Live Streaming

अन्नपूर्ण दिनभर : आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयनको समय सकियो, सकिएन उमेदवारी मनोनयन 

निर्धारित समय सकियो, उमेदवारी मनोनयन सकिएन

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदावारी मनोनयन गर्ने निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेको समय तोकेको थियो ।

तर, अधिकांश स्थानमा मनोनयन दर्ता सकिएको छैन । मनोनयन दर्ताका लागि अधिकांश स्थानमा उमेदवारहरू पुगिरहेका छन् । आयोगका सहायक प्रवक्ता ऋषि भुसालका अनुसार निर्धारित समय सकिए पनि निर्वाचन अधिकृतको कार्यालयको घेरामा पुगेकाले मनोनयन दर्ता गर्न पाउनेछन्  ।

साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयन भएका उमेदवारको सूची सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

सातौँ पटक चुनाव लड्न देउवाले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजू राणा देउवाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेस बीपीबाट नेकपा एमालेको समर्थनमा कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन पत्र दर्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीसँग प्रतिस्पर्धा गर्न उक्त क्षेत्रमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई अघि सारेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले  गोरखा–२ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले पूर्व–पश्चिम र मधेश–पहाड घुम्दै चुनाव लड्ने आफू नेपालको इतिहासमै पहिलो व्यक्ति हुनसक्ने बताउनुभएको छ ।

उहाँले यसपटकको निर्वाचनमा गोरखा आएपछि थप नयाँ रेकर्ड कायम भएको र गोरखाबाटै आर्थिक समृद्धिका लागी नयाँ रोडम्याप बनाउन सुरु गर्ने बताउनुभयो । 

यस्तै नेकपा एमालेको समर्थनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट मनोनयन दर्ता गराउनुभएको छ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै नेपाली काँग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गर्नुभएको छ । नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताउनुभयो ।

कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताउनुभएको छ । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताउनुभयो । कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

यस्तै, सप्तरी–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी परेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी–२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् ।  

यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ । 

टीकट नपाएकाहरुमा स्वतन्त्र उम्मेदवारीको लहर 

काठमाडौँ । नेपाली काँग्रेस सहित सत्तारुढ गठबनधनका दल तथा नेकपा एमालेबाट टिकट नपाएका उम्मेदवारहरुले बागी तथा स्वतन्त्र उम्मेदवारीको लहर चलाएका छन् । सिद्धान्त नमिल्ने पार्टीहरुको चुनावी तालमेल तथा पार्टीभित्रकै अन्र्तविरोधले स्वतन्त्रको अवस्था ल्याएको हो ।

संविधान जोगाउने भन्दै बनेको सत्तारुढ गठबन्धमा सिट बाँडफाँट नमिलेकै कारण जसपा बाहिरिएपनि एक समय खरो विरोधीका रुपमा रहेको नेकपा एमालेसँग तालमेल गरेको छ । एमालेमै महाधिवेशनका बेला उम्मेदवारी दिएका भीम रावल तथा घनश्याम भूषाल लगायतका नेताहरुलाई संसदमा संसदीय दलको निर्देशनमा नचलेको आरोप लगाउँदै टिकट दिनबाट बञ्चित गाराईएको छ ।

नेपाली काँग्रेसमा पनि गठबन्धनका कारण रुष्ट धेरैजसो नेताहरुले स्वतन्त्र उम्मेदवारीको विकल्प अपनाएका छन् । यसरी उम्मेदवारी दिनेमा नेपालदी काँग्रेसकै धेरै छन्  ।

जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ । पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ र अजय द्विवेदीले पर्सा १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै, कैलाली कैलाली–५ मा संविधानसभा सदस्यसमेत रहनुभएका पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएउनुभएको छ । 

यस्तै, जनता समाजवादी पार्टीका केन्द्र सदस्य जन्नत अन्सारीले पर्सा निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभाका लागि बागी उम्मेदवारी दिनुभएको छ । एमाले जसपा गठबन्धनको सीट बाँडफाँटमा उक्त क्षेत्र एमालेले पाएको छ । राम्रो काम गर्दा पनि पार्टीले टिकेट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको अन्सारीले बताउनुभएको छ ।

