Live Streaming

अन्नपूर्ण दिनभर : समानुपातिकतर्फ दलहरुलाई आकांक्षी व्यवस्थापन चुनौतीपूर्ण 

 

चोलेन्द्रको निलम्बन फुकुवा कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगन अन्तरिम आदेश जारी गरेको छ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यो आदेशसँगै अवकाश पाउन ४ दिन बाँकी रहदा सर्वोच्च अदालतमा हाजिर हुने र आफूमाथिको निलम्बन निस्तेज भएको सन्देश सहित अवकाश लिने जबराको योजना विफल भएको छ । सर्वोच्च अदालतको यो अन्तरिम आदेशपछि महासचिव गौतमले विभिन्न निकायमा जारी गरेको पत्र समेत प्रभावहिन भएका छन् । योसंगै अदालतले जबराको हकमा समेत कारण देखाउ आदेश जारी गरेको छ । अदालतले जबरालाई ‘निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?’ भनी बाटोको म्याद बाहेक ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।

२०७८ को फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका थिए । प्रतिनिधिसभामा छलफल गरेर उनीमाथि दर्ता भएको महाभियोग प्रस्तावलाई ढिलो गरी महाभियोग सिफारिस समितिमा पठाइएकोमा उक्त समितिले पनि जबरामाथि महाभियोग लगाउनुपर्ने आधार कारण रहेको भन्दै प्रतिनिधिसभाबाट टुंगो लगाउनुपर्ने रायसहितको प्रतिवेदन गत असोज १ मै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।

अधिवक्ता तथा राजनीतिक विश्लेषक जगदीश दाहालले भने न्यायपालिकामाथिको पटक–पटकको प्रहारले नेपालको संविधान र संघियता उल्ट्याउने प्रयास भईरहेको टिप्पणी गर्नुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै दाहालले गोपाल पराजुली र शुशीला कार्कीको समयदेखि नै यो मिसनमा दलहरु लागिपरेको आरोप लागाउनुभयो । प्रधानन्यायाधीशलाई क्लीनचिट दिने पत्र लेख्नुमा संसद सचिवालयको पछाडी अन्य शक्तिहरु समेत लागिपरिरहेको बताउनुभएको छ । 

उहाँले एउटा संसदको प्रस्ताव अर्को गर्ने वा नगर्ने बिषयमा निश्चित समय तोकिएको भए, प्रधानन्यायाधीशले १ बर्षसम्म महाभियोग थेगेर बस्नुपर्ने अवस्था नआउने पनि बताउनुभयो । सरकारले आयोग बनाएर प्रधानन्यायाशीशमाथि छानविन गर्ने सक्ने भएपनि अवकास पाउन लागेको प्रधानन्यायशीशलाई महाभियोग लगाउनु नै गलत भएको पनि बताउनुभएको छ । 

समानुपातिक सिट बाँडफाँट

काठमाडौ । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ । आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ । दलहरुले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउने छैनन् ।

तर, संख्या कम हुनाले कुन समूह क्लस्टर भन्ने विकल्प भने   हुनेछ । कुनै समूहबाट पुरुषलाई छान्दा त्यही समूहबाट महिला बाहिरिन र अर्को समूहबाट पुरुष बाहिरिन सक्ने देखिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दलहरुले भोलिसम्ममा समानुपातिकतर्फको नाम पठाइसक्नु पर्नेछ । 


आयोगले महिला, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू र दलितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार छनोट गर्न आग्रह गरेको छ ।

साथै अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनुपर्नेछ । दलहरुले बुझाएको सूचीमा क्लस्टर नमिलेमा थप दुई दिनको समय दिएर सच्याउन पुनः पत्राचार गरिनेछ । समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५÷५ सिट पाएका छन् । समानुपातिकतर्फको उम्मेदवारको सूची तयार गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ ।

दलहरु छलफलमा जुटे 

काठमाडौ । उम्मेदवारको सूची बुझाउन निर्वाचन अयाोगले आज र भोलिको समयसीमा दिएपछि दलहरु छलफलमा जुटेका छन् । समानुपातिकबाट सांसद बन्ने आकांक्षी धेरै हुँदा दलको शीर्ष नेतृत्व दबाबमा परेको छ ।

समानुपातिका सांसद छान्न कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा भोली दिउँसो १ बजे बोलाईएको बैठकमा चुनावी समीक्षा तथासमानुपातिक उमेदवारको नाम टुंगो लगाउनेबारे छलफल हुनेछ । एमालेले पनि आजै समानुपातिक सांसद टुंग्याउने भनपनि केन्द्रीय सचिवालय बैठक नै बस्न सकेन ।

यस्तै सांसदको नाम टुङ्ग्याउन बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित बनेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपरान्ह बसेको बैठक कुनै निश्कर्षमा नपुगेपछि भोलिलाई सरेको छ । माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ समानुपातिक सांसद पाएको छ । 

यस्तैसमानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ । भोलि बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो । 

राप्रपामा समानुपातिकतर्फ दोश्रो पुरुष कसलाई सांसद बनाउने भन्ने विवाद

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोश्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने छ ।

समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोश्रो पुरुषका बारेमा विवाद भएका हो । आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धीमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोश्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समस्या परेको छ ।

पुरुषतर्फ सांसद हुनेको नाम नटुंगिएकाले ५ जना महिलातर्फ पनि कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । पार्टीले प्रतनिधि सभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न भोलि कार्य सम्पादन समितिको बैठक समेत बोलाएको छ ।

दलहरुले चुनावमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख निर्वाचन आयुक्त

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद् गरेको बताउनुभएको छ । निर्वाचन आयोगले आज काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोप समेत लगाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यवद्धता रहेको र त्यसको पालनाका लागि शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नुभएको छ । उहाँले राजनीतिमा महिलाहरुमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि आग्रह गर्नुभयो । 

सरकारमा जान नागरिक उन्मुक्ति पार्टीको शर्त : रेशमको रिहाइ

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ । आज दिउँसो काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभयो । पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।

भ्रष्टाचार विरुद्धको दिवस 

काठमाडौ । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । यसबर्ष दिवसको नारा ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने तय गरिएको थियो ।

भ्रष्टाचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सन् २०२१ का अनुसार नेपाल १ सय १७ औँ स्थानमा छ ।१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अङ्क प्राप्त गरेको छ । ५० भन्दा कम अङ्क पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ ।सुशासन कायम गर्ने मामिलामा सरकारी प्रयास असफल रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेका छन् ।

भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनभएको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो । भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको पनि उहाँको भनाइ थियो । साथै भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो । भ्रष्टाचार समाजको कलंकको रूपमा रहेको भन्दै यसको नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । 

उपत्यकामा मेलम्चीको पानी तेस्रोपटक पुनः वितरण सुरू

काठमाडौ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनुभयो । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट दैनिक ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्ने कार्यमा नीतिगत, संरचनागत तथा व्यवस्थापकीय सुधारको आवश्यक रहेको पनि बताउनुभयो । 
 

संसदीय व्यवस्था असफल साबित भइसक्यो : नेता चन्द 

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गर्नुभएको छ । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै उहाँले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताउनुभयो ।

मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको उहाँको भनाइ थियो । चन्दले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि आरोप लगाउनुभयो । 

त्रिविको ४८ औं दीक्षान्त समारोह

काठमाडौ । त्रिभुवन विश्वविद्यालय त्रिविको ४८ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । त्रिविका अनुसार आज १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित भएका छन् । स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच सय ४९, एमफिल ५५ र विद्यावारिधितर्फ ९७ जना दीक्षित भएका छन् ।

उक्त समारोहमा दुई जनासम्म अभिभावक विद्यार्थीहरुले ल्याएका थिए । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा भएको समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायत सहभागी हुनुहुन्थ्यो । कोभिड संक्रमण जोखिमका कारण नतिजा प्रकाशनमा ढिलाइ भएसँगै विद्यार्थी संख्या समेत कम भएको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।

आर्थिक खबर
उद्योगीहरू आजबाट पुनः आन्दोलित

काठमाडौ । गत साउन १२ गते संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापन पत्र बुझाएपछि बनेको समितिले आधिकारिक निर्णय नगर्दै उद्योगीहरूलाई बक्यौतासहितको बिल पठाएपछि उद्योगीहरू आजबाट पुनः आन्दोलित भएका छन् ।

देशमा उद्योगहरू स्थापना गरी आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशमा रोजगारीका अवसरहरू सिर्जना गर्न साथै मुलुकलाई आर्थिक रूपले सबल बनाउने उद्देश्यका साथ अमेरिकी सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रको स्थापना भएको थियो ।उद्योगले भाडामा लिएको जमिन सम्बन्धित उद्योगलाई क्रमशः हस्तान्तरण गर्दै जाने उद्देश्य राखेको थियो ।

त्यसको ठिक विपरीत औद्योगिक क्षेत्रहरू संचालन र व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग स्थापना तथा संचालनमा बाधक सिर्जना गरेको भन्दै उद्योगिहरू आन्दोलित भएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत २०७५ सालमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको र सोही मितिदेखि लागू हुने भन्दै २०७९ साउन २ मा उक्त भाडा वृद्धिको बिल उद्योगहरूमा पठाएको छ । औद्योगिक क्षेत्र उद्योग महासंघ, उद्योग संघ मकवानपुर तथा उद्योगीहरूको उक्त निर्णयको विरुद्धमा आन्दोलन गरेका हुन् । 

विदेशका खबर
रूस र चीनमाथि नयाँ प्रतिबन्ध

काठमाडौ । अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ। प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथि लगाइने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ। उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ।

प्रतिबन्धबाट रूसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन्। म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। बेलायत र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ। अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामर्थ्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रूसलाई अमेरिकी चुनौतीका रूपमा प्रस्तुत गरेको थियो। चीन र रूसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेको पेन्टागनले बताउँदै आएको छ।

खेल खबर
कतार विश्वकप 

काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् ।पहिलो क्वाटरफाइनलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।एजुकेसन सिटी स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।लुसाइल स्टेडियममा हुने खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै आज अन्तिम चारमा स्थान सुरक्षित गर्ने योजनाका रहेका छन् ।अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो ।यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।