Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसको तेस्रो पटक पनि बैठक स्थगित, सन्दीपलाई खेलमा फर्काउन क्यान सकारात्मक 

कांग्रेस बैठक तेस्रो पटक पनि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तेश्रोपटक स्थगित भएको छ । कांग्रेसले आज सूचना जारी गरेर माघ १५ गते बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो । मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षाका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागिस्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले यसअघि पनि कारण नखुलाई दुई पटक पुष २२ र २८ गते स्थगित भएको थियो । कतिपयले भने आशन्न राष्ट्रपतिको निर्वाचनको तयारीमा व्यस्त हुनु पर्ने भएकाले कांग्रेसले बैठक सारिएको अड्कलबाजी गरिरहेका छन् । तर, मुख्य सचिव पौडेल भने राष्ट्रपतिको निर्वाचनका कारण नभएर नेताहरुकै व्यस्तताका कारण बैठक स्थगित गरिएको दाबी गर्नुभएको छ । 

स्ववियू निर्वाचनको मिति नजिकिएपनि पार्टीका भातृ संगठनले अँझै पूर्णता पाउन सकेका छैनन् । शेरबहादुर देउवा दोश्रो कार्यकालमा सभापति निर्वाचित भएको १३ महिना बित्दा समेत देउवाले ६ महिनाभित्रै गठन गर्नुपर्ने विभाग तथा समितिहरुलाई पूर्णता दिन सुरसार समेत गर्नुभएको छैन ।

१४औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार विभागको संख्या ४३ बाट घटाएर २८ र गठन गर्नुपर्ने समयावधि २ महिनाबाट बढाएर ६ महिना बनाइएको छ । तर, पनि विधानले तोकेको समयावधि समाप्त भएको ६ महिना नाघिसक्दा पनि सभापति देउवाले विभाग गठनमा तदारुकता देखाउनुभएको छैन ।

यस्तै विधानअनुसार कांग्रेसमा बिभिन्न ६ वटा समिति गठन गर्नुपर्ने भएपनि चार समिति केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति, अनुशासन समिति र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समेत पूर्णता पाउन सकेको छैन । 

माओवादी बैठक 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा जोड दिएको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकपछि स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको जानकारी दिनुभयो ।

सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्ने माओवादीको निष्कर्ष रहेको उहाँको भनाइ छ । उहाँले एमाले, कांग्रेससहित सबै दलहरुबाट साझा व्यक्तिलाई अघि सार्नुपर्नेमा समेत जोड दिनुभयो । कुनै पार्टी विशेषलाई बाइपास गरेर राष्ट्रिय सहमति नहुने उल्लेख गर्दै नेता पौडेलले एमाले र कांग्रेससँग छलफल भइरहेको बताए ।

आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सामान्य रिपोटिङमात्रै भएको छ  । त्यस्तै पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाउने तयारीअनुसार छलफल सुरु गरेको बताइएको छ ।

अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर हुनुहुन्छ  । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको बताइएको छ । बैठक भोलि बिहान ११ बजे फेरि बस्ने माओवादीले जनाएको छ । 

घनश्यामलाई महासचिव बनाउने तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ । हाल महासचिव रहनुभएका  बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउने तयारी गरिएको हो । गत २९ पुसमा भूसाल एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो ।

अहिले सचिवालय सदस्यकै भूमिकामामा रहनुभएका भूसाललाई महासचिव बनाउनेगरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१–२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ । २०७१ को नवौं महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित हुनुभएको थियो ।  

तर गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित हुनुभएको थियो । एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर गत २३ असोजमा भूसालले एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेपनि पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरेको छ । गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहनुभएको छ । गौतम पार्टीमा आए उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

प्रेमप्रसाद प्रकरणः बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनको वहश

काठमाडौँ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाह गर्नुभएका इलामका प्रेमप्रसाद आचार्यले देह त्यागेपनि केही शक्तिशाली प्रश्नहरु छाडेर जानुभएको छ । सत्तामा रहने हरेक पार्टीको मूल मुद्धा समाजवाद नै हो । संविधानमा समाजवाद उन्मुख राज्यव्यवस्था बनाउने संकल्प गरे पनि यो आत्मदाह प्रकरणले सत्ता र शक्तिलाई मात्रै नभई श्रम बजार तथा अर्थ राजनीतिलाई समेत तरङ्गित बनाएको छ ।

