अन्नपूर्ण दिनभर : राष्ट्रपतिको कदमपछि सत्तारुढ दलहरु तरंगित, राष्ट्रपतिलाइ समर्थन गर्दै महाभियोग सामना गर्न एमाले तयार
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै राजनीतिक दलहरु दुई धारमा विभाजित भएका छन् । संविधानमा नभएको अधिकार आफैं सृजना गर्दै राष्ट्रपतिले विधेयकलाई तुहाइदिएपछि भड्कीएका सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार भएको र संसदको घोर अपमान भएको टिप्पणी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले जनआकांक्षा संवोधन गरेको बताएको छ । सत्तारुढ गठबन्धनमै आवद्ध राष्ट्रिय जनमोर्चा भने राष्ट्रपतिको पक्षमा देखिएको छ ।
यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले संरक्षकबाटै संविधानको पालन नभएको जनआवाज उठ्नु ज्यादै दुःखद भएको बताउनुभएको छ । यस अवस्थामा सत्तारुढ गठबन्धन आगामी कदमबारे कानूनवीद्हरुसँग छलफलमा व्यस्त रहदा नेकपा एमाले भने राष्ट्रपतिको कदम सहि रहेकाले विकसित घटनाक्रमसँग जुध्न तयार रहेको बताएको छ । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतः प्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने, संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने र महाभियोग प्रस्ताव ल्याउने लगायत तिन विकल्पमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ ।
विधेयक प्रमाणीकरणको बिषयलाई लिएर सत्तारुढ दलका भातृ संस्थाहरुले विरोध गर्दा एमाले निकट संगठनहरुले भने स्वागत गरेका छन । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा राष्ट्रपतिको राजीनामा माग गर्दै नाराबाजी गरको छन् । यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।
यता एमाले निकट युवा संघले भने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा ¥याली निकालेको छ । यता यस बिषयमा संविधानविद्हरुले समेत मिश्रित प्रतिक्रिया आएका छन् । अधिवक्ता डा.भीमार्जुन आचार्यले संवैधानिक व्यवस्थाअनुसार संसद्को कार्यकाल सकिएपछि विधेयकहरू निष्क्रिय हुने बताउनुभएको छ भने वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भने अदालतमा मुद्दा लिएर जानु एक मात्र विकल्प रहेको बताउनुभएको छ ।
त्यस्तै वरिष्ठ अधिवक्ता शेर बहादुर केसीले पनि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपनि राजपत्रमा प्रकाशित गरे स्वतः प्रमाणीकरण हुने बताउनु भएको छ । यता नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावपछि नेकपा एमालेसँगै राष्ट्रपतिको पनि वर्हिगमन हुने दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गदैै पौडेलले भण्डारीलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्ने आधिकार नभएको बउताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजसंस्था ल्याउन खोजेको समेत आरोप लगाउनुभएको छ ।
यस्तै नेकपा एमालेका नेता शेर बहादुर तामाङले भने राष्ट्रपतिको कदमममा जनताको सर्मथन रहेकाले नेकपा एमालेले पनि सर्मथन गर्ने बताउनुभएको छ । इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै तामाङले संसदको कार्यकाल अन्त्य भइसकेपनि महाभियोग लगायतका योजनाका लागि नै सरकारले संसद अन्त्यको घोषण नगरिएको र महाभियोग प्रस्ताव आए त्यसको सामना गर्ने बताउनुभएको छ ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजाने बताउनु भएको छ । आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानुनी लडाइ लड्नेबारे छलफल भइरहेको बताउनु भयो ।
माधव नेपालको चेतावनी काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सीट बाँडफाँट प्रक्रियामा नेपाली कांग्रेसको दम्भ बढेको भन्दै आफ्नो बिर्ता नसम्झिन चेतावनी दिनु भएको छ । एकीकृत समाजवादीनिकट युवा संघको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले कसले कति सीट लिने भन्ने कुरामा छलफल चलिरहँदा कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताउनु भएको हो ।
साथै अध्यक्ष नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोपसमेत लगाउनुभयो ।
अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार
काठमाडौ । सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।
अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आउनुभएको थियो । सिनियर डाक्टरहरूले उहाँलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उहाँलाई जसरी पनि काठमाडौं लैजाने तायरी भइरहेको जानकारी दिनुभएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताएका छन् । यस्तै आमशयमा पनि रक्तश्राव भएको छ । यसअघि सरकारले गरेका सहमति कार्यान्वयनको माग गर्दै कैसी २०औं पटक अनसनमा बस्नुभएको हो ।
गोविन्द केसीलाई काठमाडौं ल्याइयो
काठमाडौ । कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै १० दिनदेखि सत्याग्रहमा बस्नु भएका डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउनु भएको छ । श्री एयरलाइन्सको जहाजमार्फत अपराह्न पौने ५ बजे आफ्ना २ जना सहयोगी चिकित्सक र भाइसँगै डाक्टर केसी काठमाडौं उड्नु भएको हो ।
सेती अञ्चल अस्पतालबाट एम्बुलेन्समा उहाँलाई धनगढी विमानस्थल लगिएको र त्यहाँबाट श्रीएयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइएको हो । डाक्टर केसीसँगै सेती प्रादेशीक अस्पालका डाक्टरद्वय अमृत जैशी र डाक्टर मिथलेस यादव पनि काठमाडौं आउनु भएको छ ।
डाक्टर केसीको उपचारमा खटिएका सेती प्रादेशीक अस्पतालका डाक्टर शेरबहादुर कमरले उहाँको शरीरमा पोषण तत्व र पानीको अभाव भएको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको, मुटुको धडकन कम हुँदै गएको, रगतमा हेमोग्लोबिन कम भएको, पिसाबमा किटेन बढी देखिएको जस्ता समस्या आएकाले काठमाडौं रेफर गरिएको बताउनुभयो । यसअघि हिजो उहाँलाई काठमाडौँ ल्याउन गएको नेपाली सेनाको स्काई ट्रकमा आउन अस्वीकार गर्नु भएको थियो । काठमाडौँ आउन अस्वीकार गरेपछि सेनाको स्काई ट्रक रिक्तै फिर्ता आएको थियो ।
काठमाडौँ महानगरद्वारा बाह्य विज्ञापनमा रोक
काठमाडौ । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड÷डिजिटल बोर्ड अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ। यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ ।
उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन
काठमाडौ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ ।
दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए । आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको २१ सीटमा ३४ दलले मात्रै बन्द सूची बुझाएका छन् । त्यस्तै कर्णाली ४९ दलले समानुपातिकमा भाग लिने भन्दै निवेदन दिएकोमा २८ दलले मात्रै बन्दसूची बुझाएका छन् ।दर्ताको आधारमा समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरिसकेको थियो ।
सोमबारसम्म कर्णाली र सुदूरपश्चिमको मात्रै मतपत्र छपाइ गर्न बाँकी रहेकाले आयोगले दुबै प्रदेशमा बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ गर्ने भएको छ । प्रत्यक्ष तर्फको मतपत्र भने सबै प्रदेशमा उम्मेदवार रहेको चिह्नको मात्रै मतपत्र छाप्ने भएको छ । सरकारले सिटामोलको मूल्य नबढाएपछि अहिलेकै मूल्यमा उत्पादन बढाउँदै उद्योगी काठमाडौ । सरकारले प्रकोपका बेला ‘सिटामोलको अभाव नगराउन’ निर्देशन दिएसँगै मूल्य बढाउन माग गर्दै आएका नेपाली औषधि उद्योगीले अहिलेकै शुल्कमा उत्पादन बढाउने भएका छन् ।
पछिल्ला वर्षहरूमा महामारीजन्य रोगहरूसँगै सिटामोलको खपत उच्च भएपछि उद्योगीले अहिलेकै मूल्यमा उत्पादन बढाउन नसक्ने भन्दै मूल्य समायोजनको माग गरेका थिए ।तर, सरकारले उद्योगीको अनुरोध नसुनेपछि अहिलेलाई अभाव हुन नदिन सिटामोलको उत्पादन बढाइएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताउनुभयो । पछिल्लो समय डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटामोल अभाव नगराउन र उत्पादन बढाउन उद्योगी तथा आयातकर्ताहरूलाई निर्देशन दिएको थियो ।
आर्थिक खबर
सरकारी संस्थानको पैसा लघुवित्त कोषमा राखिने
काठमाडौ । सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने भएको छ । अर्चमन्त्री जनार्दन शर्माले साना किसान तथा साना स्टार्टअपलाई सो कोषबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन संस्थानहरुको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने कार्यविधि अघि बढेको बताउनुभएको हो । साना किसान तथा साना व्यवसायीले ठूला बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउन मुश्किल र झन्झटिलो रहेको भन्दै मन्त्री शर्माले अब लघुवित्त कोषबाट सजिलै कर्जा प्रदान गरिने बताउनुभयो ।
आर्थिक वर्ष ०७९÷८० को बजेटमा ५ खर्बको लघुवित्त कोष निर्माण गर्ने उल्लेख छ । सोही कोषमार्फत् साना किसान, साना उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिइने उल्देख गरिएको छ । सरकारले घटायो सहुलियत पसलमा तेल र दालको मूल्य काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार सार्वजनिक भएपछि कम्पनीले प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।
तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । घटाइएको नयाँ मूल्य कार्यान्वनयनमा आइसकेको पनि उहाँको भनाइ छ । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ । यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो ।
यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ । खद्यले मूल्य घटाए पनि अझै सो मूल्य होलसेल व्यवसायीहरुले बजारमा बिक्री गर्ने भन्दा बढी छ । होलसेलमा होलसेलमा तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य क्रमश २५०, २४५ र २१८ रुपैयाँ प्रतिलिटर छ ।
विदेशका खबर
जनमत संग्रहको बिषयमा शक्तिशाली राष्ट्रहरु
काठमाडौ । यूक्रेनका पूवी र दक्षिणी क्षेत्रहरुमा जनमत संग्रहको घोषणा भएसँगै पश्चिमी मुलुकहरुले यसलाइ रुसको षडयन्त्र भन्दै बहिष्कार गरेका छन् । अमेरीका, जर्मनी र फ्रान्सले जनमत संग्रहको परिणाम रुसमा गाभिने पक्षमा भएपनि त्यसलाई अस्वीकार गरिने बताएका हुन् । युद्धको मध्यमा आकस्मिक हुने भनिएको जनमत संग्रह पारदर्शी नहुने फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको बैठक अघि पत्रकारहरुसँग बोल्दै उहाँले यो निर्णय असंवैधानिक र हास्यास्पद भएको प्रतिक्रिया दिनुभयो । संयुक्त राष्ट्र संघको बैठक अघि बोल्दै अधिकांश अधिकारीहरुले जनमत संग्रहको परिणाम स्वीकार्य नहुने बताएका छन् । यसै विच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको कदम संयुक्त राष्ट्रसंघको अधिकारपत्र बिपरित भएको बताउनुभएको छ । पूवी र दक्षिणी यूक्रेनका रुसी नियन्त्रित क्षेत्रहरुले रुसको अभिन्न अंग बन्न यसै हप्ता जनमत संग्रह गर्ने भएका छन ।
रुसको नियन्त्रणमा रहेको उत्तर पूर्वी क्षेत्रको ठुलो भूभाग युक्रेनले पून कब्जा गरेपछि पछिल्लो समय सो क्षेत्रमा रुसको आक्रमण रोकिएको छ । अब युक्रेनको पूर्व र दक्षिणमा रुसी समर्थित अधिकारीहरुले रुसमा सामेल हुन जनमत संग्रह गर्ने घोषणा गरिएको छ । लुहान्स्क, खेर्सन र आंशिक रुस नियन्त्रित जापोरिज्जिया र डोनेट्स्क क्षेत्रमा अधिकारीहरुले मतदानको तालिका सार्वजनिक गरेका हुन् । मतदान आगामी शुुक्रबार देखि सोमबार सम्म हुनेछ ।
यस जनमत संग्रहले रुस युक्रेन युद्धलाइ नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ । उता युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जनमत संग्रहलाई नक्कली र नियोजित जनमत संग्रहको उपमा दिनुभएको छ ।
खेल खबर
नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भोलि
काठमाडौ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भोलि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा भोलि हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट टोलीको घोषणा गर्ने एन्फाले जनाएको छ ।
पत्रकार सम्मेलन भोलि अपरान्ह ३ बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको वरीयतामा सुधार काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका हुन् ।
बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा झरेका छन् । दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।
युरोकप छनोटमा पनि रुसलाई प्रतिबन्ध
काठमाडौ । युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ । युरोकप फुटबलको छनौट खेलहरु आगामी महिना सुरु हुँदैछ ।युक्रेनमाथिको सैन्य हमलासँगै फिफा र युएफाले गत फेब्रुअरीमा रुसमाथि सबै खाले फुटबल गतिबिधीबाट प्रतिबन्ध लगाएका थिए । साथै रुसी क्लबहरु समेत युरोपियन प्रतियोगिता खेल्न अयोग्य भएका थिए ।
युरोकप छनौटको खेल तालिका यही अक्टोबर ९ तारिखमा सार्वजनिक हुँदैछ । ५३ टोली सहभागी रहने छनोट चरणमा रुसलाई समावेश गरिएको छैन । सन् २०२४ को युरोपियन च्याम्पियनसिप जर्मनीले आयोजना गर्दैछ । आयोजक जर्मनी स्वतः प्रतियोगितामा छनोट भइसकेको छ ।
युएफामा आवद्ध बाँकी देशहरुलाई १० समूहमा वर्गिकरण गरिनेछ । प्रत्येक समूहको विजेता र उपविजेता युरोकपका लागि छनोट हुनेछन् । प्लेअफमार्फत थप तीन टोलीको टुंगो लाग्नेछ । युरोकप फुटबलको फाइनल चरणमा कुल २४ टोली सहभागि हुनेछन् ।