अन्नपूर्ण दिनभर : सुरक्षा अधिकारीहरुसँग राष्ट्रपतिको संवाद, एकैदिन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहलमा बालेनको ’एक्सन’
महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशसँग भदौ १५ गते सोधपुछ गर्ने सिफारिस समितिको निर्णय सभामुखले प्रस्ताव अघि बढाउन ढिलाइ गरेकोसहित एमालेको ३ बुँदे फरक मत ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता आगामी निर्वाचन शान्तिपूर्ण हुनेमा प्रतिपक्षीको आशंका संक्रमणकालीन न्यायमा गम्भीर बन्न सरकारलाई आग्रह ।
कुमारी आमा निहारिका राजपुतलाई उच्च अदालत जनकपुरको राहत छोरो र आरोपित बाबुको डीएनए जाँच गर्न अदालतको आदेश ।
नक्सा पासविपरीत बनाइएका अवैध संरचनामा काठमाडौं महानगरले डोजर चलायो÷नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई पत्राचार । पूर्व सहरी विकास राज्यमन्त्री मानन्धर भन्नुहुुन्छ : भवन निर्माण सम्बन्धी मापदण्डमै पुर्नविचार गर्ने बेला आयो ।
सत्ता परिवर्तन भएपनि श्रीलङ्कामा आर्थिक सङ्कट कायमै÷ ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध÷ अर्थतन्त्र अपेक्षा गरिएभन्दा ८ प्रतिशतले खुम्चिने अनुमान ।।
बहराइनमा हुने यू–२० एसियन कप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा÷ नेपालले सेप्टेम्बर १० मा भुटानसँग पहिलो खेल खेल्ने ।
अन्नपूर्ण खबर
महाभियोग सिफारिस समितिको निर्णय ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ । आज बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो ।
महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा भदौ १५ गते बिहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख गरिएको छ । समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको ज्येष्ठ सदस्य विष्टले बताउनुभयो ।
समितिमा नेकपा एमालेले भने तीन बुँदे फरक मत राखेको छ ।सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने बताएको छ ।
त्यस्तै प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने एमालेको भनाइ छ । सभामुखले बेलैमा महाअभियोग सिफारिस समितिमा महाअभियोग प्रस्ताव नपठाएका कारण चुनावअघि छानबिनका लागि ३ महिना समय नपाउने अवस्था बनेको एमालेको भनाइ छ ।
शीतल निवासमा सुरक्षा अधिकारीहरुसँग राष्ट्रपतिको संवाद
राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षा अधिकारीहरुसँग भेट गर्नु भएको छ । उहाँले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरुसँग आज भेट गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो। दोस्रो कार्यकालको सकिनै लाग्दा उहाँले सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ। भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ।
पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीहरुसँग अन्तरक्रिया गर्दै आउनु भएको छ । सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति असन्तुष्ट बनेको स्रोतको भनाइ छ । त्यही भएर उहाँले केही दिनअघि कानुन व्यवसायीहरुसँग सम्वाद गर्नु भएको थियो । २०७२ साल कात्तिकमा पहिलोपटक राष्ट्रपति बन्नुकी भण्डारी प्रतिनिधिसभा चुनावपछि फागुनमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो ।
निहारिका प्रकरण : शिवराजको डीएनए जाँच गर्न उच्च अदालतको आदेश
निहारिका प्रकरणमा डीएनए जाँच गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत जनकपुरको कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतको घटनामा डीएनए जाँच गर्न आदेश दिएको हो। आफ्नो छोरा र आरोपितको डीएनए जाँचको माग गर्दै पटकपटक आन्दोलन तथा अनसन बस्दै आएकी निहारिकाको माग अनुसार डीएनए जाँच गर्न उच्च अदालतले आदेश दिएको हो ।
अदालतका न्यायाधीश न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले आरोपित शिवराज श्रेष्ठको र निहारिकाको डीएनए जाँच गर्न आदेश दिएको हो। प्रहरीले यसअघि नै शिवराजलाई पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर थुनामा राखेको छ। अदालतको आदेशसँगै अब डीएनए जाँच गर्ने बाटो खुलेको छ। शिवराजलाई भने यसअघि जिल्ला अदालत धनुषाले सफाई दिएको थियो। तर अदालतले गम्भीर त्रुटी गरेको भन्दै निहारिकाले डीएनए परीक्षणको माग गर्दै आउनु भएको थियो ।
एकैदिन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहलमा बालेनको ’एक्सन’
काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर शाह आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थाल्नुभएको हो ।
नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै आज मेयर शाहले सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ माग्नुभएको छ ।
