Live Streaming

अन्नपूर्ण दिनभर : सर्वोच्च प्रवेश गर्ने जबराको दोस्रो प्रयास पनि असफल, समानुपातिकतर्फ सिट बाँडफाँट

सर्वोच्च अदालत प्रवेश गर्ने राणाको दोस्रो प्रयास पनि असफल

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सर्वोच्च अदालत प्रवेश गर्ने दोस्रो प्रयास पनि बिफल भएको छ । संसद् सचिवालयबाट आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निष्प्रिभावी भएको पत्र लिएर राणा आज अदालतमा फर्कने तयारी गनुभएको थियो तर, सचिवालयले दिएको पत्रको वैधानिकतामाथि प्रश्न उठेपछि राणाको अदालत फर्कने प्रयास विफल भएको हो । 

यसअघि गत असोज २ गते राणाले सर्वोच्चमा फर्कने प्रयास गर्नुभएको थियो । निर्वाचनको मिति घोषणा भएर प्रतिनिधिसभाको आयु सकिएकाले संवैधानिक प्रक्रियाअनुसार सबै प्रस्ताव निष्क्रिय भएको दाबी गर्दै अदालतमा नियमित काममा फर्कने सूचना पठाउनुभएको थियो तर, सरकारले उनलाई रोक्न निवास र सर्वोच्च अदालतमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो । राणाले त्यतिबेला आफू ‘नजरबन्द’ मा नै परेको दाबी गर्नुभएको थियो । 

आज संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको थियो । राणाको अदालत आउने तयारी गरेपछि नेपाल बार एसोसिएसनले तत्कालै बैठक बसेर राणालाई अवरोध गर्ने निर्णय गरेको थियो । अधिवक्ताहरु सर्वोच्च परिसरमै धर्नामा समेत बसेका थिए । 

यससंगै संसद्ले गर्नुपर्ने निर्णय एक जना कर्मचारीले गरेको भन्दै संसदको क्षेत्राधिकारमाथि नै प्रश्न उठेको छ । नेपाल बार एसोसिएसनले संसद सचिवालयका कर्मचारीले सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि संसदका महासचिवले दिएको पत्र गैरकानूनी भएकाले संसदको क्षेत्राधिकारमाथि पनि प्रश्न चिन्ह उठेको बताउनुभयो । 

यता सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ । सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले आज संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै तत्काल जानकारी उपलब्ध गराउन भन्नुभएको छ । 

यस्तै संसद् सचिवालयका महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदनसमेत परेको छ । रिट निवेदनमा संसद्का महासचिव भरतराज गौतमको पत्र अवैधानिक भएको दाबी गरिएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल सहितका पदाधिकारीले रिट निवेदन दिनुभएको हो । रिटको पेसी भोलिका लागि तोकिएको अदालतले जनाएको छ । 

यसैबीच पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले महासचिवको पत्र एकल तागतमा  नलेखिएर ठुलो शक्ति समूहको चलखेल भएको आकलन गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम रेडियो पावरमा कुुराकानी गर्दै पराजुलीले यस्तो बताउनुभएको हो । 

जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा जीवितै छ, छलफल हुन्छ : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभामाजीवितै रहेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा आज मन्त्री कार्कीले आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताउनुभएको हो । महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले छलफलबाटै निर्णयमा पुग्ने उहाँको भनाई छ ।  

निर्वाचन आयोगद्वारा सिट बाँडफाँड

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ । आयोगले आज दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो । जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ ।

त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ । 

त्यस्तै जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ । त्यस्तै राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ ९ सिट जितेको छ । 

योसंगै आयोगले दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गर्नेछ । दलहरुलाई नाम पठाउन तीन दिनको समय दिइने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ । 

फिनल्याण्ड र नर्वे सरकारबाट पाँच अर्ब ११ करोड अनुदान स्वीकार

काठमाडौँ । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुने बताउनुभयो । हिजोका बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । 

यसैबीच सरकारले किमाथाङ्का अरुण जलविद्युत्, धौवादी–मेघौली १३२ केभी प्रसारण आयोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण आयोजना र मर्स्याङ्दी जलविद्युत केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही अघि चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ ।

बैठकले सेती नदी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन, टक्सार पिखुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

महाकाली धकेल्ने गरी भइरहेको कामबाट पछि हट्यो भारत

काठमाडौँ । दार्चुलामा महाकालीको बहाव नेपाल तर्फ धकेल्ने गरी भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोकिने भएको छ । आज नेपाल र भारतका सुरक्षा अधिकारीहरूको छलफलमा भारत आफ्नो अघिल्लो कदमबाट पछि हट्न सहमत भएको हो ।

सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा पेचिलो बन्दै गइरहेको तटबन्ध विवादलाई निकास दिन आज नेपाल–भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । उक्त बैठकमा पनि भारतीय सुरक्षा अधिकारीहरूले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । नेपाली सुरक्षा अधिकारीहरूले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नु पर्ने अडान लिएका थिए ।

भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले नेपाली पक्षको असहमतिको आधारमा काम अघि बढाउन नसकिने भन्दै तत्काल काम रोक्न सहमत हुनुभएको हो । आजको बैठकमा भइरहेको काम रोक्ने मात्रै होइन नेपाल तर्फ महाकाली धकेल्ने गरी तयार गरिएका संरचनाहरू हटाउन पनि भारत सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाकालीलाई पुरानै बहावमा बगाउने गरी ती संरचना हटाइन लागेका हुन् ।नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन बिच आज छलफल भएको हो । नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले रुपन्देही स्थित नेपाल–भारत सिमामा भारतले दशगजा क्षेत्रमै थालेको पर्खाल निर्माण रोकिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको थियो । दशगजा क्षेत्र जोडिएकै स्थानमा एकलौटीरूपमा पर्खाल निर्माण थालेपछि स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको हो । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । 

निर्वाचनको समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । आज बसेको एमालेको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकले अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ । सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत समेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा  एमालेले ल्याएको परिणामलाई सन्तोषजनक भएको निष्कर्ष निकालेको  छ ।

हारको समीक्षा गर्दै लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले मंसिर ४ को निर्वाचनमा धनुषा ३ मा भएको पराजयका बारेमा समीक्षा थालेको छ । समीक्षाका लागि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि जनकपुर पुग्नुभएको छ । यसअघि धनुषा ३ बाट नेता महतोले चुनाव जित्नुभएको थियो ।

यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झालाई छाडेर उहाँ सर्लाही २ बाट चुनाव लड्नु भएको थियो । तर धनुषा ३ मा नेता झा र सर्लाही–२ मा नेता महतो नै पराजित हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्ने बारेमा समीक्षा भइरहेको बताइएको छ ।  

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावी समीक्षाको प्रतिवेदन बुझाउन पार्टीका विभिन्न तहलाई निर्देशन दिएको छ । जनमत पार्टीका उपमहासचिव इन्द्रजीत यादवले जारी गरेको सर्कुलर अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी हरेक वडा समितिदेखि केन्द्रीय समितिसम्म समीक्षा बैठक राखेर मंसिर मसान्तभित्र केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

निर्वाचनमा पार्टीभित्रको कुन–कुन पक्षले सहयोग वा असहयोग र घात–प्रतिघात गर्यो भन्ने विषयमा प्रतिवेदन केन्द्रित गर्न निर्देशन दिइएको छ । 

भारतीय राजदुत र ओली भेट

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएसँगै घरेलु तथा बाह्य शक्ति केन्द्रहरुको दौडधुप बढेको छ । यसैबीच आज बिहान भारतीय राजदूत नविन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

नेपाली राजनीतिमा प्रत्यक्ष चासो राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहनुभएका राजदूत श्रीवास्तव आज बिहान ओली निवास बालकोट पुग्नुभएको हो । सचिवालय बैठक रोकेर ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको बताइएको छ । 

