अन्नपूर्ण दिनभर : जसपाका चार मन्त्रीहरू बर्खास्त, आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ सय ९५ प्रकारका मतपत्रको छपाई सुरु
प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, ४ सय ९५ प्रकारका हुने
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई आजबाट सुरु गरेको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ ।
आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ । मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । आयोगले हिँजो उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।
चुनावमा मत सर्वेक्षण गर्न नपाइनेः निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जाल वा अनय माध्यमबाट मत सर्वेक्षण गर्न नपाइने जनाएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ ।
साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ । आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ ।
आचारसंहिताविपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको अनुगमनबाट पाइएको निर्वाचन आयोगले जनाएको छ ।
एकल सिफारिस हुँदा पनि ओलीले टिकट नदिनु अन्यायपूर्ण : रावल
काठमाडौँ । एमालेका नेता भीमबहादुर रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ । रावलले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गर्नुभएको छ ।
पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उहाँले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताउनुभएको छ । आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पु¥याएको रावलले बताउनुभयो ।
त्यस्तै, रावलले आगामी दिनमा पार्टीको गति र मतिअनुरूप आफू अघि बढ्ने बताउनुभएको छ । पार्टीभित्र आफ्नो यो आफ्नो चित्कार नभई राजनीतिक र वैचारिक संघर्ष भएको रावलको भनाई छ । रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको आरोप समेत लगाउनुभएको छ ।
साथै, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचरका प्रमुख सामन्त गोयललाई बालुवाटारमा भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन संकटग्रस्त भएको टिप्पणी गर्नुभएको छ । रावलले भारतीय गुप्तचरलाई ओलीले भेटेपछि तत्कालिन नेकपामा समेत अन्तरविरोध चर्किएर यो अवस्था आएको बताउनुभयो ।
रौतहट ३ मा गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने
काठमाडौँ । सत्तारुढ गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागिएको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताउनुभयो ।
पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फित गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादीले नेताले बताएका छन् । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आउनुभएको हो ।
उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट
काठमाडौँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए । रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।
उम्मेदवारी खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता विजयकुमार गच्छदार सहितका नेताको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दर्ता भएको हो ।
अधिवक्ता अनिल आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराउनुभएको हो ।
अधिवक्ता आचार्यले आज सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाउनुभएको छ ।
साथै आचार्यले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क का एमाले उम्मेदवार युद्धविक्रम तामाङ, मनाङका काँग्रेस नेता टेक बहादुर गुरुङ, महोत्तरीकी लक्ष्मी महतो, झापा ५ ख का माओवादी केन्द्रका उम्मेदवार गगन भन्ने रेवतराज पुरी रहेका छन् ।
उनीहरू निष्कलङ्क नरहेको, भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको वा सजाय पाएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।
यस रिटमाथि असोज ३० गते प्रारम्भिक सुनुवाइ हुने गरी पेसी तोकिएको छ । उनीहरूको उम्मेदवारीले भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने भन्दै अन्तरिम आदेशबाट उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न समेत मागदाबी लिइएको छ ।
चार जना मन्त्रीहरू बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरे पछि जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन् ।
उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले माफी दिने
काठमाडौँ । मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरूलाई नेपाली कांग्रेसले कारबाहीबाट बच्न पुनः एक मौका दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।
आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई आयोगले दिएको समय असोज २६ भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गर्ने कांग्रेसले बताएको थियो ।
कर्मचारीको बढुवा र तहवृद्धिबारे गण्डकी सरकारलाई सोध्यो आयोगले स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज स्पष्टीकरण सोधेको हो ।
स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गर्दा निर्वाचन आचारसंहिता उल्लंघन किन हुँदैन ? भनेर आयोगले गण्डकी प्रदेश सरकारलाई सोधेको छ । गण्डकी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ल्याएर स्थानीय तहका कर्मचारीहरूको बढुवा र तहवृद्धि गर्न खोजेको थियो । सोबारे पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आयोगलाई इमेलमार्फत जवाफ दिन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको मन्त्रालयको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउनुभयो ।
त्यस्तै, गृहमन्त्री खाँणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताउनुभयो । राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथै शुभकामना व्यक्त गरिरहेको बताउनुभयो ।
युक्रेनलाई नेपालको समर्थन
काठमाडौँ । नेपालले युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको भत्र्सना गरेको छ । गएराति संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनी भूभाग रुसमा विलय गराउन गरिएको जनतमसंग्रहको भत्र्सना गर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ र तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ ।
सो प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने उल्लेख छ ।नेपालसहित १ सय ४३ वटा राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका छन् । भारत र चीनसहितका ३५ वटा राष्ट्र मतदान प्रतिक्रियामा सहभागी भएनन् भने ५ वटा देशले विपक्षमा मत दिएका थिए । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले विपक्षमा मतदान गरेका छन् ।
