Live Streaming

अन्नपूर्ण दिनभर : रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको ठहर, मन्त्री र सांसद पद खारेज

रवि नेपाली नागरिक नभएको ठहर 

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले आज अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो । सर्वोच्चको फैसलासँगै लामिछानेको मन्त्री र सांसद दुवै पद गुमेको छ । 

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो । बुधबार मुद्दामाथिको बहस नसकिएपछि आजको लागि हेर्दाहेर्दैमा राखिएको थियो। आजको बहसमा रवि पक्षका केही कानुनव्यवसायीले बहस गरेका थिए भने रिट निवेदकका कानुनव्यवसायीले जवाफी बहस गरेका थिए। यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो।  

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र अमेरिकी नागरिकता त्याग गरेपछि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरी दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बनेको भन्दै उनीविरुद्ध रिट परेको थियो । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका हुन् । 

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ । आज बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिनुभएको हो । राष्ट्रियसभा उपाध्यक्ष पद २०७८ फागुन २१ देखि रिक्त छ । गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

आजको बैठकमा शिक्षामन्त्री शिशिर खनालले पेश गर्नुभएको नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ । सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।

माओवादी स्थायी समिति बैठकमा तीन प्रतिवेदन पेस

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनादर्न शर्माले संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

साथै अध्यक्ष प्रचण्डले पहिलो दिन पेस गरेको प्रतिवेदनमाथि २७ जनाले धारणा रखेका छन् । स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्डले बैठक जारी राख्ने तर केही दिन स्थगित भएको जानकारी दिदै महासचिव देव गुरुङ र उपमहासचिवहरुलाई बैठकमा उठेका विषयहरुबारे केन्द्रीय समितिको कार्य विभाजन, पोलिटब्युरोको पूर्णता, पार्टी एकता लगायत सबै बिषयमा कंक्रिट रुपमा आगामी बैठक पेस गर्न निर्देशन दिएको नेता महराले जानकारी दिनुभयो । यस्तै महराले पार्टीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको समेत जानकारी दिनुभयो । 

मधेस प्रदेशः दुई मन्त्रीले गरे पदभार ग्रहण

काठमाडौँ । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहा र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहाले जनकपुरधामको मुरली चोकमा रहेको कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले किसानहरुका लागि विगतमा आन्दोलन गरेको सम्झिँदै आजैबाट किसानहरुको समस्या समाधान गर्न लाग्ने बताउनुभयो । मन्त्री कुशवाहाले किसान कार्ड लागू गर्ने, मलखादको समस्या समाधान गर्ने र उखु किसानहरुको समस्या पनि बुझेर समाधान गर्न आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मधेस भवनमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै उनले मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसंँ जोड्न मधेसको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संघीय निजामती ऐन चाँडै ल्याउँछुः मन्त्री मोदी

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले आवश्यक अध्ययन गरी चाँडै निजामति ऐन ल्याउने बताउनुभएको हो ।

संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी दुई महिनाभित्रै संघीय निजामती ऐन् संसदमा टेबल गर्ने प्रयास रहेको ताउदै मन्त्री मोदीले ऐनमा कर्मचारीको हदम्याद ६० वर्ष गर्ने वा नगर्ने भन्ने विषय टुंगो नलागेको स्पष्ट पार्नुभएको छ । उनले आफू सांसद हुँदा पनि कुनै कर्मचारीलाई यहाँ सरुवा गर्नुपर्यो त्यहाँबाट हटाइदिनुपर्यो नभनेको बताउँदै अहिले ठूला नेताबाटै आफूलाई दबाब आइरहेको बताउनुभयो । 

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताउनुभएको छ । नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उनले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताउनुभएको हो ।

नेपालमा लगानीको वातावरण बनाउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मृतक प्रेमप्रसादकी पत्नी नानुकाले प्रहरीमा दिइन १२ कसुरदारविरुद्ध उजुरी

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडी शरीरमा आगो लगाएर ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारी आचार्यले १२ कसुरदारविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको छ ।

मूलुकी अपराध संहिता २०७४ को दफा १८५ अनुसार आत्महत्या गर्न दुरुस्ताहन दिन नहुने शीर्षक उनले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी बुझाउनुभएको हो ।

मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको मृत्युकालिन घोषणालाई उतारेर त्यसैको प्रमाण तथा पत्नी नानुकाको शंकाका आधारमा १२ कसुरदार रहेको उल्लेखसहित जाहेरी पेश गरिएको हो ।

जाहेरीको पहिलो बुँदामा कार्थफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट बालकुमारी छ । यस्तै सान इन्टरनेसनल कलेज, सुजुकी शोरुम थापाथली, इलाम सूर्योदय नगरपालिका ११ का टेक बहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग र त्यसका सञ्चालक डा उपेन्द्र महतो, गोल्यान एग्रो, अनिल बस्नेत मेट्रो तरकारी डटकम, कल्याम इन होटेल, झापा धुलाबारीका अखिल भेट्वाल, त्यस्तै नेपाल सरकारले नेपालको संविधानले प्रदान गरेको प्रत्येक व्यक्तिलाई सम्मान पूर्वक बाच्न पाउने लगायतका मौलिक हकको रक्षा गर्न नसकेको भन्दै जाहेरी दर्ता गरिएको छ ।

यसैबीच, आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्नु पर्नेसहितका माग समेत गरेका छन् ।उनीहरुले गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरेका हुन् ।

आफ्नो माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि नगर्ने परिवारको अडान छ । यस्तै,स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको दाबी गर्नुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हरेक प्रोटोकलमाथि मानवीयताको प्रोटोकल हुने बताउनुभयो । अस्पतालका चिकित्सकलाई पहिला फोन गरेर बुझेपछि आचार्य होसमा भएको थाहा पाएर भेट्न पुगेको उहाँको भनाइ छ ।

गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो । उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुग्नुभएको थियो ।

त्यसको भिडिओसहित समाचार सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्रीले आईसीयू कक्षमा पस्दा प्रोटोकल पालना नगरेको र प्रचारका लागि त्यसो गरेको भनी आलोचना भइरहेको छ । पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे प्रष्ट पार्नुभयो ।

गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्याउने भनी कार्ययोजना बनाइरहेको उहाँको भनाइ छ । 
उता,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीले व्यवसायी प्रेम आचार्यले गरेको आत्मदहले धेरै पाठ सिकाइरहेको बताउनुभएको छ ।

आजदेखि भृकुटीमण्डपमा आयोजित ‘नेपाल वूड इन्टरनेश्नल एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो  । भण्डारीले नेपाल सरकारले व्यवसायी आचार्यको आत्मदहबारे छानविन गरिरहेको समेत जानकारी दिनुभयो ।

गृहमन्त्रीलाई आफ्नै निर्देशन भारी रिपोर्ट 

काठमाडौँ । पुराना राजनीतिक दलको विरोध गर्दै चुनाव जितेका रवि लामिछाने अहिले सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । यस्तोमा उहाँले लिएका हरेक निर्णयहरु चर्चामा आउनु स्वभाविक हो । तर, गृहमन्त्री लामिछानेले लिने अधिकांश निर्णयहरु क्षेत्राधिकार र गर्न सक्ने कामको आकलन नगरि लिदाँ उहाँ आलोचनाको शिकार भइरहनु भएको छ । 

रक्षामन्त्रीको निर्देशन 

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । आज सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको हो ।

राज्य आर्थिक रुपले सङ्कटमा परिरहेको अवस्थामा तस्करी तथा राजस्व छली नियन्त्रण गरी कर सङ्कलनको दर वृद्धि गर्नुपर्नेमा रक्षामन्त्री उप्रेतीको जोड छ । उहाँले अवैध रुपमा भइरहेको गिट्टी, बालुवा र ढुङ्गा लगायत राष्ट्रिय सम्पत्तिको दोहनलाई समेत नियन्त्रण गरी त्यसलाई प्रक्रियागत रुपमा करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । रक्षामन्त्री उप्रेतीले लक्ष्यअनुसार कार्यप्रगति देखिनेगरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । 

सुकुम्बासी पुनः आन्दोलित

काठमाडौँ । स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा आज भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध ¥याली आयोजना गरेका हुन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

स्ववियू निर्वाचनको तयारीमा नेविसंघ

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ संघ स्ववियू निर्वाचनको तयारीमा जुटेको छ ।आगामी चैत ५ गते हुने निर्वाचनको तयारीका लागि घोषणापत्र समिति गठन गरेर नेविसंघले स्ववियूको निर्वाचनको तयारी थालेको हो।स्ववियू निर्वाचनको सहभागितालाई प्रभावकारी बनाउन निमित्त नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयारी समिति मनोनीत गरेको नेविसंघका केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयो । 

शिक्षामन्त्रीको पुत्ला दहन 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालकोपुत्ला दहन गरेका हुन् । निजीलाई पोसेको, गरिब विद्यार्थीको विरुद्धमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले शिक्षामन्त्रीको पुत्ला जलाएको हो ।जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ ।

जनक शिक्षा सामाग्री केन्द्रलाई मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको भनाई छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो । पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो । सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रण संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ ।

छानबिनमा स्वास्थ्यकर्मी निर्दोष देखिए

काठमाडौँ । विराटनगरस्थित कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरिएको विषयको छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा बालरोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य हुनुहुन्थ्यो ।समितिले बुझाएको छानबिन प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोशी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई निर्दोष बताइएको छ । श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोशीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको प्राप्त प्रतिवेदनमा उल्लेख छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत माघ ४ गते जहदा–३ भाथीगछकी १८ दिने नवजात शिशुलाई उपचारका लागि कोशी अस्पताल ल्याएकोमा मृत्यु भएको थियो ।

आर्थिक खबर
बजेटको अर्धवार्षिक समीक्षाको तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।  उहाँका अनुसार समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालुु आवको बजेटको समीक्षा गर्नेछ ।सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ । 

पेट्रोलियम चालक संघको चेतावनी 

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका छन् । आज काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग गर्नुभएको हो ।

देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेका छन् ।सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग गरेको उहाँले बताउनुभयो । एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि उहाले आग्रह गर्नुभयो । आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रने उहाँको चेतावनी छ । 

विदेशका खबर
मदागस्करमा आँधीबाट १६ जनाको मृत्यु 

काठमाडौँ । अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ । टापु मुलुकमा आँधीमा परेर अन्य १९ जना वेपत्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मदागकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधीको प्रकोप देखिएको छ ।

मदागस्करको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार अहिले पनि आँधीको त्रास कायमै रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गरिएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अनुसार ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् ।

उनीहरुमध्ये २५ हजार जनाभन्दा धेरैलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । मलगासे अधिकारीहरुले जनाएअनुसार आँधीका कारण १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको छ । 

खेल खबर
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप परेनन्

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ ।  क्यानले आज घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । तर, बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने बोलाइएको छैन ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो । बन्द प्रशिक्षणमा कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशीलाई बोलाईएको छ । 

यस्तै विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।