अन्नपूण दिनभर : बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन
भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन
काठमाडौँ । सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकले भोलि दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो ।
गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ । सत्ता गठबन्धन बैठकले बागी उम्मेदवारी फिर्ता नलिनेहरुलाई सम्बन्धित पाटीले निष्काशन गर्ने निर्णयसमेत गरेको छ ।
निर्णयमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनमोर्चाबाट चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिए पनि कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन् ।
देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसलाः उम्मेदवारी कायमै राख्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।
डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक–फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
देउवाको नागरिकतामा जन्ममिति २००३ साल रहेको र मतदाता नामावलीमा २००२ साल रहेको देखिए पनि जन्म महिना र गते एउटै देखिएकोले सामान्य त्रुटीका रूपमा मात्र लिइएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताउनुभयो ।
डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उहाँका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।
सो उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरिएको थियो । देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनुभएको थियो ।
प्रतिनिधि सभातर्फ स्वतन्त्रसहित ५८ दलले दिए उम्मेदवारी
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् । उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् । राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार उठाएको छ ।
राप्रपाले १६५ मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । राप्रपापछि धेरै स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेकपा एमाले रहेको छ । एमालेले १४४ स्थानमा उम्मेदवार उठाएको छ । धेरै स्थानमा उम्मेदवार उठाउनेको सूचको तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवारी दिएको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा (माओवादी केन्द्र)÷नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस (बी.पी.)ले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९ र नागरिक उन्मुक्ति पार्टीले ३४ उम्मेदवार उठाएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही सुरु
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, विद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाइएको आयोगले जनाएको छ ।
त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारवाही प्रारम्भ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निष्ठाको राजनीति जोगाउन स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । नेकपा एमालेमा नेता तथा पूर्वमन्त्री प्रभु साहले पार्टीबाट टिकट पाउँदा पाउँदै पनि विद्रोह गरेपछि एमालेभित्र तरंग पैदा भएको छ । पार्टीले दिएको टिकट अस्वीकार गर्दै उहाँले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि एमालेको नेतृत्व र साहबीच आरोप प्रत्यारोप सुरु भएको छ भने राजनीतिक वृत्तमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् । पार्टीमा विद्रोह गर्नुभएका साहले जिल्लास्तरमा आफूसहित निकटका २५ जनालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएर पार्टीमा विद्रोह गर्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा)सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहनुभएका साहले आफ्नै पार्टीको टिकटलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । २०६४ सालदेखि साहले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने क्षेत्रबाट चुनाव जित्दै आउनुभएको थियो । प्रतिनिधिसभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट– ३ मा उम्मेदवारको स्थान रिक्त भएको छ ।
यता पूर्वमन्त्री समेत रहनुभएका साहले भने निष्ठाको राजनीति बचाउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गर्नु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै साहले कुर्सीका लागि राजनीति गर्ने संस्कारलाई चुनौती दिन खोजेको बताउनुभयो ।
