चिनियाँ नागरिकबीच चक्कु प्रहार प्रकरण : घटनाको मुख्य कारण आर्थिक लेनदेन
काठमाडौं : काठमाडौं महानगरपालिका–२५, इन्द्रचोकमा भएको तीन चिनियाँ नागरिकबीचको विवादमा एक चिनियाँको मृत्यु भएको छ। इन्द्रचोक असनमा चक्कु प्रहार गर्दै गरेको अवस्थामा ३ जना चिनियाँ नागरिक फेला परेका थिए ।
चक्कु प्रहारबाट घाइते भएका ३२ वर्षीय ली छवन आइतबार साँझ साढे ६ बजे उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । ३७ वर्षीय फङ चङयुनले ३२ वर्षीय ली छ्वान र २९ वर्षीय कान साउसिङलाई धारिलो हतियार चक्कु प्रहार गरेका थिए ।
सो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दुई वर्षअघि अफ्रिकामा सँगै काम गरेका चिनियाँ नागरिकबीच अफ्रिका हुँदादेखि नै आर्थिक विवाद भएको खुलेको छ ।
चक्कु प्रहार गर्ने फङ चङयुनलाई पछ्याउँदै अन्य दुई नेपालसम्म आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीका अनुसार चक्कु प्रहार गर्ने फङ ५ दिनअघि मात्रै अफ्रिकाको जान्भियाबाट थाइल्याण्ड हुँदै नेपाल आएका थिए। उनलाई पछ्याउँदै ली छ्वान र कान साउसिङ पनि ४ दिनअघि नेपाल आएको अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरु ३ जना नै भिजिट भीषामा नेपाल आएका हुन् । नेपाल घुम्न आएका उनीहरु ठमेलस्थित भिक्टोरिया होटलमा बसेका थिए ।
तीनजना अफ्रिकाको जान्भियामा सँगै काम गर्थे । पक्राउ परेका फङ चङयुनले प्रहरीसमक्ष लिएको बयानमा आफूहरुबीच आर्थिक कारोवारका विषयमा विवाद भएको खुलाएका छन् ।
घटनाको अनुसन्धान गर्ने प्रहरी भन्छ,' प्रारम्भिक अनुसन्धानमा यो व्यक्तिगत विवाद देखिन्छ । ली र कामले फङको रकम हिनामिना गरेकाले योजनावद्धरुपमा नै आफूले चक्कु प्रहार गरेको बयान फङले दिएका छन् ।
अफ्रिकामा उनीहरुले अनलाइन व्यापार गर्ने गरेको खुलेको छ । पक्राउ परेका फङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका लीको पेटमा चोट लागेको थियो । उपचारकै क्रममा आइतबार साँझ लिको वीर अस्पतालमा मृत्यु भएको थियो । चक्कु प्रहार गर्ने फङमाथि अनुसन्धान भइरहेको छ।