Live Streaming

अन्नपूर्ण दिनभर : आचारसंहितामा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन, कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो

 

समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ। आयोगका अनुसार ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो ।

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र छापिएको छ। यसैगरी सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । 

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुभएको छ । प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गर्नुभयो ।

उहाँले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिनुभयो । उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखिपठाउन निर्देशन दिनुभएको छ ।

प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ ।

उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भएबमोजिमको स्रोतबाट खर्च गरेको नगरेकोबारे आयोगले निगरानी गर्ने बताउँदै निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी दिनुभयो । कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमासमेत सचेतता अपनाउन उहाँको आग्रह थियो ।  

कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासको एउटा कालखण्डमा भिडेका कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो नभएको टिप्पणी गर्नुभएको छ । गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले नेपालको इतिहासमा राजनीति रक्षाको जग १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको दाबी गर्नुभयो । गठबन्धनलाई स्वीकार गर्न असहज ठान्नुले संविधानसभाको महत्त्व र संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मसाथ गर्न नसकेको प्रमाणित हुने भनाई राख्नुभयो । प्रचण्डले माओवादी, कांग्रेस, एकीकृत समाजवादी र समाजवादी पार्टी मिलेर देशलाई विकासको नयाँ मोडेल दिने दाबी पनि गर्नुभएको छ । 

महराले भने : कांग्रेस–माओवादी गठबन्धनलाई २० वर्ष कायम राख्नुपर्छ 

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म सँगै लैजाने बताउनुुभएको छ । रामेछापका गठबन्धन उम्मेदवारहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष महराले देशको समृद्धि अभियान सफल बनाउँन यो गठबन्धन निरन्तर हुनुपर्ने भनाई राख्नुुभयो ।

महराले केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका गलत कामका कारण देश आर्थिक रुपमा संकटमा परेको र अहिलेको सरकारले त्यसलाई सम्हाल्न नसकिरहेको दावी गर्नुुभयो । महराले कांग्रेस माओवादी नमिल्ने हो भने ओलीले फेरि प्रगितमन गर्ने खतरा रहेको समेत बताउनुुभयो । 

रामेछापमा नेकपा एकीकृत समाजवादी भने गठबन्धनबाहिर रहेकाले कार्यक्रममा कांग्रेस र माओवादी कार्यकर्ताकोमात्र सहभागिता थियो । गठबन्धनमा प्रतिनिधिसभामा कांगे्रेसका पुर्णवहादुर तामाङ र प्रदेशमा माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाई उम्मेदवार छन् । एमालेबाट प्रतिनिधि सभामा कैलाश ढुंगेल र प्रदेशमा शान्ति पौडेल तथा मिलन घिसिङ उम्मेदवार छन् ।

एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम छर्ने : राजन भट्टराई

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम र्छन खोजेको आरोप लगाउनुुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई चाबहिल मित्रपार्कमा सम्बोधन गर्दै गगनसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका भट्टराई एमाले नेतृत्वमा भएका कामलाई आफूले गरेको भनेर भिडिओ बनाएको भन्दै गगनको आलोचना गर्नुुभयो ।

डा.भट्टराईले आफू प्रधानमन्त्रीको सल्लाहकार हुँदा कपनलगायत काठमाडौं ४ मा लगेका योजनाहरुको फोटो र भिडिओ बनाएर गगनले आफूले गरेको भन्ने भ्रम फैलाउन खोजेको आरोपसमेत लगाउनुुभयो ।

भट्टराईले गगन थापा गफमात्र गर्ने र काम केही नगर्ने जनप्रतिनिधिको रुपमा काठमाडौं ४ का जनताले चिनेको भन्दै आफू चुनाव हारेपछि अझ बढी सक्रिय भएर ५ वर्षको बीचमा मेलम्ची खानेपानी आयोजना लगायत ठूला आयोजना कपन र काठमाडौं ४ का बस्तिमा पुर्याउन पहल गरेको बताउनुुभयो । 

पाण्डेको दाबी – एमालेका कारण ३४ लाख जनताले भत्ता पाएका छन्

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण आज देशभर २५ लाख जेष्ठ नागरिक र थप ९ लाख विपन्न तथा सिमान्तकृतहरु लाभान्वित भइरहेको दाबी गर्नुुभएको छ ।

चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानका क्रममा खैरहनी नगरपालिका वडा नम्बर ९ मा पुगेका पाण्डेले एमालेले थालेका जेष्ठ नागरिक र सिमान्तकृतको सामाजिक सुरक्षा सफल भएको भन्दै अब युवामा लगानी गर्ने नीति लिएर आउँने बताउनुुभयो ।

पाण्डेले एमालेले थालेको १ सय रुपैयाँ वृद्धभत्ता अहिले ४ हजार पुगेको र ५ हजार पुर्याउने एमालेको प्रतिबद्धता कायमै रहेको बताउँदै उहाँले २५ लाख जेष्ठ नागरिक एमालेबाट लाभान्वित भएको बताउनुुभयो ।

उहाँले त्यसबाहेक अपांग, अल्पसंख्यक र एक महिला समेत जोडेर ९ लाखले भत्ता पाइरहेको उल्लेख गर्नुुुभयो । 

नेकपा एसकी कलिला खातुनले गरिन तनहुँ १ बाट उम्मेदवारी फिर्ता

काठमाडौ । तनहुँ प्रदेश सभा १ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कलिला खातुनले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै खातुनले सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता रवहादुर चुमान (अजित) लाई विजयी गराउन लाग्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

खातुनले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनुभएको थियो ।विज्ञप्तिमा उहाँले देशमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि वाम लोकतान्त्रिक गठबन्धन बाहेकको अर्को कुनै विकल्प नभएको पनि दावी गर्नुभएको छ । 

डडेल्धुरामा सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

काठमाडौ । डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ । 

राजनीतिलाई आजीवन पेसा बनाएकाहरू, पटक–पटक परीक्षण भइसकेकाहरूको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेल्धुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

गुल्मीका इन्जिनियर सागर डडेल्धुरामा चुनाव लडिरहेका हुन्। सिरिन्ज निर्वाचन चिह्न पाएका सागर अहिले जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका मतदाता माझ पुगिरहेका छन । 

डडेल्धुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा

काठमाडौ । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ ।एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

त्यसअनुसार एमालेले चक्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो ।तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

नेपाली दक्षिण एसियामा दोस्रो भोकमरी देश 

विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा पुगेको छ ।सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशको भन्दा अवस्था राम्रो छ । गत वर्ष १ सय १६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो । १ सय २१ देशको वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १ सय ७औं स्थानमा छ । 

पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ ।यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा रहेको छ ।दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ । विश्व भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो ।

कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरुको मानमा यसको मापन गरिन्छ ।जीएचआईलाई १०० अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो ।

यो अंक १०० हुनु सबैभन्दा खराब अवस्था हो ।नेपालको उक्त स्कोर १९ दशमलव १ रहेको छ । यो मध्यम श्रेणीमा पर्छ । छिमेकी भारतको उक्त स्कोर २९ दशमलव १ रहेको छ जुन गम्भीर श्रेणीमा पर्छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देशहरू छन् ।

नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाकीf

काठमाडौ । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू–भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।  सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

आर्थिक खबर
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

काठमाडौ । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यून रूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । 

दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ ।

तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताउनुभयो । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले छिटो–छरितो रसुवागढी पु–याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

साताको सेयर बजार– परिसूचक १७ अंक बढ्यो, कारोबार रकम पनि सुधारियो

काठमाडौ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले बढेर बन्द भएको छ । गतसाता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ०.९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै बजार पूँजीकरण समेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।यो साता ५ दिन नेप्से कारोबार भएको थियो ।

जसमध्ये आइतबार ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, सोमबार ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा विहीबार ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । 

५ कारोबार दिनमध्ये सोमबार र मंगलबार भने बजार ओरालो लागेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा ती दुई कारोबार दिनमा भने सेयर बजार ओरालो लागेको हो । यसबाहेक अन्य ३ कारोबार दिनमा नेप्से परिसूचक उच्च अंकले बढेको थियो ।यो साता व्यापार समूह बाहेक सबै समूह बढेका छन् । यो समूहमा ०.२६ अंकको गिरावट आएको छ । यसबाहेक, वित्त समूहमा ४.९६ प्रतिशतको सुधार आएको छ । यस्तै, विकास बैंक समूहमा ३.५५ प्रतिशत र लघुवित्त समूहमा १.०३ प्रतिशत सुधार आएको छ । 

विदेशका खबर
मृत्यु हुनेको संख्या ४० पुग्यो 

काठमाडौ । टर्कीको एउटा कोइलाखानीमा भएको बिस्फोटमा मृत्यु हुनेको संख्या ४० पुगेको छ । टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले ५८ जनालाई जिवितै उद्धार गरिएको जानकारी दिनु भएको छ । उहाँका अनुसार खानीभित्र अझै दर्जनौँ मानिस पुरिएका छन् ।

विस्फोटको समयमा खानीमा झण्डै १ सय १० जना मानिसहरू काम गरिरहेका थिए । उनीहरु मध्ये धेरै जसो कामदार खानीभित्र तीन सय मिटरको गहिराइमा थिए । उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन् । खानीको ३०० मिटर गहिराइमा विस्फोट भएको ठानिएको छ । 

टर्कीका आन्तरिक मामिला मन्त्री सोयलुका अनुसार खानीको ३०० देखि ३५० मिटर गहिरो जोखिमपूर्ण क्षेत्रमा ४९ जना कामदारहरू खटिएका थिए। ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरामा रहेको खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पूरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडियोहरू सार्वजनिक भएका छन् ।

विस्फोटका कारण अझै पुष्टी हुन सकेको छैन । अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको बताएका छन् । 
टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरुबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताउनुभएको छ । यसअघि सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको कोइलाखानी विस्फोटमा ३ सय १ जनाको ज्यान गएको थियो ।
 
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन आइतबारदेखि

काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन भोलिबाट बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुँदैछ। महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका छन् । यी प्रतिनिधिले समग्र चीनभरिका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्नेछन् ।

बेइजिङ समयअनुसार भोलि बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल प्रारम्भ हुनेछ। मूलतः चिनियाँ अर्थतन्त्र, पार्टी विधान, नेतृत्व टोली चयन लगायतका विषय यस महाधिवेशनका आकर्षण हुन् ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने तथा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम छ ।

सीपीसीकेन्द्रित महाधिवेशन पार्टीको आन्तरिक मामिला भए पनि विश्वको नजर बेइजिङतिर सोझिएको छ। करिब एक साताजति चल्ने यस महाधिवेशनले चीनलाई आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व दिने, ५ वर्षका लागि दिशानिर्देश गर्ने र यीनै नीतिले बाह्य जगतमा पनि प्रभाव पार्ने भएकाले विश्वकोे ध्यानाकर्षण भएको हो  । 

पार्टीको १८औँ महाधिवेशन (सन् २०१२) बाट महासचिव बनेका सी चिनफिङ नेतृत्वको पार्टी र सरकारले विश्वमा गतिशीलता प्रस्तुत गरेकाले यो महाधिवेशनपछि के हुन्छ भन्ने जिज्ञासा उब्जिएको छ । सीको नेतृत्वमा चीनको स्वाभिमान उँचो भएको र चीनको दबदबा विश्वमाझ अझै बढेको निष्कर्ष विश्लेषकहरूले गरेका छन् ।

यो महाधिवेशनले के कस्ता नेताहरूलाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने कुराले विश्व जगतमा अर्थ राख्छ।बेइजिङमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको रिपोर्टिङ गर्न विदेशबाट ९ सयसहित कुल २५ सय पत्रकारहरू बेइजिङमा भेला भएका छन्। महाधिवेशनको एक साताअघि प्रेस सेन्टर खुला गरिएपछि आयोजकले यसबारे जानकारी दिएका हुन्। 
 
 खेल खबर

एथ्लेटिक्समा पहिलो दिन आर्मी हावी, महिला सय मिटरमा दुई पटक कीर्तिमान

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भएको छ  । भने महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बनेको छ । विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् ।

पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत र ३ कास्य गरी कूल ९ पदक जित्यो । यस्तै एपीएफले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जित्यो । नेपाल पुलिस क्लबले १ स्वर्ण १ रजत र २ कास्य गरी ४ पदक नै जित्यो । बागमती प्रदेशले १ स्वर्ण र १ कास्य तथा लुम्बिनी प्रदेशले २ रजत जित्यो । 

पोखरा रंगशालमा बिहान साढे ७ बजे सुरु हुने भनिएको एथ्लेटिक्स प्रतिस्पर्धा केही ढिला सुरु हुँदा खेलाडीहरु मध्य घाममा पनि दौडनु परेको थियो । जसले गर्दा केही खेलाडी असहज भएर ट्रयाकमै ढलेका थिए । यसअघि सम्पन्न भइसकेको फेन्सिङ खेलको पहिलो स्वर्ण पनि बागमतीले नै जितेको थियो । 

महिला सय मिटर दौडमा आज दुई कीर्तिमान बने । हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीको किर्तीमान तोडेकी थिइन् । तर फाइनल चरणमा उनै सरस्वतीले निशालाई पछि पार्दै नयाँ कीर्तिमानसहित स्वर्ण जितिन् । फाइनल राउण्ड सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरिन् । हिटमा कीर्तिमान बनाइकी निशा भने फाइनल राउण्डमा १२.२२ सेकेण्डको समय निकाल्दै दोस्रो भइन् ।

त्यस्तै, एपीएफका शिवराज पार्कीले स्प्रिन्टमा १०.५६ सेकेण्डको टाइमिङसहित स्वर्ण जितेका छन् । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पनि १०० मिटरमा स्वर्ण जितेका थिए । १५०० मिटरमा आर्मी र एपीएफले एक–एक स्वर्ण जिते । पुरुषतर्फ आर्मीका मुकेश पालले ३ मिनेट ५२.२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते ।

एपीएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्ड समयसहित रजत तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६.५ सेकेन्ड समयसहित कास्य जिते । महिला १५०० मिटर दौडमा एपीएफकी फुलमती रानाले ४ मिनेट ३८.१९ सेकेन्ड समय सहित स्वर्ण जितेकी छन् । यस्तै आर्मीकी सरस्वती भट्टराईले ४ मिनेट ४१.०० सेकेन्डसहित रजत र आर्मीकै रेखा लिम्बुले ५ मिनेट ०३.८० सेकेन्डसहित कास्य जितिन् । सटपुटको पुरुषतर्फ आर्मीका तिलक बिकले १२.८५ मिटर फाल्दै स्वर्ण जिते ।

आर्मीकै चित्रबहादुर वलीले १२.६४ मिटर फालेर रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर फालेर कास्य जिते । सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले १२.४० मिटर फालेर स्वर्ण जितिन् । चन्द्रकलाले यसअघि आठौं राष्ट्रियमा पनि सटपुटमा स्वर्ण जितेकी थिइन् । लुम्बिनी प्रदेशी संगिता अधिकारीले १०.८३ मिटर फालेर रजत तथा नेपाल पुलिसकी वसन्ती चौधरीले ९.८६ मिटर पर फालेर कास्य जितिन् ।
  
महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० को जित, सावित्राको ५ गोल

काठमाडौ । महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक । खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले १३ औं, १८ औं, ४५ औं र ५२ औं मिनेमा गोल गरिन् । यस्तै सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन् । अनिता केसी र रबिना गोलेले २–२ तथा प्रिति राई, सविता राना, मनमाया लिम्बु, गिता रानाले १–१ गोल गरे ।

एसिया कपको उपाधि भारतलाई 

काठमाडौ । भारतले सातौँ पटक महिला टी–२० एसिया कपको उपाधि जितेको छ । बंगलादेशको सिलेटमा आज भएको फाइनल खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले दिएको ६६ रनको लक्ष्य पछ्याएको भारतले ८ ओभर ३ बलमा २ विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो ।

भारतकी स्मृति मन्धनाले सर्वाधिक ५१ रन बनाइन् । कप्तान हरमनप्रित कौरले ११ रन जोडिन भने बाँकी ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियो । 
श्रीलंकाका लागि इनोका रानावीराले सर्वाधिक १८ रन बनाइन् ।

यस्तै, ओसाडी रानासिंघेले १३ रन जोड्नु बाहेक बाँकी ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । महिला एसिया कप क्रिकेट प्रतियोगिता सन् २००४ बाट सुरु भएको हो । यसअघि एक दिवसीय फम्र्याटमा खेलाइएको यस प्रतियोगिता यसपटक भने टी २० फम्र्याटमा पहिलोपटक सञ्चालन गरिएको हो । सन् २०१८ मा भएको बाहेक सबै संस्करणको उपाधि भारतले जितेको छ ।