Live Streaming

अन्नपूर्ण दिनभर : गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहर्दैमा, बागमती र कर्णाली प्रदेश सरकारले पायो पूर्णता

लामिछानेको मुद्धा हेर्दाहेर्दैमा 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेको नागरिकता विवादबारे आज संवैधानिक पूर्ण इजलासमा भएको सनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । उक्त मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।

आज कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधिशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रिट निवेदकहरुले बहस गरेका छन् । 

लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गर्नुभएको छ ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताउनुभयो । रविको हकमा अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको भन्दै उहाँले अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने तर्क गर्नुभयो  । बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसकेको छ । 

बागमती प्रदेशका नयाँ मन्त्रीले लिए शपथ

काठमाडौँ । वाग्मती प्रदेश सरकारले पूणर्ता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिनुभएको हो । आज नेकपा एमालेबाट मन्त्रिपरिषद्मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउदा राप्रपाका डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी दिईएको छ ।

यस्तै विनाविभागीय मन्त्री रहनुभएका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसक्नुभएको छ । 

कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज नै मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो । ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ । त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिनै सकस

काठमाडौँ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने अँझै सरकारले पूर्णता पाएको छैन । मधेश प्रदेशमा केही दिनभित्रै मन्त्रीमण्डल बिस्तारको तयारी भएको छ भने लुम्बिनीमा माघ २० गतेपछि मात्रै मन्त्रीमण्डल बिस्तार हुने भएको छ । 

उता सुदूरपश्चिममा भने मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नै लिन सक्नुभएको छैन । नागरिक उन्मुक्ति पार्टीले राखेको रेशम चौधरी लगायतका आफ्ना पार्टीका कार्यकर्ता रिहाईको मागलाई ब्यस्थापन गर्दै विश्वासको मत लिनुपर्ने चुनौती रावलमाथि छ ।

यसअघि सभामुखको निर्वाचनका समयमा समेत नागरिक उन्मुक्ति पार्टीले मतदान नगरेकै कारण कसैले पनि आवश्यक मत पाएका थिएनन् । अब, सहज ढंगले विश्वासको मत पाउन मुख्यमन्त्री लगायत प्रदेशस्तरका नेताहरुले शिर्ष नेतृत्वसंगको भेटवार्तालाई तीव्र पारेका छन् । 

यता मुख्यमन्त्री रावलले भने आफू विश्वासको मत पाउने बिषयमा ढुक्क रहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै रावलले २७ गतेभित्र विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताउनुभएको हो । नागरिक उन्मुक्ति पार्टीको मागका बिषयमा भने मुख्यमन्त्री रावलले खुलेर जवाफ दिन चाहनुभएन ।

यस्तै शिर्ष नेताहरुसंगको भेटघाटका क्रममा प्रहरीको फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका नेता लक्ष्मण थारुलाई समेत सहभागि गराएको बिषयमा पनि रावलले जवाफ दिनुभएन । 

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्य उम्मेदवार

काठमाडौँ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनुहुने भएको छ । आज बिहानमात्र कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो । उहाँ रोल्पाका पूर्व सभापति समेत हुनुुहुन्छ । उहाँले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने तयारी गर्नुभएको छ ।

यता  सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिनुहुने भएको छ । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७  र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

सरकारको एक महिना रिपोर्ट 

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएको एक महिना पुरा भइसकेको छ । यो एक महिनामै सरकारको समिक्षा गर्ने बेला भने भइसकेको छैन । तर सरकारको प्रारम्भिक समिक्षा भने सुखद छैन । यो एक महिनामा प्रधानमन्त्री र मन्त्रीहरुले केवल निर्देशन दिने बाहेक देखिने गरी कुनै अरु कामहरु गर्न सकेनन् । 

एमाले बाँडीचुँडी खाने पार्टी होइन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अराोप लगाउँदै उहाँले कार्यकर्ताहरुलाई अरु पार्टीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्न अनुरोध गर्नुभयो ।

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न निर्देशन दिदै ओलीले एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि बताउनुभयो । त्यसअघि उहाँले  कतिपय पार्टीहरु सामाजिक असन्तुष्टिलाई प्रयोग गरेर खुलेका बताउदै मौसमी खालका कुराबाट ह्वात्त आउने तर स्थायी नहुने बताउनुभयो । 

यती एयरलाइन्सको जहाज दुर्घटना : छजनाको शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छजनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये छजनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको जानकारी दिए । छजनाको शव अब ‘डिएनए’परीक्षणबाट पहिचान गरिने उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’परीक्षण गरिने छ । उहाँका ‘डिएनए’परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको छ । यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरी आफन्तको जिम्मा लगाइएको थियो ।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ७१ जनाको मृत्यु भएको थियो । एकजनाको अवस्था अझै अघात छ ।

प्रेमप्रसाद प्रकरणमा बोले रवि 

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ । हिजो आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभुति दिने क्रममा उहाँले  घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ ।

गृहमन्त्री लामिछानेले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताउनुभयो । मृतक आचार्यले उठाएका विषयहरुमा सरकारले छानविन गर्ने मन्त्री लामिछानेले आश्वासन दिनुभयो ।  

उहाँले आफूहरुको आगमनले पनि उत्साह थप्न नसक्नु र आशा जगाउन नसक्नुलाई आफ्नो कमजोरीको रुपमा ब्याख्या गर्नुभएको छ । घटनाप्रति विभिन्न पार्टीका नेताहरुले दुःख ब्यक्त  गरेका छन् । यसैबीच, आत्मदाह गरेका इलामका आचार्यलाई न्याय माग्दै युवाहरुले प्रदर्शन गरेका छन् ।

आचार्यको आज बिहान निधन भएपछि न्याय माग्दै युवाहरू सडकमा उत्रिएका हुन् । काठमाडौँको माइतीघरमा युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन् । उनीहरुले लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै आचार्यले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् ।

हिजो दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका आचार्यको आज विहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

नेकपा एकीकृत समाजवादीको अधिवेशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अर्को वर्षको सुरुमै अधिवेशन गर्ने भएको छ । पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन जारी गर्दै १५ वैशाख २०८० भित्र वडा अधिवेशन गरिसक्न निर्देशन दिनुभएको छ ।  पालिका तथा विशेष इकाइहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्न भनिएको छ ।

प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा गर्नुपर्ने अपानिमा निर्देशन दिइएको छ । जनवर्गीय, पेशागत र सामुदायिक संगठनका कमिटीहरूलाई सम्मेलन अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भिनिएको छ । यसैबीच एकीकृत समाजवादीले विकसित राजनीतिक घटनाक्रमकबारे छलफल गर्न २१ र २२ माघमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सांसद कर्ण र हैदरले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख रामचन्द्र मण्डलद्वारा दुवैले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतमा दुवैजना विरुद्ध मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो ।

सर्वोच्चको आदेश आएपछि आज दुवै सांसदले शपथ ग्रहण गरेका हुन् । कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका हुन्। मधेस प्रदेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १०७ जना सांसद छन् ।

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ३ मा 

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरेको जानकारी दिनुभयो ।

विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको उहाँको भनाइ छ । विश्वविद्यालयको १० आंगिक, केही सम्बन्धन र केन्द्रीय क्याम्पससहित करिब १३ वटामा स्ववियु निर्वाचन हुने बताइएको छ । 

कर्णालीमा हिमपात : हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात

काठमाडौँ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ । हिमपातले गर्दा हुम्ला, जुम्ला, मुगु र डोल्पा सदरमुकाम सेताम्य देखिएका छन् ।

मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका छन् । भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन समेत कष्टकर बनेको छ । सडक र विद्युत नपुगेका हिमाली क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालन हुने त्यहाँका फोन सेवा बन्द छन् ।

हुम्लाको माथिल्लो क्षेत्र, उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।

चिसोका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् । विगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएको छ ।  

उता यसवर्ष उत्तरी गोरखामा ढिला गरी हिमपात सुरु भएको छ । समुद्री सतहबाट ३५०० देखि ३८०० मिटर उचाइका सामागाउँ, साम्दो लगायतका गाउँमा हिउँ पर्न सुरु गरेको चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो । आज बिहान पाँचबजेदेखि नै हिउँ परेको हो । यसअघि गत सोमबार पनि हिउँ परेको थियो । हिउँ परेपछि खेतीपाती राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएका अर्का स्थानीय छिरिङ लामाले जानकारी दिनुभयो । 

आर्थिक खबर
सेयर बजार 

काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ ।  

आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सानिमा जनरल इन्स््योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

विदेशका खबर
कुवेतको संसद्मा विवाद

काठमाडौँ । कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ । प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेश गरेका सरकारी स्थानीय समाचार समिति कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले  राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै  जनाएको छ । यद्यपि विवादबारे विस्तृत विवरण दिइएको छैन । गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो । 

अमेरिका गोली प्रहार : चार दिनको अन्तरालमा २१ जनाको मृत्यू 

काठमाडौँ । अमेरिकाको  क्यालिफोर्नियामा तीन दिनको अन्तरालमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोली प्रहार भएको छ ।

घटनामा तीन जनाको मृत्यू भएको छ भने आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । गएराति भएको घटनामा तीन जना मारिएको र शंकास्पद आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या समेत गरेको याकिमाका प्रहरी प्रमुख म्याट मुरेले बताउनुभयो । 

आक्रमणकारी २१ वर्षीय ज्यारिड ह्याडक भएको प्रहरीको भनाइ छ । आक्रमणकारी यामिका शहरको एक ग्यास स्टेशनमा प्रवेश गर्न खोज्दा ढोका बन्द रहेको पाएपछि त्यहाँबाट निस्केर सर्कल के ग्यास स्टेशनको गोदाममा गएर खाना खाइरहेका दुई जनामाथि गोली प्रहार गरेका थिए । गोदामबाट निस्केको केही मिनेटमा उनले अर्का ब्यक्तिमाथि प्रहार गरेका थिए । 

गोली लागेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणकारीले पार्किङमा रहेको एउटा कारमा पनि गोली हानेका थिए । स्थानीयहरुले नौ पटक बन्दुकको आवाज सुनेको बताएका छन् । अमेरिकामा चार दिनमा यो तेस्रो गोलीप्रहारको घटना हो जसमा हालसम्म २१ जनाको मृत्यू भइसकेको छ । 

खेल खबर
राखेपको छानबिन समितिले समेत बुझायो प्रतिवेदन

काठमाडौँ । नेपाल टी –ट्वान्टी लिग क्रिकेटको देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । राखेपको कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन कार्यदलल आज प्रतिवेदन बुझाएको हो । 

छानबिन कार्यदलका संयोजक कुँवरले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी–ट्वान्टी लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ । 

कार्यदलको प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्र्याई गरिएको नेपाल टी–ट्वान्टी लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको छ । नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भईरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउने निर्णय कार्यदलले गरेको छ ।