अन्नपूर्ण दिनभर : चुनावी एजेण्डा बन्दै नागरिकता विधेयक, राष्ट्रपति विरुद्धको रिटमा सुनुवाई भएन
राष्ट्रपति विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाइ हुन सकेन
काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश डा.मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो । सो रिटमाथि आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता बिमल पौडेलले अन्नपूर्णलाई जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको सो रिटमा राष्ट्रपतिको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गरिएको छ । हिजो अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दायर गराएका थिए ।
नागरिकता विधेयक : दलहरुको चुनावी एजेण्डा
काठमाडौ । पटक–पटक राजनीतिको जन्जीरमा फस्ने गरेको नागरिकता विधेयक यसबर्ष पनि चुनावी एजेण्डा बन्ने भएको छ । संविधानले दिएको समयसिमाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनले सो कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ ।
नागरिकता विधेयक जहिले पनि भोटको राजनीति गर्ने अचुक अश्त्र बन्ने गरेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७७ असार ७ मा पारित गरेको विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई लगत्तै राजनीतिक अधिकारबाहेक अस्थायी परिचयपत्र दिने र ७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय बहुमतका आधारमा गरेको थियो ।
तर, तत्कालीन ओली सरकारले विधेयक अगाडि बढाइएको थिएन । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो र देउवा नेतृत्वको उगठबन्धन सरकारले संशोधन विधेयक ल्याएको थियो ।
दुवै संसदले पास गरेर पठाएको विधेयक साउन २९ मा राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभयो । लगत्तै संसदका सदनले हुबहु पास गरेर भदौ २० गते राष्ट्रपतिकहाँ नै प्रमाणीकरणका लागि पठाएको थियो । राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभामा दलहरुले सो कदमलाई चुनावी एजेण्डा बनाउने भएका हुन् । विधेयकका कारण लाखौँ जनसंख्या प्रभावित हुने भएकाले चुनावी एजेण्डा बनिसकेको विश्लेष्कहरु बताउछन् ।
नागरिकताको समस्या देशभर भए पनि तराई÷मधेशमा अलिक बढी भएकाले मधेषकेन्द्रित राजनीतिमा चुनावी एजेण्डा बन्ने विश्लेषण भइरहेको छ । संविधानतः प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नगर्दा राष्ट्रपतिबाट असंवैधानिक काम भएको र त्यसलाई सबैले मनन गर्नुपर्नेसरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ ।
एमाले अध्यक्ष केपी ओली स्वंयमले नागरिकता विधेयकमा राष्ट्रपतिको अपमान गरेको भन्दै सत्तारुढ गठबन्धनको चर्को आलोचना गर्नुभएको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले भने नागरिकता बिहीन ८–१० लाग नागरिकको जिम्मेवारी राष्ट्रपतिले लिनुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको यन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै केसीले गठबन्धन सरकारले सहि कदम चालेपनि राष्ट्रपतिले भने एमालेको आग्रहमा विधेयक प्रमाणीकरण नगरेको आरोप लगाउनुभयो ।
केसीले अहिलेको विधेयकमा उल्लेख नै नभएको वैवाहिक अंगकृत नागरिकताको बिषयलाई एमालेले उचालेको बताउनुभयो । नागरिकता जस्तो संवेदनशिल बिषयलाई राजनीतिक एजेण्डा बनाउने दलहरुले जनताले निर्वाचन मार्फत नै मुल्यांकन गर्नुपर्ने उहाँको भनाई छ ।
संरक्षकबाटै जानीबुझी संविधान मिचियो, परास्त गर्न सडकमा जानुपर्छ : प्रचण्ड
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संरषकबाटै जानिबुझि संविधान मिच्ने काम भएको बताउनुभएको छ । पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गत बर्षदेखि नै प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा अगाडि ल्याउने जमर्को भइरहेको बताउदै अँझै प्रतिगमनको खतरा औँल्याउनुभयो ।
संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको बताउदै प्रचण्डले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्रका विरुद्ध आफुहरुले पेचिलो संघर्ष गरिरहेको बताउनुभयो । आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै प्रचण्डले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गनुृभयो ।
एमालेसँग सहकार्यबारे छलफल गर्न लोसपाले बनायो कार्यदल
काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिनुभएको छ । लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो ।
तर गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन । तर नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास छोडेका छोड्नुभएको छैन ।
देउवामाथि दबाब बढाउँदै कोइराला समूह
काठमाडौ । टिकट वितरणमा एकलौटी गर्ने प्रयास भइरहेको कांग्रेसमा आन्तरिक द्धन्द्ध चर्कीएको छ । संस्थापन ईतरको शेखर कोइराला पक्षले दिनहुँजसो समानान्तर बैठक, भेला र छलफल गरेर सभापति देउवाविरुद्ध दबाब बढाएको छ । समानुपातिक सूचीमा देउवाले एकलौटी गरेको आरोप लगाउदै सो समूहले टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने चेतावनी नेताहरुले दिएका छन् ।
यस्तै कोईराला पक्षले समानुपातिकमा आफुहरुलाई विभेद गरिएको र प्रत्यक्षतर्फ पनि एकपक्षीय रुपमा टिकट वितरण हुनसक्ने भन्दै भोली काठमाडौंमा खवरदारी सभाको समेत आयोजना गरेको छ ।
कोइराला समूहका सबै भेला र बैठकमा नेता कोइरालासहित महामन्त्री गगन थापालगायत नेता भने सहभागी नहुने नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो । नेता केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् । खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाई सभालाई सशक्त बनाउँदै लगिने उहाँले जानकारी दिनुभयो ।
तोकिएको निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतकहरुलाई तोकिएको निर्वाचन क्षेत्र नछाड्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै आयोगको अनुमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न निर्देशन दिनुभएको हो । भदौ ६ गते निर्वाचन आयोगले देशभर भदौ १५ गतेदेखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि आयोगमा जानकारी गराउन निर्देशन दिइएको थियो ।
