अन्नपूर्ण दिनभर : नागरिकता विधेयक प्रमाणीकरणका लागि १५ दिनको संवैधानिक समयसिमा आज सकिदैँ
नागरिकता विधेयक प्रमाणीकरणका लागि १५ दिनको संवैधानिक समयसिमा आज सकिदै
काठमाडाै । पटक–पटक गिलोलिदै आएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पाउनु भएको १५ दिनको संवैधानिक समयसिमा आज सकिदैछ । संसदका दुबै सदनले कुनैपनि संसोधन नगरिविधेयकलाई भदौ २० गते राष्ट्रपतिकहाँ पुनः प्रमाणीकरणका लागि पठाएको थियो ।
तर भण्डारीले हालसम्म कुनैपनि निर्णय लिनुभएको छैन । अन्तिम समयसम्म पनि राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफलमै हुनुहुुन्छ । तर आफुले दिएका सुझावहरुलाई संसदले बेवास्ता गरेकोमा असन्तुष्ट बन्दै भण्डारी प्रमाणीकरण नगर्ने मनशायमा पुगेको समेत बुझिएको छ ।
पहिलोपटक प्रमाणीकरणका लागि पठाएको विधेयक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई भएपनि दोस्रोपटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन–कानूनमा छैन ।
विधेयक फर्किएर आएपछि राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजिवीहरूलाई बोलाएर लगातार छलफल गर्नुभएको थियो । तर उहाँले विधेयकलाई थाती राख्ने मनशाय बनाएपछि यस्तो निर्णयले नयाँ संवैधानिक बहस सिर्जना गर्ने देखिन्छ ।
संविधानविद् डा. विपीन अधिकारीले भने संविधानको संरक्षक भएकाले पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै अधिकारीले राष्ट्रपतिले व्यक्तिगत प्रतिशोधका आधारमा विधेयक फिर्ता गर्ने कदम चाल्न नहुने बताउनुभयो ।
राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा सरकारले अध्यादेश ल्याउन सक्ने बाटो भएतापनि राष्ट्रपतिले नै जारी गर्ने भएकाले त्यो पनि सम्भव नभएको उहाँको भनाइ छ । सर्वोच्च अदालतमा विधेयक खारेजको माग गर्दै परेको रिटका बिषयमा टिप्पणी गर्दै अधिकारीले विगतका मान्यता हेर्दा राष्ट्रपतिलाई अदालतले आदेश दिएको नजिर नभएको र राष्ट्रपतिले गलत गरेपनि त्यसको जिम्मेवारी सुझाव दिने व्यक्ति वा सिफारिस गर्ने निकायले लिनुपर्ने बताउनुभयो ।
नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन आज एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ ।
निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ । वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले त्यो विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी निवेदन पेश भएको बताउनुुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ भन्दै आज सुनुवाई हुन सकेन । निवेदनमा वरिष्ठ अधिवक्ता रमेश बडालको समेत वकालतनामा छ । बडाल र डा. शर्मा पहिले एउटै ल फर्ममा काम गरेका कारण मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो । आज स्थगित भएको निवेदन फेरि भोलिका लागि पेशी तोकिएको छ । भदौ२३ मा दरपीठ आदेश भएपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता डा. भण्डारी फेरि सर्वोच्च अदालत जानुभएको थियो ।
संघीय संसद्बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएसँगै आज राष्ट्रपतिले निणर्य लिनुपर्ने छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाउनुभएको थियो । भदौ २० मा भदौमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले हुबहु पारित गरी फेरि राष्ट्रपतिकहाँ पठाएको हो । दोस्रो पटक पठाइएको सो विधेयक पुनर्विचारका लागि राष्ट्रपतिलाई संविधानले दिएको १५ दिन आज पुरा हन लागेको हो ।
नागरिकताविहीनहरूको आग्रह ‘राष्ट्रपतिज्यू, विधेयकमा हाम्रो भविष्य छ,
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद्बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै नागरिकताविहीन युवाहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरू गरेका छन् । उनीहरूले नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन् ।
संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानुन नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको भन्दै नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् ।
आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट बञ्चित गर्ने प्रयास भइरहेको संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले बताउनुभयो । उहाँले राष्ट्रपति भण्डारीले मंगलबार साँझसम्ममा विधेयक प्रमाणीकरण गर्ने आशावादी रहेको भनाई राख्नुभयो । उहाँले नागरिकता विधेयक पास भए नेपालीलाई भन्दा विदेशीलाई फाइदा हुने भनेर गलत प्रचार भएको बताउनुभयो । धर्नामा रहेका अर्का एक युवाले राष्ट्रपति भण्डारीलाई आफूहरूको भविष्यसँग खेलवाड नगरिदिन आग्रह गर्नुभयो ।
अनशनरत डा. केसीले काठमाडौं जान मानेनन्, सेनाको स्काइ ट्रक रित्तै फर्कियो
काठमाडाै । स्वास्थ्य शिक्षा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं आउन अस्वीकार गर्नुभएको छ । केशीलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक केशीले काठमाडौं नआउने अडान लिएपछि धनगढीबाट रित्तै फर्केको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेको थियो ।
आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो । केशी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
चाडपर्वमा देशभर सुपथ मूल्य पसल चलाउन निर्देशन
काठमाडाै । संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको आजर सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
दशैं, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो । बैठकले दशैंका लागि घर जाने यात्रुहरुको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरुको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए ।
सांसद एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरुमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
चाडपर्वलक्षित विशेष जाँच
काठमाडाै । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुंगा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिनुभयो ।ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।
आयोगद्वारा सामाजिक सञ्जालसँग सहकार्य
काठमाडाै । चुनावका बेला फैलिने भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालसँग सहकार्य थालेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना फैलिन सक्ने भन्दै आयोगले फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालसँग सहकार्य थालेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यसअघिका चुनावमा पनि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण भएकाले त्यस्ता सूचना फैलिन नदिन यसपालि सामाजिक सञ्जालसँग सहकार्य सुरु गरिएको हो । फेसबुकले गएको भदौ २२ गते पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सार्वजनिक गरेको थियो । यसमा नेपाललगायत २ सय ४२ वटा देश आबद्ध छन् ।
डेंगुको प्रकोप घोषणा गर्न पत्राचार
काठमाडाै । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । देशभर हालसम्म १७ हजार ४ सय ९४ जनामा डेंगु पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका ९० प्रतिशत बिरामीमा डेंगु पुष्टी भएको छ । अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक घरमा डेंगुका बिरामी रहेको भन्दै अझै जोखिम बढ्न सक्ने बताउनु भयो । स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइरहँदा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन ।
टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली
काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ ।
टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’ मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारे अध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ । करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ ।
टुकुचाको सो भूमिगत संरचना राणाकालको इन्जिनियरिङको नमूना भएको दाबी गर्दै टुकुचामाथिका जग्गा धनीले नभत्काई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । कतिपय पुरातत्वविद् र संरक्षण अभियान्ताले टुकुचाको ईंटाले बनेको पूर्वाधारलाई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । तर, टुकुचाको यो पूर्वाधार कहिले बनेको र यसको ऐतिहासिकता को हो भन्ने यकीन हुन सकेको छैन । अब विभागको टोलीले ती पूर्वाधारको अध्ययन गरेर यसबारे प्रष्ट पार्नेछ ।
याङ्री र लार्केको पानी वितरणका लागि काठमाडौंमा पाइप विच्छ्याउन सुरू
काठमाडाै । मेलम्चीपछि यांग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप विच्छ्याउन थालिएको हो । दोस्रो चरणमा यांग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो ।
पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले बताउनुभयो ।
याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उहाँले बताउनुभयो । वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ ।
मुड्खु–तीनपिप्ले सडकको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिइँदै
काठमाडाै । बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिने तयारी भएको छ । सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गरेको उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी रहेको सडक विभागले जनाएको छ । रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार ठेक्का सम्झौता हुने क्रममा छ । ठेक्का रकम १५ करोड रुपैयाँ रहेको र चार महिनाभित्र सडक निर्माणको काम सकिसक्नुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।
तोकिएको समयमा सडक निर्माणको काम नसकिए ठेक्काको म्याद नथपिने सडक विभागले जनाएको छ । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो । बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि उक्त ठेक्का तोडेर नयाँ ठेक्का गर्ने तयारी भएको छ । यही सडकमध्ये मुड्खु–तीनपिप्ले एउटा खण्ड रहेको महानिर्देशक थापाले बताउनुभयो ।
गोठाटारमा व्यवसायीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा
काठमाडाै । काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ । तीमध्ये एकजनाले होटलमा कोठा लिएका थिए ।
स्रोतका अनुसार ती व्यक्ति भेट्न घटनामा संलग्न अन्य दुईजना नियमित जसो आउने गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी कपडा व्यवसायी सर्लाहीहरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या भएको थियो । गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ । लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए । त्यो निवेदनबारे बिटले प्रहरी वृत्त बौद्धलाई जानकारी पनि गराएको थियो ।
व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने
काठमाडाै । व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २१ भदौमा राज्य मन्त्रिस्तरीय निर्णयबाट यस्तो प्रावधान ल्याएको हो । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि लाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले यस्तो निर्णय गरेको छ ।
व्यक्तिगत निमन्त्रणा आउने, कार्यक्रम गैरसरकारी संस्थाले आयोजना गरेको प्रकृतिको हुने र कतिपय कार्यक्रम सम्बन्धित पदाधिकारीको कार्य क्षेत्रसँग सम्बन्धित नरहेको भन्दै विदेश भ्रमणको अनुमति दिन समस्या परेको कार्यालयको भनाइ छ । कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता समेत पुष्टि हुन नसकेको र कतिपय सिफारिस विदेश भ्रमणको मनोनयन निर्देशिकाको प्रावधान अनुकूल नआएको समस्या समेत देखिएको कार्यालयले उल्लेख गरेको छ । सोही अनुसार अब व्यक्तिगत नाममा प्राप्त भएको निमन्त्रणका आधारमा कुनै पनि पदाधिकारीलाई विदेश भ्रमणको मनोनयन नगर्ने निर्णय कार्यालयले गरेको हो ।
लोडसेडिङलेबारा–पर्साका उद्योगी मर्कामा
काठमाडाै । बारा र पर्साको औद्योगिक करिडोरमा दैनिक अघोषित रुपमा १२ देखि १६ घन्टा लोडसेडिङ हुँदा उद्योगीहरु मारमा परेका छन् ।२ सातादेखि बिना जानकारी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पटकपटक विद्युत कटौती भएको उद्योगीहरुले गुनासो गरेका छन् । लगातार १६ घन्टा लोडसेडिङ हुँदा उत्पादन ५० प्रतिशतले घटेको उद्योगीहरुको भनाइ छ।विद्युतको अभावमा डिजेलको प्रयोग गर्नु परेका कारण उत्पादनलागत बढ्दा वस्तुको मूल्यसमेत वृद्धि गर्नु परेको उनीहरुको भनाइ छ । विद्युत प्राधिकरणले बिना जानकारी पटक–पटक विद्युत कटौती गर्दा ठूला मेशिनको पार्टपूर्जा बिग्रने र सञ्चालनमा समेत समस्या भएको उनीहरुको गुनासो छ ।बारा र पर्सा औद्योगिक करिडोरमा ठूला–साना गरी ५ सय भन्दा धेरै निमार्णजन्य, खाद्य र तेल उद्योग रहेका छन् ।
आर्थिक खबर
नेप्से २२ महिना यताकै न्यून बिन्दुमा
काठमाडाै । सेयर बजार परिसूचक नेप्से करिब २२ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १ हजार ८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १ हजार ८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो ।
नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असारमा २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से करिब ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिना यताकै न्यून बिन्दुमा पुगेको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिना यता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो ।
मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर हुँदा ७ कम्पनीको मात्रै बढेको छ ।
भारतमा विद्युत निर्यात
काठमाडाै । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
सुरुमा दुईटा विद्युतगृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।
पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो
काठमाडाै । काठमाडौंबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडादर आगामी १५ असोज २०७९ (१ अक्टोबर २०२२)बाट लागू हुने वायुसेवा सञ्चालक संघ, नेपालले जानकारी दिएको छ । संघले नयाँ भाडादर १२ भदौमा तय गरेको हो । हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई दृष्टिगत गरी संघले हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण गरेको जनाएको छ ।
नेपाली भाडादरमा परिवर्तन गरिएको छैन । तर, पर्यटकीय गन्तब्यमा हुने चार्टर्ड उडानको डलर फेयरमा भने वृद्धि भएको छ । यसअघि १८ जेठदेखि लागू हुने गरी संघले चार्टर्ड भाडादर कायम गरेको थियो । सो बेला काठमाडौं–लुक्ला–काठमाडौं रुटमा २४ सय डलर रहेको भाडा अब भने ३ हजार डलर पुगेको छ । काठमाडौं–सगरमाथा बेस क्याम्प–काठमाडौं भाडादर ३४ सय डलरबाट ४ हजार डलर पुगेको छ । यो ३ यात्रुका लागि हो । ५ यात्रुको भाडा ४५ सय डलर पुगेको छ । यसअघि ५ यात्रुको ३७ सय डलर रहेको छ । काठमाडौंबाट हुने माउण्टेन फ्लाइटको भाडा ३ यात्रुको ३४ सय डलरबाट ४ हजार डलर र ५ यात्रुको ३७ सय डलरबाट ४५ सय डलर पुगेको छ ।
विदेशका खबर
विहारमा चट्याङ लागेर एक्काइस जनाको मृत्यु
काठमाडाै । भारतको पूर्वी राज्य बिहारमा बितेको २४ घण्टामा वर्षाका बीच चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीका अनुसार खेतबारीमा काम गरिरहेका किसानहरुको चट्याङ लागेर मृत्यु भएको हो । प्राधिकरणका ती अधिकारीका अनुसार पूर्णिया र अररिया जिल्लामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ ।
शक्तिशाली आँधीका कारण जापानमा बाढी–पहिरोको जोखिम
काठमाडाै । जापानमा शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने भन्दै सचेत रहन उद्धारकर्ताहरूले आग्रह गरेका छन् । जापानको दक्षिणी टापु क्युशुमा आइतबार टाइफून नान्मादोल नाम दिइएको समुद्री आँधी आएपछि तीव्र गतिमा अघि बढिरहेको छ। उक्त समुद्री आँधीका कारण अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
अहिले साढे तीन लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ । आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको बीबीसीले उल्लेख गरेको छ । शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ । हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ । यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ ।
शक्तिशाली समुद्री आँधीका कारण क्युशुमा रेल सेवा पनि अवरुद्ध भएको छ । क्युशुको कुनितोमीमा घर डुबानमा परेका छन् । क्युशुको कुनितोमीमा घरहरू डुबानमा परेका छन् । राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ । बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ । बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन् । पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन् । टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ ।
खेल खबर
सि डिभिजन खेल तालिका सार्वजनिक
काठमाडाै । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु असोज ६ गते बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ । एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।
पीएनजीमाथि नामिबियाको सहज जित
काठमाडाै । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ ।पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४२.४ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्र बनायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । जितसँगै नामिबियाको २१ खेलमा २४ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । पपुवान्युगिनी भने २३ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।