Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसले ओली सरकारका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाउन


 

निर्वाचन सामग्री पठाउन सुरु

काठमाडौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन सुरु गरेको हो। निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले आज प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको जानकारी दिनुभयो । 

अन्य प्रदेशका लागि पनि आवश्यक निर्वाचन सामग्री पठाउने तयारी भइरहेको छ। यसैबीच आज निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव दुवाडीले आयोगले मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताउनुभयो ।

मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगको भूमिकामा सरोकारवाला राजनीतिक दलहरूले पनि सहयोग गर्नुपर्ने भन्दै स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

आयोगले ऐन कानूनअनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दावी गरेको छ । आज आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन संयन्त्रमाथि विभिन्न प्रकारका टीकाटिप्पणी भइरहेको भन्दै कसैले रोइलो गर्दैमा आयोगको संवैधानिक र कानूनी अधिकारमा नियन्त्रण गर्ने कुरा स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले अनुगमनका विषयलाई लिएर आमसञ्चारको मर्म नबुझेको भन्दै आयोगको मर्यादामाथि प्रहार भएको जानकारी प्राप्त भएको बताउनुभयो । आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रता विषय राम्ररी पढेको भन्दै आम सञ्चारमाध्यमलाई निगरानी गर्ने कुनै उद्देश्य नभएको उहाँले बताउनुभयो ।

थपलियाले मर्यादित संस्थाहरूबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर विषय भएको धारणा राख्नुभयो । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ ।

यद्यपी तत्कालका लागि कर्मचारीहरू भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाइ छ। उनीहरू नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताउनुभयो ।

समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी

काठमाडौ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा १९ वटा उजुरी परेको छ । निर्वाचन आयोगका कर्मचारीहरुका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

यसअघि राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मको समय दिएको थियो ।

दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो । प्राप्त उजुरीहरुको अध्ययन÷जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

काठमाडौ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । 

उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेपनि राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले बताएका छन् । हिजो साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।  

यता जनता समाजवादी पार्टीका नेता तथा बर्खास्तमा पर्नु भएका मन्त्री मृगेन्द्रकुमार सिंह यादवले भने नेपाली काँग्रेसकै कारण सत्ता गठबन्धन छोड्नुपरेको बताउनुभएको छ। रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै यादवले मन्त्रीबाट बर्खास्त गर्नुअघि राजीनामा दिनका लागि कुनैपनि जानकारी नआएको पनि दावी गर्नुभयो ।

काँग्रेसले नै आफूहरुका मन्त्री हटाएकाले मधेश सरकारबाट पनि काँग्रेसका मन्त्री मात्र हटाइएको उहाँको भनाइ छ । सत्ता गठबन्धनमा १५ सिटभन्दा बढी क्षेत्रमा प्रतिस्पर्धा गर्नबाट बञ्चित गराइएपनि एमालेसँगको चुनावी तालमेलले जुनसुकै क्षेत्रबाट समेत चुनाव लड्न खुला भएको उहाँले बताउनुभयो । 

कांग्रेसले आर्थिक सुशासनलाई जोड दिएर घोषणापत्र बनाउने

काठमाडौ । आगामी संसदीय चुनावका लागि कांग्रेसले आर्थिक सुशासनलाई जोड दिएर घोषणापत्र बनाउने भएको छ । आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र पारित गरेको र बैठकमा नेताहरुले दिएको सुझावलाई समेटेर आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय भएको कांग्रेसले जनाएको छ । 

पटक–पटक संसद् विघटन र संसदीय व्यवस्था नै मास्ने गरी ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । अर्थशास्त्री स्वर्णीमवाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र समेटिएको पनि सहमहामन्त्री परियारले बताउनुभयो । 

०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको ओली सरकारले संसदीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध काम गरेकाले कांग्रेस संविधानको रक्षा गर्छ भन्ने जिम्मा घोषणापत्रबाट लिने उहाँको भनाइ छ । ०४८ सालबाट कांग्रेसले सुरु गरेको महत्त्वपूर्ण विषयलाई पनि समेट्ने बताउदै परियारले मंसिर ४ गतेको निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार ५ वर्षको लागि अगाडि बढ्ने दाबी गर्नुभयो ।

घोषणापत्रमा आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दियएको छ । बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे नेताहरुले दिएको सुझावलाई समेटेर एक साताभित्र सार्वजनिक गर्ने तयारी  छ । 

एमालेद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौ । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।एमालेले आज विज्ञप्ती जारी गरी प्रतिनिधिसभा र प्रदेशसभाको आधिकारिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो ।

‘निर्वाचनमा मतदाताले भावी नेतृत्व छान्न पाउनुपर्छ भन्ने मान्यतामा पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीका बरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमती भएबमोजिम पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ ।

प्रभु साह एमालेबाट निष्कासित

काठमाडौ । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो ।त्यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

महासचिव शंकर पोखरेलले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोक्नु भएको छ । साथै अर्को व्यवस्था नभएसम्मका लागि रेग्मीलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको पनि महासचिव पोखरेलले पत्रमा उल्लेख गर्नु भएको छ । यसअघि एमाले मधेस प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको थियो ।

पार्टीविरोधी गतिविधि गरेको भन्दै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी भंग गरिएको हो । एमालेबाट ‘विद्रोह’ गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

काठमाडौ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । आज साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको बताउनुभएको छ । 

उहाँले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको बताउनुभएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । 

पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।अस्पताल स्रोतका अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि आज त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । 

नेपाल मेडिकल काउन्सिलले गयो १७ चिकित्सकलाई कारबाही, ६६ जनाविरुद्ध उजुरी

काठमाडौ । बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो । काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् ।

उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ । काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो ।

यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९÷८० मा २० वटा उजुरी परेको थियो । उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।

कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

काठमाडौ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ । कक्षा ११ र १२ को सामाजिक शिक्षा एक एक लाख र नेपाली र अंग्रेजी ५०–५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।

कागज अभाव भएको कारण छपाइमा ढिला भएको तर कागज आइसकेकोले तिहारसम्म छपाइको काम सकिने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताउनुभयो । टेन्डरमार्फत अर्को नयाँ ठेकेदार कम्पनीलाई कागज ल्याउन दिईएकोले कागज ल्याउन समय लागेको उहाँले जिकीर गर्नुभयो । 

बेगनास तालमा एक बेपत्ता

काठमाडौ । पोखराको बेगनास तालमा ढुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । आज दिउँसो परिवार र छिमेकीसहित पोखरा–३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक ढुंगा लिएर बेगनास तालमा गएका थिए । 

गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजी कार्य थालिए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कडेंलले जानकारी दिनुभयो । माझिकुना पछिल्लो समयमा धेरैको रोजाइमा परेको पर्यटकीय क्षेत्रको हो । बिदाको दिन धेरै मानिस त्यहाँ रमाउनका लागि पुग्ने वडाध्यक्ष कडेंलले बताउनुभयो ।

सिरहाबाट हराएका युवकको शव विराटनगरको होटलमा भेटियो

काठमाडौ । सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा भेटिएको छ। आज दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो ।युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

काठमाडौ । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सडक अवरुद्ध भएको छ । 

सडक सन्चालन 

काठमाडौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ ।पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो ।

पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायात सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिरोको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । 

यस ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभाबी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने गाडीले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए । मालढुङ्गा–बाग्लुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिरोले सडक भासिएपछि गाडी सञ्चालनमा समस्या भएको छ ।

आर्थिक खबर
आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो । 

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात  मंसिर २९ गते बिहीबारसम्म निरन्तर हुनेछ । सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

फूलको कारोबार सुरु 

काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै फूलको कारोबार सुरु भएको छ । विगतमा जस्तै यस पटक पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यो वर्ष ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमानछ ।

नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ । मखमली फूलको निर्यात गरेपनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आएपनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्रीका माला भारतबाट आयात हुँदैछ । 
सयपत्री फूलको माग हरेक वर्ष बढ्दो छ । तर, धेरैजसो युवा शक्ति विदेशिने र गाउँघरमा रहेकाहरु पनि सहर पस्ने प्रवृत्ति बढेकाले फूलको उत्पादन मागअनुसार बढाउन नसकिएको हो ।

वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गरेको छ । तिहारमा फूलको कारोबार बढी हुने भएपनि त्यहीअनुसार उत्पादन भने हुन सकेको छैन । केही वर्षयता फूल खेतीमा आकर्षण बढे पनि मल, बिउ नपाउँदा किसानलाई समस्या हुने गरेको छ । यो वर्ष तिहारमा १० करोड रुपैयाँ बराबरका २० लाख सयपत्रीका माला खपत हुने अनुमान छ । 

अब विदेशका खबर
एम्नेष्टीको दाबी

काठमाडौ । इरानको विरोध प्रदर्शनका क्रममा सेप्टेम्बर महिनामा मात्रै झण्डै दुई दर्जन बालबालिकाको मृत्यु भएको मानवअधिकार पर्यवेक्षकको एक नयाँ प्रतिवेदनले देखाएको छ । रिपोर्टमा इरानी सुरक्षाबलले युवाहरूमाथि ‘पूर्ण दण्डहीनताका साथ’ निशाना बनाइरहेको आरोप लगाइएको छ ।  

एमनेस्टी इन्टरनेसनलले जारी गरेको १९ पृष्ठको प्रतिवेदन अनुसार मारिएका कम्तिमा २३ बालबालिका सेप्टेम्बरको अन्तिम १० दिनमा मात्रै मारिएका छन् । इरानमा दशकौंदेखि शासन गरेको इस्लामिक शासनविरुद्ध उठेको पछिल्लो प्रदर्शन २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको थियो । 

एम्नेष्टिका अनुसार मारिएका २३ बालबालिकाहरु मध्ये २० जना ११ देखि १७ वर्षका किशोर र तीन किशोरी रहेको उल्लेख छ । 

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

काठमाडौ । युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् ।

तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च भएपनि त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्ने आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युुद्धपछि खाद्यान्न तथा सामग्रीको मुुल्यमा वृद्धि भएको उहाँको भनाई छ ।
 
खेल खबर
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभएको होे । यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुभयो ।। युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गर्नुभयो । 

उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना भएको हो ।

गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता भएको हो ।  यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौं खेलकुदका अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछ। प्रतियोगितामा ४ सय ४ स्वर्ण पदकका लागि ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

नवौं राष्ट्रिय खेलकुद : आर्मीको विजयी सुरुआत

काठमाडौ । प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा आज आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको हो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे ।लुम्बिनीका चेतन थारुले एक गोल फर्काए ।

नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत

यस्तै, महिला फुटबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । वालिङमा जारी प्रतियोगिता अन्तर्गत आज गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।त्यस्तै खेलको ५८ औं र ६६ औं मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।

नवौं राष्ट्रिय खेलकद : जितका बाबजुत प्रदेश एक बाहिरियो

काठमाडौ । प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा प्रदेश १ ले पहिलो जित हात पारेको छ । पोखरामा आज भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश एकले ६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १६ दशमलब १ ओभरमा अलआउट हुँदै ५३ रन जोडेको थियो । आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।पोखरामा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको छ ।

पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो ।त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । 

फेन्सिङको टिम ईपीमा आर्मीलाई स्वर्ण

काठमाडौ । आज भएको फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।

नवौं राष्ट्रिय : गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौ । पुरुष भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा आज गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो । पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन ।

तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो । भोलिको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।