिवेदनमा मन्त्रालय मातहतका सडक पूर्वाधार, पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन, इन्जिनियरिङ सेवा व्यवस्थापन समेतका क्षेत्रको सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी र सुशासनमैत्री बनाउनका लागि सुझावसहित उल्लेख हुनेछ।समितिले मन्त्रालयको कार्यजिम्मेवारी सम्बन्धित विषयमा सुशासन प्रवर्द्धन गर्न सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्नेछ। 

दुई पांग्रेमा पछाडि बस्नेलाई पनि हेल्मेट

काठमाडौँ । सरकारले दुई पाङ्ग्रे सवारीको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम पुनः लागू गर्न तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा चौतर्फी विरोध भएर कार्यान्वयन नभएको अवस्थामा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले फेरि यो नियम लागू गर्ने तयारी गरेको हो । तर यसको विरोध भने भइरहेको छ । 

नमोबुद्धमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा आगजनी

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। आज दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसले ठक्कर दिंदा ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। उक्त बस काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। 

तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ब्रेक थ्रु

काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो।

‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान सहज भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिनुभयो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो भने अन्तिम विस्फोट मंगलबार गरिएको प्रमुख शिल्पकारको भनाई छ । पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ। 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । एक करोड १९ लाख लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको  आदेशले बैंकिङ कसुर मुद्दामा एक करोड उन्नाईस लाख त्रिहत्तर हजार छ सय रूपैयाँ विगो भई फरार रहेका  सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर १७  ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरी आजै  जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो । 

आर्थिक खबर
सेयर बजार २२.१२ अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २ हजार ९४.५४ विन्दुमा आएर रोकिएको छ । हिजो नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

 हाज १९ कम्पनीमा उकालो लाग्दा १९४ कम्पनीको सेयर भने ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । आज २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक करिब १० करोड रुपैयाँको सेयर कारोवार भएको छ । यस्तै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

विदेशका खबर
रानद्वारा ड्रोन आक्रमणमा इजरायललाई दोष ठहर

काठमाडौँ । इरानले ड्रोन आक्रमणमा इजरायललाई दोषी ठहर गर्दैै बदला लिने धम्की दिएको छ ।  गत शनिबार भएको आक्रमणमा मध्य शहर इस्फहानमा रहेको इरानको डिफेन्स बेसलाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रका लागि इरानको मिसनले आफ्नो वेबसाइटमा प्रकाशित एक पत्रमा आक्रमणमा इजरायललाई दोष देखाएको छ।यस्तै प्रतिशोध लिने कानूनी अधिकार रहेको पनि पत्रमा चेतावनी दिइएको छ ।

इरानका राजदूत अमिर सइद इरावानीले हस्ताक्षर गरेको पत्रमा प्रारम्भिक अनुसन्धानले इजरायल सरकार आक्रमणमा जिम्मेवार रहेको उल्लेख गरेको छ । पत्रमा कुन प्रमाणका आधारमा इरानमाथि आशंका गरिएको हो भन्ने खुलाइएको छैन ।

इजरायली अधिकारीहरूले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। इजरायलले यसअघि इरानको आणविक कार्यक्रम र अन्य क्षेत्रलाई निशाना बनाएर धेरै आक्रमण गरिसकेको छ । इजरायलको शक्तिराष्ट्रहरूसँग सन् २०१५ मा परमाणु सम्झौता भएको थियो। गत शनिबार भएको ड्रोन हमलामा इरानको परमाणु कार्यक्रमलाई लक्षित गरिएको र ड्रोनमा बमबर्षकहरु जडान गरिएको इरानले जनाएको छ ।

उत्तर कोरियाको चेतावनी

काठमाडौँ । उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने भन्दै आज अमेरिकीलाई चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्तर कोरियाको बयान आएको हो ।

उत्तरकोरियाको परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको कदमले तनावलाई चरम उत्कर्षमा पु¥याएकोे जनाएको छ । भयानक आणविक शक्तिका साथ अमेरिकालाई काउन्टर दिन आफूहरू तयार रहेको मन्त्रालयले जनाएको हो । कोरियाली प्रायद्वीपमा आफ्ना अत्याधुनिक सैन्य सामग्री तैनाथ गर्ने भनी अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले मंगलवार सौलमा बताएपछि उत्तर कोरियाको चेतावनी आएको हो ।

दक्षिणसँग संयुक्त तालिम तथा कारवाहीको योजनानिर्माणलाई बलियो बनाउने गरी अमेरिकाले लडाकू विमान र विमानवाहक युद्धपोत पनि तैनाथ गर्न खोजेको छ ।  सन् २०२२ मा उत्तर कोरियाले दर्जनौं क्षेप्यास्त्रको परीक्षण गरेयता दक्षिण कोरियाको सुरक्षा चिन्ता बढेको छ । दक्षिण कोरिया र अमेरिकी मुख्यभूमिमा रहेको लक्ष्यमा प्रहार गर्न सक्ने आणविक क्षमताका क्षेप्यास्त्र पनि उत्तरले परीक्षण गरिरहेको छ ।

खेल खबर
५ महिनापछि राष्ट्रिय टीममा सन्दीपको पुनरागमन

काठमाडौँ । ५ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछाको राष्ट्रिय टीममा सन्दीपको पुनरागमन भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि बन्द प्रशिक्षणमा सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणका लागि २० सदस्यीय टीमको घोषणा गरेको हो ।

यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो । आज ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिँदै दोस्रो चरणलाई २० खेलाडी बोलाएको हो । बलात्कारको मुद्दा खेपि रहेका लामिछाने केहि हप्ता अगाडि धरौटीमा छुटेका थिए । त्यसपछि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरु उठेका थिए ।

बलत्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले पनि निलम्बन गरेको थियो । गत मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा फर्किने बाटो खोलिदिएको थियो ।