संरचना भत्काउनुअघि सम्बन्धित् पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले आज सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । आजै मेयर शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ ।
यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउन्डमा आशंका गरेको हो ।
नयाँबानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राउन्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।
मेयर बालेन आजै दरबारमार्ग र कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा समेत पुग्नुभएको छ । नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर शाह महानगरको टोली र प्रहरीसहित पुग्ने गर्नुभएको छ ।
यता पूर्व शहरी विकास राज्यमन्त्री समेत रहनुभएका नेकपा एमालेको नेता रामवीर मानन्धरले भने मापदण्डमै पुर्नविचार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै मानन्धरले भवन निर्माण गर्दा सडक तथा फटवाथका लागि ठाउँ छोड्नुपर्ने सम्बन्धिको मापदण्डमा पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो । यस्तै मानन्धरले पार्किङका लागि भनेर उपयोग नभएका संरचना तथा नक्सा पास नगरि बनाएका संरचना भत्काउने कदमको स्वागत गर्नुभयो ।
अन्नपूर्ण खबर
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली करिव ६ महिनाको अन्तरालमा प्रधानमन्त्री भेटन बालुवाटार पुग्नुभएको हो । उहाँहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो। भेटबारे जानकारी दिदै नेता विष्णु पौडेलले सरकारका ज्यादतीले सिमा नाघेकाले तिनै बिषयमा कुराकानी भएको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न नभएकाले आसन्न निर्वाचन समेत शान्तिपूर्ण होला भनेर सरकारसँग आश गर्न नसकिने अवस्था रहेको बारेमा पनि छलफल भएको नेता पौडेलले बताउनुभयो । यसैगरि संक्रमणकालीन न्यायसम्बन्धि ऐनलाई संसोधन गर्न बनेको विधेयकबारे पनि छलफल भएको छ ।
एमालेले द्धन्द्धकालका बेला अन्यायमा परेकाहरुलाई न्याय दिनेगरि नभइ अन्यायलाई अनुमोदन गर्नै ढाँचामा गठबन्धन सरकार आएको बताउँदै यसबारे पनि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । यस्तै कहाली लाग्दो महंगी पनि सरकारले नै निम्त्याएको बताउदै नेता पौडेलले यसबारेमा गम्भीर कदम चाल्न आग्रह गरिएको, नभए एमाले शसक्त प्रतिवादमा उत्रिने चेतावनीसमेत दिइएको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले मागहरुप्रति ध्यानाकर्षण भएको र सकारात्मक रहेको जवाफ दिनुभएको पनि पौडेलले बताउनुभयो ।
ओलीलाई राजदूतहरूले सोधे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूत तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गरेका छन् ।अमेरिकी राजदूत ¥याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतले भेटेर ओलीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनमा खेल्ने भूमिकाका विषयमा जिज्ञासा राखेका छन् ।
नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनीहरुले जोड दिए । जवाफमा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभएको छ ।
ओलीमाथि प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाउनु भएको छ । चितवनको माडी नगरपालिकामा आज रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाउनु भयो । राजनीतिक स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उहाँले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गर्नु भयो ।
त्यसअघि आजै बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुुरा गर्दै अध्यक्ष प्रचण्डलेनागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको बताउनुभयो । नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएर फेरि राष्ट्रपतिकोमा जाने बताउँदै अहिले नागरिकता विधेयकको गलत उदेश्यको निम्ति प्रचार गरिएको उहाँले बताउनुभयो ।
देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माणको प्रयास भइरहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालमा आज आयोजित साक्षात्कारमा बोल्दै उहाँले त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी लगायतसँग छलफल भइरहेको बताउनुभएको हो ।
महासचिव गुरुङले विगतमा नेकपा एमालेसँग गरिएको प्रयास असफल भएको पनि बताउनुभएको छ । एमालेबाहेक छरिएर रहेका माओवादी र अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी केन्द्र तयार रहेको पनि उहाँको भनाइ छ । तर, वामघटकमा भएको संकीर्णता र एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति बाधक रहेको उहाँको भनाइ थियो । मुलुकको अस्मिता जोगाउन कम्युनिष्टको एकता नै महत्वपूर्ण रहेको महासचिव गुरुङको जोड छ ।
संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । आज समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफल पश्चात समितिसभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले दुबै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिनुभयो । समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ,वन,उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।
थप ४८७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।
उपकुलपतिको कुर्सीलाई जुत्ताको माला
परीक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।
सडकबिनैको पुलबारे अख्तियारको चासो
पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको ठाउँमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे छानबिन अघि बढेको हो ।गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बजेट व्यवस्था गरेर पुल निर्माण गराउनुभएको थियो । अख्तियारको केन्द्रीय कार्यालयबाट गएको प्राविधिकसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरिसकेको छ ।
पुल निर्माणको योजना कार्यान्वयन गर्ने पूर्वाधार कार्यालयसँग पनि प्रमाणित कागजातसहितको फाइल झिकाएको अख्तियारले जनाएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन समयका केही कर्मचारीसँग सोधपुछ गर्ने अख्तियारको तयारी छ ।जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौदी नदीमाथि ५ करोड ३९ लाखको लागतमा पुल निर्माण भएको छ । पुलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । पुल निर्माण सम्पन्न हुने चरणमा पुग्दासम्म दुवैतर्फ सडकले पुललाई जोडेको छैन ।
आर्थिक खबर
६८४ मेगावाटको सुनकोसी तेस्रोमा लगानी गर्न बंगलादेश इच्छुक
काभ्रेपलाञ्चोक र रामेछापको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ ।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रोलगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभएको हो ।
आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।आयोजनाको जलाशय सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म ४५ किलोमिटरमा फैलिनेछ । ईआईए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् ।
आयोजनाबाट ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ ।वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदमा ६२ करोड २३ लाख युनिट उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
माथिल्लो कर्णालीको पीपीए १ महिनाभित्रै हुने बंगलादेशको दाबी
बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्यत् खरिद सम्झौता (पीपीए) हुने दाबी गरेको छ । नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँग पीपीए हुने दावी गरेको हो ।
लगानी बोर्ड नेपालका एक अधिकारीका अनुसार हालै जीएमाआरले आयोजनाको ५० प्रतिशत स्वामित्व फ्रान्सेली कम्पनी ‘ईडीएफ’लाई बेच्ने सहमति गरेकाले अब आयोजना अघि बढ्ने सबै बाटो खुल्ने दाबी छ । सरकारी अधिकारीहरुसँगको छलफलमा रहमानले पीपीएका लागि सबै प्रक्रिया पुरा भएको जानकारी गराएका छन् । जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्ने बंगलादेशको प्रस्ताव गरेको छ । यसका लागि बंगलादेशले करिब ३८ हजार १६० करोड टाका बराबर खर्च गर्ने योजना बनाएको छ ।
विदेशका खबर
श्रीलङ्कामा आर्थिक सङ्कट कायमै
श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशव्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो ।राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उहाँले सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजीनामा घोषणा गर्नुभएको थियो ।
गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्का आयात हुने घरेलु उपकरण र खेल सामग्री लगायतका सामानमा प्रतिबन्ध लगाउनुभएको थियो । दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।
यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋणको भारी तिर्न असफल भएको थियो ।
खेल खबर
एसियन कप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा
मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।प्रशिक्षक केसीले आज टोलीको घोषणा गरेका हुन् ।प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली छनोट भएको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।नेपाली टोलीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना परेका छन् ।
यस्तै, डिफेन्डर अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर २५ जनाभित्र अटाएका छन् । मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा छानिँदा फरवार्डमा निरञ्जन मल्ल, रोहन खड्गी परेका छन् ।