हिजो एकअर्काको कडा आलोचक एमाले र जसपाबीच कुर्सीकै लागि चुनावी तालमेल हुँदा जसपा बोक्न नसकिने उहाँको तर्क छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने साहले पार्टीलाई क्षति हुने गरी संदिग्ध गतिविधि गरेको आरोप लगाउनु भएको छ । यसको प्रतिवाद गर्दै साहले आफूले यसअघि नै पार्टीका शीर्ष नेताहरुलाई जसपासँगको सम्झौता कार्यकर्ताले नमान्ने सुझाव दिएपनि नेतृत्वले नमानेकाले मतदाताकै सुझावले स्वतन्त्र बनेको बताउनुभयो ।
गैर आवासीय नागरिकता सम्बन्धी ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर आवासीय नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो ।
नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गर्नुभएको छ । गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । कोभिड–१९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुनुभएको छ । अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज हुनुभएको हो । उहाँको उपचारमा संलग्न डा. निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको हो । गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन। परिक्षणको क्रममा उनलाई कोभिड १९ पुष्टि भएको थियो।
निरन्तर वर्षाका कारण कर्णालीमा ३३ जनाको मृत्यु, २२ जना बेपत्ता
काठमाडौँ । गत सातादेखिको लगातार वर्षाले कर्णालीमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ। पछिल्लो एक सातामा वर्षाका कारण आएको पहिरो तथा विभिन्न प्रकृतिका विपदमा परि प्रदेशभर ३३ जनाको मृत्यु भएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका छन्। वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जुम्लामा मात्र विपदबाट ९ जनाको मृत्यु भएको छ । यस्तै सुर्खेतमा १, जाजरकोटमा ३, सल्यानमा २, कालीकोटमा ४, मुगुमा ८, हुम्लामा ४ र डोल्पामा २ जनाको मृत्यु भएको छ ।
विपदमा परि बेपत्ता भएकामध्ये दैलेखमा १, जुम्लामा २, कालीकोटमा १९ जना छन्।जाजरकोटमा १, रूकुम पश्चिममा १, जुम्लामा २, कालीकोटमा ७, मुगुमा ५, हुम्लामा ५ जना विपदबाट घाईते भएको प्रहरीले जनाएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ८ जना, दैलेखमा १ सय ३ जना, जाजरकोटमा २, रुकुम पश्चिममा २, सल्यानमा ९, जुम्लामा ८६, कालीकोटमा ४८, मुगुमा १ सय ७८, हुम्लामा ४० र डोल्पामा ४ जना बर्षाका कारण घरमा क्षति पुगेपछि विस्थापित भएका छन्।वर्षाका कारण कर्णाली राजमार्ग र त्यसका सहायक मार्गहरु अवरूद्ध भएपछि आवतजावतमा कठिनाई भएको छ ।
प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा खटिएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घर क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया सुरु भएको छ भने घाईतेहरुको उद्दारका लागि निरन्तर हेलिकप्टर परिचालन गरिएको छ।
धौलागिरि आधार शिविरमा दुई जनाको मृत्यु
काठमाडौँ । धौलागिरि आधार शविरमा नेपाली पथप्रर्दशक र भरिया गरी दुई जनाको मृत्यु भएको छ। दसैंअघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत आधार शिविरमा पुगेका दुईजना प्रथप्रर्दशक र भरियाको प्रतिकुल मौसमका कारण हिउँमा पुरिएर मृत्यु भएको मुस्ताङको घरपझोङ–२ मार्फाका घोडा खच्चड गोठाला माइकल परियारले जानकारी दिनुभयो ।
हिउँले पुरिएर मृत्यु भएका उनीहरुको बारेमा थप जानकारी आउन बाँकी छ । यस्तै, प्रतिकुल मौसमकै कारण धौलागिरि आधार शिविरमा ४५ वटा घोडा र खच्चड बेपत्ता भएका छन् । थमसेर्कु ट्रेकिङ कम्पनी मार्फत दसैंअघि असोज १८ गते मुस्ताङको मार्फाबाट भारी बोकाएर गएका माईकल परियारका २८ वटा र अन्यका १७ वटा गरी ४५ घोडा र खच्चड हावाहुरी र हिउँमा पुरिएर धौलागिरि आधार शिविरमा बेपत्ता भएको हो ।
यसैबीच, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरि आधार शिविरमा पुगेका ९ जना गोठालामध्ये ४ जनाको आज बिहान हेलीमार्फत उद्दार भएको जानकारी दिनुभयो । उहाँका अनुसार आधार शिविरको इटालियन बेस क्याम्पमा अझै ५ जना नेपालीको उद्दार हुन बाँकी छ ।
दसैंअघि विभिन्न ट्रेकिङ एजेन्सीहरु मार्फत धौलागिरि क्षेत्रमा सयौंको संयामा विदेशी पर्यटकसहित नेपाली गएका थिए। त्यहाँबाट हेलीमार्फत विभिन्न ट्रेकिङ कम्पनीले आफ्ना पर्यटक तथा पथप्रदर्शकलाई उद्दार गरेका थिए ।
वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई निगमको अध्यक्षमा रहनेगरी भएको न्यायाधीश तिलप्रसाद श्रेष्ठको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । सरकारले गएको असार ६ गते अधिकारीलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्ध असार १३ गते उहाँ सर्वोच्च पुग्नुभएको थियो ।
