Live Streaming

अन्नपूण दिनभर : नेपाली अर्थतन्त्र सुधारोन्मुख, निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश भएसंगै सरकार गठनको बाटो खुल्याे

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्नुभएको हो । 

शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने कार्यक्रम छ । प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

आजै निर्वाचन मतपरिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८ सय २५ जना निर्वाचित भएका छन्। निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्।  

प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए । प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि अब नयाँ सरकार गठनको बाटो खुल्नेछ । 

दलहरुले भने संसदीय दलको नेता तथा आगामी प्रधानमन्त्रकिा लागि समीकरण मिलाउन सुरु गरिसकेका छन् । २७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली काँग्रेस काँग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा हुन पुगेको छ भने नयाँ शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दलका रुपमा उदाएको छ ।

यो परिणाम अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेसले अन्य गठबन्धन दलको सहयोगमा सरकार बनाउने अनौपचारिक प्रयास थालेपनि औपचारिक रुपमा गठबन्धनभित्र नयाँ सरकार गठनबारे कुनै प्रयास नभएको नेताहरुले बताएका छन् । 

निर्वाचनसँगै कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी धेरै बन्दा त्यसको व्यवस्थापन गर्न कांग्रेसलाई थप चुनौती छ । कांग्रेसभित्र सभापति देउवासहित पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेता प्रधानमन्त्रीका आकांक्षी छन् ।

कांग्रेसको अलवा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीका आकांक्षी देखिनुभएको छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदमा प्याकेजमै सहमति गर्ने सत्ता गठबन्धनको तयारी छ । सोही अनुसार उनीहरुबीच एकअर्कामा अनौपचारिक दावी र छलफल भएपनि ठोस रुपमा छलफल भइसकेको छैन । 

सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायतलाई रिहाई गर्न मिल्नेगरी सरकारले ल्याएको अध्यादेश खारेजविरुद्ध परेको रिट दरपिठ गरेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन लागिएको भन्दै सर्वोच्चले रिट दर्ता नगरेको हो ।

सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीद्वारा जारी आदेशमा मन्त्रिपरिषदबाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएपश्चात मात्र कानुनको रूपधारण गर्ने संवैधानिक व्यवस्था रहेकाले अध्यादेश जारी नहुँदै रोकिपाउँ भन्नु अपरिपक्वता भएको उल्लेख गरेको छ । 

सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोज्यो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताउनुभएको हो ।

उहाँले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गर्नुभयो । सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको रावलको भनाइ छ । सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताउदै उहाँले राजनीतिको आवरणमा कसैले अपराध गर्न नपाउने बताउनुभयो । 

नेकपा एमाले पहिलो पार्टी

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले पहिलो पार्टी भएको दाबी गर्नुभएको छ । लमजुङबाट प्रतिनिधिसभामा विजयी भएपछि कार्यकर्तालाई धन्यवाद दिन पुगेका गुरुङले एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी भएको बताउनुभएको हो ।

एक्लै एमालेसँग लड्न नसक्ने भएकाले हरुवा हरुवा पार्टीहरू मिलेर एमालेविरुद्ध षड्यन्त्र गरेको गुरुङको आरोप थियो । एमाले सरकारले गरेको राम्रो कामलाई हटाएर गठबन्धन सरकारले देशलाई खोक्रो बनाएको उहाँले टिप्पणी गर्नुभयो । एमालेले पाँच वर्षभित्रमा आफूले गरेको प्रतिबद्धता पूरा गर्ने पनि गुरुङका भनाई छ ।

प्रधानन्यायाधीश नियुक्ति अन्योलमा 

काठमाडौं । विगत १० महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चल्दै आएको सर्वाेच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्ति अन्योलमा परेको छ । निलम्बनकै अवस्थामै उमेदरहदका कारण चोलेन्द्रशमेशर जबराले मंगलबारदेखि अनिवार्य अवकाश पाएपनि नयाँ प्रधानन्यायाधीश तत्काल नियुक्ति हुने सम्भावना छैन ।