यस्तै, टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) का दिग्गज नेता मानिएका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको छ । यादवले टिकट पाएपछि धनुषाको ४(क) बाट प्रदेशसभामा निर्वाचन लड्ने हुनुभएका शेषनारायणले कांग्रेस रोज्न बाध्य हुनुभएको हो ।

यता नेकपा एमालेबाट दुई पटक निर्वाचित सांसद तथा पूर्व राज्यमन्त्री रामवीर मानन्धर यस पटक टिकट नपाएपछि बागी उम्मेदवार बन्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले श्याम घिमिरेलाई टिकट दिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यस्तै, नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले आज आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस क्षेत्रमा एमालेबाट शान्ता चौधरीले उम्मेदवारी मनोनयन गराउनुभएको छ । 

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईले भने टिकट नपाएका उम्मेदवारहरुको विद्रोह स्वभाविक भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै भट्टराईले शिर्ष नेताहरुले टिकट पाउँदा विरोध गरेकै आधारमा वा महाधिवेशनमा उम्मेदवार बनेकै आधारमा टिकट पाउनबाट वञ्चित गराईनु स्वभाविक नभएको बताउनभएको छ । नेपालमा नयाँ निर्वाचन कानून नल्याएसम्म हुने निर्वाचनको कुनैपनि तुक नभएको पनि उहाँको भनाई छ । 

चर्चित नेताहरु नै टिकट पाउनबाट बन्चित, मिनेन्द्र पनि थपिए

काठमाडौँ । आगामी मंसिरमा हुने आम निर्वाचनमा केही चर्चित नेताहरु नै टिकट पाउन बाट बन्चित भएका छन् । नेकपा एमालेबाट भिम रावल, घनश्याम भुषाल, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल लगायत चर्चित नेताहरुले नै चाहाना राखेपनि टिकट नपाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल सिफारिस भएपनि पूर्व उपाध्यक्ष भीम रावल, डोटीमा चक्र मल्ल, कञ्चनपुर–३ का निवर्तमान सांसद डा. दीपकप्रकाश भट्ट, र झापा–१ बाट रवीन कोइरालालाई टिकट दिएका छैनन् ।

एमालेको राजनीतिक आन्दोलनमा राम्रै योगदान दिएका अरुण नेपाल, वैझनाथ चौधरी, विष्णु रिजाललगायत नेता पनि एमालेको टिकट पाउनबाट बन्चित भएका छन् । 

त्यस्तै जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेलले पनी टिकट पाउनु भएन । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाएको छ । गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आउनुभएको थियो  । 

उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि टिकट नपाउने पाउनुभएन । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्ततः प्रदेश सभाको पनि टिकट नपाउननु भएको हो । सो क्षेत्रमा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाउनुभएको छ । 

गठबन्धनमा जनमोर्चाको विद्रोह, अर्घाखाँचीका तीनै सीटमा अलग्गै उम्मेदवारी

काठमाडौँ । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको छ ।

संघमा सोही पार्टीका नेता पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिदा प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्घाखाँचीमा जनमोर्चा कांग्रेस पछिको ठूलो दल भए पनि बेवास्ता गरिएकाले अलग्गै उम्मेदवारी दिनुपरेको जनमोर्चाका नेता सागर केसीले बताउनुभयो । 

त्यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराउनुभएको हो । 
उहाँसँगै प्रदेशसभा (क)मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा .(ख) मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

एमालेबाट संघमा टोपबहादुर रायमाझी र प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

जेलमा रहेका रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता

काठमाडौँ । २०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनभएको छ । उहाँ २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली–१ बाट निर्वाचित हुनुभएको थियो ।

टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा हुनुहुन्छ । उहाँले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराउनुभएको थियो ।सोही पार्टीबाट अहिले उहाँ उम्मेदवार बन्नुभएको हो । 

