Live Streaming

अन्नपूर्ण दिनभर : डेंगु संक्रमित नाघे १२ हजार, आजदेखि एमडीएमएस कार्यान्वयनमा

महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी

काठमाडौ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी छ । समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ । समितिमा जानुभएका बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जीता खनाल तथा वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता हर्क रावललाई पछि छलफलमा बोलाउने भन्दै पठाएको छ । 

छलफलमा नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दावी गर्नुभएको छ । जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गर्नुभयो । बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताउदै उहाँले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताउनुभयो । 

यता बैठकमा सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू भने नजाने भएका छन् । समितिले बिहीबार दिउँसोका लागि बोलाएको बैठकमा पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की नजाने भएका हुन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनीहरुले संयुक्त वा व्यक्तिगत रुपमा कुनै गैरकानूनी लाभ लिने उद्देश्यले कुनै विषयमा नबोलेको र जबरालाई समेत प्रभावित नपारेको बताएका छन् ।  पत्रमा जबरालाई प्रभावित गरेको वा गर्न उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न नसकेमा जबराले नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । 

अग्नीपथ योजनाबारे नेपाल–भारत 

काठमाडौ । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताउनु भएको छ । युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको एक कार्यक्रममा सेनाध्यक्ष पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताउनुभएको हो । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले सेनाध्यक्ष पाण्डेको भनाइ उद्धृत गर्दै नेपालले नोभेम्बर २० मा हुने आमनिर्वाचनअघि कुनै निर्णय गर्नेमा आशंका ब्यक्त गर्नुभयो  । 

नेपाल सरकारले भने अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने कुरा दोहो¥याएको छ । आज नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले सो विषय थाती राखिएको बताउनुभएको हो । भारतीय सेनाध्यक्षको भनाइप्रति प्रतिक्रिया लिँदै प्रवक्ता लम्सालले यसबारेमा नवनिर्वाचित सरकारले निर्णय गर्ने पनि उहाँको भनाइ छ । नेपाल सरकारले यसअघि नै सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ । भारतीय पक्षलाई केही समय पर्खिन भनिए पनि अहिलेको सरकारले यस विषयमा निर्णय नदिने परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो । अग्निपथमा भर्ती भएकामध्ये २५ प्रतिशतलाई नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई चार वर्षपछि फिर्ता पठाउने नयाँ सैनिक कार्यक्रम भारतीय सरकारले ल्याएको हो ।

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जानकारी दिनुभएको छ । उहाँले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकार बीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । आफ्नो माग पुरा भएकोमा प्रकाण्डले विज्ञप्तिमार्फत देउवा सरकारको यो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाँण, कानुन मन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्म बहादुर खाती लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दै तीन बुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिस्ट पार्टीको दायित्वप्रति पार्टी इमानदार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरशः कार्यान्वयन गर्न दृढ भएको जनाउनुभएको छ । 

अर्थ मन्त्रालयद्वारा निर्वाचनका लागि १८ अर्बको स्रोत सुनिश्चित

काठमाडौ । अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले दिनेछ । सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ । तर आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थमन्त्रालयसँग मागेको थियो । यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।

यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाल जानकारी दिनुभयो । मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।
आगामी मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरु पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।

समानुपातिकतर्फ बन्द सूची बुझाउने निर्वाचन आयोगले दिएको समय आउन अब दुई दिन मात्र बाँकी रहदा दलहरुले पनि तयारी तिव्र पारेका छन् । प्रमुख राजनीतिक दलहरुले यसअघि समानुपातिकबाट निर्वाचित भएकाहरुलाई पुनः नदोहोर्याउने नीति बनाएका छन् । यो नीतिका कारण यसअघि समानुपातिकबाट सांसद भएकाहरुले अवको निर्वाचनमा समानुपातिकबाटै सांसद बन्ने बाटो लगभग बन्द भएको छ । दलहरुको यही नीतिका कारण केही नेताहरुलाई अव प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आइलागेको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा  लगायतका दलहरुले पहिला समानुपातिकमा निर्वाचित भैसकेका तथा स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरुलाई ‘विशेष परिस्थिति’ बाहेक सकभर नदोहोर्याउने मापदण्ड बनाएका छन् ।

प्रचण्डको आरोप

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल म ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभयो । प्रचण्डले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । 

ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्नुभएको छ । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग निकाल्दै प्रचण्डले धोका दिएको बताउनुभएको छ । आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ । ओलीले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताउनुभएको छ । 

सिफारिस भएका नामको क्लस्टर छुट्याउने जिम्मा सहमहामन्त्रीलाई

काठमाडौ । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूबाट क्लस्टर छुट्याएर मात्रै छलफल गर्ने भएको छ । केन्द्रीय संसदीय समितिको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीका सहमहामन्त्रीहरूलाई सम्बन्धित क्लस्टरमा समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूमध्ये क्लष्टर छुट्याएर ल्याउने जिम्मेवारी दिएको हो । बैठकले सहमहामन्त्रीहरूलाई आ–आफ्ना क्लस्टरमा सिफारिस भएका उम्मेदवारहरूको नाम छुट्याएर ल्याउन भनेको छ । 

कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिनासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । जिल्ला र क्षेत्रीय समितिहरूले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् । अहिलेसम्म सबै उम्मेदवारको नाम एकै ठाउँमा राखेर संख्या यकिन गर्नसमेत नसकिएको नेताहरुले बताएका छन् । एउटै क्षेत्रबाट २५ जनासम्मको नाम सिफारिस भएर आएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले ती नै मापदण्डका आधारमा उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । 

देशको अवस्था जीवनकालकै असामान्य : अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताउनुभएको छ । इलाम सदरमुकाममा आज आयोजित कार्यक्रममा लिङ्देनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेको बताउनुभएको हो ।

लोकतान्त्रिक गणतन्त्रका नाममा केही राजनीतिक दलहरुका कारण यो अवस्था आएको उहाँको भनाइ थियो । हत्या, हिंसा, आतंक र बन्द हड्ताल छैन देश कहाँ असामान्य छ भन्ने बुझ्नु होला, ‘तर मु्लुक चरम भ्रष्टाचार, महँगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको बताउनुभयो  । उहाँले छिमेकी मान्ने तर हस्तक्षप नसहने धारणा पनि राख्नुभयो । आगामी निर्वाचनमा सधैं सत्तामा रहने दलहरुको विकल्प खोज्न मतदातालाई उहाँको आग्रह थियो । धेरैजसो युवा शक्ति वैदेशिक रोजगारमा रहेको र देशमा जेष्ठ नागरिक र भएका युवाहरु पनि दलका पछाडि लागेकाले समस्या अझ थपिँदै गएको लिङ्देनको तर्क थियो । 

आजदेखि एमडीएमएस कार्यान्वयनमा

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम.डी.एम.एस) लागू गरेको छ । विगत ४ वर्षअघिदेखि नै लागू गर्ने भनिएपनि प्राधिकरणले आजदेखि लागू गरेको हो । सो प्रणाली लागू भएसँगै अनौपचारिक माध्यमबाट भित्रिने मोबाइल फोनको व्यापार पूर्णरूपमा रोकिने भएको छ । हाल नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको मोबाइल मात्रै औपचारिक माध्यमबाट आउने गरेको छ ।

बाँकी १५ अर्ब रुपैयाँ बराबरको मोबाइल तस्करी भएर आउने गरेको तथ्यांक छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि सो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एम.डी.एम.एसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ ।

तर अब मोबाइल किन्दा दर्ता भए÷नभएको यकिन गरेर मात्रै  किन्न  पनि प्राधिकरणले आग्रह गरेको छ । यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आई.एम.ई.आई दर्ता गर्नुपर्छ । 

डेंगु संक्रमित १२ हजार नाघे 

काठमाडौ । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका हुन् । यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । त्येसपछि नेपालमा डेंगु बर्षेनी देखिने गरेको छ । हाल देशको सात प्रदेशअन्तर्गतका७५ जिल्लामा डेंगु फैलिएको छ । 

कोरोना अपडेट : देशभर २१ सय २९ जना सक्रिय संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० नमुना परिक्षण गरिएकोमा १ सय २६ जनामा संक्रमण देखिएको हो । सोही अवधीमा १ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार १२९ जना कोभिडका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौ । काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो । महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।

 आर्थिक खबर
शोधनान्तर खाता २२ अर्ब ६३ करोडले घाटामा

ठमाडौ । मुलुकमा भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थित चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना (साउन) मै घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो महिनामा साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो । सो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँले शोधनान्तर स्थिति घाटामा थियो । 
गत बर्षको सोहि अवधिको तुलनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा भने सुखद् सुवात देखिएको छ । विदेशशिनेहरुको संख्या बढ्दा साउन महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि हुँदै ९२ अर्ब २१ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।  तर २०७८ असारमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स प्राप्त भएकोमा साउनमा करिब ११ अर्बले घटेको हो । 

८ प्रतिशतले मूल्यबृद्धि

काठमाडौ । साउन महिनामा ८ प्रतिशतले मूल्यबृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत थियो ।  राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ९.१८ प्रतिशत रहेको छ । २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो । सोही अवधिमा कुल वस्तु आयात १२.९ प्रतिशतले घटेर १ खर्ब ३१ अर्ब २९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । 

ब्याजदरको त्रासले सेयर बजारमा उच्च गिरावट, कारोबार २ अर्ब नाघ्यो 

काठमाडौ । असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने संकेत देखिएपछि सेयर बजार उच्च अंकले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले ब्याजदरमा यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको छ । जसले गर्दा असोजदेखि ब्याजदर बढ्ने अनुमान छ । निक्षेपको ब्याज बढेपछि त्यसले स्वतः कर्जाको पनि बढ्न जान्छ । जसको प्रभाव बिहीबारको सेयर बजारमा देखिएको हो । नेप्से परिसूचक ५७ अंक घटेर १९२४ अंकमा कायम भएको छ । कारोबार रकम भने बढेको छ । कुल २ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भयो । जम्मा २ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८६ को घट्यो । सबै उपसमूह घटेका छन् ।समृद्धि फाइनान्स तथा स्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, रिडी पावर, अपी पावर, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
खेल खबर
एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौ । नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो । पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एनआरएनए ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि कप्तान सुनाम गौतमले २५ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४६ रन बनाए । सागर पुनले २० बलमा ३७ रन बनाए । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले २ तथा पवन सरार्फले १ विकेट लिए ।

त्यस अघि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । उसका लागि आरिफ शेखले १५ बलमा ३ छक्का ३ चौकाको मद्दतले ३६ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १२ बलमा २५ रन बनाए । करण केसीले ७ बलमा १८ तथा कुशल भुर्तेलले ५ बलमा १२ रन बनाए । अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । पहिलो सेमिफाइनल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । समूह ’ए’ को विजेताको आधारमा आर्मी फाइनल पुगेको हो । समूह ’बी’ को उपविजेता रहेकोले सुदरपश्चिम प्रदेश भने बाहिरिएको थियो । अब एनआरएनएले तेस्रो स्थानका लागि शुक्रबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।