प्रधानन्यायाधीशको पद रिक्त हुने एक महिनाअघि नै नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने प्रावधान भएपनि निर्वाचन लगायतका कारण संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन । 

संवैधानिक परिषद्को बैठक बस्न ‘कानुनी शून्यता’को अवस्था छ भने गणपूरक संख्याको पनि अभाव देखिएको छ । तत्कालीन केपी ओली सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याई परिषद्का दुईजनाले नै नियुक्तिका निर्णय गर्न सक्ने प्रावधान राखिएको थियो । तर शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै बनेको सरकारले सो अध्यादेश खारेज गरेको छ । 

तर, पुरानो संवैधानिक परिषद्सम्बन्धी ऐनलाई नै फेरि सक्रिय बनाउने निर्णय नहुँदा कानुनी शून्यताको अवस्था आएको हो । अध्यादेश खारेज गरेपछि पुरानो ऐनलाई कार्यान्वयन गर्न त्यसलाई जगाउने निर्णय हुनुपर्ने प्रावधान छ । कानुन नै भए पनि गणपूरक संख्या पुग्ने अवस्था छैन ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । 

ऐनमा अध्यक्ष र कम्तीमा चारजना सदस्य उपस्थित भएमा मात्र बैठक बस्न सक्ने प्रावधान छ । हाल अध्यक्ष र दुई सदस्य मात्र रहेको अवस्थाले बैठक बस्न नसक्ने भएको हो ।

प्रधानन्यायाधीश नियुक्ति गर्ने बैठकमा भने सदस्यका रूपमा प्रधानन्यायाधीशको सट्टा कानुनमन्त्री सहभागी हुने प्रावधान छ । संसद्को बैठक बसेर नयाँ सभामुख–उपसभामुख छान्नै कम्तीमा एक महिना लाग्ने भएकाले संवैधानिक परिषद्को बैठक समेत अन्योलमा परेको हो । 

पुस ५ मा एमालेले बोलायो सांसदहरुको भेला

काठमाडौं । नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताउनुभयो । 

भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ । नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १ सय ६१ जना निर्वाचित भएका छन् ।

सो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २ सय ३९ जना सासद रहेका छन् ।निर्वाचन आयोगले पुस ३ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम आयोजना गरेको छ ।

निगमका सबै क्याविन क्रुको करार नविकरण गर्ने सहमति

काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । आज निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको हो । 

यस्तै, व्यवस्थापनले ५० वर्षको बढुवाको सिफारिस पनि निगम सञ्चालकसमक्ष लगिसकेको बताएको छ । क्याबिन क्रुको माग पुरा गर्ने गरी मौखिक सहमति भएको छ ।

हिजोबाटै उडान बन्द गरेर आन्दोलित बनेका नेपाल वायू सेवा निगम क्याविन क्रु संघले आजै विहान मात्र विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभएसम्म उडान नगर्ने जनाएको थियो । निगममा १५० भन्दा बढी क्याबिन क्रु कार्यरत रहेका छन् । 

वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनको निकटको चाहि नविकरण गरिदिएको र बाँकी अरुको नबिकरण नगरी काममा लगाएको आरोप छ ।

व्यवस्थापनको चरम लापरवाहीका कारण तिन महिना पहिला हुनुपर्ने नविकरण तथा क्याविन क्रु आइडिकार्ड अन्तिम समयसम्म नविकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओ एम ए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघनगर्दै सो भन्दा बढी उडाइएकाले सम्पुर्ण क्याविन क्रु थकान भइ विरामी पर्न गएको उनीहरुको आरोप थियो ।

त्यसअघि उनीहरुको आन्दोलनका कारण आज दिनभर आन्तरिकतर्फका ५ र अन्तर्राष्ट्रियतर्फका ३ उडान प्रभावित हुँदा सैयौं यात्रुहरु अलपत्र परेका थिए ।

महोत्तरीको रामगोपालपुरमा स्थानीय र प्रहरीबीच झडप‚ चार प्रहरी घाइते

काठमाडौं । महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ४ प्रहरी घाईते भएका छन् । जिल्लाको  रामगोपालपुर ५ मा मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको हो । 