प्रस्ताव प्रतिकात्मक भएपनि युक्रेनमाथि रुसले गरेको आक्रमणपछि त्यस सम्बन्धमा भएका मतदानमा सबैभन्दा बढी मत परेको हो ।राष्ट्र संघको ११ औं विशेष सत्रलाई सम्बोधन गर्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले राष्ट्र संघको बडापत्रले स्थापना गरेको सिद्धान्तहरु सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमता उल्लंघन हुननसक्ने बताउनु भएको छ ।
यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला, प्रदेश, परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ ।
त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ ।
कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
म्यानपावर कम्पनीलाई कार्वाही गर्ने चेतावनी
काठमाडौँ । वैदेशिक रोजगार विभागले तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।वैदेशिक रोजगारका लागि जाने क्रममा ठगीमा परेको दाबी गर्दै परेका उजुरी फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई विभागले चेतावनी दिएको छ ।
कामदारका उजुरीका बारे छलफल गर्न पटक–पटक पत्राचार गरी बोलाउँदा समेत केही म्यानपावर सञ्चालक विभागमा उपस्थित नभएर विभागको उजुरी फछ्र्यौट गर्ने काममा असहयोग गरेकोे विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले दिने निर्देशन कार्यान्वयन नगरे ऐनको दफा ५४ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।
दफा ५४ मा ऐन र ऐन अनुसार बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रो पटक पचास हजार रूपैयाँ जरिवाना र तेस्रो पटक सोही कसुर दोहो¥याएमा एक लाख जरिवाना गरी इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान रहेको छ ।
सन्दीपलाई थप ५ दिनको म्याद
काठमाडौँ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।
अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुने भन्दै ३ दिनको म्याद मात्र भनेकोमा अदालतले ५ दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले बताउनुभयो ।
आर्थिक खबर
नेप्सेमा झिनो अङ्कको सुधार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा पुगेको छ । कुल दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरु सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ बराबर कायम भएको छ । कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु तीन करोड ४० लाख ३५ हजार दुई सय बराबरको कारोबार भयो ।
विदेशका खबर
राष्ट्रसङ्घमा पाकिस्तानको आलोचना
काठमाडौँ । संयुक्त राष्ट्रसङघको महासभामा रूसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको कडा शब्दमा आपत्ति जनाएको छ । रूस–युक्रेन युद्धलाई लिएर बुधबारको महासभा बैठकमा मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कूटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो ।
मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कूटनीतिज्ञले रूसले युक्रेनी भूभाग कब्जा गरेझै भारतले पनि पाकिस्तानी भूमि कश्मि कब्जा गरेको आरोप अप्रत्यक्षरूपमा लगाएपछि संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रूचिरा कम्बोजले भारतविरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताउनुभयो ।
जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग रहेको र त्यो सधैं भारतमा नै रहने बताउँदै उहाँले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले चार युक्रेनी क्षेत्रलाई रूसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्तावमाथिको मतदानका बेला अनुपस्थित रहेको भारतले राष्ट्रसङ्घका सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिएको छ ।
उत्तरकोरियाद्वारा लामो दूरीका क्षेप्यास्त्र परीक्षण
काठमाडौँ । उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले समितिले जनाएको छ ।
उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
अमेरिका, दक्षिणकोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेहो हो । उत्तरकोरियाली नेता किमले विगत केही दिनदेखि देशको रणनीतिक आणविक सञ्चालन एवम् प्रशिक्षणका निम्ति निर्देशन दिनुभएको थियो ।
देशको अज्ञातस्थलमा ती क्षेप्यास्त्र परीक्षण गरिएका हुन् । यो परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ । उत्तरकोरियाले जापान, दक्षिणकोरिया, संयुक्त राज्य अमेरिकालगायत देशले क्षेप्यास्त्र तथा अन्य आणविक हतियार विकास नगर्न गरेको अनुरोधलाई वेवास्ता गर्दै आएको छ ।
खेल खबर
राष्ट्रिय खेलकुद उद्घाटन भोली
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भोली उद्घाटन हुने भएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटनका गर्नुहुने छ । उपराष्ट्रपति पुन आजै पोखरा पुग्नुभएको छ । गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तरगत पुरुष क्रिकेट यसअघी नै सम्पन्न भइसकेको छ । महिला क्रिकेट जारी छ ।
पुरुष फुटबलसहित विभिन्न ९ खेल आजबाट सुरु भएका छन् । शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट
काठमाडौँ । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको आज भएका खेलमा मधेश प्रदेश र एपिएफले जित निकालेका छन् । पोखरा क्रिकेट मैदानमा आज सुदुरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको हो । मधेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । जितसँगै मधेश २ खलमा ४ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । सुदुरपश्चिम भने २ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
त्यस्तै, आज भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो । गण्डकीले दिएको २७ रनको सामान्य लक्ष्य एपीएफले १४ बलमै पूरा ग¥यो । गण्डकीले पहिले व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । जितपछि एपीएफ समूह ’ए’ को शीर्षस्थानमा पुगेको छ । एपीएफले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ ।अहिले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको अर्को खेल भइरहेको छ ।
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत
काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेलमैदानमा आज प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गर्नुभयो ।
खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २–० को जित दिलाए ।