अन्नपूण दिनभर : राष्ट्रपति निर्वाचनको मिति तोक्न अलमल, रविलाई सुनियोजित रुपमा फसाइएको भन्दै प्रर्दशन
राष्ट्रपति निर्वाचन कहिले?
काठमाडौँ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन करिव डेढ महिना मात्रै बाँकी छ । कानुनलाई आधार मान्दा निर्वाचन आयोग अहिले राष्ट्रपतिको निर्वाचनमा जुटिसक्नुपर्ने समय हो । संविधानको धारा ६२ (७) ले राष्ट्रपतिको निर्वाचन संघीय कानून बमोजिम हुने उल्लेख गरिएको छ । यस्तै धारा ६३ मा भने राष्ट्रपतिको कार्यकाल ५ बर्ष हुने उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रपति र उप–राष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको पदावधि सकिन १ महिना अघि नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको छ । संविधानको धारा ६२ ले राष्ट्रपतिको निर्वाचन संघीय कानून बमोजिम हुने उल्लेख गरेपनि निर्वाचन आयोग भने संविधान र कानून कसलाई आधार मानेर निर्वाचन गराउने भन्ने बिषयमै अलमलिएको छ ।
दलहरुले भने उम्मेदवार उठाउने बिषयमा औपचारिक र अनौपचारिक छलफललाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहदा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ ।
तर, प्रधानमन्त्री बन्दा भएको सहमति र विश्वासको मत पाउदा कांग्रेसलाई समेत विश्वासमा ल्याउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कस्लाई सहयोग गर्ने भन्नेमा अन्यौलता देखिदा राष्ट्रिय सहमतिको बिषय उठाएको छ । बिहीबारको स्थायी कमिटी बैठकले समेत राष्ट्रपतिमा एमालेसहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
तर बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएको बिषय बाहिरिएपछि गठबन्धन दलहरुबीच तिक्तता देखिएको आश.का पनि गरिएको छ ।
माओवादीको बैठकमा प्रचण्डले संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राख्नुभएको थियो । त्यहा प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने बताउदै यस बिषयमा गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाई छ ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताउनुभएको छ । आज पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताउनुभएको हो ।
फरक प्रसंगमा कुरा गर्दै उहाँले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुनेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति : भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताउनुभएको छ । आज गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताउनुभएको हो ।
राष्ट्रपतिमा तपाईंको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले शुभेच्छुकहरुले नाम लिएको बताउनुभयो । अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेकोको जोड दिनुभएको हो ।
इश्वर पोखरेल र शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताउनुभएको हो ।
अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उहाँको भनाइ छ ।
यस्तै, (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने कोसिस भइरहेको टिप्पणी गर्नुभएको छ । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उहाँले मुलुकमा देखापरेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेकोसमेत बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार
काठमाडौँ । गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्नुभएको छ । नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानले गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले सो पद सम्हाल्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ । हिजो सर्वाेच्च अदालतले लामिछानेको वैधानिक नागरिकता नभएकाले त्यस आधारमा उम्मेदवारी दिएर चुनाव जितेका उनको सांसद पद खारेज भएको छ ।
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् ।
नेपालमा कानुनी राज छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालसर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले रवि लामिछाने विरुद्ध सर्वोच्चको फैसलालाई लिएर देशमा कानुनी राज रहेको बताउनुभयो । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने धारणा राख्नुभएको हो ।
संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताउनुभयो ।
सात वटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख्नुभयो ।राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा उहाँको जोड थियो ।
कांग्रेसको नीति महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो । १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए ।
नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । उहाँले आगामी फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुने बताउनुुभयो ।
गत वर्ष मंसिरको अन्तिम साता भएको १४औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो ।पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
झण्डै साढे तीन घण्टा सरकारी वेबसाइट ठप्प
काठमाडौँ । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज पनि केहीबेरअघि नै अवतरण गरेको छ ।
आज दिउँसो साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि करिव ३ घण्टा देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएका थिए । अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भएको छ । सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन् ।
आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताएका छन् । सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकार गर्नुभएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको जानकारी दिनुभयो । उहाँले प्राविधिकहरूले समस्या समाधान गरिरहेको भए पनि के कारणले त्यसो भएको एकीन हुन नसकेको उल्लेख गर्नुभयो ।
राजाको स्थानमा ठुला दलका नेता बसेर जनताको शोषण गरे : प्रभु साह
काठमाडौँ । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताउनुभएको छ । विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।
गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताउनुभयो । अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाउनुभयो ।
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराउनुभएको हो । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी समेत हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताउनुभयो ।
धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएको छ ।
नागरिक उन्मुक्ति सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । यो उम्मेदवारीलाई रेशम चौधरी रिहाइका लागि दबाबका रूपमा हेरिएको छ ।
एसईईको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत तेस्रो सातादेखि सुुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज एक सूचना जारी गर्दै एसईई परीक्षा आगामी चैत्र १७ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो ।
यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक पनि गरेको छ ।तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
मन्त्री किरातीको घोषणा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखिएको दान पेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा, माला नल्याउन बरु त्यसबापतको रकम दान पेटिकामा जम्मा गर्न भनेर मन्त्रालयमा दान पेटिका राख्नुभएको थियो ।
सो दानपेटिकामा जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीले घोषणा गर्नुभएको हो । उहाँका अनुसार दान पेटिका बन्द गरिसकिएको छ ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताउनुभएको छ । संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने बताउदै उहाँले विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने बताउनुभयो ।
अस्थिरता र संक्रमणकालको सबै दोष दल र नेतालाई दिनुहुन्न : मुख्यमन्त्री गिरी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अस्थिरता र संक्रमणकालको सबै दोष राजनीतिक दल र नेतालाई दिनु साटो त्यसको कारण खोज्न आग्रह गर्नुभएका छ । उहाँले अस्थिर राजनीति र सरकारका कारण जनतामा निराशा बढेको बताउँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सकेसम्म अस्थिरता तोड्ने र प्रदेशको हितमा मात्रै काम गर्ने बताउनुभएको हो ।
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको शनिबार बुटवलमा आयोजित परिचर्चा कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले राजनीतिक इमान्दारितामा कोही चुक्न नहुने बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै आफ्ना हरेक काम जनतालाई केन्द्रमा राखेर गर्ने समेत बताउनुभएको छ ।
भोलीदेखि राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलीदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो ।
सुरुमा नौर क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो ।
यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।
विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ ।
पोखरा जहाज दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता
काठमाडौँ । कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
चालक दलका चारसहित ७२ जना यात्रु बोकेर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो। साथै, उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।
धनुषामा पेस्तोलसहित २ जना पक्राउ
काठमाडौँ । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले आज जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो ।
इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताउनुभयो ।
उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ । पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
आर्थिक खबर
चितवनमा चेक बाउन्स बढे
काठमाडौँ । चितवनमा चेक बाउन्सका मुद्दा बढेको छ । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेको प्रहरीले जनाएको हो । निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् ।
यस्तै परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उहाँले बताउनुभयो ।उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेको उहाँको भनाइ छ । बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको प्रहरीले जनाएको छ ।
विदेशका खबर
आक्रमणकारीका परिवारसहित ४२ जना पक्राउ
काठमाडौँ । पूर्वी जेरुसेलममा भएको आक्रमणमा संलग्न आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरका थिए । आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरीले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिए पनि उनीहरू पूर्वी जेरुसेलमको समीप प्यालेष्टाइनका बासिन्दा भएका जनाइएको छ । प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली मनाएको थियो ।
पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो । इजरायलले उक्त आक्रमणलाई आतङ्वादी हमला भनेको छ ।
खेल खबर
एपीएफ च्याम्पियन
काठमाडौँ । विभागीय टोली नेपाल एपीएफ क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्ड हलमा आज भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
साबिकको बिजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा २५–८ र २५–२२ को जित निकाल्न सफल भयो ।च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।
यसैबीच, विभागीय टोली नेपाल पुलिस क्लबले पुरुषतर्फ तेस्रो स्थान हात पारेको छ । पोखरा रंगशालाको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो भएको हो । पुलिसले दोस्रो,तेस्रो र चौथो सेट २५–१८,२५–२१ र २५–२० को सेटमा हराउन सफल भयो । हारसँगै आर्मीले चौथो स्थान हासिल गरेको छ ।