Live Streaming

अन्नपूर्ण दिनभर : संसद अधिवेशन अन्त्य गर्न सिफारिस, निर्वाचन १ करोड ८० लाख मतदाताले भोट हाल्ने

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलि मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिनुभयो । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।

तर आजको बैठकले भने प्रतिनिधिसभाको कार्यकालको बारेमा कुनेपनि छलफल नभएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्मा २७ विधेयक निष्क्रिय हुने भएका छन् । 

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ विधेयक निष्क्रिय हुँदै छन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ ।

प्रतिनिधिसभाको अन्तिम बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठक पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गर्दै सकिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारले फेरीपनि संसदको कार्यकालका बारेमा स्पष्ट बोलन नसकोको भन्दै आपत्ति जनाउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको यन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फेरी पनि संसद जिवितै राखेर चुनावमा जाने प्रपञ्च रचे मान्य नहुने चेतावनी समेत दिनुभएको छ । 

सांसदहरुको ५ बर्षे कार्यकाल मिश्रित रहेपनि जनताका आवाज उठाउने बिषयमा भने अब्बल सावित भएको दावी समेत गर्नुभएको छ । 
यस अवधिमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली नक्सा सार्वजनिक गर्नु मुख्य उपलब्धि भएको बताउदै भट्टराईले संसदभन्दा बाहिरबाट प्रधानमन्त्री छान्ने लगायतका नकारात्मक कदमहरु समेत यस बीचमा भएको उहाँको भनाई छ । 

मंसिर ४ मा झण्डै १ करोड ८० लाख मतदाताले भोट हाल्ने

काठमाडौ । सर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आज अन्तिम नामावली प्रकाशन गरेको हो । जसअनुसार निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता मतदाता सहभागी हुन पाउने भएका छन् । जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य गरेर जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेका छन् । 

निर्वाचनमा सवैभन्दा बढी मोरङमा ७ लाख ३५ हजार ५२५  र सबैभन्दा कम मनाङमा ६ हजार ७७९ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ । मतदाता नामावलीमा प्रकाशित मतदाताको विवरणलाई सही र त्रुटिरहित बनाउन आयोगको प्रयास गरिरहेको आयोगले जनाएको छ । 

मतदाता नामावलीमा भएका सानातिना त्रुटिको कारणले मात्र मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुन नदिन आयोग प्रयत्नशील रहने आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीको विवरण तथा मतदान स्थल र केन्द्रको विवरण आयोगको वेबसाइटबाट हेर्न सकिनेछ । ती मतदाताका लागि देशभर १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ वटा मतदानेगल केन्द्र कायम गरिएको आयो जनाएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता थपिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो । मतदाताको संख्या थपिए पनि नाम दोहोरिएका र मृत्यु भएका गरेर २ लाख ३५ हजार मतदाता हटेको उहाँले जानकारी दिनुभएको छ । 

एमाले सांसदलाई ओलीको निर्देशन

काठमाडौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि मध्यरातदेखि संसदको कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिनुभएको हो । संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उहाँले सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गरेपनि आफुहरु भोलिदेखि संसदमा नआउाने बताउनुभयो ।  

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन र एमालेले बहुमत ल्याउनेगरि काम गर्न समेत निर्देशन दिनुभएको छ । 

चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार बढाउन माग

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीर गर्नुभएको हो । 

उहाँले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गर्नुभयो ।

निर्वाचन आयोगको निर्देशन 

काठमाडौ । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम निर्वाचन नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न÷नगराउन पनि निर्देशन दिएको छ । 

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।     त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । 

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।     राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । 

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ । यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्र आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । 

आज रातिदेखि सुदूरपश्चिममा ठूलो पानी पर्न सक्ने चेतावनी

काठमाडौ । नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ । खासगरी पश्चिम नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र मनसुन न्यूनचापीय रेखा पनि विस्तारै नेपालको तराईनजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही प्रणालीका कारण हिजा रातिदेखि नै देशका कतिपय भागमा पानी पर्न थालेको छ ।  महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आजवार साँझदेखि सुदूरपश्चिम क्षेत्रमा पानी धेरै पर्न सक्ने सम्भावना छ । 

वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 
काठमाडौमा डेंगु हटलाइन सुरु 

काठमाडौ । काठमाडाै महानगरपालिकाले डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले डेंगु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भयो । साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने जानकारी गराइएको छ । यसैबीच, डेगु तीव्र रुपमा फैलिएपछि काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाले आगामी असोज ३ गते ‘स्टप डेंगु’ अभियान सञ्चालन गर्ने भएको छ ।

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेगु÷‘लामखुट्टे भगाऔँ, डेगु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशभर डेंगुको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेंगुको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौ । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि  तालिम अनिवार्य गरेको हो ।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्य दिनको तालिम लिनुपर्ने व्यवस्था छ । विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको निर्वाचन लक्षित गस्ती

काठमाडौ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन एवं नजिकिँदो चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्ती सुरु गरेको छ । सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्रले भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ र सुनसरीमा गस्ती गर्न थालेको हो ।

नजिकिँदो चाडपर्व तथा आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई लक्षित गरेर सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अलग अलग गस्ती टोली परिचालन गर्नुभएको छ । प्रदेश १ मा झापा, मोरङ र सुनसरी गरेर भारतसँग २ सय ६९ दशमलव १२ किलोमिटर खुला सीमा छ । 

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ ।

आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो ।

भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोतले बताएको छ  । 

विदेशका खबर
युक्रेनमा सामूहिक चिहान फेला

काठमाडौ । युक्रेनी अधिकारीहरूले उत्तरपूर्वी शहर इज्युम नजिकको जङ्गलमा एउटा सामूहिक चिहान फेला पारेका छन् । रुसको कब्जाबाट पुन आफ्नो नियन्त्रणमा लिएको भोलिपल्टनै युक्रेनी अधिकारीहरुले उक्त चिहान फेला पारेको अन्तर्राष्ट्रिय संचार माध्यम अल्जाजिराले जनाएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिजो राष्ट्रको नाममा संबोधन गर्दै उक्त चिहानबाट ४ सय ४० वटा शव बारामद भएको जनाएका छन् । उक्त शवहरुको विवरणको बारे हाल अनुसन्धान चलिरहेको जेलेन्स्कीको भनाइ छ ।हाल सो क्षेत्रमा मेटल डिडेक्टर प्रयोग गरी बिस्फोटक पदार्थ तथा अन्य शवको खोजी भइरहेको जनाइएको छ ।

अब खेल खबर
महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा

काठमाडौ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा अहिले नेपाल र भारत खेलिरहेका छन् । यसको विजेता फाइनल पुग्नेछ । 

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।भारतले समूह ’ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३–० को हार व्यहोरेको थियो । 

अन्नपूर्ण कर्पोरेट ओलम्प्याड

काठमाडौ । ‘एपी वान कर्पोरेट टीटेन’ क्रिकेट प्रतियोगिताको उपाधी प्राइम बैंकले हात पारेको छ । कर्पोरेट ओलम्पियाडअन्तर्गत अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा गत बुधबारबाट शुरूवात भएको प्रतियोगिताको र्फाइनलमा प्राइम बैंक र सेञ्चुरी बैंकबीच खेल भएको थियो ।

९७ रनको लक्ष्य पछ्याएको सेञ्चुरी बैंकले ६७ रनमै आउट भई २९ रनले पछाडि परेको हो । विजेता प्राइम बैंकले एकलाख पच्चीस हजार नगद सहित ट्रफि तथा मेडल हात पारेको छ भने, उपविजेता बनेको सेञ्चुरी बैंकले नगद पचहतर हजार तथा ट्रफी सहित मेडल पाएको छ । 

खेलमा म्यान अफ द म्याच अनिल ढकाल, बेस्ट बलर सुरज तिमल्सिना, फियर वेष्ट अवार्ड निमा एकेडेमी, वेष्ट व्याटर अरवेन्द्र राणा, प्लेयर अफ द टुर्नामेन्ट विवेक दली, बेष्ट सिक्सेस पुरस्कार राजन खड्गीले पाएका छन् । प्रतियोगितामा आयोजकसहित ११ कर्पोरेट टिम सहभागीता जनाएका थिए ।