अछाममा भीम रावलका कार्यकर्ताद्वारा ओलीविरुद्ध नाराबाजी

काठमाडौँ । अछाममा नेकपा एमालेका नेता भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खासेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार झपट बोहराले मनोनयन दर्ता गर्ने क्रममा नाराबाजी गरिएको हो । नाराबाजी गर्ने बेला प्रतिनिधिसभा सदस्यको टिकट पाएका झपट बोहरा पनि मनोनयन दर्ता गर्न गइरहनुभएको थियो । 

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ३ विधेयक प्रमाणीकरण गर्नुभएको छ । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गर्नुभएको हो ।  

प्रमाणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

राष्ट्रपति भेटेपछि कानूनमन्त्री गोविन्द बन्दीको राजीनामा

काठमाडौँ । कानूनमन्त्री गोविन्द बन्दीले पदबाट राजीनामा दिनुभएको छ । सांसद सदस्य नरहेका व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने भएकाले उहाँले राजीनामा दिनुभएको हो । 

राजीनामा दिनुअघि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रतिनिधिसभा नरहेको र आफू पनि सांसद नभएको भन्दै राजीनामा नदिएर चुनावसम्म मन्त्री रहन सकिने बताउनुभएको थियो । तर, बन्दीले नैतिकताको पनि कुरा हुने भन्दै राजीनामा दिएको बताईएको छ । 

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाडौँ । तीन दिनदेखि लगातार परिरहेको बर्षाका मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ । चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् ।

बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् ।अविरल बर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनुभयो ।त्यस्तै, अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनुभयो ।

उहाँले घरहरु डुबानमा परेको र घरभित्र पानी जमेकाले बस्नसक्ने अवस्था नरहेको बताउनुभयो । आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले शतर्कता अपनाउन आग्रह गरेको छ । 

अझै एकसाता मनसुन

काठमाडौँ । नेपालमा असोज १६ सम्म यस वर्षको मनसुन रहने पूर्वानुमान गरिए पनि पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि मात्र नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गत जेठ ५ गते देखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । 

छुट्टाछुट्टै स्थानमा आठजना मृत फेला

काठमाडौँ । काठमाडौं लगायत विभिन्न जिल्लामा आज आठजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका–४ शेषमती मिलनबस्ती बस्ने झापा बिर्तामोड नगरपालिकाका ५० वर्षीय लक्ष्मण ढकाल तारकेश्वर नगरपालिका–८ शेषमति सीएन मार्ट नजिक छाप्रोमा मृत अवस्थामा फेला परेका छन् । 

यस्तै, धनुषा, नगराइन नगरपालिका–१ बहिरो टोल बस्ने सुलेन्द्र यादवको पाँच वर्षीय छोरा रजनिश यादव सोही ठाउँस्थित घरारी पोखरीमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा, मिथिला नगरपालिका–१० लालगढस्थित हस्पिटल चोकको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।त्यस्तै, नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–४ ठोक्करस्थित नारायणी नदीको छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ६३ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । 

यसैगरी, मकवानपुर, बकैया गाउँपालिका–१ र २ को सिमनास्थित धन्सार खोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । उता, बाँके, राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुर घाटमा हाल नाम, थर, वतन नखुलेकी करिब ४२ वर्षीया महिला पनि मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै, सिन्धुली, कमलामाई नगरपालिका–७ खैरेनी बस्ने ४५ वर्षीय महेन्द्र थापा सोही ठाउँस्थित सूर्यमुखी सामुदायिक वन जाने सडकमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, दैलेख, डुङगेश्वर गाउँपालिका–५ बस्ने भक्तीनाथ गौतमको १५ वर्षीय छोरा दिपक गौतम सोही गाउँपालिका–५ स्थित पानकोट खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् । डुङगेश्वर गाउँपालिका–२ लाखुरीस्थित मामा घरबाट हिजो साँझ आफ्नो घरतर्फ फर्कँदा हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

आर्थिक खबर 
सेयर बजार

काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन आज सेयर बजारमा हरियाली छाएको छ । असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार आजदेखि कारोबार हुँदा परिसूचक ४५ अंकले उकालो लागेको हो । दसैंको बिदा अघि १ हजार ८ सय ५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.६२ अंक बढेर १ हजार ८ सय ९८.३८ बिन्दुमा मा उक्लिएको छ । 

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने धेरै सुधार भएन । 

आज दुई सय २४ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भयो । आज सप्तकोसी विकास बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

विदेशका खबर 
सेनाको कारबाहीमा अल सेबाबका चौध लडाकु मारिए

काठमाडौँ । सोमालियाली सेनाको कारबाहीमा परेर आतङ्ककारी समूह अल सेबाबका १४ जना लडाकु मारिएका छन् । सोमाली नेसनल आर्मीले दिएको जानकारीअनुसार त्यहाँको लोवर साबेले क्षेत्रमा सेनाले गरेको अल सेबाब समूहका विरुद्धको कारबाहीमा परेर ती लडाकु र एकजना वरिष्ठ कमाण्डर पनि मारिएका हुन् ।

सो क्षेत्रमा विगतका केही समयदेखि आतङ्ककारी समूहले हिंसात्मक गतिविधी बढाएकाले त्यहाँकोे सेनाले कारबाही अगाडि बढाएको थियो । 

सेनाको कारबाहीका क्रममा लोवर साबेले क्षेत्रका कमाण्डर मोहम्मद नुर सिरको मृत्यु भएको थियो । सोमाली नेसनल आर्मीले सिरलाई नै लक्ष्य गरेर सो कारबाही अघि बढाएको जनाएको छ । कारबाहीका क्रममा ती कमाण्डर मारिएको पनि सेनाले पुष्टि गरेको छ ।

अल कायदा समूहको सहयोगी सो आतङ्ककारी समूहले सोमालियाली सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीको हत्या गर्ने गरेका छन् । उनीहरुका विरुद्धमा सशक्त कारबाही अघि बढाउन सोमालियाका राष्ट्रपतिले केही महिनाअघि त्यहाँको सेनालाई कडा निर्देशन दिनुभएको थियो । त्यस लगत्तै गएका केही महिना यतादेखि यहाँको सेनाले अल सेबाब आतंककारी समूहका विरुद्धमा कारबाही थालेको हो । 

खेल खबर
नवौं राष्ट्रिय खेलकुदमा बागमतीको विजयी सुरुवात

काठमाडौँ । आजबाट पोखरामा सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

७२ रनको लक्ष्य बगमतीले १३.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन बनाएको थियो । जितसँगै बागमतीले २ अंक जोड्दा सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

 त्यसअघि भएको प्रतियोगिताको उद्घाटन खेलमा आज गण्डकीलाई पराजित गर्दै मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै मधेशले विजयी शुरुवात गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । जवाफमा खराब प्रदर्शन गरेको गण्डकी १९ ओभरमा ३७ रनमा समेटिएको थियो । 

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह–ए मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।

समूह–बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फितलो व्यवस्थापनका कारण प्रशिक्षण लिइसकेका बेलायतस्थित ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन वञ्चित भएका छन् ।

एन.आर.एन.ए आई.सी.सी र यूके समितिबीच विवाद हुँदा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन बेलायतका ५४ नेपाली खेलाडी वञ्चित भएका हुन् । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी बेलायतका खेलाडीलाई झण्डै ५ महिनाअघिदेखि प्रशिक्षण समेत गर्न लगाएर हाल बिचल्ली पारेको खेलाडीहरूको आरोप छ ।

एन.आर.एन.एको गैरजिम्मेवारीले आफ्नो व्यस्त समय खेर गएको, प्रशिक्षण खर्च र अपमानित हुनुपरेको खेलाडीले गुनासो गरेका छन् । उनीहरुले एन.आर.एन.एले प्रशिक्षणमा भएको खर्चसहित क्षतिपूर्ति र क्षमायाचना गर्नुपर्ने माग राखेका छन् ।

चाइनिज ताइपेसँग पराजित नेपाल जित विहीन

काठमाडौँ । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।

फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे । यस्तै ताई यान याओ र लु यी टिङले एक–एक गोल गरे । 

नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक–एक गोल फर्काए । खेलमा नेपालका दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राए । जितसँगै ताइपेले छनोटमा सान्त्वना जित निकालेको छ । ताइपेको यो पहिलो जित हो । समूह–एफ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रह्यो । 

ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ  ।

थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउनेछन् ।