Live Streaming

अन्नपूर्ण दिनभर : राष्ट्रपतिविरुद्ध सर्वोच्चमा एकभन्दा बढी रिट, सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्यो : ओली

मकवानपुर  दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ७ पुगेको छ । ६ जनाको घटना स्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्वरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ । घाइतेहरुको हेटौंडा र काठमाडौंका अस्पतालहरूमा उपचार भइरहेको छ ।

बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरी प्रमुख गौत्तमले जानकारी दिनुभयो ।

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते 

काठमाडौ । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन बाँकी छ । उहाँले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताउनुभयो । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेहरूको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए। सुर्खेतबाट हेलिकप्टर लगेर घाइतेको उद्धार गर्ने तयारी छ ।

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा एकभन्दा बढी रिट 

काठमाडौ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । संसद्का दुवै सदनबाट दोहो¥याएरसमेत पारित भएको नागरिकता विधेयकलाई समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अधिवक्ता सुनिल रञ्जन सिंहले हिँजो दिएको रिट निवेदन अदालतले आज (बिहीबार) दर्ता गरेको हो ।  राष्ट्रपति कार्यालय शीतलनिवास महाराजगञ्ज र राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्न भोलिका लागि पेशी तोकिएको निवेदक सिंहले जानकारी दिनुभयो । 

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण नगरेर नागरिकबाट चुनिएको संसद्को घोर अपमान गरेको, नागरिकताबाट वञ्चित लाखौं नेपाली नागरिकहरुको संवैधानिक हक र अधिकारमाथि कुठाराघात गरेको रिटमा उल्लेख गरिएको छ । यस्तै, राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक २०७९ लाई प्रमाणीकरण नगरी  नेपालको संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लंघन गरेको पनि उल्लेख गरिएको छ ।

 नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कुनै निर्णयहरु राष्ट्रपतिबाट भएको रहेछ भने सोसँग सम्बन्धित सम्पूर्ण निर्णयहरुलाई उत्प्रेषणको आदेशले बदर गरी नागरिकता  विधेयक २०७९ लाई प्रमाणीकरण गर्न परमादेश जारी गर्नुपर्ने माग गरिएको निवेदक सिंहले जानकारी दिनुभयो । 

सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको छः ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पूर्वआईजीपी सर्वेन्द्र खनाललगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गरेर ठिक नगरेको टीप्पणी लगर्नुभयो ।

सत्तारुढ गठबन्धनले जनतालाई अल्मल्याइरहेको र मस्तिष्कबाट नभई ’मसल’ बाट चलेको पनि उहाँको आरोप थियो । ओलीले राष्ट्रपतिलाई कुन विधेयक संसद्मा लैजाने भन्नेबारे पहिल्यै जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको पनि आरोप लगाउनुभयो । 

त्यस्तै ओलीले प्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी नजरबन्द गरिएको तथा सुरक्षाकर्मी खोसिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्नुभएको छ । अध्यक्ष ओलीले गठबन्धनले कम्फरटेबल मिडिया र कथित नागरिक आन्दोलनको समेत समर्थनमा देशमा स्वेच्छाचारी शासन चलाउन थालेको आरोप लगाउनुभयो । अकुपाइ बालुवाटार भनेर एमालेको पालामा कराउनेहरु प्रायोजित थिए भन्ने अहिले प्रस्ट भएको ओलीको दाबी छ । 

ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा रमाएको आरोप पनि लगाउनुभएको छ । जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको भन्दै स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले आग्रह गर्दै तीनको नाममा प्रचण्डले भत्ता लिएको होइन ? भन्ने प्रश्न गर्नुभयो । 

पत्रकार महासंघले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौ । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै दीर्घकालीन समाधानका लागि निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको छ । महासंघको आज बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । महासंघको नेतृत्वमा सत्तारुढ पाँचदलीय गठबन्धनले जितेको छ । महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै विधिको शासनमाथि प्रहार भएको ठहर गरेको छ । 

सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ । रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ । प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

प्रादेशिक कार्यालयबाट समयमै ढुवानी नहुँदा चाडबाडमा अभाव हुने चिन्ता

काठमाडौ । घटस्थापना आउन ४ दिन मात्र बाँकी रहदा दुर्गम जिल्लावासीलाई खाद्यान्न जोहो गर्नै समस्या भएको छ । सरकारले दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बार्षिक ४४ करोड रुपैयाँ अनुदान दिने गरेपनि समयमै ढुवानी प्रक्रिया शुरु नगर्दा दुर्गम जिल्लावासीलाई चाडबाडकै मुखमा अभाव भोग्नुपरेको हो । अहिले जिल्ला सदरमुकाममा केही परिणाममा चामल भएपनि गाउँका डिपोहरुमा चामलको अभाव रहेको छ ।

