जलवायु परिवर्तनलाई राजनीतिक मुद्दा बनाइनु पर्नेमा सरोकारवालाहरूले जोड
काठमाडौ । नेपालमा जलवायु परिवर्तनलाई राजनीतिक मुद्दा बनाइनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको नेशनल कन्फ्रेन्स अन क्लाइमेट चेन्ज एण्ड गभरनेन्सको दुई दिने कार्याशालामा सहभागी विज्ञहरूले जलवायु परिवर्तनलाई राजनीतिक मुद्दा बनाउनु पर्नेमा जोड दिएका हुन ्।
कार्यक्रमको पहिलो सत्रमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले जलवायु सँगसँगै सहरी मुद्दामा समेत केन्द्रित रहनुपर्ने बताउनुभयो । त्यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति प्रा. डा. पुष्यप्रसाद रेग्मीले जलवायु परिवर्तनको ठूलो असर कृषि तथा पशुपालनमा परेको बताउदैँ जलवायु मैत्री कृषिको अवधारणा अगाडि बढाउनु पर्ने बताउनुभयो ।
त्यस्तै, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले अझै ९० प्रतिशत उर्जालाई वैकल्पिक उर्जामा लैजानुपर्ने आल्याउनुभयो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नीति कार्यक्रममा मल र ऊर्जाको विषय उठेपनि बजेटमा नसमेटिएको उल्लेख गर्नुभयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रेम नारायण कँडेलले जलवायुका नीति तथा महत्वकांक्षाका हिसाबले नेपाल सही ठाउँमा रहेको दाबी गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अहिलेका मानिसहरूले प्रकृतिलाई नै चुनौती दिइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडियाको धर्म भनेको जनतालाई सुसूचित गराउनु भएको उल्लेख गर्नुभयो । अहिलेको अवस्थामा जनतालाई जलवायु परिवर्तनसम्बन्धी जानकारी गराउन आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनको असर संसार भरी नै पर्न थालेको र यसको निवारण गर्न आवश्यक रहेको बताउनुभयो ।