Live Streaming

अन्नपूर्ण दिनभर : समानुपातिकमा नेताका आफन्तदेखि विवादित पृष्ठभूमी भएकाले पाए मौका


कुन दलबाट कसले पाए समानुपातिकमा अवसर ?

काठमाडौं । थ्रेसहोल्ड कटाएका सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले नेताका आफन्तदेखि विवादित पृष्ठभूमि भएकासम्मलाई समानुपातिक सांसद बनाएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ सांसदको टुंगो लगाएर निर्वाचन आयोगमा पठाएको छ । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । पार्टीमा महिलातर्फ पहिले नै क्लस्टर मिलाईएकाले विवाद थिएन । तीमध्ये पनि पार्टीमा सांसद पठाउदा परिवारवाद हावी देखिएको छ भने आफन्तकै हालिमुहाली दिखिएको छ ।

महिलातर्फ देउवा पत्नी आरजु राणा, बालकृष्ण खाण पत्नी मञ्जु खाण लगायतको नाम अन्तिम सूचीमा रहेको छ । ३ जना पुरुष को पठाउने भन्नेमा भने पार्टीमा विवाद देखिएको थियो अन्त्यमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोज्नुभएपनि प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउन दवाव थियो । यसो हुँदा जीवनले अवसर पाउनुभएको छ भने देउवाका विश्वासपात्र गोपानमान श्रेष्ठ अवसरबाट बञ्चित हुनुभएको छ ।

यस्तै नेकपा एमालेले पनि एमालेले विवादित छविका एकनाथ ढकाललाई सांसद बनाएको छ । यस्तै एमाले नेता तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीम आचार्यकी पत्नी मीरादेवी खनाल आचार्य पनि समानुपातिकको सूचीमा पर्नुभएको छ । 

समानुपातिक प्रणाली तर्फ कांग्रेसले ३२ र एमालेले ३४ सांसद पाएको थियो । माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ र जसपा र जनमत पार्टीले ५ ५ जना सांसद पाएका थिए । उनीहरु सबैले आज समानुपातिकतर्फको सूची बुझाएका हुन् ।यस्तै दलहरुले प्रदेशसभातर्फ समानुपातिक सांसदको सूची पनि आजै बुझाएका छन् ।

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई एमालेले निकाल्यो

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न स्थायी कमिटि सदस्यद्वय घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।

अपेक्षाअनुसार सिट आएन, तर हाम्रो भूमिका केन्द्रीय नै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको दावी गर्नुभएको छ । आज माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताउनुभएको हो ।

प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने पनि बताउनुभयो । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उहाँले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने पनि बताउनुभएको छ । 

माधव नेपालको निष्कर्ष : जनतालाई पूरा गर्न नसकिने आश्वासन होइन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताउनुभएको छ । आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले अबपुरा हुने आश्वासन दिनुपर्ने उल्लेख गर्नुभयो । 

यस्तै उहाँले चुनावमा पराजित भएका नेताहरुलाई जनताले मन नपराएको संज्ञा दिनुभएको छ ।फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यस वर्षको मानवअधिकार पुरस्कार कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई

काठमाडौं । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा.डा कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

मानव सेवा आश्रमले काठमाडौंका सडकपेटी तथा अन्य सार्वजनिक ठाउँमा रहेका असहाय, बेवारिस व्यक्तिको उद्धार, उपचार तथा मरेपछि शवको सद्गत वा व्यवस्थापनलगायतका काम गर्दै आएको छ ।

यस्तै लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन र पैरवी गर्ने कार्यमा निरन्तररूपमा पु¥याएको योगदानको लागि प्रा डा श्रेष्ठलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।   

आज ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा मानव अधिकारको शाख राजनीतिक नेतृत्वका कारण बिग्रीएको मानवअधिकारकर्मीहरुले बताएका छन ।

नेपाली राजनीतिमा भएको हस्तक्षेपकारी नीति र निरंकुश नेतृत्वका कारण मानव अधिकार र मानवअधिकार आयोगको छबि विग्रिएको मानवअधिकारकर्मीहरुले बताएका छन । द्वन्दको समयमा वेपत्ता परिवारहरूको पिडामा नेतृत्वलाई पिडाबोध नहुनु र सरकारले बनाउने कानून, रणनिती संयन्त्रहरू मानव अधिकारमैत्री नहुनु यसको उदाहरण भएको अधिकारकर्मीहरु बताउँछन ।

रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डेमा कुरा गर्दै मानव अधिकारकर्मी एवम् एम्नेष्टि इन्टरनेशनलका पूर्व अध्यक्ष राजन कुईकेलले राजनीतिमा अपराधीकरण गर्नेहरुलाई अन्तराष्ट्रिय कठघरामा उभ्याउनु नै अन्तिम बिकल्प रहेको बताउनुभएको छ 

सरकारले अझै तोकेन यस वर्षको उखुको मूल्य

काठमाडौं । सरकारले अझैपनि उखुको समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानहरु पुरानै मूल्यमा बेच्न बाध्य भएका छन् । जिल्लामा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ्ग सुरु गरिसकेका छन् ।

सरकारले यसवर्षको समर्थन मूल्य नतोकेका कारण पुरानै समर्थन मूल्यमा उखु खरिद गरेर उद्योग चलाएको बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्लेले बताउनुभयो । गतवर्ष सरकारले अनुदानबाहेक प्रति क्विन्टल ५२० रुपैयाँ समर्थन मूल्य तोकेको थियो । किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने गरिएको छ । 

बारामा उखु जलाएर सडक अवरुद्ध, किसानले मागे चिनी मिलसँग क्षतिपूर्ति

काठमाडौं । चिनी मिलसँग क्षतिपूर्ति माग गर्दै बाराका किसान आन्दोलित भएका छन् ।रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण समय नै नपुगी उखु सुक्न थालेपछि किसानहरुले आज प्रर्दशन गरेका हुन् । त्यसक्रममा उनीहरुले श्रीपुरघाट चोकमा सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन गर्दै मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध पारेका थिए । 

उद्योग र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु लुकेर बसेकाले बाध्य भएर सडकमा चक्काजाम गरेको किसानको तर्क छ । प्रदर्शनमा सहभागी किसान शशीकान्त यादवले भारत सरकारले प्रतिबन्ध लगाएको उखु दबाव दिएर किसानलाई रोप्न लगाउँदा नोक्सानी भएको गुनासो गर्नुभयो । 

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले अहिले भने किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउनुभएको छ ।समस्या समाधानका लागि भोलि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
 
गोरखाको चम्पावती हाइड्रोमा तोडफोड र आगजनी

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गरेका छन् । हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले आज केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।

हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका पाँच सयभन्दा बढी स्थानीयले कार्यलय परिसर भित्र रहेका दुई वटा मिनीट्रक, एउटा जेसीभी र जस्ताले छाएको दुईवटा अस्थायी टहरामा आगो लगाइदिएका हुन् ।

कार्यलयभित्र रहेको फर्निचरको सामग्रीसमेत उनीहरूले तोडफोड गरेको बताइएको छ । मिनी ट्रक पूर्ण रुपमा क्षति भएको र जेसीबीमा आंशिक क्षति पुगेको बताइएको छ । आगजनीपछि इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

क्षतिको विवरण यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनुभयो । २०४९ सालबाट सिञ्चाइ हुँदै आएको राइनासटार सिञ्चाइ आयोजनालाई बेवास्ता गरी बलमिच्याइँ गरेर हाइड्रोपावर सञ्चालन गर्दा सिंचाई आयोजनामा असर परेको स्थानीयको भनाई छ ।

आजको घटनाले आयोजनामा करोडभन्दा बढीको क्षति भएको हाइड्रोपवार सञ्चालक हरेराम पराजुलीलले बताउनुभयो । आयोजनामा जबर्जस्ती तोडफोड भएकाले कानुनी प्रक्रियामा जाने उहाँको भनाई छ ।

कर्णालीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । बहुचर्चित कालीकोटको फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । आज कर्णाली करिडोरमा पर्ने कालिकोटको सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो । मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही स्थानका १४ वर्षीय युवराज बुढा छन् ।कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही स्थानका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन् ।

दुर्घटनामा रास्कोट ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते भएका छन् । घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।आयोजनामा काम गर्ने क्रममा डोजर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताउनुभयो ।

बेपत्ताको खोजी भइरहेको पनि उहाँले बताउनुभएको छ । कालीकोटको फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुरुङ खन्ने काम भइरहेको छ ।

कालिकोट डोजर दुर्घटनामा थप एकको मृत्यु, बेपत्ता अझै भेटिएनन्

काठमाडौं । कालिकोटमा डोजर भीरबाट पल्टिँदा थप एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रास्कोट नपा–७ का २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा जिल्ला अस्पताल मान्ममा उपचारकै क्रममा मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार फुकोट अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा सान्नी त्रिवेणी गापा–१ का ३० वर्षीय चरित्र सार्की र –२ का १६ वर्षीय युवराज बुढाको भने घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका रास्कोट नपा–७ का २२ वर्षीय मिलन शाहीको भने उपचारको क्रममा जिल्ला अस्पताल मान्ममा उपचारकै क्रममा मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनुभयो ।

अन्य घाइते खाँडाचक्र नपा–११ का १४ वर्षीय विकास भारती र १४ वर्षकै आशिष भारतीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

नदीमै परेर बेपत्ता भएका तीनजना भने अझै फेला परेका छैनन् । बेपत्ता हुनेमा २३ वर्षीय कमल सोडारी, १९ वर्षीय उमेश गिरी र १४ वर्षका रक्तिम कार्की छन् । स्थानीय र प्रहरी टोलीले खोजी गर्दा नभेटिएपछि भोलि गोताखोरको सहयोगमा खोजी गरिने प्रहरीले जनाएको छ । बेपत्ता भएका डोजर चालक कमल सोडारीसँग आयोजना घुम्नका लागि पुगेका स्थानीय दुर्घटनामा परेका हुन् ।

कर्णालीमा हवाई यातायातका लागि अनलाइन टिकटको व्यवस्था गर्न माग

काठमाडौं । कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ ।दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताउनुभयो । अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उहाँको भनाई छ ।

सेती नदीमा एक युवकको शव फेला

काठमाडौं । डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो ।   स्थानीयले आज दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए । प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो । मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ । नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

आर्थिक खबर
बिमा प्राधिकरणले जारी ग¥यो सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्देशन

काठमाडौं । नेपाल बिमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरूलाई थप प्रभावकारी बनाउन तथा बिमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अब बिमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ । यस्तै, बिमालेखमा हिताग्राही÷मनोनित उल्लेख गर्दा निजको पहिचानसम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्नेछ भने ऊक्त व्यक्ती उच्च राजनीतिक व्यक्ति भए नभएको एकीन गर्नुपर्नेछ ।

साथै, २५ लाखभन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बिमालेखमा इच्छ्याईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिन पनि प्राधिकरणले निर्देशन दिएको छ । 

विदेशका खबर
बंगलादेशमा प्रधानमन्त्रीको राजिनामाको माग

काठमाडौं । बंगलादेशमा नयाँ निर्वाचनको माग गर्दै ठुलो प्रदर्शन गरिएको छ । विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीका समर्थकहरूले प्रधानमन्त्रीशेख हसिनाको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै राजधानी ढाकामा जम्मा भएर प्रदर्शन गरेका हुन् । बंगलादेशको राजधानीमा चर्को तनावको बीचमा प्रदर्शनकारीहरूले आज गुलाबबाग खेलकुद मैदानमा जुलुस निकालेका थिए ।

मंगलबार विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को मुख्यालयमा सुरक्षा बलहरूले आक्रमण गरेको थियो । त्यसको केही दिनपछि यो ¥यालीको आयोजना गरिएको छ । सो आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।बिजुली कटौती र इन्धनको मूल्यवृद्धिलाई लिएर हालैका महिनाहरूमा देशभर सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्। आजको यालीमा मध्यरातसम्म करिब २ लाख मानिस सहभागी भएको बीएनपीका एक अधिकारीले बताएका छन् । 

अब खेल खबर
नेपालगंज म्याराथन : खडक र सन्तोषीलाई उपाधि

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले आठौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।नेपालगन्जमा आज खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गरी च्याम्पियन बनेका हुन्।म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो ।

नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए ।आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधि जित्न सफल भइन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी सन्तोषीले निर्धारित दुरी १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।

सन्तोषी सातौं संस्करणकी पनि च्याम्पियन हुन् । उनले त्यतिबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।

कतार विश्वकप

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमामोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।यस्तै,आजको दोस्रो तथा अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेका छन् ।फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो ।यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो । त्यसअघि गए राती भएको खेलमा जित निकाल्दै अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।