सबैभन्दा बढि हुम्लाको शाखा कार्यालय÷सदरमुकाममा केही परिमाणमा चामल भए पनि दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्रमा चामलको अभाव छ । सर्केगाड, देउसी, श्रीनगर, छप्रेला, तुम्च वालकुना र खार्पुनाथ याङ्चु बिक्री केन्द्रमा चामल नभएको खाद्यका अधिकारीहरुले बताएका छन् । 

कालीकोटमा पनि चामलको अभाव नै रहेको छ । सदरमुकाममा ७ सय क्विन्टल चामल रहेपनि डिपोहरूमा पर्याप्त चामल छैन । 
मुगुमा गत वर्षकै ६ सय क्विन्टल चामल छ । नयाँ आर्थिक वर्षको नयाँ ठेक्का भने स्वीकृत भइनसकेको मुगु शाखा कार्यालय प्रमुख पुष्कर भामको भनाइ छ ।

मुख्य शाखा कार्यालय नेपालगन्जबाट १ सय ७० क्विन्टल लोड भएपनि त्यो पर्याप्त नभएको उहाँको भनाई छ । रोल्पाका शाखा कार्यालय प्रमुख बुद्धिराम चौधरीले पनि बिक्री केन्द्रमा ४ सय क्विन्टल मात्रै चामल रहेको बताउनुभयो । उता सुदूरपीश्चको बैतडीमा पनि टेण्डर प्रकृयाकै ढिलाईका कारण यसबर्षको दशैंमा चामल नपुग्ने भएको छ ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले भने डिपोहरुमा पर्याप्त चामल मौज्दात रहेको दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै चन्दले टेण्डर प्रकृयाका कारण केही ढिला भएपनि आफुहरुले सहुलियत मूल्यमा चामल ढुवानी गरिरहेको बताउनुभएको छ ।

केही डिपोहरुमा भने कर्मचारी अभाव, ईन्धनको मूल्यवृद्धि तथा प्राकृतिक प्रकोपका कारणले खाद्यान्न ढुवानी हुन नसकेको उहाँको भनाई छ । ती क्षेत्रहरुका खाद्यान्न वितरणका लागि सहयोग गरिदिन स्थानीय सरकारहरुलाई पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको उहाँको दुखेसो छ । 

अस्थायी मतदाता नामावली संकलन 

काठमाडौ । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आजबाट अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक हुदैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ। अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो । ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली सङ्कलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।

कार्यविधिमा उल्लेख भएअनुसारयही असोज ८ देखि २६ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न प्रदेश जिल्ला निर्वाचन अधिकारीको सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ । 

टुकुचाको प्रशोधन प्लान्ट आयोजनाबाट एडीबीले हात झिक्यो

काठमाडौ । एशियाली विकास बैंकले वागमती खोला बेसिन सुधार आयोजनाअन्तर्गत टुकुचा खोलामा थप लगानी नगर्ने घोषणा गरेको छ । वागमती बेसिन सुधार योजनाअन्तर्गत टुकुचा खोलामा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि मात्रै सम्झौता भएकाले हाल यहाँ कुनैपनि लगानी थप्ने योजना नरहेको एडीबीको भनाइ छ । बैंकले टुकुचा समुदायको स्टेकहोल्डर भावना बानियाँले गत सेप्टेम्बर १९ मा लेखेको पत्रको जवाफ दिँदै हात झिकेको हो ।

एडीबीले टुकुचा खोलामा यसअघि फोहोर पानी प्रशोधन प्लान्टमा लगानी गरेको थियो । सो प्लान्टले दैनिक १७.३ मिलियन लिटर पानी प्रशोधन गर्ने एडीबीको पत्रमा उल्लेख छ । केही दिनयता काठमाडौं महानगरले टुकुचा मिचेर बनाइएका भवन तथा संरचनाहरू धमाधम भत्काइरहेको बेला एडीबीले सो कुरा सार्वजनिक भएको हो ।

दशैंमा यात्रुको सहजताका लागि सहायता कक्ष

काठमाडौ । काठमाडौ उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको छ । दशैँ÷तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यातायात व्यवस्था विभाग र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ । पूर्वमा जाने यात्रुलाई ध्यानमा राखेर यसपालि काभ्रेको साँगामा पनि सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, विभागका कर्मचारी र उपभोक्ता अधिकारकर्मी बसेर टिकट काट्नेदेखि घर जानसम्म सहजता प्रदान गर्नेछन् । अहिले गाडी भाडा नबढेको र तोकिएको भन्दा बढी भाडा नतिर्न विभागले यात्रुलाई आग्रह समेत गरेको छ ।
 
