अन्नपूर्ण दिनभर : काँग्रेसको विवाद तत्काललाई मिल्यो, सुदूरपश्चिमको स्थायी राजधानी कागजमै सिमित
निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा
काठमाडाै । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको छ । जसअननुसार मतदाताको संख्यालाई ६० प्रतिशत भार मानिएको छ ।
मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । आयोगका सचिव गोकणर्मणि दुवाडीका अनुसार आयोगले प्रतिनिधिसभामा ३३ लाख र प्रदेशसभामा २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।
०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभाका उमेदवारलाई १५ लाख खर्च सीमा निर्धारण गरिएको थियो । यसपटक उमेदवारले गर्न पाउने खर्चको सीमा बढाइएको हो । आयोगका सचिव दुवाडीका अनुसार प्रतिनिधिसभामा २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी निर्वाचन क्षेत्रलाई ५ क्याटागोरीमा विभाजन गरिएको छ । त्यस्तै, प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।
आयोगको निणर्यअनुसार सबभन्दा कम काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका १, ३, ६, ७ र क्षेत्र नम्बर ८ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनावी खर्च गर्न पाउने भएका छन् । तप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।
समानुपातिकको हकमा दलहरुले पेश गरेको बन्दसूचीमा सूचिकृत संख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाइनेछ । प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ
सुदूरपश्चिमको प्रदेश राजधानी ‘गोदावरी’ कागजमै सीमित
सुदूरपश्चिम प्रदेशसभाले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निणर्य गरेको ४ बर्ष बित्दा पनि व्ययवहारिक कार्यान्वयनमा आउन सकेको छैन । २०७५ असोज १२ गतेको प्रदेशसभाको ४६ औँ बैठकबाट दुई तिहाइ बहुमतका साथ प्रदेशको राजधानी ‘गोदावरी’ र नाम सुदूरपश्चिम’ पारित गरिएको थियो । गोदावरी राजधानी बनाउने प्रस्तावमा प्रतिपक्षी दलले विरोध जनाएपछि प्रदेशसभाले मतदानबाट निणर्य लिएको थियो । ध्वनि मतका साथ पास गर्ने प्रदेशसभा सदस्यहरू प्रदेश राजधानी तोक्ने औपचारिकता पूरा गरी पुनः जनतामाझ पुगेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं. २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निणर्य हुँदा वन मासेर राजधानी बनाउन नहुुने कतिपयको मत थियो । राजधानी दिपायलमा बनाउनुपर्ने माग गर्दै डोटीवासी २०७४ माघ ४ देखि केही दिन आन्दोलनमा उत्रिएका थिए । त्यस क्रममा तीन जना घाइतेसमेत भएका थिए ।
यस्तै अधिवक्ता देवीकुमारी जोशीले गोदावरीको जंगलमा राजधानी बनाउँदा जैविक मार्ग अवरुद्ध हुने, चुरे दोहन बढ्ने र भूमिगत जलस्रोतको भण्डार, भावर क्षेत्र मासिने भन्दै विकल्प खोज्न मागसहित २०७५ असोज २२ गते मुद्दा दर्ता गराउनुभएको थियो ।
सरकारले गोदावरीमा भौतिक संरचना निर्माणलगायत कामका लागि आर्थिक वर्ष २०७५/२०७६ देखि हालसम्म ३६ करोड बढि बजेट विनियोजन भएकोमा सम्भाव्यता अध्ययनमा आठ करोड बाहेक अरु खर्च भएको छैन ।
५३ जना सदस्य रहेको प्रदेशसभामा माओवादीबाट निर्वाचित झपट बोहराले एमाले रोजेपछि र कांग्रेसबाट निर्वाचित कणर् मल्ललाई पार्टीले कारबाही गरेपछि प्रदेशसभा सदस्यको संख्या ५१ मा झर्यो । सुदूरपश्चिममा ५ वर्षको अवधीमा ६ पटक मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यो अवधिमा २५ जनाले मन्त्री बन्ने अवसर पाउँदा तीमध्ये ११ जना राज्यमन्त्री छन् ।
यता मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेशलाई भूमीको अधिकार संविधानले नै नदिएकाले प्रदेशको राजधानीमा स्थायी संसरचना बन्न नसकेको स्वीकार गर्नुभएको छ । रेडियो अन्नपूण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै भट्टले संघीय सरकारले जग्गा प्रप्तिको अधिकार नदिदा समस्या भएको बताउनुभयो । मुख्यमन्त्री भट्टले संघीयताको कार्यान्वयनसँगै गाउँहरुमा विकास निर्माणको क्रम सुरु भएको पनि दावी गर्नुभएको छ । तर कर्मचारीतन्त्रमा सुधार नहुदाको विकास निर्माणमा पनि देखिएको उहाँको भनाई छ । मुख्यमन्त्री भट्टले विदेसिने अवस्थाको अन्त्य गर्नका लागि आफुले प्रयास गर्ने बताएपनि पर्याप्त रुपमा पहल नभएको तर सुरुवाती भने भएको बताउनुभयो ।
कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो
काठमाडाै । नेपाली कांग्रेसमा समानुपातिक तर्फको बन्दसूची संशोधनमा सहमति जुटेको छ । लगातार २४ घण्टा बसेको बैठकले सूची संशोधन गरेर निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । तर सहमति जुटेको बिषय र संशोधित सूची भने सार्वजनिक भएको छैन ।
तर संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताएका छन् । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो ।
यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उहाँको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिनुभएको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए ।
ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो । एक नेताका अनुसार सूचीमा ३५ प्रतिशत शेखर पक्षका नेताहरु समावेश गरेको र कम प्राथमिकतामा परेकाहरुको नाम पनि प्राथमिकतामा राखिएको दाबी गरेका छन ।
समानुपातिकको सूचीमा नपरेपछि गुप्ताले दिए पदबाट राजीनामा
काठमाडाै । नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिनुभएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गर्नुभएको हो ।
अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उहाँले घोषणा गर्नुभएको हो । संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडाै । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरि बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
कालरात्रि कृष्ण वणर्को हुनुका साथै भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएककोले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
घटस्थापना गरेसँगै नौ दिनसम्म नवदूर्गाका नौवटा रूपहरूमध्ये पहिलो दिनशैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती पनि भित्र्याइँदै छ ।
हनुमानढोकामा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती
काठमाडाै । काठमाण्डौको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । आज नेपालीहरूको महान चाड बडा दसैँ अन्तर्गत फूलपातीको अवसरमा कमलादी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।
गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आज साँझ दसैँ घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।
मुलुकलाई दुर्घटनामा पर्न नदिन सचेत हुनुपर्ने निधिको भनाई
काठमाडाै । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरु सधै सचेत रहनुपर्ने बताउनुभएको छ । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरु सचेत रहनुपर्ने बताउनुभएको हो ।
१५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिंदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाई राजनीतिक दलहरुले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्धनका लागि गान्धि विचाराधारा सबै भन्दा उत्तम बाटो भएको तर्क समेत गर्नुभयो । आलोचकहरु पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाइ थियो । नेता निधिले गान्धी विचारधारा माक्स विचार धारा भन्दा पनि माथि रहेको जिकीर समेत गर्नुभयो ।
बागमती प्रदेशका करारका स्वास्थ्यकर्मी भन्छन्- दशैंको बेला तलब पाएनौं
काठमाडाै । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निणर्य स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडकालमा भर्ना भएका एक जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताएका छन् ।
धादिङमा करारमा कार्यरत अर्का एक जना स्वास्थ्यकर्मीले करार सम्झौताको म्याद नथप्ने निणर्य स्थगित भएको परिपत्र आएपछि आफूहरु निरन्तर काममा रहे पनि तलब भने नपाएको बताए ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत असार २८ गते स्वास्थ्य निर्देशनालय हेटौंडा, स्वास्थ्य तालिम केन्द्र काठमाडौं, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडा, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, १३ वटै अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई परिपत्र गरी करार सम्झौताको म्याद नथप्न भनेको थियो ।