रिटको प्रारम्भिक सुनुवाइबाट सर्वोच्चले उहाँलाई अध्यक्षको रूपमा काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आज दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पेसी तोकिएको थियो । बहसपछि एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको हो ।
अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान, मन्त्रालयको जिम्मेवारी पम्फा भुसाललाई
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ग्रीन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । अर्थमन्त्री शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनुहुनेछ ।
नेपाल राष्ट्र बैंकका गर्भनर यसअघि नै अमेरिका प्रस्थान गरिसक्नुभएको छ । अर्थमन्त्री शर्मासँगै अर्थसचिव कृष्णहरि पुस्कर र सह–सचिव ईश्वरीप्रसाद अर्याल पनि अमेरिका जानुभएको छ । यसैबिच, अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई दिनुभएको छ ।
प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट
काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालीसेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग आज सैनिक मुख्यालय जंगी अड्डामा बिदाई भेट गर्नुभएको हो ।
भेटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनुभएको थियो ।नेपाली सेनालेसो किसिमको भेटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको जनाइएको छ ।
आर्थिक खबर
भारतमा एक अर्ब ३० लाख युनिट विद्युत् निर्यात, झण्डै ८ अर्ब आम्दानी
काठमाडौँ । भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । आजसम्म भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी सो अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकोले सो अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । जस कारण हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।
नेप्से परिसूचकमा पहिरो जाने क्रम रोकिएन
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ ।
कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ मा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।
व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरु उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो । आजको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ६६ अर्ब ४३ करोड ५१ लाख २९ हजार एक सय ५९ रुपैयाँ बराबर कायम भएको छ ।
विदेशका खबर
युक्रेनलाई सुरक्षा सहायता गर्ने अमेरिकी प्रतिबद्धता
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बाइडेनले हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई एड्भान्स एयर डिफेन्स सिस्टम (अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली) उपलब्ध गराउने बताउनुभएको हो ।
रुसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरहरूमा हिजो मिसाइल आक्रमण गरेलगत्तैआज नै अमेरिकी राष्ट्रपति बाइडेनबाट सो प्रतिबद्धता आएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बाइडेनले जेलेन्स्कीलाई टेलिफोन गरेर सहयोगको बाचा गर्नुभएको छ ।
बाइडेनले जेलेन्स्कीसँगको संवादको क्रममा रुसले युद्ध अपराध र अत्याचार गरेको भन्दै त्यसका लागि सहयोगी र साझेदार मुलुकहरूले रुसलाई जवाफदेही बनाउने बताउनुभएको हो । उहाँले युक्रेनलाई सुरक्षा, आर्थिक र मानवीय सहायता उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
यसैबिच, बाइडेनले आज भर्चुअल रुपमा जी–७ राष्ट्रहरूको आपतकालीन बैठकको आह्वान गर्नुभएको छ । सो बैठकमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सम्बोधन गर्नुहुने बताइएको छ । बैठकमा जेलेन्स्कीले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन थप सहायता माग गर्ने अपेक्षा गरिएको छ । पछिल्लो पटक हिजो रुसले मिसाइल आक्रमण गरेपछि अमेरिकाले थप चासो देखाएको हो ।
खेल खबर
महिला क्रिकेटः एपीएफ र सुदूरपश्चिमको जित
काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । आज भएका खेलहरूमा एपीएफले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् ।
आज भएको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
यस्तै, आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।
नेपाली चेस टोली बंगलादेशतर्फ
काठमाडौँ । शेख रसेल कप अन्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ ।अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ । प्रतियोगितामा अन्तराष्ट्रिय आर्विटर निरन्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभएको थियो ।