अन्नपूर्ण दिनभर : संसदबाट धमाधम बिदा लिँदै सांसद, चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता
चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता
काठमाडौ । चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपालसंग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । भेटवार्ताका क्रममा चान्सुले हरेक राजनीतिक दलहरुसँग ‘चीनप्रतिको नेपालको धारणा के हो ?’ भनी बुझ्नुभएको छ ।
नेपालमा एमसीसी पारित भएपछि बढेको अमेरिकी चासोले शशंकिन बनेको चीनले आफ्नो सुरक्षाका लागि नेपालबाट उत्पन्न हुन सक्ने खतरा आँकलन गर्दै चिनियाँ वरिष्ठ नेतालाई नेपाल पठाएको हो । यसअघि, चिनियाँ विदेशमन्त्री वाङ यी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्छाओले नेपाल भ्रमण गनुृभएको थियो । उहाँले पनि चिनियाँ सुरक्षा मामिला विषयलाई लिएर नेपाली नेतासँग धारणा माग्नुभएको थियो ।
सोमबार नेपाल आउनुभएका लीले सुरुमा सभामुख अग्नि सापकोटासँग भेट गर्नुभएको थियो । सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुले अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे । सँगै चिनियाँ नेता लीले ‘नेपालको चीनप्रतिको धारणा के हो ?’ भनी बुझ्नुभएको छ । यस्तै भ्रमणको दोस्रो दिन हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लिसंग ‘चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुसंगको भेटमा पनि लि ले नेपालमा अमेरिकी चाँसो बढिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । अहिले लि ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहनुभएको छ ।
यता विज्ञहरुले पनि अमेरिकी गतिविधिले शशंकित भएको चीनले ‘एक चीन नीति’मा प्रतिवद्धता खोज्नु स्वभाविक भएको बताएका छन् । अन्र्तराष्ट्रिय मामिलाका जानकार प्राध्यापक राजेन्द्र चापागाइले विशेषगरि लिको भ्रमण अमेरिकी हस्तक्षेप नियन्त्रण गरि आफ्नो बलियो उपस्थिती देखाउन, तथा चुनावको मुखमा भएकाले नेपालका वामपन्थीहरु मिले तब्बितको सुरक्षा बलियो हुने अपेक्षा समेत हुनसक्ने उहाँको भनाइ छ ।
विआरआई परियोजनाको बारेमा अनिर्णत रहि नेपालका कम्युनिष्ट नेताहरुले पास नगराउने वचन दिएको एमसीसी व्याख्यात्मक घोषण सहित पास गर्नुले समेत एक चीन नीतिमा शंका जन्माएको उहाँको भनाइ छ ।
समानुपातिकका उम्मेदवार छान्न कांग्रेस शीर्ष नेताहरूको बैठक
काठमाडौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री देउवाले चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ । कांग्रेसको विधानबमोजिम क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाइसकेका छन् । कांग्रेसमा उम्मेदवार चयनमा केन्द्रीय संसदीय समितिको निर्णय नै अन्तिम हुने व्यवस्था छ । समितिको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुनेछ ।
गठबन्धन कार्यदलः २२ बैठक बसिसक्दा पनि भएन
काठमाडौ । सत्तारुद गठबनधनमा आबद्ध दलहरुबीच प्रत्यक्षतर्फको सिट बाँडफाटमा सहमति जुट्न नसकेपछि दलहरु समानुपातिक उम्मेदवार छानने काममा केन्द्रित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको संयुक्त र द्विपक्षीय छलफलमा गठबन्धनले भने अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुङ्गो लगाएपछि मात्रै प्रत्यक्षतर्फ सीट बाँडफाँटबारे छलफल गर्ने भएको छ ।
सीट बाँडफाँटमा शीर्ष नेताहरू लचिला देखिए पनि सहमति जुटेको छैन । अब कार्यदलको बैठक ४ गतेभन्दा पहिले नबस्ने तर, शीर्ष नेताहरू बस्नसक्ने बताइएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये अहिले गठबन्धनमा रहेका दलहरूले गरेको दाबी करिब २ सय पुगेको छ । तर, करिब ९५ सीटमा भने उनीहरु सहमति नजिक रहेको कार्यदलका एक सदस्यले बताएका छन् । १६५ निर्वाचन क्षेत्रमा २ सयभन्दा बढीको दाबी भएपछि ३९ दिनसम्म पनि कार्यदलले सहमति गर्न नसकेको हो ।
टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदल गठन
काठमाडौ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरिएको छ ।
प्रतिनिधिसभाअन्र्तगतको कानुन, न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट मीन विश्ववर्मा र अत्तहर कमाल मुसलमान, एमालेबाट शेरबहादुर तामाङ र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन र लोसपाबाट लक्ष्मणलाल कर्ण रहनुभएको छ ।
भदौ १७ मा प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको थियो । सरकारले गत ३१ असारमा दर्ता गरेको विधेयकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ७ भदौमा प्रतिनिधिसभामा पेस गर्नुभएको थियो ।
आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुंग्याउनुपर्ने बताउनुभएको छ । प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनीभन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विनापूर्वाग्रह यो विधेयक टुंग्याउनुपर्नेतर्फ जोड दिनुभयो । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासो भएकाले यसमा कोही पक्ष र विपक्ष हुन जरुरी नभएको बताउदै प्रचण्डले समस्या बल्झाउने गरी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो ।