तर फेरि मन्त्रालयले साउन ४ गते तिनै कार्यालयहरुलाई अर्को परिपत्र गरी करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने निणर्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको थियो ।
पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने
काठमाडाै । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने हुनुभएको छ । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निणर्य लिनुभएको उहाँका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो । नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई महिनामा नेपालले ५ मुलुकलाई बेच्योे ४८ हजार किलो अचार
काठमाडाै । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो ।
नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको छ । साउन र भदौमा ४८ हजार ८ सय ९२ किलो अचार बिक्रीबाट नेपालले २ करोड ७१ लाख ८४ हजार रुपैयाँ नगरद आर्जन गरेको छ । जुन गत वर्षको वार्षिक अचार कारोबार बराबर हो ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो । सो निर्यातबाट नेपालले ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
दसैंमा सर्वसाधारणले साटे ५६ अर्बका नयाँ नोट
काठमाडाै । यो पटक दसैंका लागि साना .(५, १०, २०, ५० र १०० रुपैयाँ) र ठूला दरका (५०० र १००० रुपैयाँ) गरी ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको बताउनुभयो ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालयमार्फत गत २९ भदौदेखि नयाँ नोट साटेको थियो । बैंक तथा वित्तीय संस्थाले असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गते नै नयाँ नोट पठाएको थियो । आजबाट सार्वजनिक बिदा सुरु भएकाले दसैंका लागि नयाँ नोट साट्न बन्द भएको छ ।दसैं बिदापछि कार्यालय खुल्नेवित्तिकै फेरि तिहारका लागि नयाँ नोट सटही हुने नेपालले जानकारी दिनभयो ।
इन्डोनेसिया : फुटबल स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो
काठमाडाै । इन्डोनेसियाको एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । कैयौं घाईते भएका छन् । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ । गएराति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो ।
पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन्। हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघीय महासचिवको चासो
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन्। उनले त्यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दैसंयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो ।
सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए।महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन त्यहाँका सेनालाई आग्रह गरेका छन्।
बुर्किना फासोका सेना प्रमुखले शुक्रबार त्यहाँका राष्ट्रपति सत्ताच्यूत भएको घोषणा गरेका थिए। उनले देशको कार्यकारिणी अधिकार सेनाको हातमा रहेको बताएका थिए।
म्यानचेस्टर सिटी र युनाइटेड भिड्दै
इंग्लिस प्रिमियर लिग (इपिएल)मा आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर डर्वीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । घरेलु मैदान इतिहाद स्टेडियममा युनाइटेडलाई हराउँदै अंक तालिकामा शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याउने लक्ष्यमा रहँदा युनाइटेड पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडलाई हराउन सके सिटीले आर्सनलसँगको अंक दुरी १ मा छोट्याउँदा युनाइटेडले पनि सिटीलाई हराउन सके चौथो स्थानमा उक्लने छ ।
प्रिमियर लिगमा फर्ममा रहेका दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अुनमान गरिएको छ । सिटी जारी सिजनमा अपराजित छ । खराब सुरुवात गरेको युनाइटेड विस्तारै लयमा फर्किएको छ । प्रिमियर लिगमा युनाइटेडले पछिल्लो चारै खेलमा जित निकालेको छ । यि दुई टोलीबीचको पछिल्लो ३२ भेटमा सिटी १५ खेलमा विजयी भएको छ ।
युनाइटेड १३ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा सिटीले युनाइटेडमाथि जित निकालेको छ । सिटी सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा युनाइटेड सिटीसँगको हारको बदला लिने लक्ष्यमा हुनेछ ।