अन्नपूर्ण दिनभर : एमालेमा आत्मालोचना गरे मात्रै टिकट दिने कुरा सत्य नभएको १० बुँदे पक्षधर नेताको भनाइ, लाल मोहम्मद हत्याकाण्डमा तीन जना सार्वजनिक
आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेताबारे ओलीले आन्तरिक छलफलमा हुनुहुन्छ ।
आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आउनुभएको छ । एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् ।
तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा रहनुभए को बुझिएको छ ।
पार्टीको हिजो मध्यरातसम्म चलेको सचिवालय बैठकले आगामी निर्वाचनमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श गरेर उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।
यता १० भाईमध्येका एक एमालेका केन्द्रीय सदस्य भीम आचार्यले भने टिकट बिषयमा बाहिर आएका कुराहरु हल्ला मात्रै भएको बताउनुभएको छ । रेडियो अन्नपूणर् नेपालको इन्टरभ्यूअफ द डे मा कुरकानी गर्दै आचार्यले उम्मेदवार बन्न पार्टीका सिद्धान्त मान्नुबाहेक कुनै शर्त नरहेको पनि स्पष्ट पार्नुभएको छ । निर्वाचन नजिकिएसँगै पार्टी कार्यालयमा टिक माग्नेहरुको भिड बढ्नु स्वभाविक भएपनि अध्यक्ष ओलीले कसैलाई काखापाखा गरेको आधारमा बुझ्न नहुने उहाँको भनाइ छ ।
गठबन्धन
काठमाडौ । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनमा भने सिट बाँडफाँटको विवाद अझै मिल्न सकेको छैन । शिर्ष नेतृत्व र कार्यदल तहमा गरी पटक पटक छलफल भएपनि सिट भागबन्डा टुंग्याउन सकेको छैन । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भएपनि गठबन्धनले अझैसम्म सिट बाँडफाँटमा पनि सहमति जुटाउन सकेको छैन । हिजो अबेरसम्म बसेको बैठकले बाँडफाँट टुंग्याउन नसकेपछि आजपनि गठबन्धनमा छलफल हुने भएको छ ।
बाँडफाँटको विषयमा लगभग सहमति भएको दाबी गर्दै गठबन्धनले आज साँझसम्म टुंग्याएर सहमति सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ । बालुवाटारमा बस्ने गठबन्धन बैठक अघि दलहरु आन्तरिक छलफलमा जुट्ने भएका छन् । कांग्रेसभित्र जारी समानुपातिक बन्दसूचीविवाद र गठबन्धनमा दलहरुले दाबी छाड्न नमानेका कारण प्रत्यक्षतर्फको सिट सङ्ख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।
माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा विवाद देखिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन । सत्ता गठबन्धनकै दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमति हुन लागेको भनिए पनि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।
राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ जान्छु : रवीन्द्र मिश्र
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्न जाने बताउनुभएको छ । काठमाडौंको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणा गर्दै उहाँले नेपालमा कुनै न कुनै रुपको राजसंस्था पुनःस्थापना गर्नैपर्ने आवश्यकता औंल्याउनुभयो ।
आफूले राजाको माया लागेर वा केही पाउँछु भनेर राजसंस्थाको कुरा नगरेको भन्दै मिश्रले यसअघि २०७४ को चुनावमा अहिलको व्यवस्था बोकेर हिँडेको तर, थोरै समयमा यो देश भड्खालोतिर जाँदैछ भन्ने महशुष भएकोले अबको चुनावमा राजसंस्था पुस्थापनाको मुद्धा बोक्ने निणर्य गरेको बताउनुभयो । उहाँले नेपालका संस्थाहरू क्षयीकृत भइरहेकोले यदि राजसंस्थाजस्तो लामो ऐतिहासिक विरासत भएको संस्थालाई खोपामा भएपनि नराख्ने हो भने संकट पर्दा ऐया भन्ने समय पनि नपाउने उल्लेख गर्नुभयो ।
’प्रेस अफिस’ सञ्चालन
काठमाडौ । निर्वाचन आयोगले सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहने गरी सर्वसाधरणको सामाजिक सञ्जाल, मिडिया अनुगमन गर्ने ’प्रेस अफिस’ आजबाट सञ्चालनमा ल्याएको छ । अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित खालको संरचना बनाउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संस्थाले प्रश्न उठाइरहेको बेला आयोगले यस्तो संरचना औपचारिकरुपमा सञ्चालनमा ल्याएको हो । यसअघिका निर्वाचनमा सञ्चारमाध्यममा आउने सामग्रीको अनुगमन प्रेस काउन्सिलले गर्दै आएकोमा यसपटक आयोगले आफैं गर्न लागेको हो ।
मिडियामा आउने सामग्री र सर्वसाधरणको सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको एउटै कोठामा सेना र प्रहरीको साइबर ब्युरोको प्रतिनिधि, विज्ञापन बोर्ड, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिलाई राखिएको छ ।
नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ । आयोगको निणर्य तत्काल नसच्याए नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने चेतावनी महासंघले दिएको छ । महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको पनि स्मरण गराएको छ । निर्वाचन आचारसंहिता अन्तर्गत प्रेससँग सम्बन्धित विषय महासंघलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासंघले गरेको आग्रहलाई समेत आयोगले बेवास्ता गरेको आरोप महासंघले लगाएको छ ।
लाल मोहम्मद हत्या आरोपित सार्वजनिक
काठमाडौ । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले आज सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो ।
वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ । गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।
मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए । घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।
पक्राउ परेकामध्ये खान र मियाँ सुटरलाई हतियार व्यवस्थापन गर्ने कार्यमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुलाई भारतीय नागरिकले हतियार दिएका थिए । वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले २ असोज अर्थात घटनाको अघिल्लो दिन नै सुटरलाई हतियार बुझाएका थिए । त्यहाँबाट फर्किएका उनीहरु हालै पक्राउ परेका हुन् ।
स्कन्दमाताको पूजागरिंदै
काठमाडौ । नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ।भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो ।स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक पनि मानिन्छ ।धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पुज्ने गरिन्छ ।
शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
आजपनि विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा बिहानैबाट दर्शनार्थीको भीड लागेको छ ।
प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन : चाडबाडमा बत्ती जान नदिनू
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । प्राधिकरणका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने
काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म डेंगु परीक्षण बन्द गर्ने निणर्य गरेको छ । तर, कोभिड-१९ को परीक्षण भने दसै बिदाको दिनमा समेत गरिने भएको छ । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताउनुभएको छ ।
प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरिएको छ । प्रयोगशालाका कर्मचारीहरुले डेंगु प्रकोप बढिरहेका बेला परीक्षण जारी राख्नुपर्ने बताएका छन् । डेंगुका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ ।
सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयु, ३८ जना भर्ना र इमरजेन्सीमा ५० जना उपचारर्थ छन् । दैनिक ओपीडीमा डेढ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
सवारी दुर्घटना न्युनिकरण गर्न बागमतीमा ’टाइम कार्ड’
काठमाडौ । बागमती प्रदेशमा सवारी दुर्घटना न्यूनिकरण गर्न ’टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको विशेष सक्रियतामा प्रदेशअन्तरगतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो । चाडबाडको समयमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता दिपक रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सुरक्षा समितिको निणर्यअनुसार थप जिल्लामा टाइम कार्ड लागू गरिएको हो ।
सिन्धुलीहुँदै जाने बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागू गरिएको थियो । थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको हो । मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाट र बीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म ’टाइम कार्ड’ थप गरिएको हो ।
हातहतियार प्रहरीमा बुझाउन प्रशासनको आग्रह
काठमाडौ । सर्वसाधारणसित भएका अनुमतिपत्र प्राप्त हातहतियार (बन्दूक) यथाशीघ्र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो । विधिवत् रूपमा बुझाएको हतियार प्रहरी कार्यालयले चुनाव सकिनासाथ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत
काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूणर् १० वर्ष बिताएको काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो ।
महाकवि देवकोटाको जीणर् भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ ।
छोराको हत्या गर्ने बाबु पक्राउ
काठमाडौ । २० वर्षीय छोराको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका ४५ वर्षिय लौरंगलाल थारु २० वर्षीय छोरा विवेक चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन् । बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए ।
घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए । उनको खोजीको क्रममा आज गुलरिया नगरपालिका-११ इन्द्रपुर स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको बर्दियाका प्रहरी नायक उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो ।
आर्थिक खबर
नेपालको निर्यात सम्भावना वार्षिक करिब १२ खर्ब : विश्व बैंक
काठमाडौ । नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको बताउनुभएको हो । यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ ।
व्यापारघाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ । नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताउनुभयो ।
एउटै खालको भौगोलिक अवस्था भएका देशहरुको उदाहरण दिँदै उनिहरुले ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुहरू, विद्युतीय ऊर्जा थपेको उहाँले उल्लेख गर्नुभयो । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्ने बताउनुभयो ।
आर्थिक खबर
सोमालियामा अल सेबाबका ४० आतंककारी मारिए
काठमाडौ । सोमालियाको सेनाले गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जनाको मृत्यु भएको छ।बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकूहरु मारिएका बताइएको छ । सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाकु मारिएको र अरु केही घाइते भएको जनाएका छन् ।
सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ । कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन्। उनलाई अल सेबाब संगठनका आतंककारीले गोली हानेका थिए। हिरान क्षेत्रमा अल सेबाबका लडाकूले विगत लामो समयदेखि आतंक मच्चाइरहेको र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको जनाइएको छ ।
अफगानिस्तानको एजुकेसन सेन्टरमा विस्फोट, १९ जनाको मृत्यु
काठमाडौ । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा परी १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।
यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।तालिबान सरकारको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।
खेल खबर
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले आज महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।समूह ’बी’ मा नेपाल पुलिस क्लब, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेबाट १ कात्तिकसम्म हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।