Live Streaming

अन्नपूर्ण दिनभर : रवि लामिछानेले सम्हाले रास्वपाको कमाण्ड, कामपा मेयर बालेन शाह विरुद्ध प्रदर्शन


रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौँ । नेपाली नागरिकताको पुनः प्रप्ति गरेसंगै रवि लामिछालाई पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको जिम्मेवारी दिएको छ । आज लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

रविले आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको  भन्दै शुक्रबार सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरेको थियो । योसँगै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त हुनुभएको थियो भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।

सत्ता गठबन्धनमा गृह मन्त्रालयको नेतृत्वबारे छलफल चलेको छ । गृह अरुलाई नछाड्ने बताउँदै रास्वपाले अर्को व्यक्ति पठाउने सम्मको तयारी गर्दा नेकपा माओवादी केन्द्र भने फेरि सो मन्त्रालय उसलाई दिन तयार छैन । यद्यपी नेकपा एमालेले भने रविलाई नै गृहमन्त्री पदमा बहाली गर्न दवाब दिएको बुझिएको छ ।

नेपालको संविधानले गैर–सांसद व्याक्ति समेत ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार गैर–सांसद लामिछानलाई ल्याउन दवाव दिईएको हो । तर, बाहिर विवाद हुनसक्ने भएकाले यो विकल्प रोजिने सम्भावना न्यून देखिन्छ । 

यसअघि आजै एमालेका महासचिव शंकर पोखरेलले समेत सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालिएको सम्मको अभिव्याक्ति दिनुभएको थियो । लामिछाने पदमुक्त भएपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडलले जानकारी दिनुभयो । राप्रपाले पनि  लामिछानेका विषयमा दोहोरो राहदानीको विषय पनि उठिरहेकाले केही समय ‘विश्राम’ लिनुपर्ने राय राखेको बुझिएको छ । 

राजनीतिक विश्लेषक जगदीश दाहालले पनि प्रचण्डले अस्थीर राजनीतिको यात्रा टुंग्याए मात्रै यो गठबन्धन रहने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै दाहालले रास्वपालाई एमालेले नै भित्री रुपमा मलजल गरेकाले गृहमन्त्रीमा रविलाई नै चुन्नु स्वभाविक हुने समेत बताउनुभएको छ ।

एकजना अनागरिक रहेका र विवादमा तानिएका ब्याक्तिलाई देशकै बागडोर सम्हाल्न दिएको जिम्मा प्रचण्डले नै लिनुपर्ने समेत बताउनुभएको छ । 

अन्तर्घातको विवरण बुझाउने म्याद १५ दिन थप 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संघ तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्नेको विवरण बुझाउने म्याद १५ दिन थप गरेको छ । पार्टी अनुशासन समितिको बैठकले जिल्ला अनुशासन समितिबाट आएको सुझावका आधारमा १५ दिन म्याद थप गर्ने निर्णय गरेको केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

पार्टीमा अन्तर्घात बढेको गुनासोसँगै कांग्रेसको केन्द्रीय अनुशासन समितिले सबै जिल्लामा अनुशासन समिति गठन गरी माघ १५ भित्र अन्तर्घात गर्नेको विवरण केन्द्रमा पठाउन निर्देश गरेको थियो। सोही अनुसार काम आउनुपर्ने विवरण आउन ढिलाइ भएपछि थप १५ दिन अर्थात माघ मसान्तसम्म विवरण पठाउने समय थपिएको उहाँले बताउनुभयो ।

यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित माघ मसान्त सम्मलाई बढाइएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताउनुभएको छ । आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताउनुभएको हो ।

उनले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने पनि बताउनुभयो । गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले निकै मेहनत गरेर नयाँ संविधान जारी गरेको उल्लेख गर्दै संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताउनुभयो । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण काम गरेको पनि उहाँले बताउनुभएको छ ।

अध्ययन गर्दै माओवादी कार्यदल 

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको कार्यदलले स्थायी कमिटीमा पेस भएका विभिन्न प्रतिवेदनमाथि अध्ययन सुरु गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष कृष्णबहादुर महराले पेस गरेको पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पेस गरेको संगठनसम्बन्धी प्रतिवेदन र उपमहासचिव गिरिराजमणि पोखरेलले पेस गरेको स्कुल विभागको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको भएको हो ।

प्रतिवेदनमाथि सदस्यहरूले उठाएका विषय समेत समावेश गरेर कार्यदलले भावी योजना तयार पार्ने बताइएको छ । भोली बस्ने स्थायी कमिटि बैठकमा कार्यदलले योजना पेस गर्नेछ ।केन्द्रीय नेताहरूको कार्यविभाजनको विषयमा पनि कार्यदलले प्रस्ताव तयार पार्नेछ । नेपाल समाजवादी पार्टीसँग एकताको प्रस्ताव बैठकमा पेस भएको छ । एकीकृत समाजवादीसँग भने शीर्ष तहमा छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव कार्यदलको छ ।

कार्यदलको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गर्ने भएको छ । कार्यदललाई दुई दिनको समय दिएर स्थायी कमिटी बैठक भोलीसम्मका लागि स्थगित भएको थियो । महासचिव देव गुरुङको संयोजकत्वको कार्यदलमा उपमहासचिवहरू सदस्य रहेका छन् ।

ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अहिले कुनै गुटको अस्तित्व नरहेको भन्दै जनसंगठनहरूमा पनि गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । स्ववियू चुनावका सन्दर्भमा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी अनेरास्ववियूका पदाधिकारीहरुलाई अध्यक्ष ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको हो ।

ओलीले एमालेमा कुटै गुट नरहेको र गुटबन्दीलाई स्थान समेत नरहेको भन्दै अनेरास्ववियुको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न विद्याथर्जी नेताहरूलाई आग्रह समेत गर्नुभयो । अनेरास्ववियुको महाधिवेशन फागुन २ र ३ गते काठमाडौंमा हुँदैछ । अध्यक्षका लागि आरसी लामिछाने र समिक बडालबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै झपिन्द्र खत्री,मोती विक,उमेश आचार्य,लोकेश निरौलाले पनि अध्यक्षमा दाबी गरेका छन् । त्यस्तै महासचिवमा कल्पना वाइबा, रेश रोकाय, सुदर्शन शिवाकोटी गोविन्द गिरी, नारायण घर्तीलगायतको दाबी छ । 

स्ववियू निर्वाचनको प्रस्तावित आचारसंहिता तयार 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तावित निर्देशित २०७९ सार्वजनिक गरेको छ । चैत ५ गते हुने निर्वाचनको लागि त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता सार्वजनिक गरेको हो ।

स्ववियू निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा गराउने प्रयोजनार्थ केन्द्रीय अनुगमन तथा समन्वयन समितिले आचारसंहितमा उल्लेख भएका नियमहरुलाई पालन भए नभएको अनुगनम गर्ने उल्लेख गरेको छ । आचारसंहितमा क्याम्पसको कम्पाउण्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्पाम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने, निर्वाचन सम्बन्धी कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने, त्रिविका क्याम्पसहरुलाई हानि हुने कुनै प्रकारका प्रचार प्रसार गर्न नपाइने, क्याम्पस हातात्रि माइकबाट कुनै पनि प्रकारको प्रचार गर्न नपाइने लगायतको व्यवस्ता गरेको छ ।

यस्तै चुनावको तयारीको विषयमा आज त्रिविको कार्यकारी परिषद्ले विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरेको छ । छलफलको   विद्यार्थीको माग सम्बोधन गर्न त्रिवि तयार रहेको  परिषद्ले बताएको छ । 

नुल्याण्ड आज नेपाल आउँदै

काठमाडौँ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज साँझ नेपाल आउनुहुने भएको छ ।नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नु भएको हो । भ्रमणका क्रममा उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नुहुनेछ । अमेरिकाका विदेश मन्त्रालयमा ३३ वर्ष बिताउनु भएकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उहाँले अवलोकन गर्नुहुनेछ । भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो भ्रमणबारे जानकारी दिने पनि नेपालमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ ।

नारायणकाजी चिनियाँ राजदूत भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गर्नुभयो । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गर्नुभयो । सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

यस्तै अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, सङ्खुवासभा–किमाथाङ्का सडकखण्डका अलावा सीमानाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो । 

बालेन साह विरुद्ध प्रदर्शन 

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन साह विरुद्ध आज माइतीघरमा प्रदर्शन भएको छ । काठमाडौंबासीले आज माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरूले विरोध गरेका छन् ।

डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंबासीले विरोध जनाएका हुन् । विरोधसभालाई सम्बोधन गर्दै उपत्यका सम्पदा संरक्षण अभियन्ता सुमन सायमीले जनताको मतबाट जितेर जनताको भावना नबुझ्ने मान्छे मेयरको लायक नभएको भन्दै आलोचना गर्नुभएको छ । महानगरले जनताको निजी सम्पत्ति गैरकानूनी ढंगले लुटिरहेको उहाँको टिप्पणी छ । 

कालोसूचिमा राखियो 

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । आज एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा परेको छ । त्यस्तै, अन्यलाई भने एक वर्षका लागि कालो सूचीमा राखिएको हो ।कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं रहेका छन् ।

यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्कर प्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा भरतपुर चितवन, रानी कुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरी पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट प्रालि पोखरालाई पनि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कामकारबाहीमा भाग लिन नपाउने बताइएको छ ।

नेपालमा दुर्घटना बढ्दो 

काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने क्रम बढ्न थालेको छ । देशभर बर्षेनी २८ हजार बढी दुर्घटना हुन्छ । यी दुर्घटनाबाट २ हजार ५ सय बढीको मृत्यु हुने नेपाल प्रहरीको तथ्याङक छ । प्रत्येक दुर्घटनापश्चात अनुगमन समिति बनेर सरकारलाई प्रतिवेदन बुझाउने भएपनि प्रतिवेदन अनुसार न्यूनिकरणका प्रयासहरु नहुँदा समस्या ज्यूँको त्यूँ छ । 

आर्थिक खबर
सेयर बजार दोहोरो अंकले घट्यो 

काठमाडौँ । सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।  नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ । २६७ कम्पनीको  ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड  ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भएको हो ।

दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ ।  सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढेको छ । होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो ।  

विदेशका खबर
इरानमा शक्तिशाली भूकम्प 

काठमाडौँ । इरानको उत्तरपश्चिमी भागमा शक्तिशाली भूकम्प गएको गएको छ ।  ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्युभ भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तीन सयभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको समाचार छ ।

भूकम्पको जानकारी दिने युरोपेली भूमध्य केन्द्रले टर्की, इराक, आर्मेनिया र अजरबैजानमा पनि भूकम्पको धक्का महसुस गरेको जानकारी दिएको छ । राहत र उद्धार टोलीहरू पश्चिम अजरबैजान प्रान्तमा पठाइएको छ । खोय शहरमा घरहरू र अन्य भवनहरू ध्वस्त भएको रिपोर्ट गरिएको छ ।

भूकम्प प्रभावित केही क्षेत्रमा हिमपात भएको आकस्मिक सेवासँग सम्बन्धित एक अधिकारीले बताएका छन् । यसैबीच विद्युत् कटौतीका कारण समस्या बढेको छ । सन् २०२० मा इरानको पश्चिमी क्षेत्रमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा ९ जनाको मृत्यु भएको थियो । 

खेल खबर
क्यान अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग

काठमाडौँ । नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)का सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीमाथि कारबाहीको माग गर्दै राजीनामा मागेका छन् ।

क्यानका केन्द्रिय सदस्यहरुले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन् । राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ  । फिक्सिङमा मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ । तर क्यानलका अध्यक्ष चन्दले भने आफूहरुले जानाजान गल्ती नगरेको बताउदै आएका छन् ।