निर्वाचन अधिकृतको कार्यालय असोज २० गतेभित्र स्थापना गरिसक्नुपर्ने
काठमाडौ । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो ।
आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ । निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय भएको छ ।
यस्तै, आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।
टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष
काठमाडौ । काठमाडौंको टुकुचा (इच्छुमती) खोलालाई भूमिगत गर्न सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटीएको छ । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको हो । त्यसकै आधारमा प्रतिवेदन लेखन थालिएको र दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको समितिले जनाएको छ । अध्ययनका क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री–३ वीर’ लेखेको भेटाएको छ ।
सुरुङ बनाउन भने सादा इँटाहरु पनि प्रयोग भएको पाइएको छ । यस्तै सुरुङ बनाउन इँटासँगै सुर्की चुना प्रयोग गरेर निर्माण भएको पाइएको छ । गुम्बज आकारमा इँटाहरु जोडेर निर्माण भएको सुरुङमा पानी बगाउन ठाउँ–ठाउँमा भ¥याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पु¥याएको पाइएको छ ।
सिधा बगाउँदा ओरालो नभएर पानी जम्ने खतरा हुने भएपछि ठाउँ–ठाउँमा अग्ला कन्लाजस्तो बनाउँदै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म पुयाएको हुनसक्ने अध्ययनमा सहभागी एक अधिकारीले बताएका छन् । यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए ।
तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ–ठाउँमा डोजर चलाएको थियो । यदि पुरतत्व विभागले यो सुरुङमार्गलाई पुरातात्विक सम्पदाका मान्यता दिएमा महानगरले टुकुचा क्षेत्रका संरचना भत्काउन पाउने छैन ।
अख्तियारद्वारा प्रदेशमन्त्री सोडारीकी श्रीमतीविरुद्ध विशेषमा मुद्दा दर्ता
काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्री सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका– ९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिईन् । बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर हो ।
उनले नेपाल सरकारलाई नोक्सानी पु¥याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
६ जनालाई भ्रष्टाचार मुद्दा
काठमाडौ । अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्ष समेत छन् ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साह, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस–१ (हाल बढैयाताल–६)मा चिरकु तेलीका नाममा २ विगाहा ६ कट्ठा जग्गा थियो । २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही नभएपछि कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दावी छ । अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ ।
डीभी परेका ९ जना पक्राउ
काठमाडौ । अमेरिकाको डीभी परेका ९ जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।
त्यस्तै स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।
नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेस गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
आर्थिक खबर
कोरियाले नेपालाई २ अर्ब अनुदान दिने
काठमाडौ । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।
प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउन सहमत भएको छ ।
विदेशका खबर
आप्रवासी डुङ्गा दुर्घटना : त्रिपन्न जनाको मृत्यु
काठमाडौ । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका छन् । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा हिँजो भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेको जनाइएको छ ।
दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ । डुङ्गा लेबनानको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो । आर्थिक सङ्कट उन्मुख लेबनानबाट स्थानीय बासिन्दा तथा शरणार्थीहरु युरोप, अमेरिका जाने गरेका छन् । लेबनानमा १० लाखभन्दा धेरै सिरियाली शरणार्थी रहेको अनुमान छ ।
हङकङले दुई वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय ट्राभल क्वारेन्टाइन हटायो
काठमाडौ । हङकङ सरकारले साढे दुई वर्षभन्दा बढी कडा महामारी नियन्त्रणपछि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि औपचारिक क्वारेन्टाइन अन्त्य गर्ने घोषणा गरेको छ । सेप्टेम्बर २६ देखि लागू हुने नयाँ नियमहरू अन्तर्गत, आगमन यात्रुहरूले आगमनमा तीन दिनको आत्म–निगरानीबाट गुज्रनुपर्नेछ ।
हङकङ सरकारले आफ्नो व्यापारिक समुदाय र केही जनस्वास्थ्य अधिकारीहरूबाट कमजोर अर्थतन्त्र, विदेशीहरूको बहाव र वित्तीय हब, जसलाई “एशियाको विश्व सहर“ भनेर चिनिने चिन्ताको बीचमा प्रतिबन्धहरू खुकुलो पार्न पर्याप्त दबाबको सामना गरेको छ ।
बाँकी विश्व महामारीबाट अघि बढेको छ । हङकङका प्रमुख कार्यकारी जोन लीले आज एक पत्रकार सम्मेलनमा सहरको संक्रमण संख्या स्थिर भएकोले क्वारेन्टाइन हटाउन अनुमति दिएको बताउनुभयो । आगमनले अब विमानमा चढ्नुअघि नेगेटिभ पीसीआर परीक्षण उपलब्ध गराउनु नपर्ने तर उनीहरूले बोर्डिङ गर्नुभन्दा २४ घन्टाअघि नेगेटिभ र्यापिड एन्टिजेन टेस्ट उपलब्ध गराउनु पर्ने छ ।
खेल खबर
नेपाल र बंगलादेश ‘ए’ टिमबीच क्रिकेट सिरिज गर्ने क्यानको तयारी
नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो ।
नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो । नेपाली टिमलाई एकदिवशीय फम्र्याटमा अभ्यास गराउनका निम्ति यो सिरिज प्रस्ताव गरिएको मल्लले बताए । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज नेपाल आईपुग्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली आज राति नेपाल आउने जनाएको छ । बंगलादेशको टोली राति सव ९ बजे नेपाल आईपुग्ने तालिका रहेको छ । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।