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ। आन्दोलनकारीको ढुङ्गामुढाबाट नगरपालिकाका कर्मचारीसमेत घाइते भएको सूचना आएको भए पनि आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ। पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको सहभागीले बताएका छन् ।

डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । 

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुयाउँदै आएको बताउनुभयो । 

सो क्रममा उहाँले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गनुृभएको थियो । आजै विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् ।

चिरिबाबुको प्रस्ताव

काठमाडौं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे। उनले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो। मन्त्री चौधरीले महानगरपालिकासँग समन्वय गरेर सहरी विकासका लागि नीतिगत सहयोग गर्ने बताउनुभयो । महानगरपालिकासँग समन्वय गरेर सहरी सौन्दर्य, सहरी स्वास्थ्य र सहरी वातावरण निर्माणमा नीतिगत सहयोग गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

विश्वकपमा बेटिङ गराउने गिरोहका एजेन्ट पक्राउ

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो । 

उनले कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा एजेन्ट बन्दै काम गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार गौलीले २ करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ कारोबार गरेको देखिएको छ भने ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बारामा युवकको शव भेटियो, हत्या भएको आशंका

काठमाडौं । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् । शंकास्पद व्यक्तिहरु पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

नेपाल टाइम्सका सञ्चालक पक्राउ

काठमाडौ । विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालक सहेन्शा सिद्धिकी भनिने अब्दुल खत्ताबलाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा खत्ताब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पुर्याई दबावमा पारेर १५ लाख रुपैयाँ असुलेको भन्दै उद्योगी राठीले प्रहरीमा उजुरी दिएका थिए । राठीले खत्ताबसहित अन्य २ जना विरुद्ध पनि उजुरी दिएका छन् । राठी पनि सो कम्पनीका सेयर सञ्चालक हुन् ।

अन्तरवार्ता लिने भन्दै फकाएर घरबाट स्कुटरमा ल्याएर कुटपिट गरी बन्धक बनाएको राठीको आरोप छ । प्रहरी समक्ष जाहेरी परेदेखि सम्पर्कविहीन भएका अब्दुललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका खत्ताबलाई आजै जिल्ला अदालत मोरङले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको र हाल अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

रेशम चौधरीलाई छुटाउन धर्ना

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायले जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् । सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । 

त्यही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै बिहीबार थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सप्तरी, थरुहट, थारुवान संयुक्त संघर्ष समिति, थारु विद्यार्थी समाज, थारु महिला समाज लगायतले प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । 

महोत्तरीमा जाडोले जनजीवन प्रभावित

काठमाडौं । महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार÷पाँचदिनदेखि लगातारको शीतलहर, कठ्याङ्ग्रिदो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तरीको जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । 

जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा सतिशकुमार साहले बताउनुभयो । जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले बताउनुभयो । 

म्याग्दे गाउँपालिका बस दुर्घटना १५ घाइते

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–६ अकालमा आज दिउँसो बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्। नारायणघाटबाट बागलुङ जाँदै गरेको ग १ ख ५५२५ न को बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये चालक नरबहादुर लामासहित सवार १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सबै घाइतेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खड्काले बताउनुभयो । 

आर्थिक खबर
अर्थतन्त्र सुधारोन्मुख

काठमाडौं । अर्थतन्त्रका केही सूचकले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको देखाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनले अर्थतन्त्र सुधारतर्फ लम्कन थालेको देखाएको हो ।

साउनयता झण्डै आधा खर्बले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको छ । असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ५ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा प्रतिन्ध लगाएको थियो । सोहीकारण विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ ।

यद्यपि अहिले भने ती प्रतिबन्धित वस्तुको आयात फुकुवा भइसकेको छ । यसको असर आगामी एक दुई महिनापछि विदेशी मुद्राको सञ्चितिमा पर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

यता शोधानान्तर स्थितीमा पनि असोजपछि सुधार आउन थालेको छ । कात्तिकसम्म आइपुग्दा शोधानान्तर स्थिती २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । 