त्यसअघि आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटन अमेरिकाका नवनियुक्त राजदूत डीनआर थम्पसनपार्टी केन्द्रीय कार्यालय आलोकनगरमै पुग्नुभएको थियो । भेटवार्ताको क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपाल सचिवालयले जनाएको छ । नेपालमा नयाँ सरकार गठनको बेलामा अमेरिका, चीन र भारतले चासो देखाएका छन् । 

चक्रपथ बिस्तारको कामलाई छिटो अघि बढाउन पौडेलको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ । आज ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिनुभएको हो ।

उहाँले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटो भन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो । 

विष्णुमति र सामाखुसी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

छात्रामाथि दुर्व्यवहारको आरोपमा रौतहटमा शिक्षक कुटिए, स्थिति तनावग्रस्त

काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयका छात्रालाई दुर्व्यवहारको आरोपमा विद्यार्थीले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । अभिभावकसहित आएर विद्यालय घेराउ गरी ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।कक्षा ५ मा अध्ययनरत एक छात्रालाई शिक्षक विजय सिंहले दुर्व्यवहार गरेको विद्यार्थीहरूको आरोप छ ।

शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थी र अभिभावकले ढुंगामुढा गरेका थिए । सोक्रममा झडप भएको साथै प्रहरीले दुई राउण्ड हवाई फायर गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी माधव यादवले बताउनुभयो । 

आर्थिक खबर...
स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन अर्थले माग्यो प्रस्ताव

काठमाडौँ । स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन चाहने बैंकसँग अर्थमन्त्रालयले प्रस्ताव माग गरेको छ । आज मन्त्रालयले सूचना जारी गर्दै हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने बैंकसँग प्रस्ताव माग गरेको हो । नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्व रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकलाई १५ दिनभित्र प्रस्ताव ल्याउन आग्रह गरेको छ ।

हेजिङ विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो। विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने नोक्सानीबाट बच्न हेजिङको सुविधा प्रयोग गरिन्छ ।

विदेशका खबर...
सरकारलाई उल्टाउने योजना बनाउने २५ जना पक्राउ

काठमाडौँ । जर्मनीमा सरकारलाई उल्टाउने योजना बनाएको आशंकामा जर्मनीभर छापा मारेर २५ जना पक्राउ परेका छन् । जर्मन रिपोर्टहरूका अनुसार अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवनमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने योजना बनाएको थियो।

हेनरिक नामका राजकुमार भनेर चिनिने एक जर्मन व्यक्ति योजनाको केन्द्रबिन्दु रहेको आरोप लगाइएको छ।संघीय अभियोजकहरूका अनुसार उनी ११ जर्मन राज्यहरूमा छापा मार्दा पक्राउ परेका दुई कथित प्रमुख नेताहरूमध्ये एक हुन्। जो लामो समयदेखि हिंसक आक्रमण र जातिवादी षडयन्त्र सिद्धान्तहरूका कारण जर्मन पुलिसको नजरमा रहेका थिए ।

जर्मनीको संघीय अभियोजकको कार्यालयका प्रवक्ताका अनसार देशका धेरैजसो ठाउँमा छापा मारिएको थियो र अस्ट्रिया र इटालीमा दुई जनालाई पक्राउ गरिएको थियो । उक्त समूहले नोभेम्बर २०२१ देखि हिंसात्मक विद्रोहको योजना बनाइरहेको थियो। तर त्यसलाई रोक्न जर्मन प्रहरी सफल भएको छ ।

खेल खबर...
नेपाललाई नामिबियाले दियो २७६ रनको लक्ष्य

काठमाडौँ । विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी शृंखलामा घरेलु टोलीले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन जोड्यो ।नामिबियाका माइकल भान लिंगेन एक्लैले ११९ रन बनाए ।

कप्तान जेरहार्ड इरासमसले पनि ५३ रन जोडे । मध्यक्रमका जान निकोल लफ्टी इटनले ४० रन बनाए । लिंगेन र इरासमसले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।चौथो विकेटका लागि पनि ९० रनको साझेदारी भयो । नेपालका ललितनारायण राजबंशीले ४, सोमपाल कामीले २ र सागर ढकालले एक विकेट लिए ।