Live Streaming

अन्नपूर्ण टप टेन : प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच बालुवाटार भेटघाट, सडकबिनैको पुलबारे अख्तियारको चासो

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटार देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच नागरिकता विधेयक र  प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो।पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ।

वाममोर्चा निर्माणको प्रयास भइरहेको छ : देव गुरुङ 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माणको प्रयास भइरहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी लगायतसँग छलफल भइरहेको बताउनुभएको हो । 

नक्सापास विपरित्का संरचना भत्काउन काठमाडौं महानगरको सक्रियता 

काठमाडौं महानगरपालिकाले नक्सापास नगरि बनेका अवैध संरचना हटाउन सक्रियता थालेको छ । महानगरपालिकाले आज काठमाडौंको सुनधारा स्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्प्लेक्समा डोजार चलेको हो । 

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह व्यापारिक केन्द्रहरुमा नक्सा विपरीत निर्माण गरेका संरचना हटाउन केन्द्रित हुुुनुभएको छ । 

नक्सा पास गर्दाको भन्दा भिन्न र थप संरचना निर्माण गरी व्यापार गर्ने त्यस व्यापारिक केन्द्रका सञ्चालक तथा व्यापारीलाई सुरुमा चेतावनीसहित निश्चित समयको अल्टिमेट दिने र तोकिएको समयमा नहटाए महानगर आफैंले त्यस्ता संरचना हटाउन थालेको छ । 

उच्च अदालतकी न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णयमा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले गरेको आदेशमा सुविधा सन्तुलन तथा अपुरणीय क्षती समेतका अवधारणगत दृष्टीले मनासिव नदेखिएकाले अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको उल्लेख छ । अदालतले अधिवक्ताको प्रमाणपत्र लिनु र निरन्तर वकालत गर्नु फरक विषय रहेको उल्लेख गरेको छ । 

नेकपासँगको सहमति संविधान र विधिअनुसार कार्यान्वयन हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले डेढ वर्षअघि भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताउनुुभएको छ । नेपाल प्रहरीले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले नेकपासँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुुभयो ।

सरिता गिरीले एक महिनामै छाडिन् सद्भावना पार्टी, स्वतन्त्र भएको घोषणा

नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको एक महिनामै सरिता गिरीले स्वतन्त्र भएको घोषणा गर्नुभएको छ । ०७९ साउन ७ मा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गिरीलाई पार्टी प्रवेश गराउनुुभएको थियो । सद्भावनामा प्रवेश गरेको एक महिनामै आज उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वतन्त्र भएको घोषणा गर्नुभएको छ ।

सडकबिनैको पुलबारे अख्तियारको चासो

पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको ठाउँमा गोरखाको सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे छानबिन अघि बढेको हो । प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बजेट व्यवस्था गरेर पुल निर्माण गराउनुभएको थियो ।

६८४ मेगावाटको सुनकोसी तेस्रोमा लगानी गर्न बंगलादेश इच्छुक

काभ्रेपलाञ्चोक र रामेछापको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ ।आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

आयोजनाको जलाशय सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म ४५ किलोमिटरमा फैलिनेछ । ईआईए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् । वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदमा ६२ करोड २३ लाख युनिट उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

जलविद्युत उर्जा र खाद्यान्न उत्पादनमा गिरावट आउने

युरोपका दुई तिहा भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ । विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको बताइएको छ । खडेरीका कारण बालीनाली उत्पादनमा असर गर्ने र डढेलो समते लाग्ने रिपोर्टमा उल्लेख गरिएको छ । 

नेपाल टी २० लिगका लागि बाँकी २ टिम चाँडै घोषणा हुने 

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगको तयारी तीव्र पारेको छ। आयोजकका हिसाबले क्यानले आफ्नो तयारी तीव्रताका साथ अघि बढाएको छ भने टिमहरुले पनि आन्तरिक तयारी तीव्र बनाएका छन्। प्रतियोगिता सुरु हुन अब १ महिना मात्रै बाँकी रहेको छ भने खेलाडीको ड्राफ्ट सेप्टेम्बर ७ तारिकमा गर्ने जनाइएको छ ।