अन्नपूर्ण दिनभर : प्रधानमन्त्रीसहित दलहरूद्वारा निर्वाचन आचारसंहितामा हस्ताक्षर, निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
असहमतिका बीच प्रधानमन्त्रीलगायत दलहरूले गरे आचारसंहितामा हस्ताक्षर
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्नुभएको छ । आज निर्वाचन आयोगमा छलफलपछि प्रधानमन्त्री देउवाले आचारसंहितामा हस्ताक्षर गर्नुभएको हो । आयोगले आज आचारसंहितामाथि छलफलका लागि प्रमुख १२ दललाई बोलाएको थियो । सत्तारुढ दलहरूको असहमतिबीच उहाँले आचारसंहितामा हस्ताक्षर गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीले आफ्नो बाहेक अरु क्षेत्रमा प्रचार गर्न नपाउने विषयमा असहमति राखेका थिए ।
अरू दलहरूले पनि आचारसंहितामा आजै हस्ताक्षर गरेका छन् । आयोगले व्यवहारिक पाटो हेर्ने बताएपछि हस्ताक्षर गरेका हुन् । ११ गतेको बैठमा थप यो विषयमा छलफल गरिनेछ । आयोगले आवश्यकताको आधारमा संशोधन गर्ने आश्वासन दिएको छ । दलहरूले आचारसंहितामा हस्ताक्षर गरेपछि लागू गर्ने आयोगको तयारी छ ।
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपतिविरुद्धको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
संसदको दुवै सदनबाट दुईपटक बहुमतले पारित भएर गएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विषयमा न्यायाधीश हरि फुँयालको एकल इजलासले लिखित जवाफ माग गरेको हो।शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाफ भएको उल्लेख गरिएको छ। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।
सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश
काठमाडौ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिटमाथि आज न्यायाधीश हरि फुयालको एकल इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै यो मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।
सभामुख र उपसभामुखको पदावधि खुलाउन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र
काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची दलहरुसँग लिइसकेको छ ।
समानुपातिक तर्फको बन्द सूची २ असोजमा दलहरुले निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल सकिएको निर्वाचन आयोगले यसअघि नै ब्याख्या गरिसकेको छ । तर, सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासम्म आफूहरुको कार्यकाल रहेको बताउँदै आएका छन् । यही बेला राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेख्नुभएको हो ।
गठबन्धनको कार्यदलमा प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल
काठमाडौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक बसिरहेको छ । प्रतिनिधिसभातर्फ शीर्ष नेताहरूको तहमा छलफल भइरहेका बेला कार्यदलले प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास थालेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको एक सदस्यले जानकारी दिनुभयो । ती नेताकाअनुसार शीर्ष तहमा प्रतिनिधिसभा सदस्यतर्फको सिट बाँडफाँट लगभग टुंगिएको छ । अब कार्यदलले प्रदेशसभाको बाँडफाँटमा खाका तयार गरेपछि चुनावी तालमेललाई अन्तिम रुप दिने तयारी छ ।
२० साउनमै चुनावी तालमेल गर्ने सहमति गरेका दल दुई महिना पुग्न लाग्दा पनि त्यही विषयमा छलफलमा रहेका छन् । तर, सिट बाँडफाँटको विषयमा सहमति भइसकेको छैन । हिजो दिउँसो बालुवाटारमा बसेको बैठकले टुंगो लाग्न बाँकी क्षेत्रको जिम्मा शीर्ष नेताहरुलाई दिँदै प्रदेश सभातर्फको बाँडफाँटमा प्रवेश गर्ने निर्णय गरेको थियो ।
शेखरको दाबी– महाअभियोग निष्क्रिय भइसक्यो
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाउनुभएको छ । गृहजिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालतमा हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताउनुभएको हो ।
कोइरालाले महाअभियोग लगाउने संसदको अवधि नै सकिएको महाअभियोग स्वतः निष्क्रिय भइसकेको दाबी गर्नुभयो । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत भएको भन्दै कोइरालाले सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक रहेको उल्लेख गर्नुभयो ।
कांग्रेसले सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने
काठमाडौ । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताउनुभयो । सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ ।
केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुमा प्रदेश १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसमा भीष्मराज आङ्दम्बे, बागमतीमा महेन्द्र यादव, गण्डकीमा बद्री पाण्डे, लुम्बिनी प्रदेशमा जीवन परियार, कर्णालीमा फरमुल्लाह मन्सुरलाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य मीन विश्वकर्मालाई तोकिएको छ । प्रदेश सभापतिलाई घोषणापत्र तयार गर्नका लागि संयोजक र सदस्य मनोनित गर्ने अधिकार दिइएको छ । कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४३ सदस्यीय समिति बनाएको छ ।
महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द
काठमाडौ । लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । महाकालीमा आइतबार बिहानैदेखि पानीको बहाव बढिरहेको र साँझसम्म पनि बढ्ने क्रम जारी रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ शारदा ब्यारेजमा पानीको बहाव १ लाख ८१ हजार ४८० क्युसेक मापन गरिएको छ । दिउँसो भने पानीको बहाव १ लाख १० हजार क्युसेक थियो । पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी अझै बढ्ने अनुमान गरिनुका साथै नदी तटीय क्षेत्रमा सतर्कताका लागि सूचना जारी गरिएको छ ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बितिक्कै चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिन्छ । झण्डै सय वर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुने भन्दै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । गत साता पनि बाढीका कारण दुई दिनसम्म ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।
धनकुटाका सबै माओवादी नेताको राजीनामा
काठमाडौ । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् ।
जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको छ । बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ ।
सरकारी ‘डाटा रिकभरी सेन्टर’मा आगलागी
काठमाडौ । हेटौंडा–४ को हुप्रचौरमा रहेको सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले आगलागी नियन्त्रण गर्न प्रयास भइरहेको बताउनुभयो । आगलागी कारण र क्षतिबारे भने अहिले खुलेको छैन ।
प्रचण्ड भन्छन् : चुनावपछि नेपालीको भाग्य बदल्छौँ
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपालीको भाग्य बदलिने दाबी गर्नुभएको छ । अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउनुभएको हो । प्रचण्डले व्यवस्था बदलिए पनि अवस्था उही रहेकोमा आफू गम्भीर रहेको बताउनुभयो ।
अब जनताको अवस्था बदलिने र घर आँगनमा खुशीयाली ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो । अवकाशप्राप्त समायोजित सेनाले सङ्गठनमा आबद्ध हुने र निर्वाचन लड्ने अवसर पाउनुपर्ने माग गरेपछि सेनाको माग सम्बोधन सकारात्मक रहेको उल्लेख गर्नुभयो । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेलाको आयोजना गरेका हुन् ।
सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह गर्न नर्स खटाउने
काठमाडौ । शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सकारले एक जना नर्स उपलब्ध गराउने भएको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । संस्कृतिविद् जोशी पछिल्लो समय स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना हुनुभएको छ । जोशीलाई डेंगी भएको अस्पतालले जनाएको छ ।
आजबाट यान्त्रिक परिक्षण अनिवार्य
काठमाडौ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण पनि अनिवार्य गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।
यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा लागु गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर वा छतमा बसेर यात्रा गर्न नपाइने नियम पनि लागु गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अंश खोजेपछि सौतेनी आमाको हत्या, बाबुछोरा पक्राउ
काठमाडौ । सौतेनी आमाले अंश मागेपछि छोराले हत्या गरेको रहस्य बाहिरिएको छ। बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो । पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन्। अंशका लागि पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो ।
नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । हत्यापछि फरार रहेका उनलाई प्रहरीले असोज ७ गते शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो।प्रहरीले अनुसन्धानका लागि जयकिशोरका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणकी पहिलो पत्नी हुन् ।
अवैधरूपमा विदेशी मुद्रा भित्र्याउने तीनजनाविरुद्ध मुद्दा दायर
काठमाडौ । राजस्व अनुसन्धान विभागले अवैध रुपमा विदेशी मुद्रा ल्याएको भन्दै तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले विभिन्न देशबाट अवैधरुपमा विदेशी मुद्रा ल्याएको आरोपमा विभिन्न अदालतमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार भारतिय नागरिक घनश्याम भाई पटेल, नवलपरासीका आन्दन प्रसाद कलवार, बेल्जियम बस्ने गैरआवासीय नागरिक सत्तमान पुनविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भएको हो ।
उनीविरुद्ध ६ लाख ३५ हजार ४ सय रुपैयाँ जरिवानासहित बरामद भएको सम्पूर्ण मुद्रा जफत गरी कारवाही मागसहित मुद्दा दायर गरिएको छ । त्यस्तै, आनन्द प्रसादले भन्सार सो घोषणा गरेको रकम भन्दा बढी अमेरिकी डलर बोकेको आरोपमा विदेशी विनिमय अपचलन गरेको आरोपमा धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
साढे ८२ हजार नक्कली नोटसहित एकजना पक्राउ
काठमाडौ । नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन् । साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ ।
महतोको कनकपुरस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक हजारको ८० थान र पाँच सय तीन थान नक्कली नोट बरामद गरेको हो। महतोले आफू सुत्ने खाटमा माछा मार्ने जालीभित्र उक्त नोट लुकाएर राखेको अवस्थामा फेला पारेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । प्रहरीले पत्रकार सम्मेलन गरी महतोलाई नक्कली नोटसहित सार्वजनिक गरेको हो ।
आर्थिक खबर
२ महिनामा २ खर्ब ७३ अर्बको आयात, २८ अर्बको निर्यात
काठमाडौ । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो दुई महिना अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।अर्थात् २ महिना अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबर देखिन्छ ।गत आर्थिक वर्षको पहिलो २ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ को भदौ मसान्तसम्ममा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । तर चालु आर्थिक वर्षमा त्यो घटेर ३ खर्ब २ अर्बमा खुम्चिएको छ ।गत वर्षको पहिलो दुइ महिना अवधिमा चालु आर्थिक वर्षको सोही अवधिमा आायत १३.०१ प्रतिशत र निर्यात ३४.८८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि गत वर्षको तुलनामा ९.४५ प्रतिशतले घटेको छ ।नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।
चाडपर्वमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव नहुने
काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा दशैँ, तिहार र छठ जस्ता मुख्य चाडपर्वमा अत्यावश्यक खाद्यान्नको अभाव हुन नदिने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमाभित्र रहेर जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराउने बताउनुभयो ।
अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भइ ढुवानीसुरु भइसकेको तर कतै टेण्डर नपरेर समस्या देखिएकाले छोटो प्रक्रियाका आधारमा हेलिकप्टरबाट खाद्यन्न पुर्याउने तयारी भइरहेको निर्देशक चन्दले जानकारी दिनुभयो । उहाँले कतैकतै चाडपर्वका अवसरमा दिएको छुटका कारण आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्दा समस्या देखिएको हुनसक्ने बताउनुभयो ।
अहिले खुलेका सहुलियत पसलमा चामल, दाल, तेल, नुन, गेडागुडीलगायतका खाद्यवस्तु छुटमा बिक्री वितरण हुँदै आएको छ । यसैबिच, स्थानीय पालिकाको अनुरोधपछि कम्पनीले दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पिठो, नुन, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट पठाउन लागेको हो ।
उपभोक्ता ठग्ने ८७ फर्मलाई कारबाही, ११ लाखभन्दा बढी जरिबाना
काठमाडौ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दसैँलक्षित अनुगमनअन्तर्गत असोज १ यता काठमाडौं उपत्यकाका ६५ फर्म कारबाहीमा परेका छन् । यो अवधिमा उपत्यकाबाहिरका २२ फर्मलाई कारबाही गरिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताउनुभयो ।
मूल्य, गुणस्तरलगायतमा उपभोक्तालाई ठगी गर्ने ती फर्मबाट ११ लाख रूपैयाँभन्दा बढी जरिबाना तिराइएको छ । अहिले विभागले दैनिक १० टोलीमार्फत बजार अनुगमन गरिरहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । पछिल्लो एक सातामा विभागले उपत्यकाभित्र २७२ फर्ममाथि अनुगमन गरेको छ ।
अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेको पाइएकोमा त्यस्तालाई अधिकांश ५ हजार जरिबाना गरिएको छ । कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिई विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।
विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनी मार्ट, फार्मेसी, माछामासु, सूर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो । यस पटक क्षेत्रगत विज्ञसमेतलाई साथमा लिएर विभागले अनुगमन गरिरहेको छ ।
विदेशका खबर
बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौ । बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । देशको राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आज दिउँसो डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले समाचार संस्था सिन्ह्वालाई जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा २ सैनिकको मृत्यु
काठमाडौ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको विस्फोटमा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी विज्ञप्ति अनुसार हिँजो जिल्लाको ईशाम क्षेत्रमा इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको हो । दुवै मृतक सैनिकहरू देशको पूर्वी पञ्जाब प्रान्तका नागरिक रहेको पुष्टि भएको छ । आईएसपीआरका अनुसार त्यस क्षेत्रमा आतङ्कवादी विरुद्ध अपरेसन शुरु भएको छ ।
खेल खबर
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा, पूर्वाधारको तयारी गरिँदै
काठमाडौ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात ओटा टोली, विभागीय अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोली गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने छन् ।
एउटा टोलीमा ३२ जना खेलाडीका दरले कुल तीन सय ५२ जना, एक टोलीमा दुई जना कोच र दुई जना व्यवस्थापक गरेर चार जनाका दरले कुल ४४ जना, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५ जना, व्यवस्थापनको लागि स्थानीयबाट लिइने २५ जना सहित प्रबिधिक र अन्य जनशक्ति सहित करिब छ सय जनाको सहभागिता रहने छ । यही असोजको २८ गतेदेखि कार्तिकको दुई गतेसम्म गरी पाँच दिनमा खेलहरू सम्पन्न गर्ने तयारी गरिएको नेपाल कराँते महासङ्घ नेपालका अध्यक्ष दावा गुरुङले जानकारी दिनुभयो ।
भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुदै
काठमाडौ । भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक–एकको बराबरीमा छ।पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । यस्तै, इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट पनि आजै हुँदैछ ।
खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेल जितेको छ । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि छ । आजको खेल जितेमा घरेलु टोली पाकिस्तानले शृङ्खलामा २–२ को बराबरी गर्नेछ । पहिलो खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो ।
त्यस्तै दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान ६३ रनले पराजित भएको थियो ।दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटौँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुनेछ । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।