अन्नपूर्ण दिनभर : निर्वाचन सम्पन्न, मतदाताको उत्साहमा कमी, बाजुरामा गोली चल्दा एक जनाको मृत्यु
काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको घोषित समय सकिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो ।
यद्यपि, केही मतदानस्थल बाहेक अधिकांश स्थानमा मतदानसमेत सम्पन्न भएको छ । यस्तै, ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेका मतदाताले त्यसपछि पनि मतदान गरिरहेका छन् । केही स्थानमा छिटपुट घटना भएकाबाहेक अन्यत्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ । मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सात प्रदेशको ३३० प्रत्यक्ष र २२० समानुपातिकतर्फ सांसद छान्नका लागि एकै चरणमा मतदान भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ उम्मेदवार छन् । त्यसैगरी समानुपातिकर्तफ २ हजार १ सय ९९ उम्मेदवार रहेका छन् ।
त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ हजार ३ सय २४ र समानुपातिकतर्फ ३ हजार ७ सय ८ उम्मेदवार रहेका छन् । १ करोड ७९ लाख ८८ जहार ५ सय ७० मतदाता रहेका थिए ।
मतदानमा किन उत्साह देखिएन ?
काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रमा यसपटक मतदातामा उत्साह देखिएको छैन । विगतका निर्वाचनमा बिहानैदेखि लामबद्ध भएर बस्ने गरेको भए पनि योपटक त्यति उत्साह नदेखिएको हो । धेरैजसो जिल्लामा मतदान सकिने अन्तिम समयसम्म ५० देखि ६० प्रतिशत सम्म मात्रै मत खसेको प्ररम्भिक विवरण आएको छ ।
निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान सकिएको थियो । विभिन्न मतदान केन्द्रमा हेर्दा मतदाताहरु उत्साहित भएको देखिँदैन थिए । स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । चुनावी प्रचार प्रसारको क्रममा नदेखिएको चहलपहल मतदान केन्द्रसम्म पनि देखिएको छैन ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाका मतदान केन्द्रमा बिहानैदेखि पातलो उपस्थिति भएपनि दिउँसोपछि बढ्ने आंकलन गरिएको थियो । तर काठमाडौंकै मतदान केन्द्रमा दिउँसो समेत पातलो उपस्थिति देखियो ।
निर्वाचन आयोगले भने देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ । जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ । उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले पनि मतदातामा विगतको जस्तो उत्साह नदेखिएको बताउनुभएको छ । पर्यवेक्षकको भूमिकामा समेत रहनुभएका कार्कीले रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै अप्रत्यासित रुपमा उत्साह घट्नु आश्चर्यको बिषय भएको बताउनुभयो ।
राजनीतिक दलहरुप्रति मतदाताको वितृष्ण बढ्दै गएको बताउदै कार्कीले उत्तम मानीएको दलीय व्यवस्थामै मतदाताको विकर्षणप्रति छलफल गर्नुपर्ने बेला आएको उहाँको भनाई छ ।
इलाममा ११५ वर्षीय वृद्धले गरे मतदान
काठमाडौ । आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशभरका वृद्धवृद्धाले पनि मतदानमा सहभागिता जनाएका छन् । इलाम र पाँचथरमा ११५ वर्षीय नागरिकले मतदान गरेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको आज सम्पन्न निर्वाचनमा इलामको फाकफोकथुम गाउँपालिका–७, शिकारी भञ्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रका ११५ वर्षे मानबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उहाँको नागरिकतामा जन्म मिति १९६४ साल लेखिएको छ ।
तत्कालीन एकतप्पा गाउँ पञ्चायत वडा ५ मा उहाँको जन्म भएको हो । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका १ कि ११५ वर्षीया मनरानी आङदेम्बेले पनि मतदान गर्नुभएको छ । उहाँले तिर्तिरे आधारभुत विद्यालयमा मतदान गर्नुभएको हो । उहाँको नागरिकतामा जन्म मिति १९६४ साल जेष्ठ ११ गते उल्लेख छ ।
त्यस्तै बैतडीको पाटन नगरपालिका– ४ की ११३ वर्षीया मानमतिदेवी भट्टले मतदान गर्नुभएको छ । आज प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उहाँले मत खसाल्नुभएको हो । पाटन ४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले सुनाउनुभयो ।
त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उता प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्यूठानमा १०५ वर्षीया महिलाले मतदान गर्नुभएको छ । प्यूठान नगरपालिका–३ विजयनगरकी १०५ वर्षीया दुर्मती पुनले जनक प्रावि मान्द्रचौरमा पुगेर मतदान गर्नुभएको हो ।
भोट हालेपछि ओलीको दाबी– मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि उहाँले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।
नयाँ दलहरू राष्ट्रिय दल बन्ने नदेखेको उहाँको दाबी छ ।ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । एमालेको राम्रो नतिजा आउने देखेपछि विभिन्न शक्तिहरूले त्यसका विरुद्ध लागेको ओलीले आरोप लगाउनुभयो । जनता र युवालाई भड्काउने र सही राजनीतिक दिशाविमुख गरेको उहाँको टिप्पणी छ ।
अबको प्रधानमन्त्री को ? देउवा भन्छन, आचारसंहिता लाग्छ, भन्न मिल्दैन !
काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी प्रधानमन्त्रीबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज मतदान गरेपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा देउवाले प्रधानमन्त्रीको बिषयमा बोले आचारसंहिता लाग्ने भएकाले बोल्न नकिल्ने बताउनुभएको हो ।
उहाँले निर्वाचन लोकतन्त्रको उत्सव भएको भन्दै भोट हालेपछि आफूलाई धेरै खुसी लागेको बताउनुभयो । देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुनुहन्छ । उहाँले आज जिल्लाको गन्यापधुरा गाउँपालिका रुवाखोला स्थित असिग्राम मावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ । गोरखा – २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अहिले प्रधानमन्त्रीको टुंगो लागि नसकेकाले प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुंगो लगाउने बताउनुभयो । दाहालले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने पनि दाबी गर्नुभएको छ ।
सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी गर्छु : गगन थापा
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताउनुभएको छ ।
काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताउनुभयो । त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उहाँलेसंसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको बताउनुभयो ।
मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेको उहाँले बताउनुभयो ।
कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले काठमाडौं–४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको बताउनुभयो ।
भारत र बंगलादेशका प्रमुख आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अनुगमन
काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक नेपालमा आउनुभएको छ ।
निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बंगलादेशका काजी हबिबुल अवल र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फवाद तौफिक, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङ पनि नेपालमा आउनुभएको छ । उहाँहरुले आज बिहान काठमाडौंको मीनभवन मतदान केन्द्रको पर्यवेक्षण गर्नुभएको छ ।
विदेशी पर्यवेक्षकको टोलीले काठमाडौं उपत्यकाको मतदान केन्द्रहरुको अनुगमन गर्ने आयोगले जनाएको छ ।आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।त्यस्तै, नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूले पनि मतदानको दिनको अवलोकन गरिरहेको आयोगले जानकारी दिएको छ ।
पालो गरेर पढ्नु होला÷देशभरका घटनाक्रम
काठमाडौ । निर्वाचन आयोगले छिटफुट घटना बाहेक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदान शान्तिपूर्वक सम्पन्न भएको जनाएको छ। यद्यपि, देशका बिभिन्न स्थानमा अप्रिय घटनाहरु भएका छन्। बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ। गोली लागेर सुरेन्द्र ऐडीको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएको मेयर कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेका छन । जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई लखेटेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेको बताइएको छ ।
यस्तै सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको वागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने मुस्कान मोक्तान र आदित्य सिंहलाई पक्राउ परेको प्रहरीले जनाएको छ । उता मकवानपुर प्रहरीले निर्वाचन बिथोल्न खोजेको भन्दै हेटौँडाबाट सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सातैजना नेकपा बहुमतका नेताहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीले नेकपा बहुमतका मकवानपुर इन्चार्ज ४१ वर्षीय रबि खड्कासहित ७ जनालाई पक्राउ गरेको हो ।
यस्तै गोरखा पालुङटार ५ को जीवनज्योति मावि मतदान केन्द्रमा मतपेटिका साटिएको पाइएपछि पुनः मतदान गराइएको छ । उन लागिएको छ । उता दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापनी र जामुने मतदान केन्द्रमा सत्तागठबन्धनका नेता–कार्यकर्ताले विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेका छन ।
त्यस्तै ४ नम्बर वडाको मालु मतदान केन्द्र पनि गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । त्यहाँ एमालेका बुथ प्रतिनिधिमाथि आक्रमण गरिएको थियो । यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–८ स्यालचौडी नजिकको भंरेडी खोला फेला परेको थियो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा समेत शंकास्पद वस्तु फेला परेको छ ।
दुवै स्थानबाट नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको छ । यस्तै जाजरकोटको नलगाड ८ जिकुवा केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका च्यातेका हुन। यस्तै सर्लाहीको बागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जना पक्राउ परेका छन। बागमती –१२ बथनिय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नपा–४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य
सिंहलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै दार्चुलामा एकजनाको नामबाट अर्कैले मत हालेपछि भएको विवादमा प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको छ । उता डोटीको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा विवाद भएपछि हवाइ फायर भएको थियो । यस्तै आज चुनाव विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेका छन ।
आजै दार्चुलामा पूर्व पालिका अध्यक्षको मोटरसाइकल जलाइएको छ । व्यास गाउँपालिकाका पूर्व अध्यक्ष दिलीपसिंह बुढाथोकीको मोटरसाइकल जलाइएको हो। यस्तै पाँचथरको फिदिनम नगरपालिका सुखवोध माध्यमिक विद्यालय मतदान केन्द्र परिसरमा आज बम विष्फोट भएको थियो। यसै क्रममा जाजरकोटमा दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न अर्को मान्छै गएको भन्दै स्थानीयले विरोध गर्दा झडप भएको छ ।
दुर्घटनामा परी एक व्यक्तिको मृत्यु
काठमाडौ । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री हुनुहुन्छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।
आर्थिक खबर
हुम्ला पुग्नुपर्ने चामल नेपालगञ्जमै थन्कियो
काठमाडौ । नेपालगञ्जबाट हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको बताइएको छ।सरकारले यो वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पु¥याउने कोटा तोकेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुयाउने भनिएको सो चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन।
तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पु¥याउने लक्ष्य छ।त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवाप्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेकाले पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको प्रमुख लामिछानेले बताउनुभयो ।
दोस्रोपटक आह्वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का पाए पनि अहिलेसम्म सम्झौता भएको छैन । सम्झौताका लागि मङ्सिर २० गतेसम्मको समय तोकिएको छ।सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा एलबी सप्लायर्स हुम्लाले पाए पनि सडक मार्ग बिग्रेको भन्दै अझै ढुवानी गरेको छैन।केही महिनाअघि भएको वर्षाले विभिन्न स्थानमा सडक बिग्रिएकाले ढुवानीमा समस्या भएको कम्पनीले जनाएको छ।
विदेशका खबर
जलवायु परिवर्तनः कोप २७ मा ‘ऐतिहासिक सम्झौता’
काठमाडौ । कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन् । हिजो रातभर चलेको वार्तापछि इजिप्टमा भइरहेको उक्त जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा बिहान हुनु अघि त्यस्तो सहमति भएपछि सहभागीहरूले ताली बजाएर त्यसको स्वागत गरेका थिए ।
गरिब देशहरूलाई सहयोग पु¥याउने उक्त सम्झौताको घोषणा अध्यक्ष सामेह शुक्रीले पढेर सुनाउनुभएको थियो । जलवायु परिवर्तनका कारण नराम्रो प्रभाव परेका देशहरूलाई मद्दत गर्न एउटा कोष स्थापना गर्ने उक्त सहमति “नोक्सानी तथा क्षति” को मुख्य मुद्दामा आधारित रहेको छ र वर्षौँदेखि त्यस्तो सम्झौता हुनु पर्ने भनेर विभिन्न देशहरूले माग गर्दै आएका थिए ।
साना टापु राष्ट्रहरूको गठबन्धनको अध्यक्षता गरिरहेका मोल्विन जोजफले त्यस्तो सम्झौताको माग गत ३० वर्षदेखि भइरहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरशले सो सम्झौतालाई “अति आवश्यक राजनीतिक सङ्केत” भन्भएको छ । तर उहाँले “त्यो स्पष्ट रूपमा नै पर्याप्त नभएको” भन्दै सावधान पनि गराएउनुभएको छ ।
खेल खबर
विश्वकप फुटबल
काठमाडौ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आज कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममाविश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे सुरु हुनेछ ।कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।
उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ । तर, समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतार विश्वकपको निकै आलोचना समेत भयो ।विश्वकप नजिकिदै जादा फिफाले सहभागिता जनाउने राष्ट्रलाई फुटबलमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरेको थियो । यसका बाबजुद युरोपेली राष्ट्रका ९ कप्तानले विरोध स्वरुप विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।