Live Streaming

अन्नपूर्ण दिनभर :  समानुपातिकतर्फको मतगणना सकियो, कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि लबिङ सुरु  

 


समानुपातिकतर्फको मतगणना सकियो

काठमाडौ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।  आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ  । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।  


दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ  ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।


आयोगले फेर्यो समानुपातिकको सिट बाँडफाँट निर्देशिका

काठमाडौ । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटको निर्देशिका परिवर्तन गरेको छ । आयोगले दलहरूले बुझाएको अन्तिम बन्दसूचीबाट नाम पठाउने समय परिवर्तन गरेको हो । प्रदेशसभातर्फको सामानुपातिकको बन्दसूचीबाट नाम पेस गर्ने समय सात दिन रहेकोमा तीन दिनमा झारिएको छ ।

प्रतिनिधिसभाको तीन दिन समय रहेकाले प्रदेशमा पनि तीन दिनको समय छुट्याएको हो । दलहरूले अन्तिम बन्दसूचीमा नाम भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी केन्द्रीय समितिबाट निर्णय गराएर तीन दिनभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्नेछ ।

समानुपातिकको मतगणना सकिएसँगै आयोगले थ्रेसहोल्ड कटाएका दलहरूले प्राप्त गरेको सिट संख्या पठाउने तयारी गरेको छ । सो सिट संख्याका आधारमा समावेशी समूहबाट दलहरूले नाम छनोट गर्नुपर्नेछ । 

सांसदले शपथ नलिँदैदेउवाले थाले संसदीय दलको नेता बन्न लबिङ

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी नै रहदा नयाँ सरकारको निर्माणका लागि सम्भावित समीकरणको चर्चा हुन थालेको छ । सरकार बनाउनका लागि कुनैपनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको प्रकृया सुरु हुने देखिन्छ ।

सो उपधारामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख गरिएको छ । तर सांसदले सफत नलिंदै नतिजा औपचारिक रूपमा सार्वजनिक समेत नभएको अवस्थामा भावी प्रधानमन्त्रीका लागि भने लबिङ सुरु भएको छ ।

संसदीय दल नै गठन नभएको अवस्थामा पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले फेरी पनि प्रधानमन्त्री बन्नका लागि लविङ थाल्नुभएको छ । पार्टीका महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि थालेको सक्रियताले देउवालाई केही चुनौती दिएको छ ।

तर गगनलाई संसदीय दलको नेता हुनबाट रोक्नेगरि शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय हुनुभएको छ । आज शशांकलाई भेटेर देउवाले आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ । यस्तै महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै उहाँले गठबन्धनको सरकार बन्नेमा कुनै शंका नभएको बताउनुभयो । तर  पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा उहाँको जोड छ । थापाले नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश नचल्ने समेत बताउनुभयो । 


दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट सुरु हुने

काठमाडौ । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधिसभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ । अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैंले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो । 

राष्ट्रियसभाबाट सात र प्रतिनिधिसभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको हो । राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा ती विधेयक निष्क्रिय बन्न पुगेका हुन् । संसदको एउटा कार्यकाल समाप्त भएसँगै प्रतिनिधिसभाबाट उत्पत्ति भएका र निष्कर्षमा नपुगेका सबै विधेयक निष्क्रिय बन्न पुगेका थिए ।

संघीय संसदको पहिलो कार्यकाल सुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए । तीमध्ये १०१ विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भई कानून कार्यान्वयनको चरणमा छन् । संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नेपालको नागरिकतासम्बन्धी संशोधन विधेयकमा भने प्रगति हुन सकेको छैन । 

मुख्यान्त्रीको कार्यालय रातारात दाङ सारिएपछि विवाद

काठमाडौ । लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलमै राख्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रयास असफल भएको छ । स्थायी संरचना नबनेको भन्दै राजधानी सार्ने प्रयास भएपछि मन्त्री खाँणले यसअघि पनि तत्काल राजधानी नसार्न आग्रह गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनको सर्मथनमा मुख्यमन्त्री बन्नुभएका कुलबहादुर केसीले हिजो राती सत्ता गठबन्धन र विपक्षी एमालेलाई समेत जानकारी नगराई लुम्बिनीबाट मुख्यमन्त्रीको कार्यलयका सामाग्री दाङ सार्नुभएको छ ।

पछिल्लो समय कांग्रेससहितका दलहरुलेसमय स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु दाङ नसार्न दवाव दिँदै आएका थिए । प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो ।

त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन । तर स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दवाव बढिरहेको अवस्थामा प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएपछि थप विवाद चर्कने देखिएको छ । 

यस्तै सरकारका प्रवक्ता समेत रहनुभएका  आन्तरिक मामिला, कानुन तथा संचारमन्त्री तिलकराम शर्माले भने सभाले राजधानी दाङ लैजाने निर्णय गरिसकेपछि दलीय सहमति आवश्यक नहुुने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै शर्माले प्रदेशसभा लगायतका संरचना धमाधम निर्माण भईरहेको बतउनुभयो । 

नेपालले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौ । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । चौतर्फी दवावपछि सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फतआज दिउँसो कूटनीतिक नोट पठाएको हो ।

भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ । यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

यसैबीच भारतले एकलौटी रूपमा महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम तत्कालको लागि रोकिएको छ । नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई निर्माणको काम रोक्न तयार भएको हो । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ । 

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ । देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको हो । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उमेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेका छन् । 

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।

रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै सो परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी गणेशले रिट निवेदन दायर गर्नुभएको छ । पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित हुनुभएको थियो । 

फास्ट ट्रयाकको ठेक्कासम्बन्धी सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत छैठौँ प्याकेजको ठेक्कासँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न आदेश दिएको छ । मुद्दाबारे आज भएको सुनुवाइमा सर्वोच्च अदालतले चिनियाँ कम्पनीलाई ठेक्कामा सामेल गर्न संलग्न गराइएका सबै दस्तावेज आउँदो सुनुवाइमा इजलासमा पेस गर्न आदेश दिएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सार्वजनिक खरिद पुनरावलोकन समिति र नेपाली सेनाअन्तर्गतको द्रूतमार्ग आयोजनालाई आदेश दिएको छ । सेनाको सुरुवाती मूल्यांकनमा प्राविधिक प्रस्ताव अस्वीकृत भएको चीनको चाइना फस्ट हाइवे कम्पनीलाई ठेक्का प्रक्रियामा सामेल गराउने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयविरुद्ध अधिवक्ता सुजन रिजालले ८ मंसिरमा मुद्दा दायर गरेका थिए ।

भारतीय कम्पनी अफ्कोन्स इन्फ्रास्ट्रक्चर कम्पनीका तर्फबाट मुद्दा दायर गरेका थिए । रिटमा सेनाको आयोजना, समिति, चाइना फस्ट हाइवेलगायत छ वटा निकायलाई विपक्षी बनाइएको छ । अधिवक्ता रिजालका अनुसार आगामी सुनुवाइ मंगलबारका लागि तय भएको छ ।

शुक्रबारदेखि काठमाडौँबासीका घरको धारामा मेलम्चीको पानी

काठमाडौ । आउँदो शुक्रबारदेखि काठमाडौंबासीले पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएकोमेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ ।

अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु–याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उहाँको भनाई छ ।

यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्यूँताउन सरकार तयार रहेको बताउनुभएको छ । 

नगरपालिकाको सूचना बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर

काठमाडौ । पटक पटकको सार्वजनिक सूचना अटेर गरेपछि सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टोली डोजर लिएर सडकमा निस्किएको हो ।

आज नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउन सुरु गर्नुभएको छ । व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुगेका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताउनुभयो । 

आर्थिक खबर
आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो ।

केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ । सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याएको थियो । सरकारको निर्णयपछि अब १ पुस एकदेखि यी वस्तुहरु आयात गर्न पाइने छ ।

शेयर बजार झन्डै ५ अङ्कले घट्यो

काठमाडौ । साताको तेश्रो कारोवारको दिन शेयर बजार मापक नेप्सेपरिसूचक आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ ।आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज एनएमबी बैंकको शेयर सबैभन्दा धेरै छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

विदेशका खबर
इन्डोनएसियामा विवाहपुर्वको यौनसम्वन्ध गैरकानुनी

काठमाडौ । इन्डोनेसियाको संसदले आज विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ । यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन् । विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले सो विद्येयक स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका छन् । आज पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ । समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले  एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।

खेल खबर
फिफा विश्वकप 

काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी  स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यस्तै आजै राती पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्नेछन् । आजको खेलमा पहिलो विश्वकप जित्ने सपना पूरा गर्न स्पेनले मोरक्को हराउनु मुख्य चुनौती छ । विशेषगरी आज हुने खेलमा मोरक्कोले स्पेनविरुद्ध कडा प्रतिस्पर्धा गर्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।