अन्नपूर्ण दिनभर : राप्रपा र रवीन्द्र मिश्र पक्षबीच पार्टी एकता, पार्टी कार्यालयमा काँग्रेसको शेखर पक्षको धर्ना
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको पुनर्स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन् ।
आज एकता घोषणा कार्यक्रममा एक सम्झौतामा हस्ताक्षर गर्दै उनीहरुले यी दुई मुद्दामा सहमत रहेको बताएका हुन् ।
विश्वासिलो र बलियो ‘सम्बर्द्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको सहमति पत्रमा उल्लेख छ । पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका हुन् ।
मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष रहने पनि सोही सम्झौतामा उल्लेख छ । शंखघन्टको ध्वनीसहित एकता पत्रमा हस्ताक्षर गरेका लिङ्देन र मिश्रले एकअर्कालाई माला लगाइदिएर सँगै अघि बढ्ने ऐक्यवद्धता जनाएका छन् ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गर्नुभयो । काठमाडौंका मेयर बालेन्द्र साहले चुनाव जितेको उदाहरण पेश गर्दै लिङ्देनले आगामी चुनावमा पनि जनताले विश्वासिलो विकल्प खोजिरहेको बताउनुभयो ।
यस्तै वरिष्ठ उपाध्यक्ष मिश्रले नेपाली कांग्रेसको आदर्श अब आफ्नो पार्टी (राप्रपा)ले बोक्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता बीपी कोइरालाले लिएको कांग्रेसको आदर्श नीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोक्ने मिश्रको भनाइ छ । कांग्रेसका केही नेताले आफूमा विचलन आएको बताएको भन्दै मिश्रले प्रतिप्रश्न गर्नुभएको थियो ।
मिश्र पक्षका केही नेताहरु क्रमशः राप्रपा प्रवेश गर्ने तयारी गरिरहेको श्रोतले बताएको छ । केही शिर्ष नेताहरुले राप्रपामा महामन्त्री लगायत अन्य पदहरुमा बार्गेनिङ गरिरहेको र सहमती भएलगत्तै पार्टी प्रवेश गर्ने तयारी गरिरहेको बुझिएको छ । मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिदा पनि पार्टीका उसन्तुष्टि देखिएकाले अरु पदहरुमा समेत असन्तुष्टि देखिनसक्ने सम्भावना छ ।
राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले भने पद र टिकटको बिषयलाई लिएर पार्टीभित्रै कुनै असन्तुष्टि नरहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै श्रेष्ठले देशले मागेको परिवेश दिँदा पद गौण हुने बताउनुभयो । रवीन्द्र मिश्र राप्रपाको वैचारिक सिद्धान्तलाई स्वीकार गरेकै कारण एकता भएको पनि स्पष्ट पार्नुभएको छ ।
समानुपातिक उम्मेदवार सूची संशोधन गर्न माग गर्दै कांग्रेस कार्यालयमा धर्ना
काठमाडौ । नेपाली कांग्रेसका संस्थापनइतर समूहले समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
समानुपातिक उम्मेदवारको सूची सच्याउन माग गर्दै आन्दोलित सो समुहले यसअघि नै निर्धारित आन्दोलनको कार्यक्रम अनुसार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो । दिउँसो १ देखि २ बजेसम्म उनीहरूले सान्तीपूर्ण रुपमा धर्ना दिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउँदा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोप लगाएका छन् । असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग उनीहरुको माग छ । तर संस्थापन पक्षले भने सबैको सहमतिमै बन्दसूची तयार पारिएको प्रष्ट पारेको छ ।
यस्तै, भोलि बत्तिसपुतलीमा चियापान गर्ने र शुक्रबारसम्म पनि समानुपातिक सूची संशोधन नगरिए बालुवाटारमा धर्ना दिने तयारी असन्तुष्ट समूहको छ। यस विषयमा रेडियो अन्नपूर्ण नेपालसँग बोल्दै कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले कोइराला पक्ष विधि बिधान र प्रक्रिया विरुद्ध बिरोधमा लागेको बताउनुभयो ।
कोइराला समूहको भेला बत्तीसपुतलीमा
काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको छ । सानेपास्थित केन्द्रीय मुख्यालयमा आज एक घण्टासम्म मौन धर्ना सकेलगत्तै नेता कोइरालाले धर्नामा रहेका नेता कार्यकर्तालाई बोलाएर बत्तीसपुतलीस्थित एक होटलमा छलफल गरिरहनु भएको छ ।
छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने उपस्थित नरहेको जनाइएको छ । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गरिरहुनभएको छ ।
दसैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
काठमाडौ । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि खुल्ने भएको छ । अदालत बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने जनाइएको छ ।
दसैं पर्वका अवसरमा घटस्थापनाको दिनदेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न सो समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।
दलका घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषय पनि समावेश गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दलहरूलाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो ।
आयोगले सबै राजनीतिक दललाई आफ्नो प्रतिज्ञापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि प्रतिबद्धता समावेश गर्न आग्रह गरेको हो ।
आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट मात्रै समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको स्मरण गराउँदै त्यसका लागि राजनीतिक दलहरूको प्रमुख भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भयरहित, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आग्रह गर्दै त्यस सम्बन्धमा आयोगले गरेका सिफारिसहरूको कार्यान्वयनका लागि समेत सचेत गराएको छ ।
डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, संक्रमित संख्या २७ हजार नाघ्यो
काठमाडौ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।
हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चट्याङ लागेर सुनसरीमा २ जनाको ज्यान गयो
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।
भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएको हो भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएको डीएसपी राईले जानकारी दिनुभयो ।
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौ । नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो ।
बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र कल्याणकारी रहेको छ । अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ ।
चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।चन्द्रघण्टा देवीलाई दूध अथवा दूधबाट बनेको परिकारहरू चढाउने चलन छ ।
अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री काठमाडौंमा
काठमाडौ । अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नभएको छ । वैश्विक सार्वजनिक मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाडौं आइपुग्नुभएको हो ।
नेपाल भ्रमणका क्रममा उहाँले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उहाँले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी जनाउनुहुने छ ।
ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनस्स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नुहुनेछ । नेपालसँगै उहाँले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । आजदेखि सुरु हुने उहाँको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।
आर्थिक खबर
उद्योगको संख्या ६० हजार १८५, लगानी ६ खर्ब १९ अर्ब
काठमाडौ । हाल देशभर उद्योगहरुको संख्या ६० हजार १८५ पुगेको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भे रिर्पोटमा यस्तो विवरण सार्वजनिक भएको हो ।
विवरणअनुसार उद्योग क्षेत्रमा नेपालमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको छ भने यस क्षेत्रमा सक्रिय जनशक्ति ४ लाख ९१ हजार २२७ जना छन् ।
जसमध्ये ३ लाख ८१ हजार ६८७ जना श्रमिक रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । यी उद्योगहरुले वार्षिक पारिश्रमिकमा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३४ हजार खर्च गर्ने गरेको अध्ययनमा देखिएको छ । उद्योगहरुको कुल उत्पादनको मूल्य १२ खर्ब १ अर्ब १७ करोड ७ लाख २९ हजार छ ।
जसमा कुल लगानी ८ खर्ब ४६ करोड ६५ लाख ८८ हजार ९६ हजार र यसमा मूल्य अभिवृद्धि ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख ३३ हजार रहेको अध्ययनले देखाएको छ । नेपालमा खानी क्षेत्रमा ३५६ र उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत, ग्याँस क्षेत्रमा ९९४ र पानी तथा यसको वितरणका क्षेत्रमा २ हजार २२४ वटा उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ ।
नेप्सेको वृद्धिदर र कारोबार रकम दुबै खुम्चियो
काठमाडौ । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ । नेप्सेमा वृद्धि भएपनि आज कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । आज नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ ।
खाद्यले बिक्री गर्न थाल्यो खसी च्यांग्रा
काठमाडौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । आज बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।
कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १ हजार २६० र खसी–बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकिलो तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको जनाएको छ ।
छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमशः ६७० रुपैयाँ र १ हजार २५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।यसपटक ३ हजार वटा खसी–बोका किन्ने लक्ष्य राखेपनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।
विदेशका खबर
जनमत संग्रह सम्पन्न
काठमाडौ । युक्रेनले रुसले जनमत संग्रहका नाममा कब्जा गरेका क्षेत्र मुक्त गरेरै छाड्ने दावी गरेको छ । रुसले आफ्नो कब्जामा रहेका चार युक्रेनी क्षेत्रमा गरेको जनमतसंग्रह नतिजा सार्वजनिक गर्दै सतप्रतिशत नागरिक रुसमा समेल हुन चाहेको दाबी गरेपछि युक्रेनले यस्तो प्रतिक्रिया दिएको हो ।
हिँजो सम्पन्न भएको रुसी जनमतसंग्रहमा ९९ दशमलव २३ प्रतिशतले मतदान गरेको जनमत संग्रहको घोषणा लगत्तै युक्रेनको विदेश मन्त्रालयले ति क्षेत्र फिर्ता हुने दावी गरेको हो ।
रुसी सेनाले कब्जा गरेको युक्रेनी भूभागलाई मुक्त गर्ने प्रयासमा युक्रेन अघि बढ्ने विदेश मन्त्रालयले जनाएको हो । साथमा युक्रेनले जनमत संग्रहलाई अपराधको संज्ञा दिएको छ । युक्रेनले रुसमाथि थप प्रतिबन्ध लगाउन र शिघ्र सैन्य सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग आह्वान पनि गरेको छ । मतदान प्रक्रिया अन्तर्राष्ट्रिय मान्यताको अभावमा भएको साथै यसको स्वतन्त्र रूपमा अनुगमन नभएको बताइएको छ ।
युक्रेनको करिब १५ प्रतिशत भूभाग ओगटेका चार क्षेत्र खेर्सन, लुहान्स्क, डोनेस्क र जापोरिज्जियामा रुसमा सामेल हुने वा नहुने भन्ने विषयमा भएको ५ दिने जनमत संग्रहको आज मतपरिणाम आएको हो । पाँच दिने जनमत संग्रहको क्रममा रूसी सेनाले मतपेटिका घर–घरमा लैजाने र युक्रेनीहरूलाई मतदान गर्न बाध्य पारेको रिपोर्टहरू पनि सार्वजनिक भएका थिए । यस अघि युक्रेनले जनमत संग्रहमा सहयोग गर्ने युक्रेनीहरूलाई देशद्रोहको आरोप र कम्तिमा पाँच वर्षको जेल सजाय गर्ने चेतावनी दिएको थियो ।
खेल खबर
एन्फा सदस्यमा रुपेश र दीपेन्द्र निर्वाचित
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । आज सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएसँगै कार्यसमितिले पूर्णता पाएको हो । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।
आज त्रिपुरेश्वरमा भएको विशेष साधारण सभाबाट सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका हुन् । विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।
असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षहरू दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए ।
यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टीका लामा, अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए ।