अन्नपूर्ण दिनभर : समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु, ७०२ कैदीहरूलाई कैद मिनाहा
मन्त्रिपरिषद निर्णय : विमानस्थलका लागि करिब १२७ बिघा जग्गा अधिग्रहण गर्ने,
काठमाडौ । सरकारले विराटनगर विमानस्थलका लागि करिब १२७ बिघा जग्गा अधिग्रहण गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गते गरेको निर्णय खारेज गरेको हो ।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।
यस्तै, सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ लाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको हो। विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद बैठका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन, न्याय, तथा संसदीय विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
यस्तै बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोकेको छ। आगामी कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गईरहेको इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिएको छ ।
७०२ कैदीहरूलाई कैद मिनाहा
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ७०२ कैदीहरूलाई कैद कट्टा गर्नु भएको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीसमक्ष ७०२ कैदीको सजाय मिनाहा गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा गर्नु भएको हो ।
कैद मिनाहा हुनेमा पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कूल जम्मा ६८१ जना छन्। यसैगरी राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई कैद माफी भएको छ। कैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी–लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश
काठमाडौ । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार आज न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त स्थानमा बनेका घरहरू कानुनी रित नपु¥याइ र उचित क्षतिपूर्ति नदिइ नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गर्नुभएको थियो ।
अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार कट्टेलले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । महानगरले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालिसकेको छ । आज मात्रै महानगरले हात्तिसार क्षेत्रमा उत्खनन् गरेर टुकुचा खोला निकालेको छ ।
निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द
काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन रोक लगाइएको छ । आज जबराले सर्वोच्च अदालत जाने बताउनुभएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासमै नजरबन्दमा राखिएको हो ।
जबराले सर्वोच्चमा फर्कने तयारी गर्नुभएपछि उहाँलाई रोक्न नेपाल बार एशोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए ।साथै बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । हिजो मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएपछि महाभियोग निस्कृय भएको दावी गर्दै जबरालेआज सर्वोच्च अदालत जाने जानकारी गराउनु भएको थियो ।
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबराको निवासमा पुगेर अनुगमन गरेको छ । जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो। आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो । टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन गरेको छ ।
यता, काठमाडौं प्रहरी कार्यालयले भने सम्भावित झडप र विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश निवासबाहिर प्रहरी परिचालन गरेको दाबी गरेको छ । काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीले उत्पन्न हुने सम्भावित परिस्थितिका लागि प्रहरीलाई तैनाथी गरिएको बताउनुभयो । उहाँले ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिन त्यसरी प्रहरी परिचालन नगरिएको दाबी गर्नुभयो ।
जबराविरुद्ध गत १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । महाअभियोगका विषयमा प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ ।समितिको बहुमतले जबराविरुद्ध महाअभियोग लगाउन सिफारिस गर्दै हिजो प्रतिवेदन बुझाएको थियो ।
अदालतमाथि मजाक भयो : बार एसोसिएशन अध्यक्ष घिमिरे
काठमाडौ । नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ । आज सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरिले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताउनुभयो ।
उहाँले संसद्को कार्यकाल सकिएको नभइ सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै जबराको महाअभियोगको सम्बन्धमा आउँदो संसद्ले प्रष्ट पार्ने बताउनुभयो ।
यस्तै, वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भयो ।
यस्तै, राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभयो । बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको हो ।
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा
काठमाडौ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुग्नुभएको छ । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो । मन्त्री डा. खड्का गए राति हिथ्रो विमानस्थलमा पुग्नुहुदा बेलायतको विदेशमन्त्रालयको टोलीले उहाँलाई स्वागत गरेको थियो ।
मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुग्नुभएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मन्त्री खड्का आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासको उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो ।
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।
उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताउनुभयो । आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल गए रातिदेखि समाप्त भएको छ ।
अधिकांश प्रमुख पार्टीले भोलिमात्रै बुझाउने
काठमाडौ । यसैबिच, प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो ।
आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले भोलिमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका छन् । प्रमुख राजनीतिक पार्टीका नेताहरुले आफुहरु आज पनि समानुपातिकको सुची तयार गर्ने गृहकार्यमै लागेको र भोलि पनि सुची बुझाउने समयसीमा रहेकाले सोही दिन सुची बुझाउने गृहकार्यमा लागेको बताएका छन् ।
समानुपातिक सुची तयार गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसीरहेको छ । एमाले केन्द्रीय निर्वाचन आयोग विभाग उपप्रमुख नीरज आचार्यले आज सचिवालयले बन्दसूची फाइनल गर्ने र भोलीसुची बुझाउन आयोग जाने तयारी भइरहेको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसले पनि समानुपातिकको बन्दसूची भोलि नै बुझाउने तयारी गरेको छ ।
विगत चार दिनदेखि कांग्रेसको लगातार बैठक बस्दै आएपनि बन्दसूची तयार पार्न सकस पर्दा ढिलाई भएको नेताहरुको भनाइ छ । आज कांग्रेस संसदीय समितिको बैठकमार्फत सामानुपातिक सुचीमा राख्ने नामबारे छलफल भएपनि टुंगोमा पुग्न नसकेको बताइएको छ । यसअघि सहमहामन्त्रीहरुले क्लस्टर अनुसार समानुपातिकमा सिफारिस भएकाहरुले सुची पेश गरेका छन् । ती नामहरूमाथि छलफल गरेर निर्णयमा पुग्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी, नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न कार्यदल बनाएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिनुभयो ।
साहका अनुसार प्रदेशबाट लामो सूची आएकाले आजको बैठक निष्कर्षमा पुग्न सकेन । आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिने साहले जानकारी दिनुभयो ।
यस्तै, नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची भोलि मात्र टुंग्याउने भएको छ ।उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार भोलि बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ । उहाँले अहिले प्रदेशबाट आएको नाम मिलाउने काम भइरहेको बताउनुभयो ।
यसैगरी राप्रपाले पनि भोलि मात्रै बन्दसूची बुझाउने भएको छ । जिल्लाबाट प्राप्त भएका नामहरुलाई अन्तिम रुप दिने क्रम जारी रहेको र भोलि अन्तिम रुप दिएर आयोगमा बन्दसूची बुझाइने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै जसपामा पनि समानुपातिक सूची तयार गर्न हिजोदेखि लगातार बैठक बसिरहेको छ ।
यसैबिच, नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । ठुला दलहरूलाई समानुपातिक उम्मेदवारहरू चयन गर्न सकस परिरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समयमा कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आज र भालिको समय दिएको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर १ सय १० जनाको नाम पठाउनुपर्छ ।
आयोगको कार्यालयमा विरोध जनाएपछि साना दलका तीन नेता प्रहरी नियन्त्रणमा
काठमाडौ । तीनवटा साना राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगको कार्यालयमा होहल्ला गर्दै आयोगको निर्णयमा विरोध जनाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्णगोपाल बञ्जरा, नेकपा राष्ट्रवादीका अध्यक्ष मीननाथ देवकोटा र समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफललाई प्रहरीले निर्वाचन आयोगको कार्यालयबाट पक्राउ गरेको हो ।
महाधिवेशन नगरेको भन्दै आयोगले जरिवाना गरेको पत्र दिएपछि उनीहरुले आयोग कार्यालयमा होहल्ला गरेका थिए । यद्यपी उनीहरुले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन जाँदा आफूहरू पक्राउ परेको बताएका छन् ।
कांग्रेस, एमाले लगायतका पार्टीले समयमै महाधिवेशन नगर्दा केही नगरेको तर साना दलमाथि आयोगले सिण्डिकेट लगाएको उनीहरूको गुनासो छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जरिवाना तिरेर मात्रै निर्वाचनमा सहभागी हुन भनेपछि उनीहरूले आयोगमै विरोध जनाएपछि आयोगमा होहल्ला गरेको भन्दै पक्राउ गरिएको थियो । उनीहरूलाई अहिले दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको छ ।
प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको हो ।
संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको आयोगका प्रवक्ता गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो ।
निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष
काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । मन्त्री श्रेष्ठले विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्ष दिएको जानकारी दिनुभयो ।
योसँगै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गएको साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको हो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको र यो निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष छ । प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ काठमाण्डौ–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको झण्डै ९ हजार हेक्टर क्षेत्रफल भित्रको झण्डै ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ ।
रुख कटानी तथा वातावरणीय क्षति घटाउन सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर एअरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ । प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्दै विमानस्थल निर्माणमा ढिलाइ नगर्ने बताउनुभयो ।
त्रिविका कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला, ५ ठाउँमा जारी
काठमाडौ । कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आज खोलेको छ ।नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ ।
परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गरेको हो ।तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ ।
कर्मचारी संघसंगठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए । महाशाखा प्रमुखहरुले पनि विज्ञप्ति निकालेर तालाबन्दी खोल्न आग्रह गर्दै आएका थिए । महाशाखा प्रमुखहरु सँग वार्ता गर्न गएका नेविसंघका नेता कार्यकर्तालाई आज कर्मचारीले विरोध स्वरुप घेराबन्दी समेत गरेका छन् ।
नेविसंघ कार्यकर्ता श्यामराज ओझा लगायत वार्तामा जानुभएको थियो । ओझाले तालाबन्दीका कारण कर्मचारी मर्कामा परेकाले ताला खोलिएको बताउनुभयो । अन्य ५ निकायमा गरिएको तालाबन्दी भने जारी छ ।
पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो । उनीसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा १ को (ङ) बमोजिम कैद सजाय हुन मागदाबी गरिएको छ ।
म्याग्दी र मुस्ताङको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद
काठमाडौ । चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्क विच्छेद भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका–९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।
बेनी नगरपालिका–२ हाँडेभिरमा गए राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुङ्गा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताउनुभयो । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पुर्याउन समेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषि उपजको निकासीसमेत प्रभावित भएको छ ।
आर्थिक खबर
नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता
काठमाडौ । नेपाल सरकार र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि१८ अर्बको सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको विश्व बैंकले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आज सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु अनुकूलित चार लेनको राजमार्गमा स्तरोन्नती गरिनेछ । यस्तै, डिजिटल नेपाल गति वृद्धि आयोजनाले २०७६ मा नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्न सघाउने छ ।
सेयर बजार
काठमाडौ । साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आज ३३.९७ अंकले घटेर १ हजार ८ सय ७६.४१ बिन्दुमा झरेको छ । आज नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ । आज कारोबारमा आएका २ सय २९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ । नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ ।
विदेशका खबर
लेबनानमा आश्रित सिरियाली शरणार्थी स्वदेश फर्किदै
काठमाडौ । लेबनानले सशस्त्र द्वन्दका कारण लेबनानमा आश्रय लिएर बसेका सिरियाली शरणार्थीहरु मध्ये मासिक १५ हजारलाई सिरिया पठाउने योजना सुरु गरेको छ । सिरिया फर्किन चाहने शरणार्थीहरुलाई सिरियाले उपलब्ध गराएको बसमार्फत उनीहरुलाई स्वदेश फर्काउने लेबनानले बताएको हो ।
सो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेडक्रसको सहकार्यमा गरिने भएको छ । स्वदेश फर्काइएका सिरियाली शरणार्थीहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिने भएको छ ।
शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना समेत रहेको छ । लेबनानी अधिकारीहरूले लेबनानले सोही विषयमा अन्तर्राष्ट्रिय स्थितिको परबाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् ।
शरणार्थीहरूको चापका कारण अर्थव्यवस्थामा ठूलो असर परेको भन्दै लेबनानले सो कदम चालेको बताइएको छ । त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको अनुमान गरिएको छ ।
जापानमा आँधीको चेतावनी
काठमाडौ । जापानमा विध्वंशकारी आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न त्यहाँको मौसम विज्ञानले चेतावनी दिएको छ । अहिले नानमाडोल नामको आँधी सक्रिय भएको बताइएको छ । जसका कारण भयावह स्थिति निम्तन सक्ने भन्दै मौसम विज्ञानले चेतावनी जारी गरेको हो ।
विशेष गरी जापानको कागोशिमा, कुमामोटोट र मियाजाकिका सर्वसाधारण जोखिममा परेकाले सोही क्षेत्र खाली गर्न अपील जारी गरिएको हो । प्रतिघण्टा २७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशिमा हुँदै जापानको मुख्य टापुसम्म पुग्ने अनुमान गरिएको छ ।आँधीले घरहरु भत्कन सक्ने र बाढी पहिरो समेत आउन सक्ने अनुमान गरिएको छ ।
खेल खबर
नेपालले बंगलादेशसँग खेल्दै
काठमाडौ । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज चौंथो तथा अन्तिम खेल खेल्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
छनोटमा नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।समूह ’बी’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ ।
प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आज अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।बंगलादेश भने दोस्रो जितको खोजीमा रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । छनोटको विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।