अन्नपूर्ण दिनभर : सदनमा गणतन्त्र र राजतन्त्रवादीको कित्ताकाट, गृह मन्त्रालय रविलाई दिनुपर्नेमा ओलीको जोड
सदनमा गणतन्त्र र राजतन्त्रवादीको कित्ताकाट
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा देशमा मौजुदा व्यवस्थालाई लिएर सत्तापक्षकै सांसदहरुको जुहारी चलेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयताविरुद्ध बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि सत्ता पक्षकै सांसदहरुको जुहारी चलेको हो ।
पन्तले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै सरकारमा सहभागी मन्त्रीहरू नै संविधानको मान्यताविपरीत धर्म निरपेक्षता र संघीयतालाई मान्दिनँ भन्नु मुलुकको लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताउनुभयो ।
त्यसलगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले पनि सरकारमा बसेर संघीयताको विरुद्ध बोल्न नमिल्ने बताउनुभएको छ । सडकमा बहस एक हदसम्म स्वीकार्य हुनसक्ने उहाँको भनाई थियो । तर, सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उहाँहरुका भनाईप्रति आपत्ति जनाउनुभयो ।
शाहिले सांसदहरुको भनाइप्रति नियमापत्ति गर्दै संविधानको धारा २७४ उल्लेख गर्दै गणतन्त्र चाहिन्छ वा चाहिदैन भन्ने बिषय पनि यही संसदले लागू गर्नसक्ने बिषय भएको उल्लेख गर्नुभयो । त्यसलगत्तै बोल्नुभएका राप्रपा महामन्त्री धवलशमशेर राणाले राजतन्त्र फर्काएरै छाड्ने उद्घोष गर्नुभयो ।
संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताउदै उहाँले राजसंस्था स्थापना गर्नका लागि कुनैपनि संविधानले नरोक्ने र कार्यान्वयन गरिछाड्ने बताउनुभयो । यस्तै उहाँको भनाइप्रति जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले चर्को असन्तुष्टि पोख्दै संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।
संविधान नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउँदै उहाँले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताउनुभएको छ । अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारमा पनि बस्ने र व्यवस्थाको पनि विरोध गर्न नपाईने बताउनुभएको छ ।
रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै भण्डारीले संविधानकै विरोध गर्न पनि छुट रहेको बताउदै सरकारमा सहभागि भईसकेपछि विरोध गर्नु स्वभाविक नभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले व्यवस्थाका बारेमा फरक मत राख्ने मन्त्रीलाई स्पष्टीकरण सोध्छु भन्नु गलत भएको समेत बताउनुभएको छ ।
गृह रविलाई दिनुपर्नेमा ओलीको जोड
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालयबारे सत्तारुढ गठबन्धनमा भएको सहमति कायम हुनुपर्ने बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटवार्ताका क्रममा उहाँले रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिनुभएको हो ।
सर्वोच्च अदालतको फैसलापछि पद गुमाएका लामिछाने पुनः गृहमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लविङमा हुनुहुन्छ । लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसित छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । सत्ता गठबन्धनलाई अघि बढाउन ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई तत्काल गृहमन्त्री बनाउनुपर्ने पक्षमा उभिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री आफैँसँग राख्ने बताउनुभएको छ । प्रचण्ड–ओलीबीच आजको भेटवार्तामा राष्ट्रपति पदको निर्वाचनका विषयमा पनि छलफल भएको थियो ।
ओलीभन्दा अगाडि आजै बिहान प्रधानमन्त्रीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिनुभएको छ ।
रवि नै गृहमन्त्री ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने पूनः उपप्रधानसहित गृहमन्त्रीमा फर्कने चाहनामा हुनुहुन्छ । आईतवार नागरिकता लिएर रास्वपाको सभापतिमा फर्किनु भएका लामिछाने उपनिर्वाचन नहुँदासम्मगृहमन्त्रीमा नियुक्त गर्न भन्दै शक्ति केन्द्र धाइरहनु भएको छ ।
उहाँलाई गृहमन्त्री बनाउन नेकपा एमालेले प्रधानमन्त्रीलाई दबाव दिएपनि राहादानी विवाद नटुंगिदासम्म लामिछाने गृहमन्त्री बन्न नहुने नेकपा माओवादीको तर्क छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै उजुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल(सफल)ले आयोगसमक्ष उजुरी दिनुभएको हो अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ ।
गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने उहाँको माग छ ।
देउवाविरुद्धको परेको रीट दरपीठ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्च पुग्नुभएको थियो ।
उहाँले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परामादेश दिनुपर्ने माग गर्नुभएको थियो । तर सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले उहाँको रिट दरपीठ गर्नुभएको हो । संसदका कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक विषय भएको र यस्तो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिष्टारको निर्णयमा उल्लेख छ ।
३३ प्रतिशत महिला अनिवार्य
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताउनुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो व्यवस्था राख्ने जानकारी गराउनुभएको हो । स्थानीय तहको प्रमुख र उपप्रमुख अथवा, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ ।
दलहरुले अध्यक्ष वा उपाध्यक्षमध्ये एक जनामात्रै उम्मेदवार बनाउँदा के गर्ने भन्ने कानुनमा प्रष्ट छैन । अब बन्ने कानुनमा एउटा पदमा मात्र उम्मेदवार बनाउँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने पनि थपलियाले स्पष्ट पार्नुभयो । वडा अध्यक्षमा पनि दलहरुले एक तिहाइ उम्मेदवार महिला बनाउनुपर्ने व्यवस्था निर्वाचनसम्बन्धी नयाँ कानुनमा गर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रचण्ड प्रदेश १ का मुख्यमन्त्रीबीच भेट
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । दुई नेताबीच बधाई तथा शुभकामना आदान प्रदान र समसामयीक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ। प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन । आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आउनु भएको छ ।
बैठक पुनः स्थगित
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ । आज विहानका लागि बोलाइएको बैठक भोलिका लागि सरेको महासचिव देव गुरुङले जानकारी दिनुुभयो । स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो ।
यूएसएआईडी प्रमुख नेपाल आउँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउनुहुने भएको छ । यूएसएआईडीले आज एक विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने जानकारी दिएको हो । नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो ।
तर उहाँ कुन मितिमा आउने भन्ने सम्बन्धमा भने प्रस्ट पारिएको छैन । पावरको भ्रमण आगामी माघ २२ गतेदेखि २४ गतेसम्म हुने गरी गृहकार्य भइरहेको बताइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले सोही मितिलाई आधार मानेर पावरको भ्रमणको गृहकार्य गरिरहेको हो ।
अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।भ्रमणका क्रममा प्रमुख पावरले नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल गर्ने विज्ञप्तीमा उल्लेख छ ।
साथै, उहाँले भ्रमणमा नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख गरिएको छ । उहाँले संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई बलियो बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
१० प्रतिशत सेवा शुल्क पुनःस्थापनाको माग गर्दै संघर्ष
काठमाडौँ । केन्द्रीय संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले १० प्रतिशत सेवा शुल्क पुनःस्थापनाको माग गर्दै सात दिने सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ । आज सङ्घर्ष समितिले काठमाण्डौमा विरोध सभा गर्दै होटल तथा रेस्टुरेन्टमा काम गर्ने ट्रेड युनियनहरूले १० प्रतिशत सेवा शुल्क पुनःस्थापनाको माग गर्दै चरणबद्धरूपमा सात दिने सङ्घर्षको आन्दोलन घोषणा गरेको हो ।
समितिले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीले खाइपाइ रहेको सेवा सुविधा कटौती भएको भन्दै असन्तुष्टि जनाएका छन् । माघ २७ गतेदेखि सबै होटलको बुकिङ बन्द गर्ने र क्षेत्र अनकूल विरोध सभा गर्ने, फागुन २ गते महासङ्घको सहभागितामा खुला विरोध सभा गर्ने, फागुन ७ गतेदेखि पर्यटन क्षेत्रमा अनिश्चितकालीन हड्ताल गर्ने कार्यक्रम रहेको छ ।
सङ्घर्षमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घ, नेपाल स्वतन्त्र होटल तथा क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट सङ्घ नेपालको समेत साथ रहेको छ । गएको बुधवार सर्वोच्च अदालतले होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेसँगै होटल मजदुरहरू आक्रोशित बनेका हुन् ।
शिक्षकको राजीनामा दिने दर बढ्यो
काठमाडौँ । विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको छ । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको राष्ट्रिय कितावखानाका कायममुकायम उपनिर्देशक रामराज खकुरेलले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताबखाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिनेछन् । खकुरेलले अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरुको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक रहेको बताउनुभयो ।
यो वर्ष राजीनामा दिने शिक्षक मध्ये अधिकांशको सेवा अवधि ३० वर्ष पुगेको र प्रविधिमार्फत पढाउन समस्या भएको जस्ता कारण रहेको बताइएको छ ।
सुर्ति तस्करीमा संलग्न पक्राउ
काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रंगेली नगरपालिका–५ बाट प्रहरीले सूर्ति तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मियाँलाई पक्राउ गर्नुका साथै ६ सय ९० किलोग्राम अवैध सूर्ति बरामद गरेको छ । बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ ।
भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका मियाँ र बरामद भएको सूर्तिलाई प्रहरीले भन्सारमा बुझाएको छ ।
आर्थिक खबर
सेयर बजा सामान्य अंकले बढ्यो
काठमाडौँ । तीन दिन निरन्तर ओरालो लागेको सेयर बजार आज सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ४.९७ अंकले बढेर २१ सय १६.६५ विन्दुमा रोकिएको हो । नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ । यसअघि साताको सेयर कारोबारका तीन दिन आइतबार,सोमबार र मंगलबार नेप्से निरन्तर ओरालो लागेको थियो ।
आज २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रूपैयाँमा खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन हिजो २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँमा कारोबार भएको थियो । एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लेभलमा कारोबार भएको हो। सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ८.२८ प्रतिशतले मूल्य बढेको हो । यसदिन कारोबार रकमका आधारमा नेपाल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको ५ करोड ९३ लाख बढिको सेयर किनबेच भएको छ ।
भारतले नेपाललाई दिने सहयोग घटायो
काठमाडौँ । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । आज भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३÷२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसारको सहयोग नभएको देखिएको छ ।
गत वर्ष ६ अर्ब ८० करोड नेपाली रुपैयाँ मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ ।भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्ने गरेको छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गरेको छ । आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ ।भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।
विदेशका खबर
काठमाडौँ । नरेन्द्र मोदी सरकारले भारतमा वर्षको सात लाख भारुसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्न नपर्ने ब्यवस्था गरेको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आज नयाँ आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै आयकर तिर्नु नपर्ने यसअघिको वार्षिक पाँच लाख सीमालाई बढाउँदै सात लाख पु¥याउनुभएको हो ।
यो व्यवस्थाबाट देशमा ठूलो सङ्ख्यामा रहेका मध्यम वर्ग लाभान्वित हुने छन् । यस्तै वर्षमा सात लाखभन्दा बढी आम्दानी गर्नेले सुरुको तीन लाख रुपैयाँसम्मको आयकर तिर्नुपर्ने छैन ।
वर्षमा ७ लाख भारुभन्दामाथि ३ देखि ६ लाखसम्मको आम्दानीमा ५ प्रतिशत, ६ देखि नौ लाखसम्मको आम्दानीमा १० प्रतिशत, नौदेखि १२ लाखसम्मको आम्दानीमा १५ प्रतिशत, १२ देखि १५ लाखसम्मको आम्दानीमा २० प्रतिशत र बाँकी १५ लाखभन्दा बढीको आम्दानीमा ३० प्रतिशत आयकर तिर्नुपर्नेछ ।
बजेट सार्वजनिक गर्दै वित्त मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी र चुरोटमा भन्सार कर बढाउने घोषणा समेत गर्नुभएको छ । उहाँले आउँदो आर्थिक वर्ष भारतको अर्थतन्त्र सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गर्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
श्रीलंकाका राष्ट्रपतिद्धारा खर्च घटाउन निर्देशन
काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिनुभएको छ । राष्ट्रपतिको कार्यालयले अहिले सरकारको राजस्व मासिक खर्चभन्दा निक्कै कम रहेको जनाएको हो । राष्ट्रपति विक्रमासिङ्घेले जनरल ट्रेजरीले भुक्तानीकर्ताबाहेक सबै खर्चहरू पूरा गर्न अहिले अत्यन्त चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताउनुभएको छ । गएको वर्षदेखि श्रीलङ्काले चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ ।श्रीलंकामा चरम आर्थिक संकट हुँदा महंगी समेत आकाशिएको छ ।
खेल खबर
नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना परेका छन् । क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।
क्यानले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण गरेको छ । ग्रेड एमा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन् ।
आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बीमा छन् । ग्रेड सीमा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् । महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरिएको हो ।
ग्रेड ए र ग्रेड बीमा ३÷३ जना छन् भने ग्रेड सीमा ६ जना रहेका छन् । कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ ।