अन्नपूर्ण दिनभर : आज ८औं संविधान दिवस, ९९८ जनालाई मानपदवी वितरण, बंगलादेशले पहिलोपटक च्याम्पियन
आज समानुपातिक सुची बुझाउने अन्तिम दिन
काठमाडौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरुले समानुपातिक तर्फको बन्दसूची बुझाएका छन् । सत्तारुढ घटक नेपाली कांग्रेस, माओवादी केन्द्रकासाथै प्रमुखप्रतिपक्षी नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यस्तै अन्य दलका नेताहरु पनि बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले आज अपराह्न आयोगलाई समानुपातिकतर्फको बन्दसूची बुझाएको हो । महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ जीवन परियारलगायत नेताहरू बन्दसूची बुझाउन आयोग पुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेस महामन्त्री शर्माले पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै चुनावलाई रेस्लिङको मैदान बनाउन नहुने बताउनुभयो ।
यस्तै, नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुगेको हो ।आचार्यले आगामी निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्ने बताउनु भएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि समानुपातिकतर्फको सूची पेस गरेको छ ।
माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, सचिव लीलामणि पोखरेल, कोषाध्यक्ष श्रीराम ढकाल र नेता मुक्ति प्रधान समानुपातिक सूची लिएर आयोग पुग्नुभएको हो । सङ्घ र प्रदेशतर्फको समानुपातिकको पूर्णसूची आयोगमा पेस गरिएको माओवादी नेता डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जसअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम पेस गरेको छ ।
यसैबीच, माओवादीको तर्फबाट बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जना समानुपातिकको बन्दसूचीमा अटाएका छन्। यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि समानुपातिकतर्फको बन्दसूची आयोगसमक्ष बुझाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउन हिजो र आजको समय दिएको थियो ।
प्रधानमन्त्री देउवा शीतल निवासमा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले नागरिकता विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ ।
दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाउनु भएको थियो । तर सत्तारुढ गठबन्धनले पहिल्यै विधेयक जस्ताको त्यस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट रहँदै आउनु भएको छ । कतिपयले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगर्ने अनुरोध गर्दै आएका छन् ।
आज ८औं संविधान दिवस
काठमाडौ । नेपालको संविधान २०७२ निर्माण भएको ८ वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाइएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । २०७२ सालमा तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नुभएको थियो । संविधान दिवसका अवसरमा आज काठमाडौंका टुंडिखेलमा विशेष कार्यक्रमको आयोजान गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री। राष्ट्रपति, उपाष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख लगायतको उपस्थितथि थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । त्यसक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने धारणा पनि राख्नुभयो । जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवर्द्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ । नेपालमा ७५ वर्षमा सात संविधान बनेका छन् तर ती मध्ये नेपालको संविधान २०७२ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र संघीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।
जनताकै प्रतिनिधिले लेखेको संविधान आएपनि राजनीतिक अस्थीरता भने कायमै देखिन्छ । राजनीतिक अस्थिरताकै लागि संसद विघटन तथा महाभियोगका बिषयमा स्पष्ट र ती घटना नहुनेगरि व्यवस्था गरिएपनि यीनै असंवैधानिक काम गर्नतिर राजनीतिक दलहरु लागेका छन् । यसबिषयमा राजनीतिक स्वार्थकै लागि विभिन्न राजनीतिक दलहरु विभाजित भए भने पदलोलुपताका कारण प्रदेशमा संविधान विपरित मन्त्रीमण्डल बनाउने तथा भागशान्तिकै लागि मन्त्री पठाउने र बोलाउने काम भएका छन् । अहिले पनि मधेषवादी दलहरुसहित विभिन्न वर्ग संविधानलाई स्वीकार्न तयार छैनन् ।
पूर्वसभामुख ओनसरी घर्तीले भने संविधानको अक्षरस पालना गर्न सकिए संविधानबाट धेरै लाभ लिन सकिने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै घर्तीले संसदले कानूनहरु निर्माण गर्न ढिलाइ भएको बताउनुभयो । सरकारले आवश्यक कानूनहरु बनाएर असन्तुष्ट पक्षका मागहरु समेत सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
९९८ जनालाई मानपदवी वितरण
काठमाडौ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी अलकांर र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ। संविधान जारी गर्दा पूर्वप्रधानमन्त्री कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ । मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार आज राष्ट्रपतिले विभूषणको घोषणा गर्नुभएको हो ।
यस्तै मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गरिने भएको छ । राष्ट्रपति भण्डारीले मह जोडीसहित १७ जनालाई यस पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको हो । सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार नीर शाह, राजेश हमाल, गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला), कुलमान घिसिङलगायत रहेका छन् । यसैबीच दिवसका अवसरमै राष्ट्रपति भण्डारीले ६ सय ८१ कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्नुभएको छ ।
काठमाडौंको गोठाटारमा गोली चल्यो
