अन्नपूर्ण दिनभर : सिट बाँडफाँट टुंग्याउन गठबन्धनभित्र अन्तिम कसरत, डेंगु संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
सिट बाँडफाँट टुंग्याउन गठबन्धनभित्र अन्तिम कसरत
काठमाडाै । मंसिर ४ गते हुन प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ पाँच दलहरु अन्तिम कसरतमा जुटेका छन् । दशैं अघि नै भागबण्डा टुंग्याउन नेताहरू अन्तिम कसरतमा जुटेका हुन् । निर्वाचन आयोगले असोज २३ गते प्रतयक्षतर्फ मनोनयन दर्ता गर्ने मिति तय गरेको छ । गठबन्धनका एक नेताका अनुसार प्रतिनिधिसभामा कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सम्भावना छ ।
तर, यो नै गठबन्धनभित्रको अन्तिम सहमति नभएको कार्यदल सदस्यसमेत रहनुभएका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले अन्नपूणर्लाई जानकारी दिनुभयो । सत्ता गठबन्धनमा दलहरुले अहिले पनि आ-आफ्नो दाबी पेस गरिरहेका छन् । सिट भागबण्डा टुंग्याउन नेताहरूलाई निकै सकस परेको बताइएको छ । दोस्रो तहका नेताहरुले सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरूलाई आफ्नो दाबी नछोड्न चुनौति दिइरहेका छन् ।
सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टीले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निणर्य हुन अझै बाँकी रहेको बताइएको छ । नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुईटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेशमा जितेको थियो ।
यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीले २४ सिटको दावीलाई निरन्तरता दिने जनाएको छ। आजको बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँटमा नेकपा एकिकृत समाजवादीले संसदमा प्रत्यक्ष र समानूपातिक संख्यालाई जोडेर आउने संख्याका आधारमा सिट बाँडमा सहमति हुने सो पार्टीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।
रेडियो अन्नपूण नेपालसँगको कुराकानीमा उहाँले बाँडफाँटको बिषय अब सहज बन्दै गएको भन्दै सामान्य हेरफेरपछि आजै टुँग्याउने गृहकार्य भएको बताउनुभयो । गठबन्धनमा नेकपा एसको २४ सिट तथा जसपाको १२ देखि १५, माओवादीको ४९ र कांग्रेसको ६३ सिट रहने उहाँले बताउनुभयो ।
शेखर कोइरालाको चियापान : कार्यकर्तालाई टिकटको आश, नेतृत्व नाजवाफ
काठमाडाै । सत्तारुढ दल नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ । संस्थापन पक्षले समानुपातिकतर्फको बन्दसूचीमा एकपक्षीय ढंगले उम्मेदवारको नामावली पेस गरेको भन्दै संस्थापन इतर पक्ष चिढिएको थियो ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटमा लागिरहेका बेला शेखर पक्षले भने कांग्रेसभित्रैबाट आफूलाई ४० प्रतिशत दिनुपर्ने माग गर्दै आएको छ । समानुपातिक तर्फको बन्दसूची बुझाउँदा नै सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध मात्र होइन शेखर पक्ष आन्दोलनमै उत्रिएको छ ।
आन्दोलनकै क्रममा हिजो शेखर पक्षका नेताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । आज डा शेखर कोइरालाले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा दशैं तथा दिपावलीको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको थियो । चियापान कार्यक्रममा कोइराला पक्षका धेरै नेताले कार्यकर्तालाई टिकटको आश गर्दा शिर्ष नेताहरुले भने आश्वासन दिनुबाहेक कुनै जवाफ दिन सकेका थिएनन् ।
पछिल्लो समय सिट बाँडफाँडलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको विवाद सत्ता गठबन्धनकै मुद्दा बनेको छ । कांग्रेसको असन्तुष्ट समूहले आफ्नै पार्टी र अन्य दलमाथि दबाब बनाएपछि गठबन्धनभित्रै यस विषयले प्रवेश पाएको हो ।
कांग्रेसको असन्तुष्ट समूहले सिट बाँडफाँडमा आफ्नो समूहलाई नसमेटे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिएपछि राजनीतिक तरंग पैदा भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेसको आन्तरिक विवाद र निर्वाचनमा गठबन्धनको विषयमा चासो राख्नुभएको छ ।
बन्दसूची संशोधन गर्दै आयोग, जरिवाना नतिर्ने ४५० जनाको उम्मेदवारी रद्द हुने
काठमाडाै । निर्वाचन आयोगले राजनीतिक दलले पेश गरेको समानुपातिकतर्फको बन्दसूची संशोधन गर्न थालेको छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ४८ वटा राजनीतिक दलले आयोगमा बन्दसूची बुझाएका थिए । सो बन्दसूची नमिलेपछि आयोगले सबै राजनीतिक दललाई पत्राचार गर्दै संशोधन अघि बढाएको हो ।