बैठकमा एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुंगाउनुपर्ने सबैको साझा विषय भएकाले यसैपटक टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । पीडित र पीडकको बीचमा मेलमिलाप र गम्भीर उल्लंघनका विषयमा प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने विषय महत्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयमा निर्विवाद ढंगले अन्तिम रूप दिनुपर्ने उहाँको भनाइ छ ।
संसदबाट धमाधम बिदा लिँदै सांसद
काठमाडौ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।
भदौ १९ गते बसेको बैठकमा उहाँले मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गर्दैसांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । आज सेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् ।
आज बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिनुभएको छ । यस्तै जनता समाजवादी पार्टीकि सांसद रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिनुभएको छ ।
यस्तै नेपाली कांग्रेसका भरतकुमार साह पनि विदा हुनुभएको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।
नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्छाै : प्रधानमन्त्री देउवा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । आज लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।
वर्तमान सरकारले १५ औँ पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउदै प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउनुभयो । दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने पनि देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याउदै पूर्वाधार विकासमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने
काठमाडौ । महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको आज बिहान बसेको बैठकले जबराले बयानको क्रममा नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सबैलाई बोलाउन आज पत्राचार गर्ने निर्णय गरेको छ ।
तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाइने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिनुभयो । समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टका अनुसार समितिको अर्को बैठक भोलि बस्ने छ ।
पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग प्रस्ताव आगामी संसद्ले समेत स्वामित्व ग्रहण गर्ने गरी निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।
फोरमले आज विज्ञप्ति जारी गर्दै महाअभियोगमा उठाइएका विषयहरूको छानबिन न्यायीक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा समय अपुग भए अर्को संसद्ले समेत स्वामित्व ग्रहण गर्नुपर्ने जनाएको छ । फोरमले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध प्रारम्भ भएको महाअभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको जनाएको छ ।
राणाको बयानबाट कतिपय अभियोग सावित भइ कसुर प्रमाणित भइसकेको अवस्था रहेको पनि फोरमले जनाएको छ । साथै फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुरामा भागबण्डा, सहुलीयत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पनि फोरमले चुनौती दिएको छ ।
महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै
काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् । आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिएका छन् ।
महारानीको यही भदौ २३ मा मृत्यु भएको थियो । एलिजाबेथ द्वितीयको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । नेपाललाई माया गर्ने र नेपाली ब्रिटिस गोर्खाकै सुरक्षा घेरामा हुर्के÷बढेकी महारानी एलिजाबेथले दुई पटक सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गर्नुभएको थियो ।
उहाँको अन्त्येष्टि समारोहमा बेलायतको राजपरिवारलाई ‘हेड अफ स्टेट’को रुपमा स्वीकार गर्दै आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरु, कमनवेल्थ राष्ट्रका प्रतिनिधिहरु र शुभेच्छुक मुलुकका प्रतिनिधिहरु जानेछन् । भारतबाट भने राष्ट्रपति द्रौपदी मुर्मू महारानी एलिजाबेथको अन्त्येष्टिमा जाने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
दर्लामीको आरोपः खानेपानी संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौंको चलखेल, मलाई अपमानपूर्वक हटाइयो
काठमाडौ । नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि आफुलाई अपमानपुर्वक रुपमा हटाइएको आरोप लगाउनुभएको छ । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उहाँको आरोप छ ।
आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले संस्थानभित्र भइरहेको राजनीतिक हस्तक्षेप सार्वजनिक गर्नुभएको हो । हिजो बसेको संस्थानको बोर्ड बैठकले पदपूर्ति समितिबाट दर्लामीलाई हटाएर खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको थियो । यस विषयमा दलार्ममीले जारी गरेको विज्ञप्तीमा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा रातारात लाखौं रुपैयाँको चलखेलका कारण आफुलाई हटाएको बताउनु भउको छ ।
दर्लामीका अनुसार संस्थानले गत चैत १ गते ४६ जना कर्मचारीको पदपूर्ति गर्ने उद्देश्यले १ देखि ३ तहसम्मको विज्ञापन खुलाएको थियो । त्यसमा एक हजार १५८ जनाले मौखिक परीक्षा दिएका थिए । अन्तिम नतिजा प्रकाशनमा मन्त्रीका मान्छे पार्न अध्यक्ष गुणाखर भुसाल सबैभन्दा बढी लागिपरेको उहाँको आरोप छ । लाचार बोर्ड अध्यक्षलाई कारबाही गर्न उहाँले सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडौंका यी ४ ठाउँबाट सरकारले सस्तोमा खाद्यान्न बेच्ने
काठमाडौ । सरकारले असोज १ गतेदेखि काठमाडौं उपत्यकाका ४ वटा ठाउँसहित ४१ जिल्लाका ४४ स्थानमा सस्तोमा खाद्यान्न बेच्ने भएको छ । चाडबाड लक्षित (विशेषगरी दशैंतिहार) सुपथ मूल्य पसल सञ्चालन कात्तिक १५ गतेसम्म हुनेछ । यस्तो खालको पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गर्ने जनाएको छ । कम्पनीले विगतका वर्षहरुमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
यस पटक सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न खाद्य तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यो गत वर्षको भन्दा बढी रकम हो । गत वर्ष १ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको थियो । काठमाडौं उपत्यकामा मात्र ४ ठाउँबाट (थापाथली, रामशाहपथ, भक्तपुर र नख्खु) खाद्यान्न बिक्री वितरण हुनेछ । यो पसल बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
तर उपभोक्ताको भिड अत्याधिक भयो भने समय लम्ब्याइने खाद्य व्यवस्थाकी सूचना अधिकारी शर्मिला न्यौपाले सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा १ हजार च्याङ्ग्रा हुनेछ भने २ हजार खसीबोका हुनेछ । यता साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मुलुकभर रहेका २४ बिक्री केन्द्र र उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । साल्ट ट्रेडिङलाई पनि सरकारले सुपथ मूल्य पसल सञ्चालनका लागि १ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ ।
आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौ । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने रहेको छ ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको समेत बताउनुभएको छ ।
महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर
काठमाडौ । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।
संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् । जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ । महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघलको आन्दोलन गर्ने भएको हो ।
आज इन्द्रजात्राको अन्तिम दिन
काठमाडौ । काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका ७ बजेर ३३ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिगो ढालिने केन्द्रीय मानन्धर सङ्घका पूर्व उपसभापति मोहन कृष्ण मानन्धरले बताउनुभयो । इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासिं भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताउनुभयो । भाद्र २२ गते इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा सुरु भएको थियो ।
यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तान्दैछन् । केहीवर्ष अघिदेखि आजको दिन कुमारीको रथ महिलाहरुले मात्र तान्न थालेका हुन् । आज महिलाहरुले कुमारीसहित गणेश, कुमारको रथलाई वसन्तपुर, प्याफल , नरदेवी , किलागल, भेडासिंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै आज एक साताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिँदैछ भने जात्राको लागि विभिन्न ठाउँबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पूजा थापेर आ–आफ्नो ठाउँमा नै फर्किँदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका थाप्ने परम्परा रहेको छ ।
आर्थिक खबर
४७ अंकले नेप्से बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट
काठमाडौ । बुधबार शेयरबजार मापक परिसूचक नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुुमा उक्लिएको छ । आज बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.१९ अंकले बढेर ३८५.३६ बिन्दु कायम भएको छ ।
यस दिन कारोबारमा आएका २२७ वटा कम्पनीको ३१ हजारपटकको कारोबारमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँबराबरको ४६ लाख १८ हजार कित्ता शेयर किनबेच हुन गयो । अघिल्लो कारोबारका दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । यस्तै, १३ वटै उपसमूहका सूचक उकालो लाग्दा व्यापार र फाइनान्स समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ ।
आजदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने
काठमाडौ । आजदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन् । उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । नेपालका अनुसार हिजोसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट लग्ने क्रम जारी नै छ । सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ । बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १ सय रुपँैयाका दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन् ।
विदेशका खबर
पाकिस्तानमा बाढीमा परी गत २४ घन्टामा थप ५४ जनाको मृत्यु
काठमाडौ । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गत २४ घन्टामा ५४ जनाको मृत्यु भएको छ । बाढीमा परी अरु थुप्रै व्यक्ति घाइते भएका छन् । बितेका दुई महिनामा पाकिस्तानमा १ हजार ४ सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मङ्गलबार मात्रै ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ ।
यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबारविहीन भएर आश्रय लिइरहेका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् । बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
खेल खबर
आर्मी र पुलिस सेमिफाइनलमा
काठमाडौ । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार तेस्रो जित निकालेको हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याईएको थियो । आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र बनायो ।
उसका लागि आरिफ शेखले ४० रन बनाए । सुनिल धमलाले २७ तथा दिलिप नाथले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २१ तथा योगेन्द्र सिंह कार्कीले १४ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । उसका लागि विनोद भण्डारी तथा अर्जुन साउदले अर्धशतक बनाए । कप्तान विनोद भण्डारीले अविजित ६६ तथा साउदले ५३ रन बनाएका थिए । जितसँगै आर्मीको ५ खेलमा ८ अंक जोडेको छ ।
आर्मी समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस समूहबाट ५ खेलमा ६ अंक जोडेको पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पुलिस कर्णाली प्रदेशसँग समान अंक भए पनि रनरेटमा अघि रहेर सेमिफाइनल पुगेको हो । समूह ’बी’ बाट भने एनआरएनए स्पोर्टस एकेडेमी तथा सुदुरपश्चिम यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।
सेमिफाइनल खेल बिहीबार हुनेछ । अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्दा पुलिसले एनआरएनएसँग खेल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा कर्पोरेट टी–टेन क्रिकेट आजदेखि शुरू
काठमाडौ । ‘एपी वान कर्पोरेट टीटेन’ क्रिकेट प्रतियोगिता आजदेखि सुरुवात भएको छ । कर्पोरेट ओलम्पियाडअन्तर्गत अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा प्रतियोगिता शुरूवात भएको हो । खेलको शुरूवात अन्नपूर्ण मिडिया नेटवर्कका डेपुटी जेनेरल म्यानेजर विकास श्रेष्ठले क्रिकेट असोसिएसन नेपालका रविन्द्र गुप्तालाई बल हस्तान्तरण गर्दै खेलक शुरूवात गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल लाइफ इन्सुरेन्स र एनआईसी एसिया बैंकबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा आयोजकसहित ११ कर्पोरेट टिम सहभागी रहेका छन् । उक्त खेलका बारेमा बताउदै अन्नपूर्ण मिडिया नेटवर्कका डेपुटी जेनेरल म्यानेजर विकास श्रेष्ठले खेलकुदका क्षेत्रमा युवापुस्तालाई अगाडि बढाउन र अन्नपूर्ण मिडिया नेटवर्कका साथिहरू बिच सामजस्यता कायम गर्नको लागि खेलको आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्कका ब्राञ्च म्यानेजर पृथा पौड्यालले अन्नपूर्ण मिडिया नेटवर्कले यस अघि पनि भर्खर भर्खरै फुटबल आयोजना गरेको र त्यसपछि क्रिकेट लगायत चेस तथा रनिङ जस्ता कार्यक्रमहरूको आयोजना गर्दै जाने बताउनुभयो ।
प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक अन्नपूर्ण मिडिया नेटवर्कसहित बैंक तथा वित्तीय संस्थातर्फ एनआईसी एसिया बैंक, सेञ्चुरी बैंक, आईसीएफसी फाइनान्स, माछापुच्छ्रे बैंक, प्राइम बैंक, कामना सेवा विकास बैंक छन्। इन्सुरेन्स कम्पनीमा नेपाल लाइफ इन्सुरेन्स, रिलायवल लाइफ इन्सुरेन्स छन् । यसैगरी निमा एकेडेमी र होम लोन एक्स्पर्टले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, प्लेयर अफ दी टुर्नामेन्ट र मोस्ट सिक्सेस पुरस्कारको पनि व्यवस्था गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहेको प्रतियोगिताको मेडिकल पार्टनर काठमाडौं क्यान्सर सेन्टर रहेको छ । यस्तै, रिफ्रेसमेन्ट पार्टनरमा आरसी कोला, ड्राइभन पार्टनरमा टेस्ला र लर्निङ पार्टनरमा निमा एकेडेमी छन् ।