अन्नपूर्ण दिनभर : कांग्रेसले संसदमै खोज्या राष्ट्रिय सहमति,संघीयताको कार्यान्वयनमा राष्ट्रियसभा सांसदहरुको जोड
प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन
काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गर्नुभएको हो ।
पौडेलले गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।
साथै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् । समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद पौडेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १८ गते बस्नेछ । यसैबीच, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सांसदहरुले उठाएका सबै विषयमाथि सम्बोधन हुने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले संसदमा उठेका विषयमाथि गम्भीर छलफल हुने र छिट्टै सम्बोधन हुने बताउनुभएको हो ।
वर्षौंसम्म शासन सत्ता चलाएका राजनीतिक दलहरूले नै राज्यका संयन्त्रलाई थिलथिलो अवस्थामा पु¥याएको उनको भनाइ छ । त्यसका लागि रातदिन नभनेर प्रणाली सुधारमा आफू लागिपरेको उहाँको भनाइ छ । राज्यका संयन्त्रलाई हिजो चलाएजस्तो अब चलाउन नमिल्ने गृहमन्त्री लामिछानेले बताउनुभयो । हिजोका आरोप र गन्थनमा चासो नभएको र जनताको हितमा बहस हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।
कांग्रेसले संसदमै उराल्यो राष्ट्रिय सहमतिको स्वर
काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको हो । उहाँले शान्ति प्रक्रिया अझै पूर्ण भई नसकेको उल्लेख गर्दै टुंगो लगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।
यस्तै पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण समेत दिनुभएको छ । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा एमाले विभाजन भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेसंगै पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सार्नुभएको छ । यहि बिचमा पौडेलले एमालेतर्फ संकेत गर्दै अँझैपनि संविधान फ्याँक्न अनेक प्रयत्न भएकाले कांग्रेस र कम्यूनिष्ट मिल्नुको विकल्प नभएको बताउनुले राष्ट्रपतिमा सहमति खोजेको स्पष्ट हुन्छ ।
तर पौडेलले भने विशुद्ध देशमा देखिएका समस्या समाधानका लागि नै राष्ट्रिय सहमति खोजेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै पौडेलले कांग्रेस नेतृत्वको सरकारले वैदेशिक सम्बन्ध विगारेको अभिव्याक्तिको समेत खण्डन गर्दै भूराजनीतिक दबाब आफूहरुले भन्दा अरु पार्टीहरुले बढाएको जिकीर गर्नुभएको छ ।
राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारको कारणले संघीयताविरोधीहरुलाई आवाज उठाउने ठाउँ भएको बताउनुभएको छ । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताउनुभएको हो ।
उहाँले आफू नेतृत्वको सरकार आएपछि १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएकोसमेत बताउनुभएको छ । जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएकोसमेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
त्यसअघि बैठकमा संघीयता कार्यान्वयन अध्यययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेश गर्दै समिति सभापति डा. खिमलाल देवकोटाले शासन व्यवस्थामा परिवर्तन भएपनि जनजिविकामा सुधार हुन नसकेको बताउनुभएको थियो । देवकोटाले जनताले छिटोछरितो सुविधा खोजेपनि अहिलेका तीन तहका सरकारबाट समेत सहज सुविधा नपाएको बताउनुभयो ।
हाल प्रदेशहरुमा मन्त्रालय घटाउने क्रम सुरु भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।सबै कामको भार प्रदेश र स्थानीय तहमा गइसकेपछि केन्द्रमा २५ सदसीय मन्त्री र २१ मन्त्रालय आवश्यक नभएको उहाँको भनाई थियो । केन्द्रमा मन्त्रालयको संख्या १५ मा झार्न सुझाव दिनुभएका देवकोटाले यो संख्यामा पनि वहश गर्न सकिने बताउनुभएको छ ।
गण्डकीका ३ मन्त्रीले लिए शपथ
काठमाडौँ । गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । उहाँहरुलाई आज साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ ।
यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसक्नुुभएको थियो । मन्त्रीहरुको जिम्मेवारी पनि आज नै तोकिएको छ । एमालेका रोशन गाहाले आन्तरिक मामिला , सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएउनुभएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
कर्णालीमा मन्त्रालयको भागबन्डा मिल्यो
काठमाडौँ । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । आज दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रकी अध्यध्यक्ष बिमला केसीका अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।
त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो । अध्यक्ष केसीका अनुसार भोलिसम्म मन्त्रिमण्डल विस्तार गरिने सहमति पनि बैठकमा भएको छ ।
बागमती प्रदेशमा ११ मन्त्रालय बनाइने, राज्यमन्त्री नराखिने
काठमाडौँ । बागमती प्रदेशमा ११ वटा मन्त्रालय कायम गरिने भएको छ । मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले रहेको १४ वटा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने बताउनुभयो ।
उहाँले आफ्नो मन्त्रिपरिषद्मा राज्यमन्त्री नराखिने बताए । मुख्यमन्त्री जम्कट्टेलले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो ।मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।
भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति
काठमाडौँ । भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो ।
घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पू¥याएको छ । भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।
प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ । भूकम्पबाट बडिमालिका–२ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ । भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको हो । रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् ।
जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी रहनुभएको छ । हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन् ।
पोखरा जहाज दुर्घटना
काठमाडौँ । पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ ।
अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ । दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरु नेपालमा परीक्षण गर्न नसकिने हुँदा उच्च गुणस्तरसहितको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा पठाउनु पर्ने हुन्छ । सोही अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ । १ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको शव प्राप्त भएको छ । १ जना बेपत्ता छन् । जहाजमा ७२ जना सवार थिए । सोही दिन मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।
आत्मदाहको प्रयास
काठमाडौँ । काठमाडौँ नयाँ बानेश्वरको संसद भवअगाडि एक युवकले आज दिउँसो आत्मदाहको प्रयास गरेका छन् । प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पु¥याएको छ।उनले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेको पाइएको छ ।
स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन् । जसका कारण आफूमा बाँच्ने आशा मरिसकेको हुँदा आत्मदाह गर्न लागेको बताएका छन् । उनले आफूलाई ६० लाख ऋण लागेको, टर्चर सहन नसकेर श्रीमतीले पनि आत्महत्याको प्रयास गरेको उल्लेख गरेका छन् । साथै उनले सरकारसँग आफ्ना विभिन्न मागसमेत राखेका छन् । कीर्तिपुर अस्पतालमा उपचाररत उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बढी धुँवा फाल्नेमाथि कारबाही
काठमाडौँ । गत मंसिरदेखि हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखि अभियानै सञ्चालन गरेर काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ । वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अभियान सुरु भएदेखि हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदूषण चेक गरेको थियो ।
केवल टेलिभिजन ब्यवसायीको मागमा कुलमान सकारात्मक
काठमाडौँ । संघर्षरत केवल टेलिभिजन व्यवसायीहरुले उठाएका मागको सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक कुलकमान घिसिङ सकारात्मक देखिनुभएको छ । आज केवल व्यवसायीको एक प्रतिनिधिमण्डलसँग छलफलका क्रममा उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको हो ।
प्रतिनिधिमण्डलले घिसिङलाई पोलभाडाको वृद्धिले आफूहरु मर्कामा परेको भन्दै ज्ञापनपत्र बुझाएको थियो । त्यसक्रममा उनीहरुले केवल व्यवसायीहरुले करिब २५ वर्षदेखि देशभर टेलिभिजन सेवाको विस्तारमा पुर्याइरहेको योगदानका विषयमा अवगत गराएका थिए । व्यवसायीको कुरा सुनेपछि कुलमानले आइएसपी र केवल व्यवसायीको फरक आफूले बल्ल बुझेको प्रतिक्रिया दिनुभएको थियो ।
केवल व्यवसायीले २०७५ सालमा बढाइएको भाडादर तिर्न नसक्ने भन्दै त्योभन्दा अगाडिको दरमा सबै बक्यौता भाडा चुक्ता गर्न तयार रहेको बताएका छन् । यसमा पनि कुलमानले सकारात्मक प्रतिक्रिया दिएको महासंघ अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
आर्थिक खबर
सेयर बजार सामान्य बढ्यो
काठमाडौँ । सेयर बजार आज सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ८.१४ अंक बढेर २१ सय ७३.२४ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २४८ कम्पनीको ५२ हजार ४६० पटकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ ।
विदेशका खबर
हङकङको चेतावनी
काठमाडौँ । हङकङले कानुन परिवर्तन गरेर राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा विदेशी वकिलहरुलाई ६ महिनाभित्रै प्रतिबन्ध लगाउने बताएको छ । न्यायमन्त्री पौल लामले विदेशी वकिललाई एकछत्र प्रतिबन्ध लगाउने कार्य हङकङको न्याय प्रशासन र कानुनी शासनको खिलाफमा हुने चेतावनी बार एसोसियसनले दिएपछि मन्त्री लामले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील मुद्दामा विदेशी वकिल राख्न दिने कि नदिने भन्ने विषयमा बेइजिङले हङकङलाई नै निर्णय गर्ने जिम्मा दिएको थियो । त्यसअघि मिडिया टाइकुन जिम्मी लाइले राखेका बेलायती वकिल तिमोथी ओवेनलाई बहस गर्न नदिने प्रयास सरकारले गरेपछि विवाद सिर्जना भएको थियो ।
सोमालिया अपडेट
काठमाडौँ । सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको हो । सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकुलाई पनि मारेको बताइएको छ ।
राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले कारबाही गरेको हो ।
खेल खबर
नेपाल टी—२० क्रिकेट अपडेट
काठमाडौँ । नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको प्रहरीको दाबी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज पत्रकार सम्मेलन गर्दै फिक्सिङमा खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको जनाएको हो ।
खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाण्डौ नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।
अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीको भनाइ छ ।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछिसीआईबीले अनुसन्धान थालेको थियो । यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।