काठमाडौ । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गर्नुभयो । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ । घाइतेलाई ३ वटा गोली लागेको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सेती अस्पतालले भन्यो
काठमाडौ । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।
केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गर्नुभएको हो । अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।
धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि जनाएको छ ।
दशैँअघि बैतडीमा खाद्य कम्पनीले चामल दिन नसक्ने
काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नआउने भएको हो । चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिनुभयो ।
उहाँले बैतडीको गोठालापानी बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि दुई हजार क्विन्टल र पुरचौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको र ढुवानीको टेन्डर नपरेका कारण दशैँअघि बैतडीका लागि चामल जाने सम्भावना नरहेको बताउनुभयो । सुदूरपश्चिमका बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका लागि भने टेन्डर परेका कारण चामल ढुवानी भइरहेको खाद्य कम्पनीले जनाएको छ ।
बजार मूल्यभन्दा खाद्य कम्पनीको चामल प्रतिकिलो पाँचदेखि सात रुपियाँसम्म सस्तो हुने गरेको छ । खाद्य कम्पनीका अनुसार सोना मन्सुली मोटा चामल प्रतिकिलो ४६ रुपियाँ र जिरा मसिनो चामलको प्रतिकिला ६७ रुपियाँ मूल्य रहेको छ ।
अदालतको आदेशपछि पनि टुकुचा खोला खोज्ने अभियान निरन्तर
काठमाडौ । काठमाडौं महानगरपालिकाले टुकुचा (इच्छुमती) खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ ।काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक–हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन गरिएको छ । उहाँले ती क्षेत्रमा संरचना बनेका ठाउँभन्दा बाहिर टुकुचा खोज्न उत्खनन गरिरहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिका अनुसार नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ । महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन गरिरहेका महानगर प्रहरीले जनाएको छ । टुकुचा खोलालाई कहिलेदेखि भूमिगत गरियो भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन । तर राणाकालीन समयमा इँटाको गुम्बज बनाएर भूमिगत गरिएको इतिहासका जानकारहरुले बताएका छन् ।
आर्थिक खबर
बजेट खर्च साढे ७ र राजस्व असुली ११ प्रतिशत
काठमाडौ । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो २ महिनामा सरकारको बजेट खर्च ७.४९ प्रतिशत भएको छ । राजस्व संकलन ११.१८ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको खर्च १ खर्ब ३४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबर देखिएको हो । सोही अवधिको राजस्व असुली १ खर्ब ६३ अर्ब २ करोड ४७ लाख रुपैयाँ बराबर छ ।
कुल खर्चमध्ये चालु शीर्षकमा विनियोजित बजेटको ९.१९ प्रतिशत अर्थात् १ खर्ब ८ अर्ब ७३ करोड १३ लाख खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बराबर छुट्याएको छ । पुँजीगत शीर्षकमा ३ अर्ब ८० करोड ३८ लाख ४५ हजार रुपैयाँ बराबर छुट्याइएकामा १.५४ प्रतिशत अर्थात् ५ अर्ब ८६ करोड ५ लाख रुपैयाँ बराबरको खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा भदौ मसान्तसम्ममा ८.५८ प्रतिशत अर्थात् १९ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ बराबर खर्च भएको छ ।सोही अवधिमासरकारको आन्तरिक राजस्व संकलन लक्ष्यको ९० प्रतिशत बराबर देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिना अवधिमा ७५ अर्ब ८० करोड ५९ लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य रहेकामा ६७ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबर असुली भएको हो ।
विदेशका खबर
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै
काठमाडौ । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयको आजअन्तिम संस्कार गरिँदैछ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराअनुसार वेस्टमिन्स्टर एबीमा सुरु हुने छ । अन्त्येष्टि अघि अन्तिम शव यात्रा भइरहेको छ । महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिएको हो । शवयात्रामा राजा चाल्र्ससहित राजपरिवारका अन्य सदस्यहरू वरियताक्रम अनुसार लामबद्ध रुपमा सहभागी भएका छन् । सर्वसाधारण मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ ।
अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको अपेक्षा गरिएको छ । ती मध्ये करिव पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरू सहभागी छन् । विभिन्न देशबाट आएका पाहुनाहरूको लागि बेलायतका नयाँ राजा चाल्सले हिजो साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नु भएको थियो । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भिड लागेको थियो ।
शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउसो १ बजे पुग्ने गरी तालिका बनाइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधि गराइने छ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो ।
खेल खबर
महिला साफ च्याम्पियनसिपः बंगलादेशले पहिलोपटक च्याम्पियन
काठमाडौ । बंगलादेशले पहिलोपटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आयोजक तथा घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।
नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् । खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याईन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् । तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जित दिलाईन् ।
बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो । सेमिफाइनलमा भने नेपालले भारतको ५ पटकको अपराजित यात्रामा ब्रेक लगाएको थियो ।