Live Streaming

अन्नपूर्ण दिनभर : त्रिभूवन विमानस्थलका प्रमुख अख्तियारको नियन्त्रणमा, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्याउने सरकारको तयारी


त्रिभुवन विमानस्थलका टर्मिनल प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई नियन्त्रणमा लिएको हो । घूस रिसवतको विषयमा उनलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले दिनुभयो ।  उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । घटनाबारे अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिने जनाएको छ । 

एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौंबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो । जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानालाई समेत सोही कसुरमा निलम्बनको निर्देशन दिइएको निरौलाले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ । यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने चाहिँ प्राधिकरणले खुलाएको छैन ।

राष्ट्रपतिमा उठाउने कांग्रेसको तयारी 

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा समेत उम्मेरवार उठाउने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका विषयमा मौन रहनुभएको छ ।

उहाँले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताउनुभएको छ । कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ ।  आज बसेको पदाधिकारी बैठकले राष्टपति निर्वाचन आलटाल गरेर पछाडि धकेल्न नहुनेमा जोड दिइएको पार्टी प्रवक्ता डा. प्रकाशरण महतले बैठकमा बताउनुुभयो । 

वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने योजना बनाएको हो । सभामुख र उपसभामुखको निर्वाचनमा पराजित भएको कांग्रेसलाई राष्ट्रपतिको निर्वाचन पनि फलदायी नहुने टिप्पणी सुरु भएको छ । 

सुरक्षा चुनौतीको रणनीति बनाउन प्रमको निर्देशन 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ । आज २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो । उहाँले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने समेत बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बललाई हातहतियार, गोलीगठ्ठा, आवास एवं बन्दोबस्तीका सामान, विपद व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण उपलब्ध गराउन पहल गर्ने उल्लेख गर्नुभयो । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्याउने सरकारको तयारी

काठमाडौँ । सरकारले फेरि सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने विभिन्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसअघि नै विभिन्न १८ वटा ऐन संशोधन प्रक्रिया अघि बढेको भएपनि राष्ट्रिय सभामा पुगेर विधेयक रोकिएको थियो । त्यो विधेयक निस्तेज भइसकेपछि कानून मन्त्रालयले फेरी शुरुदेखि प्रक्रिया थालेको हो ।

मन्त्रालयले विधेयकलाई छिट्टै अन्तिम रुप दिने तयारी गरेको छ ।प्रतिनिधिसभाको पदावधि सकिनै लाग्दा गत भदौंको अन्तिम साता सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक पेश गरेको थियो । प्रतिनिधिसभाबाट ‘फास्ट ट्रयाक’मा पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित हुन सकेन र अलपत्र प¥यो । कामचलाउ सरकारले ल्याएको भन्दै राष्ट्रपतिले जारी नगरेपछि अध्यादेश अलपत्र परेको थियो । कानूनी रिक्तता देखिनसक्ने भन्दै सरकारले विधेयकलाई प्राथमिकता दिएको हो । 

गृहमन्त्री रविको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौँ । जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्यालाई लिएर स्थानीय आन्दोलित भएका छन् । आन्दोलित मृतकका परिवारजन र स्थानीयले आज जनकपुरधाम उपमहानगरपालिका–९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन् ।

उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका हुन् । जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन् ।

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुटो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् ।  प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारको आरोप छ । उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत माग गरेका छन् । 

यस्तै, बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरबाट ¥यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

कोइरी पक्राउ प्रकरण रिपोर्ट 

काठमाडौँ । कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी एमाले सांसद लक्ष्मी महतो कोईरी पक्राउ नपरेको बिषय अहिले चर्चामा छ । शसस्त्र प्रहरीको हत्या गरेर फरार कोइरी पटक पटक संसद भवन देखिँदा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । गृहमन्त्रीले दिएको निर्देशनका वावजुद संसद वैठकमै उपस्थित फरार प्रतिवादी कोईरीलाई पक्राउ गर्न नसक्दा गृहमन्त्रीले चर्को विरोध खेप्नु परेको छ । 

राष्ट्रिय सभा उपनिर्वाचनमा काँग्रेसबाट ३ जना सिफारिस 

काठमाडौँ । लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ २५ गते हुने उप निर्वाचनका लागि नेपाली कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको छ । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुने भएको हो । कांग्रेसबाट दाङका वीर केशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ ।

गौतम र आचार्य पुर्वजिल्ला सभापति समेत हुनुहुन्छ । माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिनुभयो । 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रसँग समन्वय गरेर सहमतिमै उम्मेदवारको टुंगो लगाउने बताउनुभयो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत छ । माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन भइसकेको छ ।

सन्दीपको सुनुवाई स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेको मुद्दाको आज तय भएको सुनुवाई स्थगित भएको छ । नाबालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछानेको मुद्दाको  पेसी आज तोकिएको थियो । जाहेरवाला पिडित नाबालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले पेसी स्थगित गर्न निवदेन दिए पछि सुनुवाई रोकिएको हो ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो फैसलाविरुद्ध सन्दिपका वकिलले पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

पुस २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदातलको पुर्पक्षका लागि थुनामा पठाउने फैसला उल्ट्याइ दिएको थियो। उच्च अदालतले विभिन्न सर्तसहित सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते सुन्धारास्थित केन्द्रिय कारागारबाट धरौटीमा रिहा भएका थिए ।

सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।

करोडौं अनियमितताको आरोप, ‘प्राध्यापक’ लेखेको विषयमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गिरीले प्राध्यापक नभई प्राध्यापक हुँ भनी उक्त पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको, नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको भनाइ छ ।

डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार कारवाही गर्न माग गरेको छ । उक्त दफामा नपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ ।

गल्याङ नगरपालिकामा अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार, पूर्वमेयरविरुद्ध मुद्दा

काठमाडौँ । अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

स्पेसिफिकेसनमा उल्लिखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीऊ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

गल्याङ नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गरेको थियो । जसको बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको थियो ।

अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर गरेको छ । न्यौपानेले गुणस्तरहीन अदुवाको बीऊ दिएर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै अख्तयारले उनीसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरेको छ ।

आर्थिक खबर

काठमाडौँ । नेपालको ब्यापार घाटा १९ प्रतिशतले कमी भएको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको हो ।

७ खर्ब ९२ अर्ब रुपैयाँ भन्दा बढीको मालवस्तु आयात गरेको नेपालले यो अवधिमा ८० अर्बको मात्र निर्यात गरेको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने आयात निर्यात दुबै घटेको देखिएको छ छ । आयात २०.६८ प्रतिशतले घटेको छ भने निर्यात ३२.०१ प्रतिशतले घटेको छ ।

समग्रमा व्यापारघाटा १९.१५ प्रतिशतले कम भएको हो । गत वर्षको यसै अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।

ब्याजदर कम हुँदै जान्छ : अर्थमन्त्री पौडेल 

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ ।

आज ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बैंकहरुको ब्याजदर कम हुँदै गएको बताउनुभएको हो । उहाँले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने उल्लेख गर्नुभयो ।

विदेशका खबर

काठमाडौँ । युक्रेनमाथि रुसले फेरी आक्रमण तिव्र पारेपछि अमेरिकालगायत पश्चिमी मुलुकमा त्रास फैलिएको छ । एक साताअघि मात्र रुसले युक्रेनमाथि विजयी हुने भविष्यवाणी गरेको थियो । त्यसयता रुसी सेनाले युक्रेनमाथिको आक्रमण धेरै गुणा बढाएको छ । रुसी आक्रमणमा युक्रेनी सैनिक मारिएको बताइएको छ ।  

रुसी सेनाले फेरि एकपछि अर्को गर्दै युक्रेनका सहर कब्जा गर्न थालेको छ । त्यसकारण पश्चिमी देशहरूले युक्रेनलाई पराजयबाट जोगाउन पुनः शक्तिशाली हतियार दिन सहमत भएका छन् । तर यसपटक रुसले युक्रेनलाई सहयोग गर्ने देशलाई सीधा धम्की दिएको छ । युक्रेनलाई थप शक्तिशाली हतियार आपूर्ति गर्ने देशले विपत्ति निम्त्याइरहेको रुसले बताएको छ । रुसी संसदको तल्लो सदनका सभामुखले हिजो युक्रेनलाई थप शक्तिशाली हतियार आपूर्ति गर्ने देशहरूले त्यसो गरेर आफ्नै विनाशको जोखिममा रहेको चेतावनी दिनुभएको थियो ।  

खेल खबर
स्पट फिक्सिङको आरोपमा तीन क्रिकेटर पक्राउ 

काठमाडौँ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । फिक्सिङको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले आज पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको हो ।

अर्का एक जनाको नाम भने प्रहरीले अहिलेसम्म खुलाएको छैन् । आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो । टी–ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगिताका केही खेलमा म्याच फिक्सिङको आरोप लागेको थियो । स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो । गत महिना काठमाडौंमा भएको लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीको निष्कर्ष छ ।

यता क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बीचको सम्झौता नै रद्द हुने अवस्थामा पुगेको छ । यसअघि घरेलु कम्पनीले नै खेल सञ्चान गर्ने गरेपनि क्यानले भारतीय कम्पनी थ्री स्पोर्टस्संग ३ बर्षअघि सम्झौता गरेको थियो । तर, स्पोर्ट फिक्सिङको नैतिक प्रश्नसंगै सम्झैताअनुसारको रकम उपलब्ध गराउन नसक्दा सम्झौता नै रद्द हुने अवस्था आएको हो ।

रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ब्यापारीक साझेदारले आर्थिक लेनदेन ढिलोचाँडो हुने भन्दै टारिरहेको गुनासो गर्नुभयो । हालसम्म सम्झौता पूर्णरुपमा कार्यन्वयन भईनसकेकाले सम्झौता पूर्ण कार्यन्वयन नभए रद्द हुनसक्ने बताउनुभयो ।