बुधबार स्वस्फूर्त रुपमा प्रर्दशन गरेका युवाहरुले समेत सरकारलाई यो ‘यो देश हो कि बधशाला ?’ भन्दै प्रश्न गरेका छन् । पछिल्लो समय र आचार्यको मृत्युको हकदार उहाँले फेसबुकमा उल्लेख गरेका केही व्यापारी तथा अप्रत्यक्ष रुपमा सरकार पनि जोडिन्छ । युवा जनशक्तीलाई देशमै रोक्न र उद्यम गर्न खोज्नेलाई प्रोत्साहन गर्न आवश्यक पर्ने नीति नबनाईदिने राज्यसत्ता पनि अप्रत्यक्ष रूपमा यस्तो ‘अपराध’को साझेदार किन बनिरहेको छ ? भन्दै गम्भीर प्रश्न पनि उब्जीएको छ ।

सबैबाट घेराबन्दीमा परेपछि आफूले मर्नुबाहेक अरु विकल्प नदेखेको बताउनुभएका प्रमेलाई घेराबन्दीमा पार्नेहरुबिरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा लगाउनुपर्ने समेत आवाज समेत उठेको छ । 

यसैबीच अधिवक्ता स्वगत नेपालले आत्महत्या दुरुत्साहनमा उल्लेख भएका सबैजना विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । भावनात्मक रुपमा परिवार र केही आफन्तहरुबाहेक दुरुत्साहनमा संलग्न सबैजना विरुद्ध जाहरी दर्ता भएको उहाँले बताउनुभयो ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै नेपालले अहिलेको राजनीतिक नेतृत्वकै करण युहाहरुले आत्महत्या गनुपरेको बताउनुभयो । आचार्यले उठाएका बिषयमा छानविन गर्ने मन्त्रीपरिषद्को निर्णयबारे टिप्पणी गर्दै नेपालले ठूलो विद्रोहको आगोबाट बच्नका लागि मात्रै गरेको टिप्पणी गर्नुभएको छ । 

भन्सारको पूर्वाधारलाई सुचना प्रविधिमैत्री बनाइने 

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचनामैत्री बनाइने बताउनुभएको छ । ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभएको हो ।

उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उहाँले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराउनुभयो । उहाँले गत बर्षको तुलनामा १६ प्रतिशतले राजश्व संकलनमा गिरावट आउनु दुःखद् भएको बताउनुभयो । राजश्व संकलनमा लक्ष्य भेट्टाउने गरी काम गर्न उहाँले सम्बन्धित अधिकारीलाई निर्देशन समेत दिनुभयो ।   

सामाजिक सञ्जाललाई नियमन गर्नैपर्छ : थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो ।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनी प्रश्नसमेत गर्नुभयो ।

राष्ट्रपति भण्डारी राजाजस्तै : सुशीला कार्की 

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गर्नुभयो । पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताउनुभयो । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उहाँको भनाइ छ ।

स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीको कार्यविभाजन 

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव लक्षित कार्यविभाजन गरेको छ । अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो । आगामी ५ चैतमा हुने स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्जमा  खगेन्द्र सुवेदीलाई तोकिएको छ । यस्तै मधेश प्रदेश इन्चार्जमा अनिल भगत,विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की,बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्ट तोकिनुभएको छ ।

विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् ।त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् ।अखिल क्रान्तिकारीले स्ववियू चुनाव हुने त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनावी कमाण्डर समेत तोकेको छ ।    
आज सरस्वती पूजा 

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दछन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन् । श्रीपञ्चमीको अवसरमा आज बिहान १०ः४७ बजे काठमाडौंको वसन्तपुर स्थित नासल चोकमा राष्टपति विद्यादेवी भण्डारीले वसन्त श्रवण समेत गर्नुभएको छ  ।

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ : लिङ्देन

काठमाडौँ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको छ । रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताउनुभएको हो । उहाँले जगद्गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

होटल, रेस्टुरेन्ट आदिले लिने सर्भिस चार्ज सर्वोच्चबाट अवैध घोषित

काठमाडौँ । होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सर्भिस चार्जलाई सर्वोच्च अदालतले अमान्य भन्दै खारेज गरिदिएको छ । हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सर्भिस चार्ज अमान्य घोषित भएको हो ।

अदालतको संवैधानिक इजलासबाट होटल, रेस्टुरेन्ट, मोटल, ट्राभल एजेन्सी लगायतका सेवा प्रदायकले लिने सर्भिस चार्जलाई गैरकानुनी घोषित गर्दै सर्वोच्चले त्यस्तो व्यवस्था तत्कालै हटाउन परमादेश समेत जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र न्यायाधीश अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सामूहिक सौदाबाजीमा ग्राहक वा उपभोक्तासँग सर्भिस चार्ज लिई बाँडफाँड गर्ने श्रम ऐन, २०७४ को दफा ८७ को उपदफा ३ तथा श्रम नियमावली, २०७५ को नियम ८२ संविधानको धारा ४४ तथा धारा ११५ सँग बाझिएको भन्दै ऐन र नियमावलीका उक्त व्यवस्था खारेज गरिदिएको हो ।

ऐन र नियमावलीको उक्त व्यवस्था खारेज भएसँगै अब होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सर्भिस चार्जका नाममा रकम उठाउन पाउने छैनन् भने वस्तु वा सेवाको मूल्य कायम गर्दा पनि सम्पूर्ण खर्च जोडेर हुन आउने लगायतमा कानुनले तोकेको भन्दा बढी नाफा नराखी विक्री गर्नुपर्नेछ ।

काठमाडौँ महानगरको एक्सन : मापदण्ड विपरीतका ९ हजार बोर्ड हटाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ९ हजार अनधिकृत परिचय पाटी (बोर्ड) हटाएको छ । मापदण्डअनुसारै रहेपनि शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाइएको हो । गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।  तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ र १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ रहेको छ ।  १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

मेयर बालेन साह 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताउनुभएको हो ।

अहिलेका युवा पुस्ताले पनि साँस्कृतिक सम्पदाहरुको संरक्षण नगरे विस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने उहाँको भनाइ छ ।  मेयर साहले काठमाडौँ उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गर्नुभयो ।

असुरक्षित बन्दै अफलाईन राईड रिपोर्ट

काठमाडौँ । छिटोछरितो र सहज यात्राकालागि राईड सेयरिङ धेरैको रोजाईमा पर्दछ। तर, अहिले अफलाईन राईडरको बिगबिगी बढेको छ । तोकिएको भन्दा बढी भाडा लिने, अनलाईन हेर्न नदिने, ठगि गर्ने, धमक्याउने जस्ता गतिविधि बढिरहेको छ । यस अलावा अफलाइन राइडरबाट हुन थालेको लुटपाट र कुटपिटका घटनाले राईड सेयरिङ असुरक्षित बन्दै गएको छ । 

आर्थिक खबर
सेयर बजार 

काठमाडौँ । सेयर बजारलाई २२ सयको अवरोध विन्दु तोड्न सकस परेको छ । विगत ३ दिनदेखि उक्त अवरोध तोड्न प्रयासरत रहेको भए पनि २२ सय विन्दुभन्दा माथि जान नसकेको हो । आव पनि २ पटकसम्म २२ सयको आसपास पुगेको बजार ० दशमलव ४१ अंकले घटेर २१ सय ८३.२१ विन्दुमा झरेको हो ।  

कारोबार रकम पनि घट्दै गएको छ । हिजो ३ अर्ब बढीको शेयर कारोबार भएकोमा आज २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा झरेको छ । यस दिन नीर्जिवन बीमा उपसमूहको सूचक १.४९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको सूचक १.२७ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ०.८१ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

आज लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको पनि ९.९८ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्सको सबैभन्दा धेरै ९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

नेपालमा मैदाको चरम अभाव

काठमाडौँ । भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघले जनाएको छ । मैदा आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी नान, भोजनालय, रेष्टुरेन्ट लगायत ठूला–साना सबै होटललाई माग अनुसारको मैदा आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको हो । भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा÷आँटाको मूल्य बढिरहेकाले बताइएको छ । गहुँ अभावको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको संघले जनाएको छ । 

विदेशका खबर
संयुक्त राष्ट्रसंघ 

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गर्नुभएको छ । पेरुमा प्रदर्शन जारी रहँदा, महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गर्नुभएको हो ।  

उहाँले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहोर्याउनु भएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले आज  एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताएका छन् । आन्दोलनको क्रममा भएको मृत्युको सङ्ख्याबाट गुटरेस चिन्तित हुनु भएको र  अधिकारीहरुलाई यी मृत्युहरुको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न र पीडितहरूलाई कलंकित हुनबाट जोगिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खेल खबर
क्यानको निश्कर्ष 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ । क्यानले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ती भएको स्वीकार गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।  क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो । अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत आरोप लगाउनुभयो । यस्तै अध्यक्ष चन्दले पहिलो संस्करणको लिग सम्पन्न भएपनि केही कमजोरी भएको उल्लेख गर्नुभएको छ ।

उहाँले ५ टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले केहि  दिनमा पाउने जानकारी दिनुभयो । अध्यक्ष चन्दले क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने बताउनुभयो । उहाँले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने उल्लेख गर्नुभयो । 

आर्मी फाइनलमा 

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

आर्मीले दोस्रो सेट २५–१३, तेस्रो सेट २५–२२ र चौंथो सेट २५–१२ ले जित्दै फाइनल यात्रा तय गरेको हो । अब आर्मीले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराउँदै एपीएफ फाइनल पुगिसकेको छ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि विजेता टोलीले ५÷५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले समान २ लाख ५० हजार, तेश्रो हुनेले १ लाख २५ हजार र सान्त्वना पुरस्कार स्वरूप चौंथो हुनले ६५ हजार पाउने छन् ।