Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसको विद्रोही समूहलाई अनुशासनको दायरामा ल्याउने संस्थापन पक्षको चेतावनी  

आयोगले प्रस्ताव गर्यो निर्वाचन क्षेत्र अनुसारको उम्मेदवारको खर्च विवरण

काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो ।

आयोगले प्रतिनिधि सभातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो । जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ । त्यस्तै, प्रदेश सभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ ।

आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख र प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

यस पटकको खर्च सीमा निर्धारण गर्दा आयोगले विभिन्न तीन आधार तयार गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कूल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमि)लाई २५ प्रतिशत र मतदान केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो । १८ प्रतिशत मुद्रास्फिति पनि जोडिएको छ ।

निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले खर्च गर्नेपनि वाध्यकारी अवस्था नभई आयेगले हद मात्र तोकिदिएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै पौड्यालले समिति बनाएरै खर्चको मियमन गरिनेपनि बताउनुभयो ।  मतदाताको कुल संख्या, तथा निर्वाचन क्षेत्र र क्षेत्रफल र मुद्रास्फितीका आधारमा बैज्ञानिक ढंगले नै खर्चको सिमा तोकिएको पनि दावी गर्नुभएको छ । 

कांग्रेस : विद्रोही समूहका गतिविधिमा कांग्रेसको निगरानी

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा.शेखर कोइराला समूहका नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई अनुशासनको दायरमा ल्याइने चेतावनी दिनुभएको छ ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा.महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताउनुभयो ।

महतले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको दावी गर्नुभएको छ । उहाँले पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने के गर्ने भन्ने पार्टीको विधि अनुसार हुने बताउनुभयो ।

शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ । सो समुहले समानुपातिक निर्वाचन प्रर्णालीतर्फको उम्मेदवार छनोटमा अन्याय भएको भन्दै बन्द सुची सच्याउन माग गरेर आन्दोलनको घोषणा गरेको छ । बन्दसुची नसच्याए निर्वाचनमा बागी उम्मेदवार उठाउने चेतावनी दिएको छ । 

‘हामीले भाग खोजेका होइनौँ, टिकट वितरण न्यायोचित हुनुपर्छ भनेका हौँ’

काठमाडौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसको भाग खोसेर चुनाव जित्न चुनौति दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले पार्टीभित्रको एकता नभइ गठबन्धनमा मात्रै सिटको भागबण्डा मिलाएर कसैले चुनाव जित्न नसक्ने भनाई राख्नुभयो ।

उहाँले पार्टीभित्र समान अवसर र न्यायका लागि आफूहरुले खबरदारी गरेको भन्दै १४ गतेसम्म समानुपातिकतर्फको सुची नसच्चिए आफूहरुले विद्रोह गर्ने चेतावनी दिनुभएको छ । आफूहरुले टिकट वितरणमा भाग खोजेको नभई न्यायोचित बाँडफाँट हुनुपर्ने माग राखेको बताउनुभयो ।  

सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको बताएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज जारी गरेको प्रेस विज्ञप्तिमा सिट बाँडफाँटको टुंगो लागेसँगै कांग्रेसले लिएका क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने बताइएको छ । 

दसैं‚ तिहार र छठको अवसरमा शुभकामना दिने क्रममा प्रवक्ता महतले निर्वाचनका लागि दल दर्ता गराउने निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेश गर्नेलगायत काम सम्पन्न भएको भन्दै आ–आफ्ना क्षेत्रमा डटेर लोकतन्त्र र कांग्रेसका पक्षमा जनमत बनाउन र अत्यधिक मतदान गराउने वातावरण तयार गर्न अनुरोध गर्नुभयो ।  

सहमति नजिक पुगेको दाबी 

काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । समयको चापका कारण आज साँझसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहनु भएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो । त्यसका लागि कार्यदल आजपनि बिहानैबाट छलफलमा जुटेको छ ।

असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै गएका छन् ।पार्टीभित्र उम्मेदवार चयनका लागि पनि समय चाहिने भएकाले गठबन्धनबीचसहमति जुटाउने अन्तिम पहल भइरहेको कार्कीले बताउनु भयो ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ सिटसम्म झर्ने संकेत दिनुभएको छ । 

कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी बसेको सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ ।

तीन दलबीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको बताइएको छ । गठबन्धन अनुसार माओवादी केन्द्रले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित देखिएको छ । तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ । अन्यमा दोहोरो र तेहरो दाबी रहेपनि शीर्ष तहमा करिब समझदारी बनेको बताइएको छ ।

वैदेशिक रोजगारीमा ठगिएकालाई सरकारले दिलायो ४८ करोड क्षतिपूर्ति

काठमाडौ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।  आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो । 

उहाँले  वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताउनुभयो । 

वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरीउपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि मन्त्री कुँवरले बताउनुभयो । 

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडी बढेको पनि उल्लेख गर्नुभयो । त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको जानकारी दिनुभयो । 

 कामु प्रधानन्यायाधीशलाई अवकासपछि सुविधा दिने निर्णय

काठमाडौ । मन्त्रिपरिषदले ६ महिनाभन्दा बढी कायममुकायम प्रधानन्यायाधीश भएकालाई अवकासपछि प्रधानन्यायाधीशसरह सेवासुविधा दिने निर्णय गरेको छ ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका शर्त सम्बन्धी ऐन २०७४ मा कामु प्रधानान्याधीशलाई अवकासपछि सुविधा दिने कुनै व्यवस्था छैन । यो ऐनले अवकास नहुन्जेलका लागि प्रधानन्यायाधीश सरह कामुले पनि सेवा सुविधा पाउने उल्लेख गरेको छ ।

तर अवकास पछि प्रधानन्यायाधीशले पाउने निवृत्तिभरण कामुले नपाउने भनेको छ । अवकास पछि पाउने निवृत्तिभरण आधारभू सुविधा हो । त्यो आधारभूत सुविधा नै कामुले पाउँदैनन् भनिएको छ ।

मन्त्रिपरिषदको यो निर्णय कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीका लागि गरिएको भन्दै आलोचना भइरहेको छ । कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहेका कार्की सोमबार मात्र सर्वोच्च अदालतबाट बिदाइ हुनुभएको छ । 

उमेर हदका कारण यही असोज १७ गते उहाँले अवकास पाउँदै हुनुहुन्छ ।  मन्त्रिपरिषदले सबै कामु प्रधानन्यायाधीश तथा अरू पदाधिकारीलाई सुविधा दिने निर्णय गरेको हो भने कानुन अनुसार हुनुपर्ने सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बताउनुभयो ।

कार्कीलाई गुन तिर्न यस्तो निर्णय गरिएको भन्दै कतिपयले आलोचना समेत गरेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएका न्यायाधीशमध्ये एक भएकाले कार्कीलाई सरकारले ’गुन तिरेको’ आरोप लगाइएको हो । 

 ट्रायल अनुत्तीर्ण ६२ जना चालकमाथि अख्तियारले थाल्यो छानबिन

काठमाडौ । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरू गरेको हो । गत जेठ र असारका विभिन्न मितिमा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ जनाले लाइसेन्स पाएको समाचार बाहिरिएको थियो । 

सोही आधारमा अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार समाचारमा उल्लेखित अवधिमा वितरण गरिएको लाइसेन्स विवरण जनकपुर र वीरगञ्ज दुवै यातायात व्यवस्था कार्यालयबाट लिइएको छ ।

बिहीबारै अख्तियारको टोलीले कार्यालय पुगेर उक्त विवरण लिएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जनकपुर यातायात कार्यालयबाट तीन वर्षअघि हटाइएका कम्प्युटर अपरेटर मुकेशकुमार बर्माको युजर आइडीबाट ती परीक्षार्थी उत्तीर्ण भएको देखाइएको थियो । 

 आज ब्रह्मचारिणीको पूजा गरिदै 

काठमाडौ । बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजाआरधना गरी मनाइदैछ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुज्ने प्रचलन छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक पनि मानिन्छ । उहाँको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । 

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजागर्ने परम्परा छ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन रहेको छ ।

नवरात्र सुरु भएसँगै देशभरका शक्तिपिठहरुमा विशेष रौनक छाएको छ । काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका दुर्गा मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ ।

 काठमाडौंमा बजार अनुगमन सुरू, तरकारी पसल दर्ता गर्न महानगरको आग्रह

काठमाडौ । काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमन सुरु गरेको छ । आज बिहानमहानगरको ३ वटा टोलीले बजार अनुगमन सुरू गरेको हो । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा नगर प्रहरी, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि, भेटेरिनरी टोलीसहित अन्य सरकारी निकायका प्रतिनिधिहरु टोलीमा छन् ।

उपमेयर डंगोलको टोलीले प्रदर्शनीमार्गको तरकारी बजार, खसी बजारसहित खाद्य संस्थानमा अनुगमन गरेको थियो । अनगुमनको क्रममा तरकारी पसलहरू दर्ता बिना नै सञ्चालन गरिएको पाइएको उपप्रमुख डंगोले जानकारी दिनुभयो । 

उपमेयर डंगोलले तरकारी पसलहरुलाई महानगरमा दर्ता गर्नका लागि आग्रह गरिएको बताउनुभयो । बजार अनुगमनको क्रममा टोलीले मूल्य, दर्ता, प्याकेज मितिलगायतको विवरण हेरेको थियो ।

खसी बजार क्षेत्रमा अनुगमनको क्रममा भेटेरिनरी प्राविधिकहरुको पनि उपस्थिति रहेको थियो ।महानगरको अर्को टोली चाबहिल र कलंकी क्षेत्रमा पनि अनुगमान गरिरहेको उपमेयर डंगोलले जानकारी दिनुभयो । महानगरले बजार अनुगमान दसैंतिहार भर नै चल्ने जनाएको छ ।

 हेल्थ असिस्टेन्ट संघद्वारा दरबन्दी संरचना सुधारको माग

काठमाडौ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ ।

आज स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रायमा पुगेर संघले मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । हेल्थ असिस्टेन्ट संघले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । 

साथै संघले आफूहरूका माग सम्बोधन नभए चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन भएको संघको भनाइ छ ।

लोकसेवा आयोगमार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन पनि संघले माग गरेको छ ।

मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान रुपमा बनाइएको बताउनुभयो । यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको उहाँको भनाइ थियो ।

 शिक्षामन्त्री पौडेलद्वारा सीपीएफमा हस्ताक्षर 

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क सीपिएफमा हस्तारक्षर गर्नुभएको हो । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीआइएइएमार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । 

साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्ने बताइएको छ । सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औं महासभालाई पनि सम्बोधन गर्नुभएको छ  । सम्बोधनका क्रममा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्षमा नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो । 

 राप्रपा र रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण घोषणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण घोषणासभा हुने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने’ जानकारी दिनुभयो ।

मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ । वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिनुभएका मिश्रले हिजो बेलुका पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिनुभएको थियो ।

 आज विश्व पर्यटन दिवस

काठमाडौ । आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाइएको हो ।

पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला–ललित कार्निभलको आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज पाटन दरबार क्षेत्र, मंगलबजारमासांस्कृतिक मेला लाग्दैछ । 

सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति गर्ने मेलाका आन्तरिक संयोजक मोहन व्यञ्जनकारले बताउनुभयो । हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ ।

नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारले २०७९\८० लाई घुमफिर वर्षका रुपमा मनाउँदैछ । घुमफिर वर्षको आज चितवनको सौराहाबाट सुरुवात गरिदैछ ।

 आर्थिक खबर

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौ । सेयर बजार नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ ।

बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ । 

होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो ।

अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् । गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

विदेशका खबर

बाढीपछि पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै

काठमाडौ । यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ  । पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ । 

यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेङ्गुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।

यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना सङ्क्रमित भएका छन् । त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घन्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ । 

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण सोह्र सयभन्दा बढीको मृत्यु

काठमाडौ । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले गएराति जनाएको छ ।

एनडीएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ८८ बालबालिका र तीन ३२ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ । 

सिन्ध प्रान्तमा यस प्रकोपमा परी सात सय ४७ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः तीन सय २३ र तीन सय छ जनाको मृत्यु भएको छ ।  यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार पाँच सय ३२ घर ध्वस्त भएका छन् ।

एघार लाख २० हजार दुई सय ६१ पशुधनको मृत्यु भएको प्रतिवेदनले जनाइएको छ । बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन् । यस वर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र चार सय १० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले श्रीलंकासँग खेल्दै 

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जीतको खोजीमा छ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

श्रीलंकाले भने भुटानलाई ९८–३३ को सेटमा हराएको थियो ।भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधि जित्ने लक्ष्य राखेको नेपालसामु पहिलो हारले चुनौती थपिएको छ ।सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो । दक्षिण एसियाका चार राष्ट्र मात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।