फलामको पाइपले लाग्दा कंक्रिट उद्योगका एक कर्मचारीको मृत्यु

काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीमा फलामको पाइप खसेर लाग्दा समानान्तर कंक्रिट उद्योगका एक कामदारको मृत्यु भएको छ । जगाती पुल नजिकै रहेको उद्योगमा काम गर्ने क्रममा करिव ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइपले लागेर बर्दियाको बारबर्दिया नगरपालिका ७ का २४ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो ।  

बिग्रिएको पाइप मर्मत गर्ने क्रममा घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सोही ठाउँका १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएका छन् । 

वीर अस्पताल अगाडि निर्मित अनधिकृत संरचनामा महानगरको डोजर

काठमाडौ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि डोजर चलाएको छ । अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा आज महानगरले डोजर चलाएर हटाएको हो । नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाउन पुगेको थियो ।

महानगरपालिकाले अवैधानिक रुपमा ती संरचना निर्माण गरिएको भन्दै हटाएको हो । अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ । अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना, आउने उजुरीहरूको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाई गरेपछि नगर प्रहरीले माइकिङ गर्ने गरेको छ । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ । 

भदौमा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा गए, मलेसिया जाने मात्रै ३५ हजार

काठमाडौ । भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको देखिएको छ । गत भदौमा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको झण्डै आधा हिस्सा भने मलेसियाले नै ओगटेको छ । महामारीका कारण लामो समय बन्द रहेको मलेसियको रोजगारी खुलेसँगै त्यहाँबाट डिमान्ड ह्वात्तै बढेको छ ।

यसले गर्दा मलेसियामा रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा दोब्बर हुन थालेको छ । भदौ महिनाको तथ्यांक अनुसार ५० हजार ५० जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार भदौमा विदेशिने संख्या साउनको तुलनामा उच्च हो । साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए । 

आर्थिक खबर
नेप्सेमा ९.८३ अंकको गिरावट, कारोबार रकम साढे ६५ करोडमा सीमित

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । असोज १ देखि निक्षेपको ब्याजदर बढाउने बैंकर्स संघको निर्णयसँगै भदौ ३० देखि गिरावट सुरु भएको नेप्सेमा हिँजो पाँचौ कारोबारको दिनमा आएर सुधार भएको थियो । तर, आज पुनः नेप्सेमा गिरावट भएको छ ।

आज बजार परिसूचक नेप्से ९.८३ अंकले गिरावट भएर १८३८.९६ अंकमा बन्द भएको छ । बिहीबार नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा सबैभन्दा कम बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ । यता वित्त कम्पनी उपसूचकमा सबैभन्दा धेरै १.५६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक पनि १.०४ प्रतिशतले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ । भदौ २६मा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार ७२ करोडमा सीमित भएको कारोबार बिहीबार आज झनै ओरालो लागेर ६५ करोड ५७ लाखमा सीमित भएको छ ।
 
विदेशका खबर
जी ७ द्वारा सैनिक परिचालन गर्ने रुसी कदमको निन्दा

काठमाडौ । विश्वका ७ ठूला अर्थतन्त्रको समूह जी ७ का विदेशमन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् । यस समूहका मन्त्रीहरूले युक्रेनमा उत्तेजना बढाउने रुसी कदमहरूको निन्दा समेत गरेका छन् ।

जी ७ का नेताहरुले अझ थप लक्षित प्रतिबन्धहरु लगाउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् । क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी ७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् ।

रुसी सैनिकको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरुको भनाइ छ । उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्र युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गरेका छन् । 

मेक्सिकोमा शक्तिशाली भूकम्प

काठमाडौ । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी दुई जनाका मृत्यु भएको थियो ।   ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।  

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९यूएसजीएस० ले ६।८ म्याग्निच्युड अनुमान गरेको छ । स्थानीय समयानुसार आज बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताउनु भएको छ  ।  


खेल खबर
बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय फुटबल टीमको घोषणा

काठमाडौ । असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीमको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आज पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टीम घोषणा गरेका हुन् । अब्दुल्लाह अल्मुताइरीले टीमबाट निकालेका दश खेलाडी र दुई नयाँ अनुहारलाई समेट्दै हुमागाईंले अन्तिम नामावली सार्वजनिक गरेका छन् । आशिष चौधरी र ऋतिक खड्का राष्ट्रिय टीमका नयाँ अनुहार हुन् ।  नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन् । यसअघि किरणको अनुपस्थितिमा नवयुग श्रेष्ठले टीमको नेतृत्व गरेका थिए ।

नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स

काठमाडौ । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ । आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो । यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् । नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।