निर्वाचन कार्यक्रमअनुसार असोज १० देखि १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने कार्यतालिका छ । आयोगले आन्तरिक रुपमा बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण पेश नगरेर जरिवानामा परेनपरेको छुट्टै सूची पनि तयार गरिरहेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलले पेश गरेको बन्ससूचीमा स्थानीय तह निर्वाचनको खर्च विवरण पेश नगरेर जरिवानामा परेका साढे ४ सय उम्मेदवार समेटिएको जानकारी दिनुभयो । उहाँले तोकिएको जरिवाना नतिरे उनीहरुको नाम बन्दसूचीबाट हटाइने पनि स्पष्ट पार्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूले तोकिएको जरिवाना जसरी पनि तिनुपर्ने र त्यसमा आयोगले दायाँबायाँ केही गर्न नसक्ने बताउनुभयो । असोज १६ गतेभित्र जरिवाना नतिरे उनीहरुको उम्मेदवारी रद्द हुनेछ । जरिवाना नतिरी उम्मेदवार हुन नपाइने भएपछि अहिलेसम्म ८ जनाले जरिवाना तिरेको आयोगले जनाएको छ ।
आयोगले जरिवाना तिर्न ६ महिनाको समय दिएको छ । सो अवधिभित्र जरिवाना नतिरे जनप्रतिनिधि भए पद जाने र पराजित उम्मेदवार हो भने ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी कालोसूचीमा राखिनेछ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमा उम्मेदवारी दिएका १ लाख २३ हजारभन्दा बढी निर्वाचित तथा पराजित उम्मेदवारले कम्तिमा डेढ लाखदेखि बढीमा साढे ७ लाखसम्म जरिवाना तिनुपर्नेछ ।
रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल
काठमाडाै । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ ।
मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो ।
हाल विवेकशील साझा पार्टीमा प्रवक्ता रहनुभएका प्रकाशचन्द्र परियारले अब पार्टीमा कोही राजतन्त्रवादी बाँकी रहे उनीहरुलाई कारबाही गरिने बताउनुभएको छ । मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरेर विवेकशील साझा पार्टीलाई वृहत वैकल्पिक शक्तिको केन्द्र बनाउन अन्य समूहहरुसँग पनि छलफल भइरहेको उहाँले बताउनुभएको छ । राजसंस्था पुनर्स्थपनाको एजेन्डा बोकेका मिश्र पक्षबाहेक अन्य नेताहरु आफूहरुसँगै रहेकाले पार्टीलाई उनको राप्रपा प्रवेशले असर नगर्ने उहाँले बताउनुुभएको छ ।
राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने
राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयले आज प्रेस नोट जारी गर्दै राष्ट्रपतिले टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ । त्यसअघि उहाँले इच्छुक सम्माननीय, मन्त्रीहरु, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाउने प्रेस नोटमा उल्लेख छ । त्यसका लागि दिउँसो २ देखि ३ बजेको समय तोकिएको छ ।
डेंगुबाट एकैदिन २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो
काठमाडाै । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो ।
योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कणर्ाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।
पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्न, एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउन तथासम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
वडाध्यक्ष प्रहरी नियन्त्रणमा
बाजुरामा पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै एक जना दलितलाई कुटपिट गरेको भान्दै प्रहरीले वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीलाई प्रहरीले पक्राउ गरेका हो । अध्यक्ष ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र सुनारले बताउनुभएको छ ।
नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भई हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ऐडीको समूह पूजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै हातपात गरेको पिडित सुनारले बताउनुभएको छ । ‘डुम’ भन्दै जातीय विभेद गर्नुका साथै आफूलाई चार पाँच जनाको समूह मिलेर हातपात गरेको उहाँको भनाई रहेको छ ।
बडिमालिका प्रहरी चौकीका अनुसार वडा नम्बर ७ का वडा अध्यक्ष ऐडी र मन्दिरका पुजारी रङ्ग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछि वडाध्यक्षलाई सोधपुछका लागि जिल्ला लगिएको हो । घटनामा संलग्न अरु फरार रहेका कारण उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनभयो ।
यता त्रिवेणी नगरपालिकाका अध्यक्ष कणर् बहादुर थापाले भने दोषी प्रमाणि भए कारवाही हुनुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूणर् नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै थापाले छानविनपछि वास्तविकता बाहिर आउने पनि बताउदै पवित्र धार्मिक स्थालमा त्यसो हुनु दूर्भाग्यपूणर् भएको बताउनुभएको छ । नगरपालिकाभित्र जातीय विभेद गर्न कसैलाई छुट नभएको पनि अध्यक्ष थापाले बताउनुभयो ।
आज कुष्माण्डा देवीको पूजा गरिदै
बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा लिने गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको शास्त्रमा उल्लेख छ ।
कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भएपनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सन्सारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पुज्ने गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकमानेर नवरात्रको चौथो दिन आज यसको विधिपूर्वक पूजाआजा गर्ने चलन रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
मुस्लिम आयोगले दियो दशैंको शुभकामना
मुस्लिम आयोगले हिन्दू नेपालीहरूको महान चाड दशैंको अवसरमा शुभकामना दिएको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज कार्यालयमै दशैं एवं तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी दशैंको शुभकामना दिनुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेपालमा जातीय, धार्मिक तथा साम्प्रदायिक एकता र सद्भाव रहेको बताउनुभयो । उहाँले देशभित्र धार्मिक र सामुदायिक सद्भाव भड्काउन गलत तत्वहरूले प्रयास गरिरहे पनि सो प्रयास सफल नहुने दाबी गर्नुभयो ।
अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरूमा हिन्दु-मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको बताउदै त्यस्ता गतिविधिबाट बच्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताउनुभयो ।
कान्ति बाल अस्पतालमा लेखा शाखा प्रमुखको कार्यकक्षमा ताला
काठमाडाै । दसैंको मुखमा कर्मचारीलाई तलब भत्ता नदिएको भन्दै कान्ति बाल अस्पतालको लेखा शाखा प्रमुखको कार्यकक्षमा पीडित कर्मचारीले ताला लगाएका छन् । पीडित कर्मचारीले अस्पतालका लेखा शाखा उपसचिव श्रीराम दाहालको कार्यकक्षमा मंगलबारदेखि तालाबन्दी गरेका हुन् ।
अस्पतालसँगको सहमतिअनुसार कर्मचारीलाई वेवास्ता गरिएको पीडित कर्मचारीको भनाइ छ । पीडित कर्मचारी शिव प्याकुरेलले माग सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहने अन्नपूणर्लाई जानकारी दिनुभयो ।
अभिमुखीकरण व्यवसायीले बेवास्ता गरे विभागको अनुगमन, कारबाही गर्ने चेतावनी
काठमाडाै । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवसायीले अनलाइन अनुगमनलाई प्रभावित पारेको जनाएको छ । विभागले आधिकारिक नम्बरबाट फोन, भाइबर कल र ह्वाटसएपबाट समेत तालिम सञ्चालकहरूलाई कक्षा सञ्चालनको दृश्य अवलोकन गराउन अनुरोध गरे पनि विभिन्न बहाना बनाउने र फोन नउठाउने जस्ता कार्य गरी अनलाइन अनुगमनलाई प्रभावित पार्ने र बेवास्ता गर्ने गरेको भन्दै फेरि पनि यस्तो कार्य गरेमा कारबाही गर्ने विज्ञप्ति जारी गरेको छ ।
विभागले प्रत्यक्ष र अन्य विभिन्न माध्यमबाट समेत अनुगमन गर्ने भन्दै विभागबाट भएका सबै खाले अनुगमनलाई अभिमुखीकरण तालिम सञ्चालकले सघाउन पर्ने र त्यसो नगरेमा कारबाही हुने उल्लेख छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूले नयाँ श्रम स्वीकृति लिएर जाँदा अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम लिन पर्छ । तर अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ ।
किसानलाई वितरण गरिने गहुँको बिउ किराले खायो
काठमाडाै । धनुषाको बटेश्वर गाउँपालिकामा किसानलाई बाँड्न खरिद गरेर ल्याएको गहुँको बिउँ किराले खाएको छ । ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ बजेटमा गत पुस महिनामा खरिद गरेको मध्ये ४२ बोरा गहुँको बिउ किराले खाएको हो ।
गाउँपालिका कार्यालयको भवनको एक कोठामा प्रति बोरा ४० किलोको दरले झण्डै १७ क्वीन्टल गहुँ थन्किएको हो । सयममै वितरण गर्न नसक्दा गहुँको बिउ किराले खाएको गाउँपालिका कार्यालयकी कृषि शाखा संयोजक सिर्जना लामाले बताउनुभयो । कार्यालयका लेखा अधिकृत सुमन पुरीका अनुसार ससर्त तर्फ दुई चरणमा २० लाखको गहुँ खरिद गरिएको थियो ।
गहुँ बाली प्रवर्द्धन कार्यक्रम निर्देशिका, पकेट विकास कार्यक्रम अन्तर्गत खरिद गरेको गहुँको बिउ ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्नुपर्ने भएपनि तत्कालिन गाउँपालिका आध्यक्ष डम्बर बहादुर राउतले पहिलो चरणमा खरिद गरि ल्याएको गहुँको बिउ निर्देशिकाको पालना नगरी मनपरी ढंगले प्रायः आफ्ना निकटलाई बढी परिमाणमा निःशुल्क रुपमै बाँडको बुझिएको छ ।
जिल्ला अस्पताल हुम्लामा औषधिको चरम अभाव
काठमाडाै । जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको रचम अभाव देखिएको छ । १५ शय्या रहेको एक मात्रै जिल्ला अस्पतालमा १५ दिनदेखि औषधिको चरम अभाव देखिएको हो । बहिरंग सेवामा औषधि वितरणमा खटिनुभएका स्वास्थ्यकर्मी जगवीर रावतले दैनिक २० देखि २५ जना बिरामी बालबालिका उपचारका लागि आउने गरे पनि उनीहरूका लागि चाहिने सिटामोल सिरम, खोकीको सामान्य औषधिसमेत नभएको बताउनुभयो ।
जिल्ला अस्पतालको स्टोर सम्हाल्दै आउनुभएका कलबहादुर रावतले १५ देखि २० थरीका औषधि अभाव भएको बताउनुभयो । उहाँले टेन्डर र कोटेसनमा जिल्ला स्वास्थ्य कार्यालयले ढिलाइ गरेपछि अस्पतालमा औषधि अभाव देखिएको बताउनुभयो । जिल्ला अस्पताल हुम्लाको इमर्जेन्सी वार्डमा एरएल स्लाइनदेखि १० एमएल, तीन एमएल, पाँच एमएलका सिरिन्ज नभएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।
फुटपाथ व्यवस्थापन गर्ने अभियानलाई कुनै पर्वले नरोक्ने बालेनको भनाई
काठमाडाै । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले आज एक विज्ञप्ति जारी गर्दै पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक नभई दीर्घकालीन रूपमा कार्यक्रम चलाउने बताउनुभएको हो ।
फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उहाँले सडकमा पैदल यात्रीको पहिलो अधिकार रहने र यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको बताउनुभयो । उहाँले फुटपाथ व्यवस्थापन कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने पनि स्पष्ट पार्नुभयो ।
आर्थिक खबर
शेयर बजार
काठमाडाै । दसैं अघिको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ । आज जीवन बीमाबाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ ।
हिजो ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।
आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।
दशैंको चहलपहलले बढ्यो पेट्रोलियम पदार्थको खपत
काठमाडाै । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले बताए ।
१ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ । डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ ।
यस्तै, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ । दशैंमा जहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धनको बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको निगमले जनाएको छ ।
।
भारतको सर्वोच्च अदालतले भन्यो
काठमाडाै । भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार आज सर्वोच्च अदालतका न्यायाधीशहरू डिवाई चन्द्रचुद, जेबी पर्दीवाला र एएस बोपान्नाको संयुक्त इजलासले मेडिकल टर्मिनेसन अफ प्रेग्न्यान्सी ऐनको व्याख्या गर्दै वैवाहिक अवस्थाले गर्भपतनमा कुनै प्रभाव नपार्ने बताएको हो ।
सर्वोच्चले गर्भपतन कानुनमा महिलाको वैवाहिक अवस्थाका कारण गरिने विभेद काल्पनिक र संवैधानिक हिसाबले नमिल्ने कुरा भएको बताएको छ । यस्तो विभेदले विवाह नगरेका महिलाहरू यौनमा सक्रिय हुँदैनन् भन्ने परम्परागत मान्यतालाई निरन्तरता दिने सर्वोच्चले उल्लेख गरेको छ । भारतमा सन् १९७१ बनेको सो ऐन गत वर्ष संशोधन गरिएको थियो ।
संशोधनले विवाहित र अविवाहित महिलालाई गर्भपतनसम्बन्धी छुट्टाछुट्टै व्यवस्था नगरेको उल्लेख गर्दै सर्वोच्चले सो हक सबै महिलालाई हुने व्याख्या गरेको हो । गत असारमा अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूले गर्भपतन गर्न पाउने ५० वर्ष पुरानो फैसला उल्ट्याएको थियो ।
खेल खबर
एएफसी यु-१७ पुरुष फुटबल टिमको घोषणा
काठमाडाै । एएफसी यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गर्नुभएको हो । श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गर्नुभएको हो । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसी यु-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् । टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।
अक्टोबर ५ तारिखदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । नेपालले अक्टोबर ५ मा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ ।
यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर नौ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ । एएफसीको एसिया कप छनोट खेल्न नेपाली टोली आईतबार भियतनाम प्रस्थान गर्नेछ ।