यस्तै ४ महिनामा देशमा पौने चार खर्ब रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । रेमिट्यान्स आप्रवाह गत वर्षको यसै अवधिको तुलनामा २०.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अर्थतन्त्रको सुधारमा रेमिट्यान्सले पनि मुख्य भूमिका खेलेको छ । 

विदेशका खबर
राष्ट्रसंघको बैठकमा भारत पाकिस्तानबीच  जुहारी

काठमाडौं । अमेरिकामा जारी संयुक्त राष्ट्र संघको बैठकमा पाकिस्तानले कश्मिरको मुद्दा उठाएपछि दुइ देशबीच वाद–प्रतिवाद भएको छ । पाकिस्तानले राष्ट्रसंघको बैठकका क्रममा भारत प्रशासित मुस्लिम बाहुल्य क्षेत्र कश्मिरको विषय उठान गरेको थियो । पाकिस्तानका विदेश मंत्री बिलावल भुट्टोले बहसको क्रममा कश्मीर का मुद्दा उठाउनुभएको थियो । 

स्वशासित प्रदेश जम्बु कश्मिरमा धारा ३७० लागू भएर संघ अन्तर्गत आएदेखि नै पाकिस्तान भारतसँग रुष्ट बनेको छ ।  पाकिस्तानले उठान गरेको बिषयमा प्रतिक्रिया दिँदै  भारतीय विदेश मन्त्री जयशंकरले अतंकवादी संरक्षण गर्ने देशले उपदेश दिनु न्यायोचित नहुने बताउनुभयो ।

सन् २००१ मा आतंकवादी संगठन लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद ले संसदमा आक्रमण गर्दा ९ जनाको ज्यान गएको थियो । सोहि घटनालाइ स्मरण गर्दै जयशंकरले  ओसामा बिन लादेन जस्ता आतंकवादीलाई पलनपोषण गर्ने र छिमेकी देशको संसद बिरुद्ध हमला गर्ने देशले दिएको उपदेश शिरोधार्य नहुने बताउनुभएको हो ।

बैठकको अध्यक्षता गर्नुभएका भारतीय विदेशमन्त्री जयशंकरले महामारी, जलवायु परिवर्तन, संघर्ष वा आतंकवादका बिरुद्ध प्रभावकारी प्रतिक्रियाका साथ अघि बढेमात्र संयुक्त राष्ट्रसंघप्रति विश्वसमुदायको विश्वसनियता बढ्ने बताउनुभयो । 

खेल खबर
चार महिनामै ‘पदमुक्त’ भए नेपाल क्रिकेट टिमका प्रशिक्षक प्रभाकर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले चार महिनामै राजीनामा दिनुभएको छ । प्रभाकरले दिएको राजीनामा आजैदेखि लागु हुनेगरि स्वीकृत गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । क्रिकेट संघले साउन २३ प्रभाकरलाई एक बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

तर, खेलाडीहरुको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरुलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाव दिएको जस्ता आरोप उनीमाथि थियो। नामिबिया टूरमा एउटा पनि खेल जित्न नसकेपछि क्रिकेट संघका पदाधिकारीले तत्काल राजीनामा दिन दबाव दिएका थिए। प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन् ।

प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन सुरुमा लयमा भएपनि बिस्तारै खस्किदै गएको थियो । उनको प्रशिक्षणमा नेपालले केन्या भ्रमण गरेको थियो, जसमा नेपाल ३–२ ले टी–२० सिरिज जित्यो भने तीन म्याचको एकदिवसीय शृखला क्लिन स्वीप ग¥यो । नोभेम्बरमा काठमाडौंमा युएईसँग तीन एकदिवसीय शृंखला खेल्यो, जुन नेपालले २–१ ले जित्यो ।

तर नेपालका लागि महत्वपूर्ण क्रिकेट वर्ल्डकप लिग टूमा भने खराब खेल्यो । नामिबिया टूरमा नेपालले घरेलु टोलीसँग दोस्रो र स्कटल्याण्डसँग भएको दुबै खेल हारेको थियो । खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो ।