Live Streaming

अन्नपूर्ण दिनभर : गृहमन्त्रालयको नेतृत्वका कारण गठबनधनमा विवाद, भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार 

गृहमन्त्रालयको नेतृत्वकै कारण गठबन्को आयूमा शंका

काठमाडौँ । गृहमन्त्रालयको नेतृत्व विवादले सत्तारुढ गठबनधनको भविश्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रालयको नेतृत्व फेरी दिने बिषयमा एमाले र माओवादीमा देखिएका दुईथरी मत अनि मन्त्रालय नपाए सरकारमा नबस्ने रास्वपाले दिईरहाँ यो बिषय झनै पेचीलो बनेको हो ।

आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको थियो । त्यसक्रममा लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीलाई दिन आग्रह गर्नुभएको थियो । तर मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा भने देखिनुभएको छैन ।

लामिछानेले सर्वोच्चको फैसलापछ आईतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपी लिईसक्नुुभएको छ । त्यसलगत्तै पार्टीको सभापतिमा पुर्नबहाली हुनुभएका लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ बढाइरहनुभएको छ । त्यसक्रममा लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी समेत दिनुभएको थियो ।

नेकपा एमालेले रविलाई नै गृहमन्त्री बनाउने अडान तथा प्रचण्ड सकारात्क नरहनुले गठबन्धनमा खटपटको स्पष्ट संकेत गर्छ । तर आजै बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएको छ । 

यस्तै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू सत्ता गठबन्धन जोगाउने पक्षमै रहेको बताउनुभएको छ । पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूहरू सल्लाहमै भएको बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि सहमतिअनुसार पाएको मन्त्रालयको नेतृत्व वगर्न नदिए सरकारमा बस्नुको कुनै औचीत्य नहुने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै बुर्लाकोटीले गठबन्धनमा रहेका दलहरुले कुनै आश्वस्त पार्ने बाटो देखाउनुपर्नेमा त्यसो समेत नभएको बताउनुभयो । यस्तै उहाँले मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने मात्रै माग राखेको र व्याक्ति टुंग्याई नसकेको पनि बताउनुभएको छ । 

खटपटमा सत्ता गठबन्धन रिपोर्ट 

काठमाडौँ । फरकफरक विचारधारा बोकेका पार्टीहरु मिलेर सरकार गठन भएको छ । सरकार गठन गर्दा सबै दलले, सबै दलका विचार र सिद्धान्तलाई सम्मान गर्ने सहमित गरे । तर सत्ता प्राप्तीका लागि मात्रै गठबन्धनमा जोडिएका दलहरुले एक महिना नबित्दै एकअर्काको अस्तित्व स्विकार गर्न सकेनन् । जसका कारण सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । 

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति :  प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । आज नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले  सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको हो ।

सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि आश्वासन दिनुभयो  । उहाँले पत्रकार र सञ्चारमाध्यमहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभुति गरिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने समेत बताउनुभएको छ  । सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध उहाँले स्पष्ट पार्नुभयो । 

मन्त्रिहरुको निर्देशनको बाढी 

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका मन्त्रिहरुले निर्देशन दिने कामलाई तिव्रता दिएका छन् । आफूले दिएको निर्देशनको कार्यान्वयन नहुने पुरार्नै शैलीमा मन्त्रिहरुको निर्देशन बढ्न थालेको हो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ । 

पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको हो । उहाँले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गर्नुभयो ।

उहाँले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री किराँतीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने समेत चेतावनी दिनुभएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको छ । आज औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो निर्देशन दिनभएको हो ।

उहाँले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न उहाँको आग्रह छ । उहाँले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

सन्दीपविरुद्ध सर्वोच्चमा रिट 

काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका नेपाल राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता संजीवराज रेग्मीले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको जानकारी दिनुभयो । 

उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो । उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको  थियो ।

सन्दीपलाई विदेश जान समेत रोक लगाइएको छ । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।   

रविलाई हराउने कांग्रेसको दाबी 

काठमाडौँ । रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले दाबी गरेको छ । नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताउनुभएको हो ।

नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गर्नुभयो । कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उहाँले सभापति शेरबहादुर देउवालाई भेटेर चितवन–२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको बताउनुभयो ।

गत निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । गत निर्वाचनमा  लामिछानेले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो । 

जसपा र रेशम चौधरीबीच छलफल 

काठमाडौँ । पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ । वार्ता समितिको संयोजकसमेत रहनुभएका श्रेष्ठले आज डिल्लीबजार जेलमै गएर रेशमसँग छलफल गर्नुभएको हो ।

उनीहरूबीच एक घन्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण  बस्नेतले जानकारी दिनुभयो । पार्टी खोल्नुअघि जसपामै रहेका चौधरीलाई एकसाथ अगाडि बढ्न जसपा नेता श्रेष्ठले आग्रह गर्नुभएको थियो ।

जवाफमा चौधरीले उक्त प्रस्ताव पार्टीमा राख्ने बताउनुभएको थियो । जसपाले कार्यदल नै बनाएर एकता अभियानलाई तीव्रता दिएको छ । जसपाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पनि एकताका विषयमा निरन्तर छलफल गर्दैै आएको छ ।

६ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरु 

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान सुरु भएको बताउनुभएको हो ।

नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । परिवारको नमुना सङ्कलन र ६ जनाको शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो ।

पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७१ जनाको निधन भएको पुष्टि भएको छ । हराइरहेका अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीको आग्रह 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।  

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएकाले तत्काल आर्थिक रणनीति अपनाउन आग्रह गरिएको छ । माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । 

ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा. विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्नेलगायतका विषयलाई समेटिएको जानकारी दिनुभयो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको पौडेलले बताउनुभयो । 

उपेन्द्र महतोसँग प्रहरीको बयान 

काठमाडौँ । इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले महतोसँग बयान लिइएको पुष्टि गर्नुभएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गर्नुभएको थियो । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उहाँको स्ट्याटसमा उल्लेख गरिएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल 

काठमाडौँ । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १ सय १०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल १ सय १० औँ स्थानमा परेको हो ।

सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ १ सय १७औँ स्थानमा थियो ।अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । 

भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १ सय ८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ । यस्तै, १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

पेसी स्थगित 

काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको पेसी स्थगित भएको छ । जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध चौधरीले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्न आजलाई पेसी तोकिएको थियो ।

तर, सर्वोच्च अदालत प्रशासनले इजलास नै नतोकि चौधरीको मुद्दाको पेसी स्थगित भएको जनाएको छ । चौधरीले २०७७ फागुन १२ मा दिएको निवेदनमाथि सर्वोच्च अदालतमा हालसम्म पनि सुनुवाइ हुन सकेको छैन । चौधरीको निवेदनमाथि सुनुवाइ गर्न भन्दै ८ पटक पेसी तोकिएको छ । तर सुनुवाइ भने १ पटक पनि भएको छैन । चौधरीको निवेदनमाथि सुनुवाइका लागि यसअघि ३ पटक इजलास समेत तोकिएको थियो । 

२ पटक हेर्न नभ्याइने र १ पटक हेर्न नमिल्ने हुँदै मुद्दा स्थगित भएको थियो। अन्तिमपटक २०७९ भदौ २६ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो। त्यस बेला पनि इजलासमा हेर्न नमिल्ने भएपछि पेसी सरेको थियो ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७५ फागुन १२ गते फैसला सुनाएको थियो। त्यसको करिब २ वर्षपछि ३ पुस २०७७ मा उच्च अदालत दिपायलले रेशमसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

आर्थिक खबर
सेयर बजार निरन्तर ओरालो 

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ ।  साताको दुई दिन अस्ती र हिजो  निरन्तर घटेको सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट गिरावट आएको हो । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.६८ र सोमबार ४१.०१ अंकले ओरालो लागेको थियो ।

यसदिन नेप्से परिसूचक १५.७० अंकले घटेर २१ सय ११.६८ विन्दुमा पुगेको छ ।  २५९ कम्पनीको ७५  लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँमा कारोबार भयो। अघिल्लो कारोबार दिन ३ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो। आज ५७ कम्पनीको मूल्य बढ्दा १४८ को मूल्य ओरालो लागेको हो। बाँकी ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

यस्तै सेन्सेटिभ इण्डेक्स २.३६ अंकले घटेर ४००.६२ मा अडिएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक घटेको छ भने १ को मात्रै बढ्यो। इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रो फाइनान्सको सूचक १ प्रतिशत बढिले घट्यो। हाइड्रो पावरको भने ०.०२ प्रतिशतले सूचक बढेको हो ।

आज एउटै मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यसदिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रहेको छ ।उक्त कम्पनीको १९ करोड बढीको सेयर किनबेच भएको छ । 

अन्तरबैंक एटीएम शुल्क घट्यो 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सकिने जनाएको छ । 

यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार  २० रुपैयाँसम्म लिन सकिने ब्यवस्था रहेको थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन  ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन  दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ । त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन  दुई लाखसम्म पठाउन सकिने छ । यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था रहेको थियो । 

विदेशका खबर
पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

काठमाडौँ । पाकिस्तानको पेशावर सहरको पुलिस लाइन मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ  । बीबीसी उर्दू रिपोर्टका अनुसार अस्पतालमा ल्याइएका सबैको पहिचानको काम सकिएको छ । हाल पेशावरको लेडी रिडिङ अस्पतालमा ५७ घाइतेको उपचार भइरहेको छ ।

१ सय ५७ घाइतेलाई अस्पताल ल्याइएको थियो, जसमध्ये अधिकांशलाई उपचारपछि घर पठाइएको छ । मस्जिद भवनको भग्नावशेषमा कोही पनि फसेका छैनन् । विस्फोटपछि सुरु भएको अभियानमा भग्नावशेषबाट २४ जनाको शव निकालिएको र नौ जनाको जीवितै उद्धार गरिएको उद्धार संस्थाका अधिकारीहरूले बताएका छन् । अहिले भग्नावशेष हटाउने काम अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन् ।

मस्जिदमा करिब ५०० बढीले प्रार्थना गरिरहेका बेला अज्ञात व्यक्तिले आफैंलाई विस्फोट गराएका थिए र  विस्फोटको अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ ।  

खेल खबर
क्यानसँगको सम्झौता एकतर्फीरुपमा रद्ध

काठमाडौँ । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता एकतर्फीरुपमा रद्ध गरेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।

गत पुष ९ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना भएको नेपाल टी–२० लिग तीव्र विवादित बनेको थियो । प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए भने प्रतियोगिताका दौरान खेलाडीको पारिश्रमिक र स्पट फिक्सिङको विवाद उब्जियो ।

फिक्सिङका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले बताएको छ, जसमध्ये दुई नेपाली खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर संघले सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बयान दिनुभएको थियो  ।

क्यानले नेपाल टी–२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो । भारतीय कम्पनीले क्यानलाई ८ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौतामा उल्लेख छ । आजको बैठकमा सातजना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् ।