सवारी साधनमा बम्पर राख्नेलाई कारवाही सुरु
काठमाडौं : उपत्यकामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी आक्रामक रुपमा कारवाहीमा लागेको छ। यहि मंसिर १५ गतेदेखि सवारी साधनका अगाडि पछाडि राखिने बम्पर गार्ड हटाउने अभियान सुरु भएको हो। उपत्यका ट्राफिक महाशाखाले सवारी सुचना जारी गर्दे बम्पर हटाउने अभियान सुरु गरेको हो।
अभियान सुरु गरेकै दिन बम्पर गार्ड राख्ने ५७४ वटा सवारी साधन ट्राफिक कारवाहीमा परेका छन्। विहिबारको ट्राफिक चेकिङका क्रममा बम्पर गार्ड राख्ने कार, भ्यान, जिप, माइक्रोबस, बस, ट्याक्सी चालकलाई रोकी ट्राफिक प्रहरीले कागजपत्र नियन्त्रणमा लिएको थियो। ७ दिनभित्र बम्पर गार्ड हटाउन निर्देशन दिई आवश्यक सुचना जारी गरेको थियो।
ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक अवधेश विष्टका अनुसार उत्पादक कम्पनीको स्पेसिफिकेसन विपरित सवारी साधन राखेमा अब कारवाहीको भागीदार हुनुपर्नेछ। अभियान सुरु भएको पहिलो एक हप्तासम्म आवश्यक निर्देशन दिएर छाडिनेछ। अर्को हप्तादेखि पनि बम्पर नहटाएमा कागजात नियन्त्रणमा लिएर बम्पर गार्डसहित यातायात व्यवस्था विभागमा पठाइनेछ। अटेर गरी बम्पर राख्ने सवारीलाई न्युनतम ५ देखि साढे ७ हजारसम्म जरिवाना हुनेछ।
विष्ट भन्छन्, 'सवारी साधनमा कम्पनीले अटो रुपमा नै बम्पर राखेको हुन्छ। यसका साथै सवारी धनीले सवारी साधनको सुरक्षाको लागि भन्दै फलाम तथा स्टीलका कडा खालको बम्पर सवारीमा राख्ने गरेका छन्। जसले गर्दा दुर्घटना भएको खण्डमा क्षति बढी हुनेगर्छ। फलामको बम्परले ठक्कर दिएको अवस्थामा घाइतेको बाच्ने संभावना कम हुन्छ।'
ट्राफिक महाशाखाका अनुसार बम्पर गार्ड राख्दा सवारीमा भएको एअर व्याग सेन्सरले राम्रोसँग काम गर्देन। जसको कारण दुर्घटनामा सवारी चालकको क्षति बढी हुन्छ। यस्तै पैदल यात्रुलाई ठक्कर दिंदा क्षति बढी हुन्छ। बम्पर गार्ड राखेको सवारीले अन्य सवारी साधनलाई सामान्य ठक्कर दिए पनि क्षति बढी हुन्छ।
महाशाखाका प्रहरी उपरीक्षक विष्टका अनुसार उत्पादक कम्पनीको भन्दा फरक बनाएर स्वरुप परिवर्तन गरेको अवस्थामा न्युनतम ५ हजार देखि ७ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ।